भर्खरै :

नेकाको अपरिपक्व राजनीति

नेकाको अपरिपक्व राजनीति

सरकारको समर्थन गरेर प्रतिपक्षमा बस्ने नेकाको विचार प्रजातान्त्रिक मूल्य, मान्यता र संसदीय व्यवस्थाविपरीत छ । प्रजातन्त्रको निम्ति लड्ने, प्रजातन्त्रको लामो इतिहास भएको नेकाको यो अधकल्चो विचार हो, द्वैधचरित्र हो । यही कारण नेकाकै शीर्षष्ठ नेता र कार्यकर्ताहरूले नेकाको संस्थापन पक्षको सो निर्णय गलत भएको निष्कर्ष निकाले । प्रमुख प्रतिपक्षमा बसेर राष्ट्रपति पद पाउने लोभ या आशामा नेकाले सरकारको समर्थन गरेको कुरा सञ्चारमाध्यममा आयो । प्रतिपक्षमा बसेर राज्यबाट सहुलियत पनि लिनुपर्ने, सरकारको समर्थन गरेर राष्ट्रपतिको पद पनि पाउनुपर्ने नेकाको यो कस्तो अपरिपक्व राजनीति ?
शेरबहादुर देउवा नेकाभित्रै पनि विवादास्पद नेता हुन् । देश र जनताको नजरले मूल्याङ्कन गर्दा उनी देशघाती सरकार प्रमुख, भारत र अमेरिकी सरकारको पृष्ठपोषण गर्ने विदेशी दलाल नेतामा पर्छन् । देशघाती नीति, निर्णय र असमान सन्धि सम्झौता गर्ने नेकाका अरु नेताहरूझैँ देउवा पनि अगाडि छन् । तर, पनि उनी नेकाको नेतृत्वमा छन् । किन ? उनी नेकाका नेता र कार्यकर्ताको भन्दा विस्तारवादी भारत र साम्राज्यवादी देश अमेरिकाको समर्थन गर्छन् या पक्षमा राजनीति गर्छन् । उनी किसानहरूको मोहियानी खोस्ने किसानविरोधी नेता हुन् । कमैयाहरूलाई बिचल्ली पार्ने, घुमन्ते जीवन बिताउन बाध्य पार्ने कमैयाविरोधी नेता हुन् ।
विदेशी शक्ति राष्ट्रको उठबसमा रहेकैले उनी नेकाका सभापति बनेका हुन् । अमेरिकाको दबाबमा परेरै उनले रुसको विपक्ष र युक्रेनको पक्षमा मतदान गरेर नेपालका असंलग्न परराष्ट्र नीतिको उल्लङ्घन गरे । भारतीय सरकारको पृष्ठपोषण नगर्ने या देशभक्त दल हुँदो हो त नेकाको सरकारले नेपाली भूमि कालापानीमा रहेको भारतीय सेना फिर्ता पठाउन पहल गर्नुपर्ने हो । तर, त्यस्तो कुनै कारबाहीको प्रक्रिया अघि बढाएको देखिँदैन । नेकाले यसरी किन अप्रजातान्त्रिक अभ्यासलाई निरन्तरता दिइरहेको हो भन्ने कुरा प्रजातन्त्रवादी र राजनीतिक विश्लेषकहरूले प्रश्न उठाइरहेका छन् ।
नेका सभापति देउवालाई ‘नालायक’ प्रधानमन्त्री भनी हटाइएको इतिहास ताजै छ । पटकपटक प्रम भएका देउवा बहुमत जनताको हितमा होइन अहितमा काम गर्न अघि सरे । पद र पैसाबिना दिन कटाउन अप्ठेरो मान्ने शासक नेताहरूकै कारण देश बिग्रिरहेको हो । देश भागबन्डामा केन्द्रित भएको कारण देश अनिर्णयको बन्दी बनिरहेको हो । देशको विकासपछि पर्नु र देश परनिर्भर हुनुको कारण पनि शासकहरू नै हुन् । देशका शासकहरू देश र जनताप्रति जिम्मेवार नहुँदा या किंकर्तव्यविमूढ हुँदा देशले राजनीतिक निकास नपाएको हो । ठूला दलहरू एकपछि अर्को पतन भइरहेको हो । तर, पनि देशका शासकहरू शिक्षा लिएर अघि नबढी पद र पैसाकै निम्ति ज्यानतोड गर्छन् । यो देशको लागि दुर्भाग्यको कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *