नेपालको न्यायालयमा देखिएको विवाद दुर्भाग्यपूर्ण
- कार्तिक १७, २०८३
भक्तपुरको किसान आन्दोलनबाट
२०१७ सालमा संसद् विघटन गरियो र पञ्चायत व्यवस्थाको प्रारम्भ भयो । सबै सङ्घ–संस्थामाथि प्रतिबन्ध लाग्यो । किसान जनताको सङ्घर्षलाई अगाडि बढाउन जिल्ला पार्टीमा दुई बाटा देखा परे । पहिलो थियो–प्रतिक्रियावादी सङ्घ संस्थामा नपसी व्यवस्थाको विरोध गर्ने । अर्को बाटो थियो–प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र पसेर जनताको सेवा गर्ने, सङ्गठनको विकास गर्ने तथा सामन्तवादी व्यवस्थाको विरोध गर्ने । यी दुई कुरालाई लिएर कार्यकर्ताहरूको बिचमा मतभेद भयो । पञ्चायतमा नपस्ने विचार लिनेहरू चुपचाप बसे । सङ्गठन र पञ्चायतमा पस्ने कार्यकर्ताहरूले २०१९ सालको पञ्चायती चुनावमा भाग लिएर नगर पञ्चायतमा आफ्नो बहुमत प्राप्त गरे ।
पञ्चायतमा किसान कार्यकर्ताहरूको बहुमत भएपछि किसानहरूको बालीनाली बिगारी खाइदिने छाडा साँढेका नियन्त्रण गर्न छाडा साँढे धपाउने आन्दोलन सुरु गरे । धर्मको नाउँमा शोषण गर्ने शोषक सामन्तहरूले सरकारको आड पाएर छाडा साँढे धपाएकोमा विरोध गरे । किसान कार्यकर्ताहरूले चर्को सङ्घर्ष गरी छाडा साँढे धपाउने कार्यमा सफलता प्राप्त गरे । पञ्चायतमा पसेका किसान कार्यकर्ताहरूले किसान जनताको टोलहरूमा रचनात्मक र सुधार आन्दोलन चर्काउँदै लगे । टोल र वडा–वडामा रात्रि जनसभाहरू गर्दै जनताको वर्गीय र राजनैतिक चेतनालाई विस्तारै विकास गर्दै लगे । गुप्तरूपमा किसान कार्यसमिति गठन भयो ।
२०२१ सालमा भूमिसुधारको नापी सुरु भयो । त्यस नापीमा किसानहरूलाई आफूले कमाई आएको जग्गामा आफ्नो नाउँ राख्न नदिन सामन्त र जग्गा धनीहरूले किसानहरूलाई फकाउन र हप्काउन लागे– “नापीमा तिमीहरूले नाउँ नराख्नू, होइन भने तिमीहरूले जग्गा कमाउन पाउने छैनौ ।” तर, किसानहरू सामन्त र जग्गा धनीहरूको कुरामा फसेनन् र डराएनन् । ठाउँ ठाउँमा गुप्त सङ्गठनहरू तयार भइसकेको हुँदा किसानहरूले पनि केही कुरा बुझिसकेका थिए र जग्गा धनीहरूको फकाई–फुलाई र डर धम्कीमा लागेनन् ।
सामन्त र जग्गा धनीहरू जोताहालाई नाउँ राख्न नदिने काममा असफल भए । यसकारण, तिनीहरूले किसानहरूमाथि विभिन्न मुद्दाहरू लगाउन थाले । किसानहरूले जोतेको जग्गाबाट बाली लुट्ने र जग्गा खोस्ने कुप्रयासहरू गर्न थाले । तर, किसानहरू बेला–बेलामा किसान सभाहरूमा भाग लिइरहेको र किसान कार्यकर्ताहरूबाट राजनैतिक शिक्षा पाइरहेको हुँदा विनासङ्घर्षले आफ्नो अधिकार लिन सक्ने छैन भनी बुझिसकेका थिए ।
भूमिसुधार ऐनमा पनि सामन्त र जग्गा धनीहरूले कानुनबाट – जोताहा हक खोस्न पाउने अधिकार पाएका थिए । जग्गा धनी सामन्तहरूले किसानहरूबाट कमाई आएको जग्गा खोस्न अनेक जालझेल गर्न थाले । बाली बुझाउँदा जग्गा धनीले किसानलाई बाली बुझिलिएको भर्पाई दिनुपर्ने कानुनी व्यवस्था छ । तर, किसानसँग जग्गा खोस्नको लागि तिनीहरूले मोही किसानहरूलाई भर्पाई नदिने जालझेल गर्न थाले । किसान कार्यकर्ताहरूले सो जालझेल बुझिसकेपछि सामन्त र जग्गा धनीहरूको विरोधमा २०२२ सालदेखि २०२४ सालसम्म भर्पाई आन्दोलन चलाए । त्यस आन्दोलनमा जग्गा धनीहरूको घर–घरमा गई किसान कार्यकर्ताहरूले भर्पाई लिनको निमित्त सङ्घर्ष सुरु गरे । त्यस आन्दोलनमा जग्गा धनी र किसान कार्यकर्ताहरूको बिचमा भनाभन, मारपिट र पुलिस कारबाही भए । सङ्गठनको सही नीति र किसान कार्यकर्ताहरूको सक्रियताले आधाभन्दा बढी किसानहरूले भर्पाई पाउन सफल भए ।
किसान कार्य समितिको निर्णयअनुसार २०२५ सालदेखि बाली काट्ने आन्दोलन सुरु भयो । बाली काट्ने आन्दोलनले एकपछि अर्को विजय प्राप्त गर्दै गयो । त्यो आन्दोलन २०२७ सालसम्म चल्यो । तीन चार वर्षको बाली काट्ने आन्दोलनले सयौँ किसानहरूको बाली काटी किसानहरूको पसिनाको कमाइलाई जोगायो । आर्थिक समस्या लिएर आन्दोलन गरेको देख्दा किसानहरूमा किसान कार्य समितिप्रति विश्वास बढ्न गयो । सङ्गठनको विकास हुँदै गयो । शोषकवर्ग र जोताहा किसानको बिचमा भएको बाली काट्ने सङ्घर्षले किसान कार्यकर्ताहरूको वर्गीय र राजनैतिक चेतना बढ्दै गयो । किसानवर्गमा सङ्घर्ष मर्ने साहस बढ्दै गयो । शोषकवर्गको साहस घट्दै गयो ।
गुप्त सङ्गठनको विकास हुँदै गएपछि किसान कार्यकर्ताहरूले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराअनुसार सामन्तवाद, पुँजीवाद र साम्राज्यवादको विरोध गर्नु, गरिब र भोका नाङ्गा जनताको निःस्वार्थरूपले सेवा गर्नु तथा सङ्गठनलाई विकास गर्नु नै आजको मुख्य कार्य हो भन्ने कुरो सम्झन थाले । संसारको स्वतन्त्रता र मुक्ति आन्दोलनको समर्थनमा फोटो प्रदर्शनी, अमेरिकी साम्राज्यवादी आक्रमणको विरोधमा बेला–बेलामा जुलुस प्रदर्शन, पर्चा, पम्प्लेट र कागज पत्र छर्दै र छाप्दै, टाँस्दै किसान कार्यकर्ताहरूले आफ्नो राजनैतिक स्तरलाई उठाउँदै गए । भियतनाम, कम्बोडिया र लावसको साम्राज्यवादविरोधी सङ्घर्षको समर्थनमा फोटो प्रदर्शनी र जुलुस प्रदर्शनहरू पनि गर्दै गए ।
कुत, भर्पाई र बाली काट्ने आन्दोलनमा किसान जनताको विरोध गर्ने सामन्तवाद र प्रतिक्रियावादी पिछलग्गूहरू आज प्रगतिशीलताको मुकुण्डो लगाएर भक्तपुरमा नेपाल मजदुर किसान सङ्गठन (पार्टी) को विरोधमा काम गर्दै छन् ।
भारतीय विस्तारवादविरोधी सुस्ता रक्षा आन्दोलन
विस्तारवादी भारतले नेपालको सुस्ता थिचोमिचो गरी लिएकोमा २०२५ मङ्सिर २२ गते भक्तपुर जिल्लाका अन्दाजी ३ हजारभन्दा बढी किसान र विद्यार्थीहरूले च्याह्मासिंह (सूर्यमढी टोल) देखि जुलुस प्रदर्शन सुरु गरे । खौमा टोलमा जुलुस बिसर्जन भयो । जुलुस प्रदर्शन प्रारम्भ गर्न लाग्दा पुलिसको एक दल आई प्रदर्शन रोक्न खोज्यो । जुलुस प्रदशन गर्न लागेका प्रदर्शनकारी जनताले पुलिसदेखि नडराई चर्को स्वरमा नारा लगाउन थाले । पुलिसहरूले जबरजस्ति जुलुस रोक्न खोज्दा प्रदर्शनकारी र पुलिसहरूबिच कुटपिट भयो । पुलिसहरू पुच्छर लुकाएर भागे । नारा लगाउँदै जुलुस अगाडि बढ्यो ।
जुलुस प्रदर्शन सूर्यमढीबाट गोलमढी टोलमा पुगेको मात्र थियो पुलिसहरूको एक अर्को दल आई जुलुसलाई रोक्न खोज्यो । जुलुस एकछिन पनि रोकेन । प्रदर्शनकारीहरूले पुलिसहरूमाथि हमला गरे । ११ जवान पुलिसहरू घाइते भए र जसमध्ये दुईजना सख्त घाइते भए । जुलुसमा ‘हिन्दुस्तानको आक्रमक नीतिको विरोध गर’ भन्ने नामको पर्चा छरिएको थियो ।
मङ्सिर २४ गते बेलुका १० बजे आफ्नो घरतिर गइरहेको एक किसान कार्यकर्तालाई बिच बाटैमा पुलिसले अपहरण गरी डी. एस. पी. कार्यालयमा लगेको कुरा जनताले थाहा पाए । त्यस कार्यकर्तालाई छोडाउन २–३ सय जना तुरुन्त डी. एस. पी. कार्यालयअगाडि जम्मा भए । ‘हाम्रो कार्यकर्ता तुरुन्त छोडी देऊ’ भन्दै प्रदर्शनकारीले कार्यालयको ढोका घच्घच्याई डी. एस. पी. कार्यालयलाई घेरा दिए । समय बित्दै गयो । अन्दाजी रातको १२–१ बज्यो । पुलिसले अपहरण गरेका कार्यकर्ता छाडी दिने वचन दियो । त्यही समयमा काठमाडौँबाट आएका २ ट्रक लाठीधारी पुलिसहरूले जनतालाई घेरी आक्रमण गरे । ३ जना कार्यकर्ताहरू पक्राउ भए । राति डी. एस. पी. कार्यालयमा हमला गरेको आरोप लगाएर १८ जवान किसान कार्यकर्ता र जनतालाई ७० दिनको म्याद पठायो र ५ जवान कार्यकर्ताहरूलाई गिरफ्तार गरियो । आतङ्ककारी पुलिसहरूले रातिराति बाटोमा भेटेका जनतालाई कुटपिट र पक्राउ गर्नेजस्ता अन्याय अत्याचार गर्दै गए । बिहान सबेरै काठमाडौँमा दही बेच्न लाने किसानहरूलाई र राति दिसा–पिसाब गर्न बाहिर आएका ६०–७० वर्षका बुढाबुढी र केटाकेटीहरूलाई समेत जहाँ भेट्यो त्यही पुलिसले कुटपिट गर्ने काम चालु नै राखे । किसानहरूले पनि प्रशासनको अत्याचार र सुस्ता रक्षाबारे पर्चा र विरोध जनाउँदै गए । किसानहरूले मङ्सिर २६ गते दत्तात्रयदेखि पुलिस अत्याचारको विरोधमा टौमढीसम्म मसाल जुलुस गरे । पुस २ गते पनि वंशगोपालदेखि टौमढीसम्म राति मसाल जुलुस गरेर पुलिस अत्याचारको विरोध गरे । जनताको दबाबमा पछि सरकारले पक्राउ परेका किसान कार्यकर्ता र विद्यार्थीहरूलाई छाड्यो । वारेन्ट फिर्ता लियो र म्याद दिएर चलाइएको मुद्दा खारेज ग¥यो । यसरी ५ महिनासम्म चलेको त्यो सुस्ता रक्षा आन्दोलन टुङ्गियो । सरकारसँगको सङ्घर्ष जनताको पक्षमा टुङ्गियो । तर, पञ्चायती सरकारले सुस्तालाई रक्षा गर्न सकेन ।
(अहिले नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरको आठौँ जिल्ला सम्मेलन हुँदै छ । सङ्घले किसानहरूको हक हितको निम्ति मात्र होइन नेपालको भूमि जोगाउने पनि सङ्घर्ष गरेको थियो । त्यसमध्ये सुस्ता रक्षा आन्दोलन पनि एक हो । पहिलो लेख ‘कोपिला’ अङ्क ७, २०३८ मा र दोस्रो लेख २०३९ साल वैशाखमा ‘कोपिला’ को अङ्क ८ मा छापिएको थियो । – सं)
बाली काट्ने आन्दोलन थप रुपमा राम्ररी बुझ्न मन भएको हुँदा सम्पादकज्यूले यस कुरामा प्रष्ट पारिदिनु भएमा झन् बढी खुसी हुने छु। धन्यवाद