भर्खरै :

नेमकिपा समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत

नेमकिपा समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत

दैलेख, १३ माघ । नेपाल मजदुर किसान पार्टी दैलख जिल्ला समितिको आयोजनामा शुक्रबार प्रशिक्षण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले सशस्त्र सङ्घर्षले मात्र समाजमा आमूल परिवर्तन हुने विश्वास व्यक्त गर्दै नेमकिपा समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत छ भन्नुभयो ।
जनताको राजनीतिक चेतनास्तर नउठेसम्म इमानदार नेताहरू चुनावमा नजित्ने विचार व्यक्त गर्दै उहाँले नेमकिपा वैधानिकरूपमा प्रमुख प्रतिपक्षको भूमिकामा रहने बताउनुभयो ।
समाजवादमा मात्रै कामदार वर्गको हित हुने विचार व्यक्त गर्दै उहाँले गरिबीको कारण कुनै पनि विद्यार्थी उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नपरोस् भनी भनपाले शैक्षिक ऋण, सस्तोमा गुणस्तरीय शिक्षा दिइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले पारदर्शी र आर्थिक अनुशासनमा रहेर काम गरिरहेको चर्चा गर्दै उहाँले क्रान्तिकारीहरू परिवर्तनको निम्ति सङ्घर्ष गर्न पछि हट्दैनन् भन्नुभयो ।
नेमकिपा दैलेखका अध्यक्ष जग्यबहादुर शाहीले चुनाव जित्नको निम्ति गठन गरिएको गठबन्धनको सरकारले बहुमत जनताको सेवा गर्दैन भन्नुभयो ।
नेमकिपाका जिल्ला सदस्य निरकबहादुर शाहीले युवाहरू विदेशिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो भने अर्का सदस्य केशोन्द्रप्रसाद कार्कीले शासक दलका नेताहरू देश र जनताको सेवाभन्दा दलगत र व्यक्तिगत स्वार्थमा लागिरहेको बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ, लक्ष्मीकुमार विक, कुमारी रुमा गुरुङ, श्यामकृष्ण खत्री र मदनकुमार भण्डारीले पनि पार्टीको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *