भर्खरै :

हामी कस्ता (अ) ज्ञानी ?

हामी कस्ता (अ) ज्ञानी ?

कुनै बालकले सानोमा, गाईलाई गाई र गोरुलाई पनि गाई भन्न सक्छ । दाललाई दाल र तरकारीलाई पनि दालै भन्न सक्छ । अलि चेतनशील भएपछि बाआमालाई, “म कहाँबाट आएको हुँ ?” भनेर प्रश्न पनि गर्न सक्छ । त्यो बेलामा उसलाई उसका बाआमाले “तिमी माथि आकाशबाट उड्दैउड्दै आएका थियौ । त्यतिखेरै हामीले तिमीलाई तल झर्नै नदिई इः यसरी च्याप्प समातेको नि ¤” भनेर अँगालो मारी च्वाप्प म्वाइ खाए भने ऊ मख्ख परेर पत्याइहाल्छ । हजुरबा हजुरआमाको देहान्त भएको बेलामा, ‘… कता जानुभएको ?’ भनेर प्रश्न सोधेमा, ‘उः पअअर … … द्यौतीमाताको घरमा जानुभएको, भोलि …इ…इ …पर्सि आउनुहुन्छ …”, भन्दा पनि पत्याउँछ । खाँदै खेल्दै गर्दा एकदुई दिनपछि बिर्सेला पनि । तर, उमेर बढ्दै र चेतना छिप्पिँदै गएपछि भने उसले गाईलाई गाई र गोरुलाई गोरु नै भनेर चिन्छ । त्यस्तै दाल, तरकारी र अचारलाई पनि छुट्टाछुट्टै रूपमा चिन्न थाल्छ । जन्म र मृत्युबारे बुझ्न थाल्छ । त्यसका साथै यहाँका अन्य धेरै विषयका वास्तविकताहरू पनि क्रमशः थाहा पाउँदै जान्छ ।
जीवनमा सबै कुरा बिस्तारै जानिन्छ । जीवनभरि जानेर पनि सकिँदैन । त्यसैले शिक्षालाई जन्मेदेखि नमरुन्जेलसम्म चलिरहने प्रक्रिया पनि भनिन्छ । आफैँ सिक्ने कुरा त छँदै छ । तर, विद्यालयमा सिकाउने शिक्षक–गुरुका साथै अबुझ जनतालाई सिकाउने नेता–गुरुले समेत सत्य कुराका सट्टा गलत कुरा बताउन/सिकाउन थाले भने सामाजिक चेतनाको दियो निभ्छ । त्यसैले विद्यार्थी–जनता आफैँ सचेत नभए, पछि गएर पछुताउँदै त्यस्ता गुरुलाई धिक्कार्नु सिवाय केही बाँकी रहँदैन ।
केही वर्षअगाडिको कुरो हो । एकजना क्रिश्चियन धर्मावलम्बी नागरिक गाडीद्वारा इराकमा यात्रा गर्दै थिए । यात्रा रमाइलै थियो । श्रीमान्ले गाडी चलाउँदै थिए । सडकमा अचानक इस्लामिक राज्यका केही आतङ्ककारीहरू देखा परे । तिनीहरूले दम्पतीलाई गाडी रोक्न आदेश दिए ।
श्रीमती निकै आत्तिइन् । गाडी रोकेपछि इस्लामिक राज्यका लडाकुले श्रीमान्तिर हेरेर सोधे, “तिमीहरू कुन धर्म मान्छौ ?”
श्रीमान्ले एकपटक तिनीहरूको हाउभाउ र बोलीचाली अवलोकन गरे । अनि जवाफ दिए, “इस्लाम ।”
“सुन्नी कि सिया ?” अर्को प्रश्न आयो ।
श्रीमान्ले जवाफ दिए, ‘सुन्नी ।’
इस्लामिक राज्यले अर्को आदेश दिए, “ठीक छ । ल, एकपटक कुरानको आयत पढेर सुनाऊ त ।”
श्रीमान्ले कुरान कहिल्यै पढेकै थिएनन् । त्यसैले त्यहाँको आयत कण्ठस्थ आउने कुरै थिएन । मर्नुभन्दा बहुलाउनु निको भनेझैँ उनको पालो बाइबलको एउटा हरफ कुनै मुसलमानले आयत पढेझैँ लयमा सुनाइदिए ।
इस्लामिक राज्यका लडाकुले ध्यान दिएर सुने अनि सन्तुष्ट भएर धन्यवाद दिँदै, “ल जाऊ, जाऊ !” भन्दै बाटोसमेत देखाइदिए ।
सुरक्षित ठाउँमा आइपुगिसकेपछि श्रीमतीले लामो सास फेर्दै आफ्नो श्रीमान्लाई गाली गर्दै भनिन्, “कस्तो मूर्ख मान्छे हँ तपाईँ ? यदि तिनीहरूले तपाईँंले कुरान होइन बाइबल पढेको थाहा पाएको भए के हुन्थ्यो, भन्नुस् त !”
श्रीमान्ले शान्त भएर जवाफ दिए– उनीहरूको अगाडि जे पढेको भए पनि फरक पर्दैनथ्यो । यदि उनीहरूले कुरान जानेका भए हामीलाई यसरी सताउने पनि थिएनन् ।
नेपालका राजनीतिक पार्टीका कार्यकर्ताको व्यवहार हेर्दा झ्वाट्ट तिनै इस्लामिक राज्यका लठैतको सम्झना आउँछ । तिनमा स्वविवेक, चेतना र दिमाग छैन । आफ्ना पार्टीका नेताले जे भन्यो त्यही ठीक भनेर हिँडिरहेका हुन्छन् । त्यस्तो ‘सिकाइ’ सामान्य जनतासम्म आइपुग्छ । अधिकांश सामान्य जनता पनि ‘के भयो ?’ भनेर विवरणमात्र थाहा पाउन चाहने तर किन र कसरी भयो भनेर वास्तविकता जान्न नचाहने देखिन्छन् । हिजो जुन नेताले जे भने आज तिनै नेताले त्यही कुरालाई गलत भने भने कार्यकर्ताहरू फेरि त्यसलाई गलतै भनेर बहस गर्न थाल्छन् । हिजो किन सही थियो र आज किन गलत भयो भनेर प्रश्न गर्ने सामथ्र्य नै उनीहरूमा देखिँदैन । भोलिका दिनमा पनि यस्तो अवस्था कहिलेसम्म रहने हो !
हाम्रो देशमा विभिन्न समयमा भएका राजनीतिक घटनाक्रम, क्रान्ति, आन्दोलन, छिमेकी देशसँग भएका सन्धि सम्झौताहरूदेखि लिएर एमसीसीसमेत सम्झँदा, हरेक पटक हामीमध्ये अधिकांश कहिले त्यही अबोध बालकजस्ता भएका छौँ । कहिले त्यही इस्लामिक राज्यका लठैतजस्ता ।
‘देशलाई स्वर्ग र जनतालाई देवता बनाउने’ परिकल्पनाका साथ २०५२ फागुन १ देखि सुरु गरिएको कथित ‘माओवादी जनयुद्ध’ लाई पनि पत्यायौँ । त्यो बेला, ‘भारतविरुद्ध सुरुङ युद्ध गर्नुपर्छ’ भनेर सुरुङ खन्न लगाउँदा पनि हामीले आज्ञाकारी भएर खन्यौँ । (खाडलका अवशेषहरू अझै पनि होलान् !)
चन्दा माग्दा पनि ‘आफ्नै लागि हो’ भनेर दियौँ । खानबस्न आउँदा पनि हाम्रै लागि हो भनेर अप्ठ्यारो मानेनौँ । “…देशमा क्रान्ति सफल हुँदै छ । पोथी ओथारो बसेको उन्नाइस÷बीस दिन पुग्दा बाहिर फुल देखिए पनि भित्रचाहिँ चल्ला बनिसकेको हुन्छ । अहिलेको हाम्रो क्रान्ति पनि त्यस्तै हो’ भन्दा मनमनै, “कति राम्रो उदाहरण !” भन्दै पत्यायौँ । कसैले पनि, ‘त्यो फुल भित्रभित्रै कुहिसकेको पनि त हुनसक्छ नि ! फुल गलत किसिमले ओथरिएको भए, पछि चल्ला अपाङ्ग भएर पनि त जन्मन सक्छ नि !’ भन्ने आँट गरेनौँ । “लडाइँमा मरे सहिद भएर स्वर्ग गइन्छ । बाँचिएमा पछि हाम्रो सरकार आएपछि सुविधा पाइन्छ” भन्ने सुन्दा पण्डितहरूले समेत श्रीकृष्णले अर्जुनलाई गीतामा भनेको कुरा (हतो वा प्राप्स्यसि स्वर्ग, जित्वा वा भोक्ष्यसे महीम । तस्मा–दुत्तिष्ठ कौन्तेय, युद्धाय कृत–निश्चय) सम्झे होलान् । लडाइँमा साथीहरू हताहत भएपछि लडाकुहरू हामीलाई सान्त्वना दिँदै हौस्याउँथे, “हामी मर्न र मार्न डराउँदैनौँ । शोकलाई शक्तिमा बदल्नुपर्छ ।”
यसैबिच २०५४ सालमा भारतसँग महाकाली सन्धि भयो ।
दसवर्षे कालरात्रिको अन्त्यमा २०६२ मङ्सिर ७ गते दिल्लीमा बाह्रबुँदे सहमति भयो । त्यसले जनमानसलाई सन्तोषको सास फेरायो । २०६३ मङ्सिर ५ गते भएको ‘विस्तृत शान्ति सम्झौता’ ले त झन सर्वसाधारणमा ठूलो आशा जगायो । तर, माओवादीलाई पाल्ने, उकास्ने र ‘अब भयो !’ भन्ने सबै काम अरूको सहयोगमा भएको रहेछ भन्ने कुरा पछि मात्र बुझियो । ‘माओवादी जनयुद्ध’ सुरु हुँदाताक नै सच्चा देशभक्त नेता नारायणमान बिजुक्छेँ ‘रोहित’ ले माओवादीहरूलाई ‘नक्कली जोगी’ भन्नुभएको र शीर्ष नेताहरूसँगको एक भेटमा पनि, “भारतले भनेजस्तो नगरे तपाईँहरूको ज्यान जाने र भनेजस्तो गरे देश जाने” भन्नुभएको कुरा यतिखेर पनि स्मरणीय छ । ‘काम सकिएपछि’ ट्रकका ट्रक हतियार भारत फिर्ता लगिएका रहेछन् ¤ तर, हामीले ‘खोलाले बगायो’ भनेर पत्यायौँ । आफूले गरेको जघन्य अपराधलाई लिएर माओवादीहरूले हामीलाई “युद्ध र पे्रममा जे पनि हुन्छ” भन्ने शिक्षा दिन सफल भए ।
अन्ततः संविधानसभाको चुनाव हुने भयो । तर, हिंसात्मक पृष्ठभूमिबाट आएको हुँदा माओवादीहरू स्वयंमा भने चुनाव जितौँला भन्ने विश्वास रहेनछ ! त्यसैले २०६४ चैत २८ मा पहिलोपटक संविधानसभाको चुनाव घोषणा गरिएपछि माओवादीले ‘एक बुथ : पचास युथ’ को अवधारणा ल्याएका थिए । त्यसअनुसार खासगरी पहाडी क्षेत्रमा चुनावको अघिल्लो रात कथित वाइसीएलद्वारा थुप्रै काङ्ग्रेस–एमाले कार्यकर्ता/मतदाताका ढाडखुट्टा भाँचिएका थिए । पहिलादेखि नै घरमा खुवाउनु, चन्दा दिनु त छँदै थियो, अब भोट पनि नदिए त फेरि पनि सद्दे नराख्ने रहेछन् भनेर तिनै माओवादीलाई जिताइयो ।
समय क्रममा संविधानसधा, समावेशी, समानुपातिक, गणतन्त्र हुँदाहुँदै यतिखेर ‘सङ्घीयता कार्यान्वयन’ उत्कर्षमा पुगेको छ ।
जनतालाई भुल्याउन र आस देखाउन बेपत्ता छानबीन आयोग, सत्य निरूपण तथा मेलमिलाप आयोग—कुनै पनि गठन गर्न बाँकी राखिएन । अन्य कामहरू पनि धमाधम गर्न थालिए । हामीले सबै कुरा ‘हुँदै छ !’ भनेर पत्यायौँ । तर, ती सबै त जनताका आँखामा छारो हाल्ने विधि र तरिकामात्रै रहेछन् ।
समय बित्दै जाँदा, कथित जनयुद्ध ताकका अभियोगहरू सबै राजनीतिक रङमा मिसिएर ‘युद्धमा जे पनि हुन्छ’ भनेर जितियो परेका मुद्दाहरू निष्क्रिय राखिए या अब ‘डिसमिस’ भए । कुनै पनि पक्षमा नलागेका जनता मारिँदा पनि तिनका परिवारजनले न्याय पाएनन् । अपराधीहरू आँखैअगाडि ‘फरार’ भए । ‘फर्जी लडाकू’ र ‘टेप प्रकरण’ ले एकताक प्रचण्डको निकै आलोेचना भएको थियो । अब ती कुराहरू सत्तास्वार्थमा स्वाहा भए ।
यस्तो परम्पराबाट विकसित भएको नेपालको राजनीतिमा ज्यानमाराहरूले धम्की दिने, अपराधीहरूले चुनाव जित्ने, भ्रष्टाचारीहरू मन्त्री बन्ने काम सामान्य बन्न थाल्यो । राजनीति भनेको, ‘देशको मूल नीति’, ‘राज्य सञ्चालन गर्ने नीति’ भए पनि हाकाहाकी, ‘जोगी बन्नका लागि राजनीतिमा लागेको होइन’ भन्न थालियो । यसको अर्थ हामीकहाँ राजनीति भनेको भ्रष्टाचार गर्न, कमाउन, लुट्नकै लागि रहेछ भनेर बुझ्नुपर्ने भयो ।
२०६५ सालयता बाबुराम एकपटक र प्रचण्ड तीनपटक गरी चारवटा सरकार माओवादीले चलाइसक्यो । आफ्नो नेतृत्वको सरकार नहुँदा पनि माओवादी कहिले कता, कहिले कता टाँस्सिएर र बोकिएर सत्ताको चास्नीमा डुबिआएकै छ । तर, यस क्रममा ऊ आफैँले जनयुद्ध सुरु गर्नुअघि (२०५२ माघ २२ गते) तात्कालिक देउवा सरकारलाई बुझाएको चालीसबुँदे ज्ञापनपत्रमा समावेश गरेका बुँदाको समेत कार्यान्वयन गर्न सकेको होइन ।
वाम एकताको नाममा एमाले र माओवाली मिलेर दुईतिहाइ नजिकको सरकार चलाउँदा पनि हामी खुसी भएका थियौँ– नेपालमा अब राजनीतिक स्थिरता हुने भयो भनेर । देशले विकासमा फड्को मार्ने भयो भनेर । टाउकाको मोल तोक्ने र तोकिने दुवै मिलेर, ‘देशलाई प्रतिगमनको खतरा छ’, ‘प्रतिगमनलाई उठ्नै नदिने’, ‘यो गठबन्धन दसपन्ध्र वर्षसम्म कायम गर्ने’ घोषणाका साथ सरकार चलाएको देख्दा पनि पत्याएरै आशावादी हुनुको विकल्प थिएन । प्रचण्ड पछिल्लो पटक प्रधानमन्त्री बन्नका लागि ओलीभाठौँ गएर विनम्र अनुरोध गर्नुअघि, “…ओलीले प्रस्ताव गरे पनि कुनै पनि हालतमा म प्रधानमन्त्री बन्दिनँ .. कुनै शक्तिको अनुरोधलाई पनि मैले स्वीकार्दिनँ ..” भन्दा पनि पत्याउनै परेको थियो । पानी बाराबार भएकाहरूबिचमा पनि अब अहिले सम्बन्ध विच्छेद भएकाहरूको सम्बन्ध पुनःस्थापित भएपछि ‘शुद्ध विकासे सन्तान’ खेलाउन पाइएला भन्ने रहर पाल्नुपरेको छ हामी नेपालीहरूले ।
केही झूटको चर्चा गरिसक्न नभ्याउँदै अन्य डरलाग्दा झूटहरू बनिसक्दा रहेछन् !
भनिन्छ, ढिलो सोच्ने र ढिलो बुझ्नेहरू जिन्दगीमा सदैव पछि पर्छन् । हामी पछि परिसक्यौँ । छिटो सोचौँ । छिटो प्रतिक्रिया दिऊँ । छिटो बुझौँ र हामीलाई अज्ञानी ठान्नेहरूलाई ठेगान लगाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *