भर्खरै :

वैदेशिक रोजगार पीडितहरू आन्दोलित

वैदेशिक रोजगार पीडितहरू आन्दोलित

वैदेशिक म्यानपावर कम्पनीले देशका युवाहरूलाई ठगिरहेको घटना नयाँ होइन । वैदेशिक रोजगारीको नाउँमा हजारौँ लाखौँ असुल्ने तर काम अलपत्र पार्ने म्यानपावर कम्पनीले गरिरहेको पनि नौलो होइन । पैसा लिएर ठगेका या विदेशमा अलपत्र पारेका दलालहरूलाई समाती पीडितहरूले कुटपिट गरेको, माफी मगाएको र पैसा फर्काएको पनि बेलाबखत सञ्चार माध्यममा आइरहेकै हो । काम दिने वाचा गरी पैसा असुलेका तर काम नपाएका पीडित युवाहरूको सङ्ख्या दसौँ हजार पुगिसकेको छ । म्यानपावर कम्पनीका दलालहरूले एकातिर विदेश पु¥याएर अलपत्र पारेका छन् भने अर्कोतिर विदेश नै नपु¥याई ठगेका छन् । कामको खोजीमा विदेश पुगेका कति युवा–युवतीहरू विदेशमा बसेर कष्टकर जीवन बिताइरहेका छन् भने कति युवाहरू स्वदेश फर्कनको लागि सहयोग गर्न आग्रह गरिरहेका छन् । यसरी रोजगारीको नाउँमा म्यानपावर कम्पनीका दलालहरूले ठगिरहे पनि न प्रधानमन्त्रीको ध्यान पुगेको छ न त श्रममन्त्रीकै ध्यान पुगेको छ ।
पैसा असुल्नकै निम्ति ठगिने म्यानपावर कम्पनीका दलालहरूलाई सरकारले कारबाहीको कठघरामा ल्याउनुपर्ने हो । यसरी ठगहरूको सङ्ख्या बढेरै कति युवा–युवतीहरू आर्थिक मामिलामा डुबेका छन् । ऋण काढेर, घर, जग्गा र गहना बेचेर आय आर्जनमा लागेका युवा युवतीहरूलाई धोका दिएपछि, ठगेपछि कसको चित्त दुख्दैन ? कसको आँखाबाट आँसु आउँदैन ? अहिले ती वैदेशिक रोजगार पीडितहरू आन्दोलित छन् । यस्तै पीडा र आर्थिक सङ्कटले यहाँ आत्महत्या गर्ने व्यक्तिहरूको सङ्ख्या बढिरहेको छ । यसले देशमा गलत सन्देश गएको छ ।
देशका युवाहरूलाई विदेश पठाउने र उनीहरूको रेमिट्यान्सबाट आम्दानी बढाउने सरकारको नीति नै गलत हो । देशमै विकास गरेर जनताका आधारभूत आवश्यकता पूर्ति गर्न उद्योग, कलकारखाना खोलेको भए युवाहरूले रोजगारी पाउँथे, आय आर्जनको निम्ति विदेश धाउनुपर्ने थिएन । विदेशमा दासी जीवन बिताउन बाध्य पार्ने काम सरकारले गरिरहेको छ । प्रत्येक दिन सालाखाला तीन–चार जनाको लास भित्रिरहेको छ । विदेशमै अकालमा मर्ने र आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको छ । सत्तासीन र ठूला दलका नेताहरू निर्वाचनको बेला विदेशमा रोजगारीको निम्ति युवाहरू नपठाउने र त्यसको लागि स्वदेशमै रोजगारीको बन्दोबस्त गर्ने कुरा फुक्छन् । तर, सरकारमा प्रवेश गरेपछि ती प्रतिबद्धताहरू भुल्छन् र खुरुखुरु विदेश पठाउँछन् । यसरी सरकारले नै देशका युवाहरूलाई विदेश पठाउने वातावरण तयार गरिरहेको छ, विदेश जानेहरूलाई ठाउँ दिइरहेको छ । यो सरकारको गलत काम हो, यस्तो गलत काम सरकारले रोक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *