भर्खरै :

सामाजिक जागृति अभियान आजको आवश्यकता

सामाजिक जागृति अभियान आजको आवश्यकता

नेपाली समाजमा विकास र उन्नतिको निम्ति विभिन्न भाष्य प्रयोग हुने गरेका छन् । कोही “देशको विकास गर्न राजनीतिक प्रणाली फेर्नुपर्छ” भनी तर्क गर्दछन् । कोही भन्छन्, “राजतन्त्रात्मक शासन प्रणाली आएको खण्डमा मात्र देश विकास हुन्छ ।” कोही “सङ्घीयताले देश कायापलट गर्छ” भनी तर्क गर्दछन् । कोही “बुढा नेताहरूले देश बिगारे अब युवा नेताहरूले शासन गरेमात्र देशको भलो हुन्छ” भनी दाबी पेश गर्दछन् । कोही “भ्रष्टाचारको अन्त्य गरेपछि समृद्ध देश बन्छ” भनी भाषण गर्दछन् भने कोही “सङ्घीयता खारेज गरेपछिमात्र देश विकास हुन्छ” भनी आफ्नो विचार प्रकट गर्दछन् । यस्ता किसिमका आदि तर्कहरू आजकाल सडकदेखि सदनसम्म चर्चा हुने गर्छ भने कतिपय राजनीतिक दलको देश बनाउने एजेन्डाहरू पनि यिनै विषयहरूमा केन्द्रित भएको पाइन्छ । वास्तवमा यस्ता तर्क तथा दाबीले साँच्चै देश परिवर्तन होला त ? यतिमात्रै होइन आजको शिक्षित भनिएका व्यक्तिहरूको देशप्रतिको भाष्यहरू पनि बडा रोचक देखिन्छन् । अधिकांश नेपालीहरूले तर्क गर्दछन् कि “नेपालमा अवसर छैन त्यसकारण अमेरिका, अस्ट्रेलिया र खाडी मुलुक जानुपर्छ”, “नेपाल सतीले सरापेको देश हो”, “यो देशमा गरिखाने वातावरण नै छैन,” “ग्रञ्च पाइन्ट लगाउनु, ट्याटु खोप्नु, महँगा मोबाइल बोक्नु, महँगा मोटरसाइकल, स्कुटर किन्नु, छोटा कपडा लगाउनु, जीवन मोज मज्जामा उडाउनु, जन्मदिनमा केक काट्ने, अङ्ग्रजीमा बोल्नु भनेको आजको आधुनिकता हो” भन्ने जस्ता विभिन्न भाष्यहरू आज समाजमा छ्याप्छ्याप्ती छन् । यस्ता भाष्यहरू समाजमा किन उत्पन्न भइरहेका छन् ? किन नेपाली समाज आज अराजक समाजतर्फ लम्किँदै छ ? यसको कारण न कसैले सोच्ने गर्दछ न त कसैले सोध्छ नै ।
वास्तवमा देश समृद्ध बनाउने सन्दर्भको विषयमा पहिलो प्रसङ्गमा उठाइएका केही भाष्यहरू गोलचक्करमात्रै हुन् । गोलचक्कर भनेको एउटापछि अर्को, अर्कोपछि अर्को गर्दै धेरै विषयहरू समेटिएर बनेको एक सञ्जालको वृत्त हो । यसबाट देश बनाउने एक मुख्य निचोड भने निस्कँदैन । एकपछि अर्को अर्कोपछि अर्को गर्दै यी विषयहरू घुमिँदै , गासिँदै जान्छन् र वास्तविक सत्य भने फेला पार्न ज्यादै कठिन हुन्छ । उदाहरणको लागि हामीले पानी, आगो, धुवाँ भनेर छुट्टाछुट्टै वस्तुलाई सङ्केत गर्नुभन्दा सिधै हुक्का भन्यो भने यी ती नै चिजको प्रतिनिधित्व एउटामात्र प्रमुख वस्तु हुक्काले गर्छ । माथि उदाहरणमा उल्लेख गरिएको पानी, आगो र धुवाँजस्ता वस्तु गोलचक्कर हुन् भने हुक्का तीनवटै वस्तुको समिश्रणबाट निर्मित एक वस्तु हो । तर्कशास्त्रमा मुख्य तर्क भनेको अन्तर्विरोध र गोलचक्करबाट निर्मित भाष्यहरूलाई एकमुष्ट सम्पूर्ण कुराहरूको प्रतिनिधित्व गर्ने शस्त्र हो । कुनै विषयमा मुख्य तर्क प्रस्तुत गर्नु छ भने विषयको मुख्य गहिरो कारण के हो भन्ने कुरा थाहा पाउन सो घटनासँग सम्बन्धित अन्तर्विरोध कहाँ छ र के छ भन्ने कुरा सोच्नुपर्छ र अनुसन्धान गर्नुपर्छ । उक्त अन्तर्विरोधसँग सम्बन्धित भएर उठेका विभिन्न गोलचक्करलाई मिहीन ढङ्गले विश्लेषण गर्नुपर्छ । सोही विश्लेषणको आधारमा एक मुख्य तर्क स्थापित गर्न सकिन्छ । संयुक्त गोलचक्करमा आधारित देश निर्माण गर्ने तर्कहरू सतही कारणमा आधारित हुन्छन् जुन बृहत् अनुसन्धान र खोजमा आधारित हुँदैन । नेपालीहरू यही सतही कारणमा आधारित भई गोलचक्कर र विरोधामा संयुक्त तर्क पेश गरेर विभिन्न माध्यमबाट देश बनाउने तर्क गर्दछन् ।
वास्तवमा देश बनाउने मुख्य तर्क भने ‘देशमा उत्पादन वृद्धि गरी देशको अर्थतन्त्र बलियो बनाउने देशव्यापी अभियान, व्याप्त छरिएको भ्रमको चिरफार गरी वास्तविकताको उजागर गर्ने जागृति अभियान र देशभरिका जनतालाई सोच्ने र सोध्न सक्ने क्षमताको विकास गराउने अभियान’ बाट विकास र समृद्धि सम्भव छ । देशको सम्पूर्ण जनतालाई ठाउँठाउँबाट वित्तीय पँुजीवादी अर्थतन्त्रले देश विकासमा पार्ने बाधा, समाजवाद र सामूहिकतावाद, नेपालको वास्तविक तथ्यगत इतिहास, मौलिकता तथा अर्थतन्त्रको संरचना, समाजमा देखिएका भ्रम तथा यथार्थको विश्लेषण, उत्पादनको संरचनागत विकासको योजनाबद्ध ढाँचा, बढ्दो निरङ्कुश सोच एवम् अभिव्यक्तिले समाजमा पार्ने प्रभाव, जीवन दर्शनजस्ता अनेकन विषयवस्तुहरूलाई प्रयोजनवादमा आधारित ज्ञान तथा जनचेतनामूलक जागृति अभियान देशव्यापी बनाउने हो भने जनताको चेतनास्तर मजबुद बनाउन सकिन्छ । जनताको चेतनास्तर बलियो भएको खण्डमा राष्ट्र र देशप्रति हेर्ने मानिसको दृष्टिकोण पनि बदलिन्छ । मानिसहरू जागृत भई चेतनास्तर बलियो भएको खण्डमा माथि उल्लेख गरिएझैँ नेपाली जनमानसले देशप्रति बनाउने भाष्यसमेत बदलिन्छ । सामूहिकतावादमा आधारित रही खोलिएका उद्योग एवम् व्यवसायको ‘सबै मालिक सबैको लगानी’ मा आधारित भई सञ्चालन गरेमा देशमा उत्पादन सुरु हुन थाल्छ र देशको अर्थतन्त्र बलियो हुन थाल्छ । अनिमात्र तपाईँ हामीले सोचेको सडक, पुल, बाटो देशको अर्थतन्त्र बलियो भएपछि बनाउन सकिन्छ । संविधानले सम्बोधन गरेको र तपाईँ हामीले भनेको समाजवादले गति लिन्छ ।
हाल देशमा रु. १७ खर्बको आयात छ । मात्र दुई खर्बको निर्यात छ । २० खर्बको ऋण छ । महँगा र अत्याधुनिक वस्तुहरू किन्ने, फेर्ने र अरूलाई देखाउने हाम्रो आदत छ । त्यही वस्तुहरूमा करिब २ सय प्रतिशत कर तिर्नुपर्छ । जन्मदेखि मृत्युसम्म करको भारी छ । उत्पादन छैन । जनतालाई एकछाक खान समस्या छ । राजनीतिज्ञहरू सत्ता र कुर्सीको खेलमा छन् । बाध्यतावश लाखौँ युवाहरू खाडीमा छन् । उनीहरूको विप्रेषणले मुलुक धानिएको छ । कृषिप्रधान देशमा कृषिको अर्थतन्त्रमा योगदान भने २३ प्रतिशतमात्र छ, २ दशकअगाडि ३७ प्रतिशत थियो । व्यक्तिवादी दृष्टिकोणको हाबी छ । संविधान समाजवाद उन्मुख बनाएको भए पनि देश पुँजीवादले ग्रस्त छ । अब यस्ता विषयको समाधानको बाटो के हो भनेर छलफल गर्ने हो, बहस गर्ने विषयमा देशव्यापी विश्वविद्यालयहरूले ‘क्रिटिकल डिस्कोर्स’ (जागृत संवाद) सञ्चालन गरेको खण्डमा विद्यार्थीहरूलाई क्रिटिकल बनाएर गाउँगाउँमा यो अभियान पु¥याउने हो भने विकास सम्भव छ । यसबाट विद्यार्थीको र समस्त जनताको बौद्धिकता बढ्छ र उसले अब राजनीति गर्नेहरूलाई ठाडो प्रश्न गर्न सक्छ । यसबाट राजनीतिज्ञहरू सचेत हुनैपर्छ, नभएमा उनीहरूको विकल्प रोजिन्छ । विकृति, विसङ्गति, भ्रष्टाचार आदि भएर लुटिने क्रममा हामीले उनीहरूलाई बौद्धिक एवम् कानुनी चेतावनी दिन सक्छौँ । अहिले हामीले कुनै ठाउँमा विकृति भइरहेको छ भने हामी वास्ता गर्दैनौँ, हामीमा एक किसिमको डर छ । हाम्रो चेतनास्तर वृद्धि भएको खण्डमा हामी आफै बोल्न थाल्छौँ । चेतनास्तर बलियो भएपछि युरोकेन्द्रित शिक्षा प्रणाली, पाश्चात्य (पश्चिमेली) भाष्यको हामी आफैँ विरोध गर्न थाल्छौँ ।
अतः यो अभियान अरू कसैले नभएर तपाईँ हामीले नै सञ्चालन गर्नुपर्छ । देशको कुना काप्चामा समृद्धि चाहने हो भने यस्ता अभियान सञ्चालन गरिनुपर्छ । राज्य जनताको लागि नभई जनता राज्यको लागि हो भन्ने मनोविज्ञान विकास गरी देश विकासको लागि बौद्धिक, बुद्धिजीवी एवम् राष्ट्रभक्त व्यक्तित्वहरूको समूह र सञ्जालको तथ्यगत विचारलाई देशव्यापीरूपमा जागृतिको माध्यमबाट सम्प्रेषण गराउनुपर्छ । त्यसको लागि सम्पूर्ण जनताले कम्मर कस्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *