अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
यो कथा स्कन्द पुराणको केदारखण्डमा शिवजीले पार्वतीलाई पहिलो भन्नु भएपछि स्कन्दकुमारले अगस्त्य मुनिलाई बताउनुभएको पाइन्छ । पौष शुक्ल पूर्णिमाको दिनदेखि आरम्भ भई माघशुक्ल पूर्णिमाको दिनसम्म एक महिना गरिने व्रतलाई स्वस्थानी व्रत भनिन्छ । नित्य मध्याह्नकालमा शिवजी र स्वस्थानी परमेश्वरी पार्वतीको पूजा आराधना गरिन्छ ।
परापूर्वकालमा, हिमालय पुत्री पार्वतीले महादेव पति पाउने तीव्र इच्छाले स्वस्थानी व्रत लिएको पौराणिक आख्यान छ । हिन्दू नारीहरूले जनविश्वासकै आधारमा कठोर व्रत बस्ने गर्छन् । विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको र अविवाहिताहरूले योग्य वर पाउने कामना गर्दै व्रत लिने गरेको देखिन्छ । पूजा शुभारम्भ गर्न एक दिनअगाडि नै हात–गोडाको नङ काटी स्नानपश्चात् शुद्ध वस्त्र पहिरिएर श्रद्धा एवम् भक्तिभावले पूजा गर्नुपर्छ । कर्मपात्रो बनाएर जौ, तिल, कुश आदि लिएर सङ्कल्पसहित पूजा सामग्री लिएर पूजा गर्नुपर्छ ।
कतिपय महिलाहरूमा स्वस्थानीको व्रतले मनोकाङ्क्षा पूर्ण हुन्छ भन्ने मान्यता छ भने शिक्षित, चेतनशील वर्तमान नारीहरूको स्वस्थानी व्रत कथाप्रतिको धारणा पृथक छ । बुढ्यौली पुस्ताले व्रत कथामा उल्लेखित हरेक कुरा पालना गर्छन् । बिचका आमा पुस्ताले होला त नि भनेर ज्येष्ठ पुस्तालाई अनुशरण गर्छन् । कनिष्ठ पुस्ता, राजनैतिक दलहरूले गणतन्त्र लागू भएसँगै धर्मनिरपेक्षताको पगरी गुथाएर दिग्भ्रमित बनाउन चाहन्छन् । तर पनि बहुजाति, बहुभाषी र बहुधर्म–संस्कृति अँगीकार गर्ने कुरा केही न्यूनीकरण भए पनि चटक्कै छोडेका छैनन् । जस्तै ः आराध्यदेव पशुपतिनाथको दर्शन तथा कुनै जाति विशेषका पर्वहरू, अन्य जातिहरूको लागि आकर्षण र आस्थाको केन्द्र बन्दै गइरहेका छन् । किनकि, मानिस सामाजिक प्राणी भएकोले दुःख–सुखमा हातेमालो गरी बस्नुपर्ने बाध्यता पनि हो । धर्म भनेको मानव जगतलाई अनुशासनमा बाँध्ने एउटा कडी हो ।
स्वस्थानी समीक्षा
पहिले विष्णुका उपदेशले शिवजी पति पाऊँ भनी पार्वतीले व्रत बस्नुभएको थियो । यस कथामा मध्याह्नमा शिवजीको पूजा गरी भोजन गर्नाले शारीरिक स्वास्थ्य राम्रो हुने मान्यता छ । दक्ष प्रजापतिकी पत्नी विरणीका ३३ कोटी छोरी भन्नाले नारीको प्रजनन क्षमताबारेको प्रश्न उजागर हुन्छ । कथाले पुरुष–महिलाबिचको लैङ्गिक विभेद दर्शाउँछ ।
दक्ष प्रजापतिकी जेठी छोरी सतीदेवीबाहेक अन्य सबैको देवताहरूसँग विवाह भइसकेको अवस्थामा विष्णुले छल गरेर सत्यदेवीलाई महादेवको हातमा सुम्पन्छन् । दक्षले यज्ञ गर्दा, जेठी छोरी–ज्वाइँलाई नबोलाइएकोमा सती देवीले हठ गरी त्यहाँ पुग्छिन् र आफ्नो पतिलाई बाबुले गरेको गाली–गलौजलाई सहन नसकी यज्ञकुण्डमै देह त्याग गर्छिन् ।
शिवभट्ट र गोमा ब्राह्मणी निःसन्तान भई सिद्धिविनायकको उपासनाले ‘गोमा’ नामकी सुपुत्री र प्रशस्त धन सम्पत्ति आर्जन गर्छन् । गोमा ५ वर्षकी हुँदा महादेव भिक्षुकको रूपमा शिवभट्टकहाँ पुग्छन् । त्यत्तिबेला गोमा ब्राह्मणीमात्रै भएकी र भिक्षा दिन ढिलो भएको निहुँमा भिक्षुकले ७ वर्ष हुँदा ७० वर्षे वृद्धसँग विवाह होस्, बाबु आमा छिट्टै मरिजाऊन्, धन सम्पत्ति नास होस् भनी श्राप दिए । गर्भिणी गोमाको संस्कार, जात कर्म, नाम कर्म गर्न भिक्षाको लागि जान्छन् । तर, शिवशर्मा फल टिप्न रुख चढ्दा रुखबाट लडेर मरेछन् । अर्काको ढिकी–जाँतो ज्यादै दुःख, कष्टले चुडाकर्म गरेर पुत्रको नाम नवराज नामकरण गरियो । ठूलो भएपछि चन्द्रावतीसँग लगनगाँठो कसियो । मरे बाँचेको पत्ता लगाउन बाबुको खोजीमा हिँडेका नवराजले रुखबाट लडेर मरेका शिवभट्टको काजकिरिया गरी फर्कँदा धन आर्जन गर्ने ध्येयले राजाप्रसादमा गई सेवा गर्न थाले । सप्त ऋषिहरूको सल्लाहले गोमाले स्वस्थानीको व्रत बसी समापन गर्ने दिनमा प्रसाद खाने बेलामा नवराज टुप्लुक्क आइपुग्छन् । हरिहरको आशीर्वचनले उनी लावण्य देशको राजा बने । उनै स्वस्थानी व्रतको प्रभावमा गोमा ‘राजमाता’ बन्छिन् । स्वस्थानी परमेश्वरीको निन्दा र अपमानको कारणले वर्ष दिनसम्म कुष्ठरोगले पीडित भएर विक्षिप्त अवस्थामा बस्न बाध्य चन्द्रावती पनि यही व्रतको प्रभावले पटरानी बनिन् ।
यस व्रत कथामा नारीको त्याग, समर्पण देखिए पनि नारीलाई उचित स्थान, इज्जत–आमद दिएको पाइँदैन । महिलालाई पुरुषले भोगचलन गर्ने वस्तुको रूपमा लिइएको देखिन्छ । जस्तै ः सय रोटी आफू खाई आठ रोटी पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए मनकोे इच्छा पूरा होस् भनी उल्लेख गरेको पाइन्छ । तर, छोरीलाई दिनु भनेर कहीँकतै उल्लेख गरेको पाइँदैन । यहाँ छोरीलाई खोलाभन्दा पनि दूर वा पराइ जात मानेको देखिन्छ । फेरि व्रतको क्रममा कतै भनिएको छ, “आफ्नो पतिलाई रीस गर्ने डेरी हुन्छे, पतिलाई नदिई एक्लै आफैँ खानेकुरा खाएमा कुकुर्नी हुन्छे । पतिको वचन मान्दिनँ भने ऊ पापी हुन्छे, पतिसँग मुख लागे लाटी हुन्छे ।”
यस्तो सोचलाई समय–सापेक्ष परिमार्जन गर्दै जानुपर्छ । रावणकी पत्नी मन्दोदरीले तथा पतिव्रतामा अटल नारी वृन्दाले आफूभन्दा अझै सुन्दर सती सावित्रीजस्ता सीता र पार्वती भएको भनेर जालन्धरलाई उक्साएर उत्साहित गराउने पनि नारी नै छन् । आफ्नो लोग्नेलाई आफूमाथि सौता हाल्न अर्की महिलाप्रति आशक्ति जगाउनु नारीको धर्म होइन । फेरि, महादेवको वीर्य अग्नीले ओकल्दा, ऋषिमुनिका पत्नीहरू सबैले तापेर गर्भिणी भएको कुरा कथामा उल्लेख भएको पाइन्छ । ऊ बेलामा उल्लेखित यी कुराहरू कति झूटो, कति शास्वत थिए भन्ने कुरा घनिभूत अध्ययन अनुसन्धानको विषय आज हाम्रोसामु उपस्थित छ ।
अन्याय, अत्याचारलाई शिरोधार्य गर्नुपर्छ भन्ने छैन । विरणीको अलाप–विलाप र भक्तिभावले दुष्ट दक्षपतिको शिर छेदन गरेका महादेवले फेरि ब्युँताइदिन्छन् । देउताहरूको पनि घात प्रतिघात देखिन्छ । देवराज इन्द्रले माताको गर्भमा प्रवेश गरी गरेको जघन्य अपराध कसरी छम्य भयो ? सरसरती हेर्दा देवताभन्दा दानव पराक्रमी हुन् कि भन्ने लाग्छ । रीस, राग, द्वेष, छलप्रपञ्च व्याप्त देखिन्छ । एउटाले दिने अर्काेले हरण गर्ने गरेको पाइन्छ । बहुविवाहको प्रचलन, त्यो युगमा प्रचलित देखिन्छ । शिवभट्टको रूपमा पार्वतीजस्तै गोमालाई एकपछि अर्काे यातना र सकस देख्दा करुणा लाग्छ जुन देवकालमा कहालिलाग्दो छ । शोषणरहित समाजको परिकल्पना ओझेलमा परेको छ । अनुजको अग्रजसँगको आदर, सद्भाव र कर्तव्यच्युत भएको आभाश हुन्छ । पीडा र अभाव, आफन्तको शेकतापबाट विमुख अवला नारी गोमालाई चटक्कै त्यागेर माइत जान्छिन् स्वार्थी, संस्कारहीन चन्द्रवती बुहारीको कर्तव्यलाई तिलाञ्जली दिएर । भाखाहक डोलेहरू एक्लै घना जङ्गलमा आइमाईलाई छोडेर अन्यत्र जान हुँदैनथ्यो । महाराजपति नवराजलाई भेट्न आतुर भएकी चन्द्रावतीको अहम् र घमण्डले पराकाष्ठा नाघेको छ । कसैको अपमान, अपहेलना र छिःछि दूरदूर गर्न हुँदैन भन्ने स्वस्थानीले सद्बुद्धि छरेको छ ।
Leave a Reply