भर्खरै :

युवा कलाकार राजाराम बासी

  • माघ २६, २०७९
  • राजकुमार लघु
  • विचार
युवा कलाकार राजाराम बासी

कलाकार परिचय
राजाराम बासी एक युवा कलाकार हुन् । उनले नाटकमा अभिनय गर्नुको साथै नेपालभाषा भाषा साहित्य तःमुंज्याका विभिन्न विधामा अभिनय गरेका छन् । उनको जन्म २०३५ साल मङ्सिर १६ गते भक्तपुर नगरपालिका वडा नं ८ (साविक वडा नं २)को जेंला टोलमा भएको थियो । उनको परिवार किसान परिवार हो । उनकी आमा गोपाथुकु बासी, बुवा पूर्णबहादुर बासी हुन् । उनका चार जना दाजूभाइ र ४ दिदीबहिनी छन । उनी चार दाजुभाइमध्ये माइला हुन् । उनकी जीवन सङ्गिनी लक्ष्मीशोभा बासी हुन् । उनी विभिन्न अवसरमा हारमोनियम बजाएर भजन पनि गाउँछन्, कलाकार राजाराम बासी । राजाराम बासीका छोरा विशाल बासी हुन् । उनी पनि कलाकार हुन । उनले धिमाय, लालाखिं, पछिमा बासुरी र धाँ बाजा बजाउँछन् । कलाकार राजारामका छोरी पलिस्था बासी सानै छिन्, उनी कक्षा १ मा पढ्दै छिन् ।
कलाकार राजाराम बासी तबला, लालाखिं, धिमाय् बाँसुरी बाजा र मादल बजाउनमा पोख्छ छन् । उनले कुमार लघुको रचनामा ‘झिगु ख्वप दे’ बोलको गीत रेकर्ड गर्दै बजारमा ल्याउने तयारीमा छन् ।
कलाकार राजाराम बासीले अध्ययनको विभिन्न स्कूल फेरे । उनले कक्षा ४ सम्म भक्तपुरको समाज सुधार माविमा अध्ययन गरे । कक्षा ५ ब्यासीमा रहेको बासु स्कूलमा पढे । कक्षा ६ देखि ८ सम्म तचपालको दत्तात्रय माविमा पढे । कलाकार राजाराम बासीले च्याम्हासिंहमा रहेको वागीश्वरी माविको खुल्ला विद्यालयबाट एसएलसी परीक्षा २०७२ सालमा उत्तीर्ण गरेका थिए । शारदा माविमा उनले प्लस २ सम्मको अध्ययन गरेका छन् । राजाराम बासीको रुचि कलाकार बन्ने र गीत सङ्गीत सुन्ने रहेको छ ।
कलाकार राजाराम बासीको उद्देश्य सङ्गीत क्षेत्रमा लागेर कला संस्कृति जोगाउने तथा अभिनय कलाबाट पनि कला संस्कृतिको प्रचार प्रसार गर्ने रहेको छ । उनको प्रेरणा स्रोत बाँसुरी बाजाका गुरु इन्द्रबहादुर दुवाल हुन् । उनले सनराइज बाँसुरी बाजाका गुरु इन्द्रप्रसाद दुवालबाट २०६८ सालमा बासुरी बाजा प्रशिक्षण लिएका थिए । उनले श्वेतभैरव बाजा खलका गुरु हरिनारायण पोतामाहाँबाट लालाखिं बाजाको प्रशिक्षण लिएका थिए । उनले लालाखिंको प्रशिक्षण लिँदा १२ जना थिए । राजाराम बासी २०७४ सालमा नाट्यकर्मी समाज भक्तपुरद्वारा आयोजित नाटक लेखन प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेका थिए ।
कलाकार बासीले २०६९ सालमा गौतम श्रेष्ठबाट तबलाको प्रशिक्षण लिए र बजाउन सफल भए । उनको भावी योजना कला संस्कृति जोगाउन सहयोग गर्ने र सिक्न चाहनेलाई निःशुल्क सिकाउने रहेको छ ।
कलाकार बासी सम्पदा संस्कृति समाजका पूर्वसचिव हुन् । उनी शरद साकोस भक्तपुरको संस्थापक सचिव हुन् । उनी सनराइज सांस्कृतिक समूहका पनि सचिव र नाट्यकर्मी समाज भक्तपुरका पनि कोषाध्यक्षमा कार्यरत रहि कलाकारिताको विकासमा क्रियाशील छन् ।
युवा कलाकार बासी हाल भक्तपुर जगातीका दगाचामा बस्छन् । उनी दगाचा टोलसुधार समितिमा सचिव पदमा कार्यरत छन् । टोलको विकास निर्माणलगायत सामाजिक क्रियाकलापमा संलग्न छन् ।
राजाराम बासी नेपाल स्काउटमा २०५४ सालदेखि आबद्ध छन् । स्काउटको उद्देश्यबारे राजाराम भन्छन्, हाम्रो देशमा सच्चा देशभक्त नागरिक तयार गर्ने शैक्षिक संस्था हो । स्काउटले जीवनमा आइपर्ने हरेक समस्या जस्तै खाने, पिउने र बसोबास कसरी गर्ने भन्ने सिकाउँछ या नै आत्मनिर्भर बन्ने तरिका सिकाउँछ । उनले २०५४ सालमा Rover Ranger स्काउट तालिम लिए । उनले Adventure स्काउट तालिम लिइसकेका छन् । उनले २०७० सालमा भक्तपुरस्थित तारा माविमा ६४ जना विद्यार्थीहरुलाई ५ वर्षसम्म Adventure Ranger Scout तालिम दिएका थिए ।
कलाकार बासी नमस्ते डिजिटलको प्रस्तुत दोहोरी गीतमा मादल बजाउँछन् । उनी भन्छन् नमस्ते डिजिटल हाउसले गाउँ गाउँमा पुगेर स्थानीय भाकाको लोकदोहरी सुटिङ गरी प्रस्तुत गर्छन्, नयाँ नयाँ प्रतिभाको खोजी गर्छन् । उनले प्रथम पटक गाईजात्राको अवसरमा कृष्णराम दुवालद्वारा लिखित ‘झिगु फोहर’ नामक ख्यालमा अभिनय गरे । दत्तात्रयमा सम्पन्न नेपालभाषा साहित्य तःमुंज्यामा ‘लिधंसा’ नाटकमा अभिनय गरे । ब्यासीमा सम्पन्न नेपालभाषा साहित्य तःमुंज्यामा ‘न्हुम्हा मिसा’ नाटकमा श्रीमान्को रोलमा अभिनय गरेका थिए  । लिबालीमा सम्पन्न तःमुंज्यामा मोदीको पत्रकार भएर खेले । उनले लिबालीमा सम्पन्न नेपालभाषा साहित्य तःमुंज्यामा बासु माविद्वारा प्रस्तुत नाटकमा प्रहरीका रोलमा अभिनय गर्दा तेस्रोस्थान पाएका थिए ।
कलाकार बासीले भक्तपुरको कमलविनायकमा सम्पन्न नेपालभाषा साहित्य तःमुंज्यामा यमराज नाटकमा ठेकेदारको रोलमा अभिनय गरे । २०७४ सालमा भार्वाचोमा सम्पन्न नेपाल भाषा साहित्य तःमुंज्यामा प्रस्तुत नाटक रोबर्टमा वैज्ञानिकको भूमिका अभिनय गरेका थिए । सिद्धि गणेश साकोस तथा नाटयकर्मी समाज नेपालबाट प्रस्तुत नाटकमा तेस्रो भएको थियो । उनले टेलिसिरीयल ‘बैनाभ्वँ’ मा घरजग्गा दलालको रोलमा र नेपाली भाषाको टेलिसिरियल ‘प्यारी मोहनी’ मा नेवारको भूमिकामा अभिनय गरेको बताउँछन् ।
कलाकारिता क्षेत्रमा किन लाग्ने ? भन्ने प्रश्नमा कलाकार बासी भन्छन् कला संस्कृति, सम्पदा संरक्षण गर्न सके हामी बाँच्छौँ । हाम्रो संस्कार जोगाउन नसके आफ्नै परिवार चिन्न गाह्रो पर्छ । कलाकारितामा लाग्दा समाजमा रहेका घटनाक्रमबारे अभिनय गरेर सन्देश दिन पाउने सुअवसर प्राप्त हुन्छ ।
कलाकार हुँदा र संस्कृति जोगाउँदाका फाइदाहरु के के छन् भन्ने प्रश्नमा कलाकार बासी भन्नुहुन्छ, व्यक्तिगत फाइदा हाललाई छैन । कला संस्कृति जोगिए देशलाई फाइदा हुन्छ । पर्यटन उद्योगको विकास भई आन्तरिक फाइदा हुन्छ । स्थानीय बासिन्दाले पनि कुनै न कुनै व्यवसाय गरी नाफा लिन सजिलो हुन्छ । स्थानीय जनता र देशकै लागि शिक्षा, स्वास्थ्य र खेलकुद विकासमा फाइदा हुन्छ । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद विकास र कला संस्कृति तथा सम्पदा संरक्षण गरी देशकै नमुना भई सेवा गरेको उदाहरण हेरे पुग्छ । नेपाल सरकारले ख्वप विश्वविद्यालय विधेयक पारित गरेमा देश र जनताको अझ सेवा हुन्छ, सरकारको यसमा ध्यान जाओस् ।
कलाकारिताको कुनै अविस्मरणीय क्षण भए बताइदिन अनुरोध गर्दा कलाकार बासी भन्छन्, म योग दिवसको अवसरमा टौमढीमा आयोजित एउटा कार्यक्रममा बाँसुरी बजाउन गएको थिएँ । पहिलोपटक बाँसुरी बजाउँदा हात हल्लिएर बाँसुरी हलिरहेको क्षण अहिले पनि याद आइरहन्छन् । एकचोटि बासु माविमा फूलको भाषा नामक फिल्मको सुटिङ थियो । मलाई प्रोफेसरको रोल दियो । प्रोफेसर बन्न ठूलो आवाज चाहिने तर आवाज निकाल्नै सकिएन । त्यसपछि असईको रोलमा अभिनय गरेको अहिले पनि सम्झना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *