भर्खरै :

सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरूको सम्पत्ति छानबिन गर्नुपर्ने

सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरूको सम्पत्ति छानबिन गर्नुपर्ने

काठमाडौँ, २५ पुस । गएको मङ्सिर ४ गतेको निर्वाचन परिणामअनुसार गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक सोमबार दिउँसो १ बजे सङ्घीय संसद् भवन बानेश्वरमा सुरू भयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्ता र प्रमुख प्रतिपक्षीबिच सरकारको भागबन्डा गरिए संसद् कमजोर हुने चर्चा गर्दै संसद्लाई सरकारको रबर छाप बनाउन नहुने र प्राज्ञिक छलफलको थलो बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
सांसद सुवालले प्रजातन्त्रविपरीतको तीन प्रतिशतको मत सीमा, नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को सन्धि, वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता, नेपाली सेनाको ब्यारेक अमेरिकी सेनाले कब्जा गर्ने एसपीपी साझेदारी, २०६३ सालमा जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई समेत वंशजको नेपाली नागरिकता दिने नागरिकता विधेयक खारेज गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मध्य पहाडी लोकमार्गको सिन्धुली खण्ड पुरानो बस्तीको ७ सय घर धुरीका जनता उठिवास हुने गरी निर्माण गर्न नहुने उल्लेख गर्दै सांसद सुवालले काठमाडौँ उपत्यका विकास प्राधिकरण अहिले विध्वंशाधीकरण भएको हुँदा खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “ख्वप विश्वविद्यालय विधेयक अविलम्ब पारित गर्नु जरूरी छ । विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्नु आवश्यक छ । समाजवादमा राज्यको स्वामित्वमा उत्पादन र वितरण गरिन्छ । समाजवाद डुकुभातमात्र होइन उच्च सांस्कृतिक स्तर पनि हो ।”
सिंहदरबार भ्रष्टाचारको अखडा बनाउने पञ्चायत कालदेखि गणतन्त्रसम्मका प्रधानमन्त्री, मन्त्री र उच्च अधिकारीहरूको सम्पत्ति छानबिन गरी कारबाही गर्न र निर्वाचन आचारसंहिता उल्लङ्घन गरी जितेकाहरूलाई कारबाही गर्न तथा देशलाई आर्थिक सङ्कटबाट जोगाउन विगतमा प्रम भएकाहरूले के–कस्तोले काम गरे प्रतिवेदन तयार गर्न संसदीय समिति गठन गर्नुपर्ने आवश्यकता सांसद सुवालले औँल्याउनुभयो ।
बैठकमा एमालेको मुख्य समर्थनमा प्रम भएका माओवादीका प्रचण्डले नयाँ भाष्य रचना गर्न संसद् सफल हुने र संसद्लाई जनताको समर्थन सशर्त भएको उल्लेख गर्नुभयो ।
तर, प्रम प्रचण्डको पहिलो सम्बोधनमा देश र जनताको हितका कामबारे ठोस विषय उल्लेख नभएको संसद्भित्र चर्चा चल्यो ।
प्रमुख प्रतिपक्षी दल नेकाका शेरबहादुर देउवाले प्रम प्रचण्डलाई बधाई दिए र आफ्नो नेतृत्वमा १८ महिना सरकार सञ्चालन भएको उल्लेख गर्नुभयो ।
सत्ता साझेदार एमालेका केपी शर्मा ओलीले भन्नुभयो, “देशले परिवर्तन खोजेकोले प्रचण्डको नेतृत्वमा सरकार बनेको हो । प्रतिनिधिसभा भङ्ग हुनु प्रतिगमन होइन, अन्यत्र (सर्वोच्च अदालत) गएर संसद् थाल्नु÷बनाउनु प्रतिगमन हो ।”
उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्नो मान्छे छुटाउन दबाब दिन नहुनेतर्फ सचेत पार्दै पार्टीको प्रतिबद्धतालाई कमजोर हुने गरी कुर्सीमा नबस्ने उल्लेख गर्नुभयो ।
राप्रपाका राजेन्द्र लिङदेनले चुनावमा एक दललाई मात्र जनताको विश्वास नभएको उल्लेख गर्दै प्रममा प्रचण्डलाई आफ्नो समर्थनको पुष्टि गर्ने कोशिश गर्नुभयो ।
जसपाका रामसदायप्रसाद यादवले प्रदेश सरकारलाई अधिकार नभएको उल्लेख गर्नुभयो ।
एसका माधवकुमार नेपालले भ्रष्टाचार, अनियमितता, कालबजारिया, तस्करी बढेको उल्लेख गर्दै ‘समाजवाद’ शब्द उच्चारण गर्नुभयो तर ‘समाजवाद’ मा के–कस्तो बन्दोबस्त हुने चर्चा गर्नुभएन ।
जनमत पार्टीका सीके राउतले निर्वाचनमा धनाढ्य उम्मेदवार पनि गरिबका घर पुगेको उल्लेख गर्नुभयो ।
लोसपाका शरतसिंह भण्डारीले निर्वाचन परिणामबाट गम्भीर सङ्केत आएको उल्लेख गर्नुभयो ।
नागरिक उन्मुक्ति पार्टीका रंजिता श्रेष्ठले टीकापुर घटनाका रेशम चौधरीलगायत बन्दीहरू नेका, एमाले र माओवादीका कार्यकर्ता नभएको हुँदा रिहा नगरिएकोमा विरोध गर्नुभयो ।
राजमोका चित्रबहादुर केसीले रातारात गठबन्धन बदलेर प्रचण्ड एमालेको समर्थनमा प्रम भएकोमा आश्चर्य प्रकट गर्नुभयो ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले अर्थमन्त्रालय विचौलियाको हातमा रहेको उल्लेख गर्नुभयो ।
सांसद प्रभु साहले मङ्सिर ४ को निर्वाचनमा बुथ कब्जा गर्ने र निर्वाचन स्थगित गराउने काम किन भयो संसद्मा छानबिन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
स्वतन्त्र सांसद योगेन्द्र मण्डलले प्रम र मन्त्रीहरूले जनताको समस्या समाधान गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सांसदहरू ईश्वरी न्यौपाने, चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतिक्षा तिवारी मुखिया, बुद्धिमान तामाङ, रामकृष्ण यादव, सुशीला श्रीपाइली ठकुरीलाई चयन गरियो ।
नेकाका गोर्खा–२ बाट निर्वाचित पूर्वसांसद मैयादेवी श्रेष्ठ ९४ वर्ष, माओवादीका ओखलढुङ्गा–२ बाट निर्वाचित र पछि एमाले भएका पूर्वसांसद बालकृष्ण ढुङ्गेल ५३ वर्ष, नेकाका समानुपातिक सांसद झुलबहादुर आले ७२ वर्षको असामयिक निधन भएकोमा बैठकमा श्रद्धाञ्जली प्रस्ताव पारित गरियो ।
प्र्रतिनिधिसभाको अर्को बैठक पुस २६ गते बिहान ११ बजे हुने र सो बैठकमा प्रम प्रचण्डले आफूलाई संसदको विश्वासको मत भए नभएको प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *