भर्खरै :

एक आदर्श समाजको निम्ति ‘श्रमिक’ को ३० वर्षे निःस्वार्थरूपको सङ्घर्ष जाने छैन खेर !

एक आदर्श समाजको निम्ति ‘श्रमिक’ को ३० वर्षे निःस्वार्थरूपको सङ्घर्ष जाने छैन खेर !

समाचारपत्र वा पत्रपत्रिकाको उद्देश्य आफ्नो राजनैतिक दल, सङ्घ संस्था वा विचारको उद्देश्य प्रचार गर्नु र त्यसबारे जनमत तयार गर्नु हो । संसारका पुँजीवादी क्रान्ति होस् वा स्वतन्त्रता आन्दोलन सबै देश र राज्यहरूमा गुप्त वा खुला प्रचार यन्त्रले उद्देश्य पूर्ति गर्न ठूलो भूमिका खेलेको हुन्छ । क्रामवेलको नेतृत्वमा भएको बेलायत क्रान्ति होस् वा फ्रान्सेली क्रान्ति होस् राजनैतिक दर्शनविना क्रान्ति अगाडि बढ्न सक्दैनथ्यो । एक दर्शनको आधारमा राजनैतिक पार्टीहरूको निर्माण हुन्छ, तिनीहरूकै प्रचारयन्त्रले समाजमा परिवर्तन ल्याउँछ । बेलायत र फ्रान्सेली क्रान्तिको निम्ति राज्यको दैवी सिद्धान्तको खण्डन गर्दै भौतिकवादी दृष्टिकोण अगाडि बढ्यो । अन्धविश्वासको विरोधमा बोल्नु त्यसबेला आगोसँग खेल्नुपर्दथ्यो । ‘पृथ्वी गोलो छ’ पनि भन्न नपाउने ती समाजमा ‘सूर्यले पृथ्वीलाई परिक्रमा गर्छ’ पृथ्वी संसारको केन्द्र हो भन्ने जस्ता मनोगतवादी दृष्टिकोण राख्थे । त्यस्ता वैज्ञानिक विचारले समाजलाई अगाडि बढाउन पुरानो अवैज्ञानिक र अन्धविश्वासलाई विरोध र खण्डन नगरी हुन्नथ्यो । त्यसबेला ती बुद्धिजीवी समूह र राजनैतिक दलहरूले ज्यानको बाजी लगाएर काम गर्नुपर्दथ्यो ।
अमेरिकी स्वतन्त्रता आन्दोलन पनि चर्चको विरोध र राजतन्त्रको विरोधसँग जोडिएको थियो । बेलायती उपनिवेशले अमेरिकामा विचार स्वतन्त्रतालाई सहँदैनथ्यो र त्यहाँ प्रेस पनि थिएन । युरोपबाट अनेक टुक्रामा लुकाई ल्याएका पार्टपुर्जाहरूलाई जोडेर गुप्तरूपले प्रेसको स्थापना, पत्रपत्रिका र प्रकाशनहरू सुरु गरियो । अप्रत्यक्ष दुःख पाएर संसद् संविधानसभा र संविधान बनाउन सफल भएका थिए – ती देशका नेता र कार्यकर्ताहरू ।
त्यो सन्दर्भमा नेपालको वर्तमान संसद् जनप्रतिनिधि, विधानसभा वा सदस्यहरू र संविधानमाथिको खेलाँची हेर्दा शासक दलहरू र अन्य दक्षिणपन्थी दलहरूका नेताहरू राजनैतिक व्यक्तित्वभन्दा नाफा र फाइदा उठाउने व्यापारीहरू मात्रै हुन् । संसद्मा कुनै पनि पार्टीको बहुमत नहुँदा जनता सबै शासक दलहरूको चरित्र र व्यवहार जनविरोधी र देशविरोधी भएकाले नै हुन् । यस्तो अवस्थामा ती पार्टीहरूले तत्काल आफ्ना जनविरोधी र देशविरोधी गतिविधिप्रति माफी मागेर नयाँ सिद्धान्त र निश्चित प्रगतिशील उद्देश्य राखेर नयाँ पार्टीको निर्माण गर्नुपर्दथ्यो । सिद्धान्तहीन गठबन्धनले पनि कुनै दलको बहुमत आएन भने पुनः निर्वाचनबाटै चुनाव घोषणाबाट जनताको विश्वास हासिल गर्नुपर्ने हुन्छ । तर, वर्तमान नेपालमा जसरी छात्रछात्राहरूलाई विश्वविद्यालयदेखि विद्यालयसम्म नक्कल गरेर परीक्षा लिई उत्तीर्ण गर्छन्, त्यसमा कर्मचारी मनोवृत्तिका शिक्षा शास्त्रीहरूको पनि हात हुन्छ । त्यस्तै चुनावमा पैसा र उपहार बाँड्ने, भोजभतेर, निर्वाचन आचारसंहिताविपरीत कर्मचारी र प्रहरीमार्फत निर्वाचन बाकस कब्जा गरेर ‘मत ल्याउने’ अथवा मतदान केन्द्र नै नियन्त्रणमा लिने आदि उपद्रव ‘नक्कल गरेर पास’ भएका विद्यार्थीको मन र मस्तिष्क जसरी सफा र सक्षम हुँदैन त्यस्तै निर्वाचनमा आचारसंहिता कुल्चने दल, नेता र कार्यकर्ताहरू भन्नमा अयोग्य नै ठहरिनेछन् ।
आजको सांसद र सरकारका मन्त्रीहरू माथिका ‘नक्कल गरेर परीक्षा उत्तीर्ण’ गरेका विद्यार्थी जस्तै कायर, अयोग्य, स्वार्थी र अपराधी साबित हुनेछन् । त्यस्ता देशका जिम्मेवार राजनैतिक दलहरू नेता र कार्यकर्ताहरूले देशलाई सुशासन देलान्† भ्रष्टाचार निर्मूल गर्लान्† महँगी हटाउलान् र देश जोगाउलान् भन्ने जस्ता आशा मृगतृष्णा मात्रै हुनेछन् ।
त्यस्ता नकारात्मक वा काला शासक दलहरू नेताहरूलाई उदाङ्ग्याउन नै पत्रपत्रिकाको आवश्यक भएको हो । आजका नेपाली समाजवादी भनिने नेका, एमाले, एमाओवादी आदि दलहरूको खोइ प्रचार यन्त्र, प्रकाशन वा मुखपत्र ? फिलिङ्गो (इस्क्रा) को पहिलो छापिँदा लेनिन कसरी खुसी हुनुभएको थियो ? अहिलेका नेपाली क्रान्तिकारी शासक दलहरूमा खोइ त्यो समर्पण र देश एवम् जनताको सेवा गर्ने उत्साह ? निर्वाचन नगरी बारम्बार ६–६ महिनाको खेलले शासन गर्ने के यो जनताको विश्वासलाई अपहरण गरेको वा चोरी गर्नेजस्तै अपराध होइन ?
हो, त्यस्ता राजनैतिक विचारका अपराधीहरू एक आदर्श समाज निर्माण गर्ने महायज्ञमा भाँजो हाल्ने दल र नेताहरूलाई उदाङ्ग्याउने काम ‘श्रमिक’ ले ३० वर्षदेखि गर्दै आएको छ । ‘श्रमिक’ को आदर्शको झन्डालाई अझ माथि उठाउँदै जाऔँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *