भर्खरै :

उच्च शिक्षा हासिल गर्ने नाउँमा विदेशिने र स्वदेश नफर्कने प्रवृत्ति चिन्ताजनक

उच्च शिक्षा हासिल गर्ने नाउँमा विदेशिने र स्वदेश नफर्कने प्रवृत्ति चिन्ताजनक

भक्तपुर, १३ माघ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ ९ औँ माध्यमिक विद्यालय भक्तपुर जिल्ला सम्मेलन शुक्रबार सम्पन्न भयो ।
सम्मेलनको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेक्राविसङ्घमा लागेका विद्यार्थीहरू शैक्षिक क्षेत्रमा अब्बल हुनुका साथै व्यावहारिक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“नयाँ पुस्ताका विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्ने नाउँमा विदेशिने तर स्वदेश नफर्किने प्रवृत्ति बढ्दै गएकोले यस विषयमा छलफल चलाउनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
आजको भक्तपुर हुनुमा नेमकिपाले विगतमा गरेको सङ्घर्षको उपलब्धि भएको धारणा राख्दै उहाँले इतिहासलाई अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले शिक्षा, स्वास्थ्य र सरसफाइमा गरेको परिवर्तनले नै भक्तपुरका जनतालाई राहत भएको छ । वि.सं. २०२१ सालको भूमि सुधार ऐन लागु हुँदा पार्टीले चालेको कदमले गर्दा किसानहरूलाई हक दिलाउन सफल भयो ।”
२०५२÷५३ साल तिर जनआन्दोनको नाउँमा एकातिर विद्यालय, कलेज बन्द गराउने पक्ष थियो भने अर्कातिर नेक्राविसङ्घका साथीहरूले शैक्षिक हड्तालको नाउमा विद्यार्थीलाई शिक्षाबाट बञ्चित गराउन खोज्नेविरूद्ध सङ्घर्ष गरेको उहाँले स्मरण गराउनुभयो ।
समाजवादी देश क्युवा प्राविधिक शिक्षालाई बढी प्राथमिकतामा राख्ने कुरा बताउँदै उहाँले श्रमसँग जोडिएको शिक्षाले मात्र देशको आर्थिक विकास हुने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सृजना सायजुले नेकिपाको स्थापना नभएको भए नेपालमा जनताको अग्रदूत देशभक्त र क्रान्तिकारीहरूको अभाव हुने थियो भनी भन्नुभयो ।
उहाँले विद्यार्थीहरूलाई समाजको जिम्मेवार सदस्य बनेर समाज परिवर्तनमा लाग्न अनुरोध गर्नुभयो । उहाँले कार्यक्रममा विद्यार्थीहरूले राखेको जिज्ञासाहरूको समेत जवाफ दिनुभयो ।
नेक्राविसङ्घ केन्द्रीय समितिका उपाध्यक्ष सुरेश परियारले जलवायु परिवर्तनसम्बन्धी प्रशिक्षण दिँदै तिव्र जलवायु परिवर्तन समापनको लागि पुँजीवाद र साम्राज्यवादको विरोध गर्नुपर्ने भन्नुभयो ।
नेक्राविसङ्घ केन्द्रीय समितिका सचिव दिनेश खड्गीले विद्यार्थी आन्दोलन कमजोर हुनुमा शासक दलका विद्यार्थी सङ्गठनको आत्मसर्मपणवादी चरित्रले गर्दा भएको भन्नुभयो । विद्यार्थी सङ्गठनहरू आफ्नो व्यक्तिगत स्वार्थमा लागेको कारण देशको राजनीतिक परिस्थितिमा विद्यार्थीको भूमिका गौण भएकोले नेक्राविसङ्घका साथीहरू अझ सक्रिय हुनुपर्ने औँल्याउनुभयो ।
नेक्राशिसङ्घका राजन लाखाले सिद्धान्त विनाका युवा भन्दैमा समाज परिवर्तन नहुने भन्नुभयो । विद्यार्थीहरू राजनीतिकरूपमा सचेत भएमा शासक दलका नेताहरूलाई दबाब हुने दरले विद्यार्थीलाई राजनीतिबाट टाढा राख्ने कुचेस्ता गर्दै विदेशीन बाध्य पारेको उल्लेख गर्नुभयो ।
नेक्राविसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष बिलम सुवालले शिक्षामा बजेट बढाउनुका साटो राज्य आफ्नो दायित्वबाट भाग्न खोजेको आरोप लगाउनुभयो ।
नेक्राविसङ्घ ९ औँ मावि भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका संयोजक सुजी ह्योंग्वजूको सभापतित्वमा भएको कार्यक्रममा सुरज प्रजापति, एलिशा कैतीले पनि बोल्नुभएको थियो । सम्मेलनको बन्द शत्रले सनम फैजूको अध्यक्षतामा २४ सदस्यीय नयाँ समिति चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *