भर्खरै :

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – २७

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – २७

(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
ट्रम्पको कक्षा
ट्रम्पका सल्लाहकारहरूमा दुई बुँदामा एकप्रकारको सहमति थियो । एक, ‘आइएसआइएस’ र ‘अलकायदा’ लाई टाउको उठाउन नदिने र अमेरिकामाथि आतङ्की हमला गर्नबाट रोक्ने । दुई, इरानदेखि पाकिस्तानसम्म कसैलाई आणविक अस्त्र निर्माण गर्न नदिने, यसको लागि चनाखो रहने । ट्रम्पलाई यी कुरामा मनाउन र ट्रम्पले माने पनि यसमा टिकाउनमा समस्या थियो । वाक्क लाग्यो कि ट्रम्प बाहिरिने कुरा गरिहाल्थे । मानौँ कुनै पनि देशबाट बाहिरिने उनको स्थायी अडान थियो ।
माइक पोम्पेओ र जालमे खलिलजाद तालिबान र अफगानसँग सम्झौतामा खटिएका थिए । बोल्टनलाई यो कुरा मन परेको थिएन । किनभने उनी आतङ्कवादी गतिविधि नभएको, ती गतिविधिलाई अमेरिकाले नियन्त्रण गरेको अथवा त्यसको पर्याप्त पुष्टि गर्न सकिने देशसँग मात्र सम्झौता गर्नुपर्छ भन्थे । ट्रम्पले सुरुदेखि नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने कुरा उठाएका थिए । त्यो उनको चुनावी नारा पनि थियो । तर अमेरिकी सेना फिर्ता गर्ने क्रममा कुनै दुर्घटना नहोस् भनेर सम्झौता गर्नुपर्ने ट्रम्पको धारणा थियो । अमेरिका अफगानिस्तानबाट फर्किँदै छ भन्ने थाहा पाए भने तालिबानीहरूले कडा सर्तहरू तेस्र्याउने बोल्टनको अनुमान थियो । उनी लेख्छन्, “हामीले कहिल्यै विश्वास नगरेका आतङ्कवादीहरूसँग किन सम्झौता गर्ने भनी कहिल्यै बुझिन ।” बोल्टन झूट बोल्छन् किनभने धेरै अमेरिकी अधिकारीहरूले रोनाल्ड रेगनको कार्यकालमा अमेरिकाले अलकायदा जन्माएको बताउँदै आएका छन् । विश्वासै नगरी अमेरिकाले आतङ्कवादी कसरी जन्मायो ?
कुनै पनि देशबाट कसरी सेना फिर्ता गर्ने भन्ने विषयमा ट्रम्पलाई तयारी कक्षामा राख्ने कार्यक्रम थियो । सो तयारी कक्षा २०१९ मार्च १५ मा ह्वाइट हाउसको गोप्य कक्ष ट्यांकमा हुँदै थियो । त्यहाँ विभिन्न चार्ट र स्लाइडहरूमार्फत् राष्ट्रपतिलाई आवश्यक जानकारी गराउने चलन थियो । त्यो दिन बिहान बोल्टनले ट्रम्पसँग कुरा गरे । ट्रम्पले अफगानिस्तानबाट बाहिरिने कुरा उप्काए । उनले सोधे, “यसले सम्झौता वार्तालाई असर गर्ला कि ? यसले कतै अमेरिका कमजोर स्थानमा रहेको सन्देश जान्छ कि ?” बोल्टनले त्यस्तो सन्देश नजाने बताए ।
ट्रम्पको कक्षाभन्दा पहिले तयारी बैठक बस्यो । पोम्पेओको स्थानमा जोन सुलिभान उपस्थित थिए । आफू तालिबानसँगको गोप्य सम्पर्कमा रहेको हुँदा सूचना चुहिने डरले उनी बैठकमा गएनन् । सो बैठकपछि ट्रम्पको कक्षा सुरु भयो । ट्रम्पले बोल्टनलाई नै सोधेको प्रश्न दोहो¥याए । अधिकारीहरूले “यो एकदम उपयुक्त समय हो” भने । बोल्टन लेख्छन्, “शत्रु ध्वस्त हुँदै छ भन्ने थाहा पाएपछि बाँच्ने पक्षले सम्झौतामा ठूलो रुचि लिन्छ ।” ट्रम्पले वार्ता कस्तो चल्दै छ भनी सोधे । पोम्पेओले अफगानी नेताहरू निकै भ्रष्ट भएको बताए । उनी बेलाबेला अफगानी राष्ट्रपति घानी भन्नुपर्ने ठाउँमा हामिद कार्जाइ भनिरहेका हुन्थे । बोल्टनको इशारामा डनफोर्डले सेना फिर्ता गर्दा अफगानिस्तानमा आतङ्कवादप्रतिरोधी सेना र अखडा बनाउनुपर्ने कुरामा जोड दिए । “यसको लागि तालिबानहरू मान्नैपर्छ भन्ने छैन,” डनफोर्डले भने । उनले अफगान सरकारलाई जसरी पनि हातमा लिन सक्ने बताए ।
ट्रम्पले अफगानिस्तानमा धेरै अमेरिकी अधिकारी रहेको र तालिबानले भवनहरू मात्र फोरेको हुनाले त्यति खतरा नरहेको बताए । उनी बरोबर भन्ने गर्थे, “अफगानिस्तानमा लड्नुभन्दा अर्को जुम्ल्याहा भवन निर्माण गर्न सस्तो पर्छ ।” घरजग्गा कारोबारी ट्रम्पको बुद्धि सानो भएकोमा बोल्टन कटाक्ष गर्छन् । अफगानिस्तानबाट सेना फिर्ता गरे तालिबानीहरूले प्रत्याक्रमण गर्न सक्ने वा राजनीतिक रूपमा आफूलाई महँगो पर्ने ट्रम्पले नसोचेको उनी लेख्छन् । अर्को कुरा सेना कहिले फिर्ता गर्ने हो भन्ने विषयमा पनि कुनै टुङ्गो लागेको थिएन । छलफल यताउतिका कुरामा अल्झिएपछि ट्रम्पले फेरि भने, “भेनेजुयलामा हुनुपर्ने बेला हामी किन इराक र अफगानिस्तानमा अड्केको ?” यो भनाइबाट उनी भेनेजुयलामा हमला गर्ने पक्षमा रहेको उपस्थित अधिकारीहरूले बुझे ।
यसपछि शानाहनले अफगानिस्तानमा आतङ्कवादविरोधी अखडा राख्दा कति खर्च घट्छ भनी तथ्याङ्क प्रस्तुत गरे । ट्रम्पको गनगन चलिरह्यो । डनफोर्डले अफगानिस्तानमा अन्य देशका नाटो सेनाले पनि योगदान गरेको बताए । उनीहरूले अमेरिकाकै खर्चमा लडिरहेको ट्रम्पले भने । त्यसपछि ट्रम्पले सोधे, “हामी अफ्रिकामा किन छौँ ?” उनले अमेरिकाको सार्वजनिक ऋण २२० खर्ब डलर छ र अफ्रिकी देश नाइजेरियाले वार्षिक डेढ अर्ब डलर सहयोग पाइरहेको छ भने । त्यसपछि उनले आदेशको शैलीमा भने, “अफगानिस्तानमा वार्षिक खर्च १० अर्ब डलरमा झारेर चाँडै बाहिरिनुप¥यो ।” त्यसपछि उनले दक्षिण कोरियाबाट आफूले वार्षिक ५० करोड डलर झारेको बताए । जब कि दक्षिण कोरियाले जम्मा साढे ७ करोड डलर मात्र दिन्छु भनेको थियो । इराकमा सैन्य अखडा बनाइसकेको हुँदा त्यहाँबाट पूर्णतः सेना नहटाउने ट्रम्पले जोड दिए । बैठक सक्कियो ।

पोम्पेओ र खलिलजाद
मार्च २१ मा अफगानिस्तानबाट कसरी सेना फिर्ता लाने भन्ने विषयमा शानाहन र डनफोर्डले विभिन्न योजना तयार पारेर बोल्टनलाई भेटे । उनीहरूले यस्तो गर्दैगर्दा विदेश मन्त्रालय भने भित्रभित्रै सक्रिय थियो । बोल्टनहरू अफगानिस्तानमा धेरै सैन्य अखडा राख्ने योजनाबारे छलफल गर्दै थिए । पोम्पेओ र खलिलजाद भने पूर्णतः निस्किनुपरे पनि निस्किने मानसिकतामा थिए । यस विषयमा थाहा पाएर बोल्टनले ट्रम्पलाई फोन गरे । ट्रम्पले भने, “ऊ को हो भन्ने मलाई थाहा छैन । जे राम्रो लाग्छ त्यही गर्नू ।” त्यो दिन बिहान बोल्टनले खलिलजादलाई भेटे । खलिलजादले पोम्पेओले आफूलाई बोल्टनलाई नभेट्न भनेको बताए । बोल्टनले आफूलाई छायामा पारेको पोम्पेओको बुझाइ थियो । खासमा पोम्पेओ अफगानिस्तानको विषय सल्टाएर जस लिन आतुर थिए । यस्तो आत्तुरी बोल्टनलाई पनि नभएको होइन ।
खलिलजाद तालिबानीहरूसँग सम्झौता वार्ता सुरु गर्नुअघि अमेरिकी प्रशासनका उच्च अधिकारीहरूलाई भेट्न चाहन्थे । तर त्यो हुन सकेन । पोम्पेओले उल्टो खलिलजादको काममा भाँजो हालेको भनेर लिजा कर्टिसबारे बोल्टनसँग गुनासो गरे । लिजा बोल्टनकै विभागकी कर्मचारी थिइन् । बोल्टन अन्तर विभागीय सम्पर्क हुनुपर्ने पक्षमा थिए । यसलाई पोम्पेओले हस्तक्षेपको अर्थमा बुझे ।
अप्रिल १२ मा अन्तर्राष्ट्रिय अदालतले अफगानिस्तानमा अमेरिकी सेना र गुप्तचरहरूका कर्तुतहरूबारे छनबिन गर्नुपर्ने विषयमा एक वकिलले हालेको मुद्दामा अमेरिकाको पक्षमा फैसला सुनायो । यसबाट बोल्टन खुसी भए । किनभने, धेरै वर्षदेखि अन्यथा फैसला गरे हेगको अदालतविरुद्ध नै कारबाही गर्ने धम्की दिँदै आएका थिए । ट्रम्पको अनुमतिमा उनले फैसलाको जोडदार स्वागत गरे ।
जुलाई १ मा खलिलजादले तालिबानसँग सम्झौता टुङ्गो लगाइसकेको रक्षा मन्त्रालयले थाहा पायो । एस्परले सम्झौता पढ्न चाहे । पोम्पेओले उनलाई चुप लगाए । उनले खलिलजादलाई हल्लाखल्ला नगर्न चेतावनी दिए । जुलाई १९ मा बोल्टनले खलिलजादसँग कुरा गरे । विभिन्न विभागबीच समन्वय गर्न आफूले त्यसो गरेको बोल्टन दाबी गर्छन् । आफूलाई ट्रम्पले अफगानिस्तानमा ‘शून्य सेना’ राख्न र त्यहाँ आतङ्कवादविरोधी अखडा कायम राख्न भनेको खलिलजादले बताए ।

ट्रम्पको अन्टसन्ट विचार
अगस्ट १४ मा ट्रम्पको गल्फ क्लबमा बैठक बस्दै थियो । पोम्पेओले अन्य विभागको किचलो नबेहोरी ट्रम्पलाई खुसुक्क सम्झौतामा हस्ताक्षर गराउने देखेर बोल्टन पनि त्यहाँ पुगे । बैठकअघि उनले पोम्पेओसँग कुरा गरिसकेका थिए । युद्ध विराम कसरी गर्ने, तालिबानहरूको हिंसा कसरी घटाउने र आतङ्कवादविरोधी अखडा कसरी बनाउने भन्ने विषयमा छिनोफानो नभइसकेको बोल्टनले सम्झाए । बैठकमा जाँदाजाँदै बोल्टनले उपराष्ट्रपति पेन्ससँग पनि कुरा मिलाए । उनले ट्रम्पले बेहोर्नुपर्ने राजनीतिक दबाबबारे बताए ।
दिउँसोको ३ बजे बैठक सुरु भयो । पोम्पेओले तालिबानसँगको छलफल अन्तिम चरणमा पुगिसकेको बताए । बोल्टनसँगको कुरामा उनले टुङ्गो लागिसकेको भनेका थिए । ट्रम्पले तालिबान र अफगान सरकारबीच बन्दी आदानप्रदानको विषयमा प्रश्न उठाए । तालिबान बन्दी धेरै भएको थाहा पाएपछि त्यस्तो आदानप्रदान राम्रो नहुने ट्रम्पले बताए । पोम्पेओले राष्ट्रपति घानी र उनको सेनाबारे बताए । ट्रम्पले सोधे, “तिनीहरूलाई कसले खर्च दिन्छ ?” एस्परले “हामी दिन्छौँ” भने । ट्रम्पको प्रश्नमा अफगानिस्तानमा वार्षिक साढे ६ अर्ब डलर खर्च भइरहेको तथ्य सुनाइयो । त्यसपछि ट्रम्पको वाणी सुरु भयो । उनले भने, “यिनीहरू संसारमै सबैभन्दा बढी पैसा खाने सेना हुन् ।” त्यसपछि त्यहाँ अफगानिस्तानमा हुने चुनावबारे कुराकानी चल्यो । बीचमा ट्रम्पले भने, “गलत सम्झौता हुनुभन्दा केही नहुनु बेस ।” त्यसपछि उनले केही पत्रकारहरूलाई गाली गरे । एकैछिनमा उनले भने, “मेरो सन्देश स्पष्ट छ । तिनीहरू आए भने हामी तिनीहरूको देश धुलोपिठो पार्नेछौँ । आणविक हतियारले होइन नि । तिनीहरू हामीलाई घृणा गर्छन् । तालिबान आफ्नो भूमि फिर्ता चाहन्छ । हामी तिनीहरूको देशमा गयौँ । त्यहाँ धेरै बेइमानहरू छन् ।” यसअघि उनले अमेरिकाले अफगानीहरूलाई हतियार र तालिम दिएको र अफगानीहरूले अमेरिकीहरूलाई नै मारेको बताएका थिए । जुन स्वाभाविक थियो ।
कुरैकुरामा ट्रम्प धेरै पर पुगिसकेका थिए । उनले दोहो¥याए, “म सबथोकबाट बाहिरिन चाहन्छु ।” उनले अफ्रिकामा अमेरिकी सैन्य कार्यक्रमहरूको आलोचना गरे । एस्पर र डनफोर्डले “घटाउँदै छौँ” भने । ट्रम्पले युक्रेनमा अमेरिकाले गरेको जथाभावी खर्चको कुरा पनि उठाए । कुनै बेला जर्मन चान्सलर एँगेला मर्केलले युक्रेनमा के गर्नुहुन्छ भनी ट्रम्पलाई सोधेकी थिइन् । ट्रम्पले तपार्इँ के गर्नुहुन्छ भनी प्रतिप्रश्न गरेका थिए । यो घटनाबारे सुनाएपछि ट्रम्पले सबै अधिकारीहरूलाई के तपार्इँहरू पोल्यान्डमा अमेरिकी अखडा बनाउन चाहनुहुन्छ भनेर सोधे । पोल्यान्डका राष्ट्रपति आन्द्रेज दुदासँगको कुराकानीमा ट्रम्पले यसमा मञ्जुरी जनाएका थिए ।
एस्परले पोल्यान्डमा अमेरिकी सेनाले अखडा नबनाउने तर एकपछि अर्को टोली पठाइरहने बताए । अचानक उनले दक्षिण कोरियामा किन सैन्य अभ्यास गरेको भनी सोधे । त्यो अभ्यास ट्रम्पकै अनुमतिमा भएको बोल्टन लेख्छन् । ट्रम्पले भने, “मैले सैन्य अभ्यासमा सहमति जनाउँदै नजनाउनुपर्ने ।” उनले भने, “तिनीहरूले वार्षिक ५ अर्ब डलर दिएनन् भने हामी त्यहाँबाट फर्किनुपर्छ । उसै पनि व्यापारमा हामीले ३८ अर्ब डलर घाटा खाइसकेका छौँ । निस्किहालौँ ।” उनले दक्षिण कोरियामा जारी सैन्य अभ्यास कहिले सकिन्छ भनी सोधे । अगस्ट ३० मा अभ्यास सकिने थियो । ट्रम्पले दुई दिनमै बन्द गर्न भने ।
ट्रम्पको कुराकानीबाट उनले पोम्पेओ र खलिलजादले गरेको सहमतिमा पूर्ण समर्थन जनाइसकेका थिए भन्ने बोल्टनले बुझे । त्यसलाई ट्रम्पले “ठूलो सम्झौता” भने । विषय बदलेर उनले फेरि भने, “म अफ्रिका र जहाँजहाँबाट सकिन्छ, त्यहाँबाट बाहिरिन चाहन्छु । हाम्रो सेना म आफ्नै भूमिमा देख्न चाहन्छु । तिनीहरूलाई जर्मनीबाट निकाल । मैले जर्मनीलाई तिमीहरूले नै खर्च व्यहोर भन्छु ।” पोल्यान्डमा पालैपालो सेना पठाउने, तर अखडा नबनाउने भन्दै उनले भने, “मैले अफगानिस्तानबाट बाहिरिन्छु र यस्ता युद्धका खेलहरू खेल्दिन भनेर नै चुनाव जितेको हुँ ।” उनले भारतसँग अमेरिकाले धेरै व्यापार गरेको हुनाले मोदीलाई कश्मीर मामिलामा कुरा राख्छु भने ।
पेन्सले ट्रम्पलाई विषयवस्तुमा केन्द्रित गरे । ट्रम्पले ‘फिर्ता’ शब्द प्रयोग गर्न नहुने र ‘शून्यतिर जाने’ भन्नुपर्ने बताए । डनफोर्डले ट्रम्पले भने अनुसार सेनाको सङ्ख्या घटाउने बताए । तालिबानहरूले शून्यमा झार्नुपर्ने सर्त राखेको हुनाले त्यसै गर्न पोम्पेओले भने । बोल्टनले सम्झौताको मस्यौदा हेर्न चाहे । पोम्पेओले समय आएपछि देखाउने बताए । पोम्पेओले सम्झौतालाई आफू, खलिलजाद र ट्रम्पबीच सीमित राख्न चाहेको बोल्टनले बुझे । दुई घन्टापछि बैठक टुङ्गियो ।

माइक पोम्पेओ र जालमे खलिलजाद

तालिबानी नेतालाई भेट्ने तलतल
ट्रम्पसँगको बैठकलाई पोम्पेओ र खलिलजादले ‘खाली चेक’ को रूपमा बुझे । उनीहरूले तालिबानीहरूसँगको छलफलमा जे पनि गर्न सकिने देखे । यो कुरा खलिलजाद आफैले बोल्टनलाई बताए । बोल्टन अर्कै बुझ्दै थिए । सुरुमा खलिलजादले बोल्टनलाई केही मुख्य कागजपत्र दिए र पढेर तुरुन्तै आफूलाई दिन भने । बोल्टनले लिएनन् । किनभने उनी ती कागजपत्र आरामले पढ्न चाहन्थे । पोम्पेओ ती दस्तावेज कसैलाई देखाउन चाहन्नथे । त्यसैले खलिलजादले त्यसो गरेको बोल्टनले बुझे । सो सम्झौताको धेरै ठाउँबाट विरोध हुने हुनाले के पोम्पेओलाई साथी चाहिन्न भनी बोल्टनले खलिलजादलाई सोधे । खलिलजादसँग यसको उत्तर थिएन ।
बोल्टनले खलिलजादलाई तालिबानहरूसँगको बैठक, सम्झौतापछि हुने मतमतान्तर आदिबारे बताए । खलिलजादले आफूले सक्दो गरेको बताए । बोल्टन अझै पनि सेना घटाएर अफगानिस्तानमा आतङ्कवादप्रतिरोधी संयन्त्र बनाउन सकिने सम्भावना देख्दै थिए । सम्पर्कमा रहन भन्दै उनीहरूको वार्तालाप टुङ्गियो । त्यो दिन खाजा खाँदै गर्दा पोम्पेओले ट्रम्प अलि असहज बनेको बताए । केही दिनपछि अगस्ट २७ गते खलिलजाद आफ्ना सबै झिटिझाम्टा बोकेर अमेरिका फर्केको बोल्टनले थाहा पाए ।
ट्रम्पले ८,६०० जना अमेरिकी सेना छोडेर सबैलाई फिर्ता गर्ने भन्न थालिसकेका थिए । एक अन्तर्वार्तामा पत्रकारलाई ट्रम्पले भने, “हाम्रो उपस्थिति त्यहाँ रहनेछ । हामीले त्यो उपस्थिति घटाउनेछौँ । तर, उपस्थिति रहनेछ । हाम्रो गुप्तचरी बढ्नेछ । तर सम्झौता भयो भने । के होला मलाई नै थाहा छैन । यस्तो विषयमा मेरो रवैया कस्तो हुन्छ तिमीलाई थाहै छ ब्रायन ।” अगस्ट २९ गते पोम्पेओलाई नाटोका विदेशमन्त्री र स्तोल्टेनबर्गको फोनले हैरान पा¥यो । अगस्ट ३० मा अमेरिकी उच्च अधिकारीहरूको बैठक बस्यो । त्यसमा अफगानिस्तान र युक्रेनको छलफल हुने तय भएको थियो । बैठकको सुरुमा ट्रम्पले भने, “तालिबानीहरू आफ्नो देश फिर्ता चाहन्छन् ।” उनले बोल्टनको राय मागे । बोल्टनले ८,६०० अमेरिकी सेना र मित्र देशका अन्य सेना राख्नुपर्ने बताए । उनले आसन्न अफगानी चुनावको नतिजा पर्खिनुपर्ने र तालिबानीहरूलाई विश्वास गर्न नहुने बताए । ट्रम्पले सम्झौताले आफ्नो छविमा पार्ने असरबारे सोधे । यसको लागि डेमोक्र्याटहरूसँग कुरा गर्नुपर्ने एस्परको मत थियो । बोल्टनले तालिबानीहरूले सम्झौता पालन नगर्ने बताए ।
एकाएक ट्रम्पले आफूले तालिबानहरूसँग भेट्न चाहेको बताए । उनले भने, “म तालिबानसँग कुरा गर्न चाहन्छु । उनीहरूलाई वासिङटन आउन दिऔँ ।” उपराष्ट्रपति पेन्सले निर्णय लिनुअघि घोत्लिनुपर्ने बताए । ट्रम्पले फेरि भने, “हामीले तिनीहरूको देश खोस्यौँ ।” त्यसपछि थपे, “म घानी र तालिबान दुवैसँग भेट्न चाहन्छु । हस्ताक्षर गर्नुअघि म भेट्न चाहन्छु । फोनवार्ताले हुँदैन ।” यसरी दुवै पक्षलाई भेटे सम्झौता गर्न झन् गा¥हो हुने बोल्टनको ठम्याइ थियो । त्यसो नभए कम्तीमा सम्झौतामा ढिलाइ हुने उनले अनुमान गरे । खलिलजादले बाहेक बैठकमा उपस्थित सबैले ट्रम्पको प्रस्तावमा सहमति जनाए । उनको चित्त बुझाउने ट्रम्पले भेटवार्ताको खाका सुनाए, “पहिला मैले घानीलाई भेट्छु । त्यसपछि तालिबानहरूले मलाई शान्तिवार्तामा बोलाउँछन् । अनि मैले अनुमति दिएको खबर छापिन्छ ।” पोम्पेओ र खलिलजादको सम्झौतापछि आफूले धेरै दबाब खेप्नुपर्ने देखेर नै ट्रम्पले अर्को बाटो खोजेको बोल्टनले बुझे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *