भर्खरै :

भक्तपुरमा भएको साँढे धपाउने आन्दोलनबारे सङ्क्षिप्त चर्चा

भक्तपुरमा भएको साँढे धपाउने आन्दोलनबारे सङ्क्षिप्त चर्चा

किसान आन्दोलनबाट झक्झकाएको भक्तपुर जिल्लालाई फर्केर हेर्दा हामीलाई लाग्दछ, भक्तपुरको किसान आन्दोलनलाई पन्छाएर नेपालको किसान आन्दोलन पूर्ण हुनसक्दैन । नेपाल क्रान्तिकारी किसान सङ्घका अगुवाहरू त्यस सङ्घको स्थापना (२०२५ साउन १४) भन्दा अगाडि रोहितको नेतृत्वमा किसान आन्दोलनको अग्रपङ्क्तिमा थिए । २०२० को दशकमा भक्तपुरमा भएको किसान आन्दोलनले भक्तपुरका किसानहरूको दयनीय अवस्थालाई कायापलट गरेको थियो ।
सुरुमा आफ्नो बाली र जग्गा जोगाउनको लागि आन्दोलन गर्ने किसानहरू पछि राजनैतिक आन्दोलन गर्न उत्साहित भएर लागेको पाइन्छ । माक्र्सवादी–लेनिनवादी नीतिअनुसार आर्थिक क्रान्तिलाई वर्गसङ्घर्षको रूपमा विकास गर्दै कानुनी र गैरकानुनी सङ्घर्षलाई राजनैतिक क्रान्तिमा बदल्ने जुन विश्वास छ, भक्तपुरको किसान आन्दोलनलाई पनि त्यसरी नै हेर्न सकिन्छ । वि.सं. २०२० को दशकमा भएको किसान आन्दोलनको प्रभाव नै वर्तमान भक्तपुरको राजनैतिक, आर्थिक र सामाजिक संरचना हो भन्नुमा अत्युक्ति नहोला ।
त्यतिबेला अर्थाेपार्जन भनेकै खेती किसानी थियो । अन्त जस्तै यहाँका किसानहरूको आर्थिक र सामाजिक अवस्था अत्यन्तै कमजोर थियो । सामन्त जग्गाधनीहरूले गर्ने शोषणका रूपहरू अनेक थिए । जीविकोपार्जनका लागि खेतीपातीबाहेक अर्काे विकल्प थिएन । अनेक दुःख गरेर उब्जाएको बाली भित्याउन ठीक्क हुने बेला कहिले असिना पानी, हुरी बतासले त कहिले छाडा साँढेले सोतर पार्थे । एकातिर थोरै उब्जनी हुने अर्काेतिर तिरोतिरान भने बढी खप्नै नसक्ने आर्थिक दुरवस्था थियो किसानहरूको ।
भक्तपुर नगरभित्र स्वमला गल्ली, टौमढी गःहिटी क्षेत्रका मठमा रहेका र वंशगोपाल, नासमनाका सरदारहरू, ठूलाठालूहरूको दूध, दही, घ्यू खान र गोबरका लागि गाई पालेका हुन्थे । गाईले ब्याएपछि बाच्छी भए पाल्थे, बाच्छो भए छाड्थे । मान्छे मरेको ११ दिनपछि दान दिएका वा ‘विर्खेश्वर’ भनी डामेर छोडेका साँढेको बथानले विशेषगरी किसानी जनतालाई सताउने काम गथ्र्याे । घर फर्किन नसकोस् भन्ने हेतुले रातिराति आँखामा पट्टि बाँधेर छोडिएका ती साँढेले किसानहरूले लगाएको बाली नास गरिदिँदा उनीहरू ठूलो समस्यामा पर्थे । दान दिएका, छोडेका गाईवस्तु पाल्न केहीले जग्गा प्रदान गरे पनि प्रभावकारी हुन सकेन ।
बजारमा कति साहुमहाजनहरू टीन ठट्टाएर साँढे जुधाउँदै मनोरञ्ज्न लिन्थे । काम छोडेर सर्वसाधारण जनता रमिता हेर्न बस्थे । पूरै बाटो ठप्प हुन्थ्यो । कहिलेकाहीँ दुई पक्षबिच झै–झगडा हुन्थ्यो । किसानहरूले त्यसमा पनि कुटाइ खान्थे । बजारमा बेच्न लगेको सागसब्जी खाइदिन्थ्यो । भाग दौड हुँदा घाउ चोटपटक पनि लाग्थ्यो । धपाएर लाँदा तिनीहरूलाई ‘गाई चोर’ को संज्ञा दिएर उजुरी पनि हाल्थे ।
पाल्न पनि नसक्ने, किनबेच पनि नहुने, नगरतिर गोरु जोत्ने चलन पनि नभएको हुनाले महादेवको नाममा छोडिने त्यस्ता साँढेहरू टुँडिखेलमा पनि जम्मा हुन्थे । हरियाली सिधेपछि बजारतिर चोक र टोलहरूमा पस्थे । रात परेपछि किसानका खेतका फाँटहरूमा पस्थे, बाली बिगार्ने, पराल सखाप पार्ने गरे तापनि किसानहरू बोल्न सकिरहेका थिएनन् । किसानहरू आफ्नो बाली जोगाउन खेतखेतमै पहरा दिएर बस्थे । छाडा साँढेहरूको बथान किसानहरूको लागि ठूलो दुश्मन नै साबित भयो ।
त्यतिबेला भक्तपुरमा करिब ९६ प्रतिशत जनता कृषि कर्म गरी जीवन निर्वाह गरिरहेका किसानहरूको दुःख नै जनताको सरोकारको विषय थियो । छाडा साँढेहरू नै त्यसबेला दुःखको कारण भएको हुँदा किसान सङ्गठनमा साँढे धपाउने कुरा उठ्यो ।
२०१९ सालको जेठ महिनामा नेपाल क्रान्तिकारी किसान सङ्घका अग्रज कार्यकर्ताहरूको अगुवाइमा भक्तपुर नगर पञ्चायतका जनपक्षीय प्रतिनिधिहरूको संयुक्त आयोजनामा ‘चौपाया नियन्त्रण समिति’ गठन भयो । उक्त समितिले साँढे धपाउने योजना पारित गरेको थियो । सुरुमा नगर पञ्चायतले साँपामा (खेतमा बाली कुरुवा बस्ने व्यक्ति) को व्यवस्था ग¥यो । पछि रोपनीको १–२ पाथी धान उठाएर किसानहरू आफैँले साँपामाको व्यवस्था गर्न थाले । तैपनि, साँढे नियन्त्रण गर्न मुश्किल नै भयो । फाँटमा साँढेहरू पुगिसकेपछि तिनीहरूलाई धपाउन हम्मेहम्मे नै पथ्र्याे । एकातिरबाट धपाएर फर्केपछि अर्काेतिरबाट उही आइपुग्थ्यो । पुलमै बाँसका बारहरू लगाएर बाली सुरक्षाको निम्ति साँपामाहरू बस्ने गर्थे । बलिया साँढेहरू त्यो बार नाघेर आउँथे । बाली नखाइदेओस् भनेर किसानहरूसँग पराल उठाएर गाईलाई ख्वाउने काम पनि भयो । त्यसरी ख्वाउने पालो पर्ने किसानले दिनरात पालो–पहरा दिएर साँढेलाई ख्वाउँथ्यो । कतिपय त्यसबेला बनेका पाटीपौवाहरूमा साँढे थुन्न एकनाले दुईनाले गरी भित्री कोठाहरू बनाएका हुन्थे । पीडित किसानहरूले गाई पक्रेर तत्कालीन किसान सङ्घमा बुझाउन ल्याउँथे । गाई पालकहरू कोही आउँदैनथे । ‘चौपाया नियन्त्रण ऐन’ ले पनि किसानहरूको दुःख कम गर्न सकिरहेको थिएन । दुःखलाई अन्त गर्न कृषि क्षेत्रभन्दा धेरै टाढा साँढेहरू कहिल्यै फर्कन नसकिने ठाउँमा धपाएर भक्तपुरको पूर्वतिर नगरकोट डाँडापारि पु¥याउने योजना बन्यो ।
योजनाअनुसार साँढे बटुल्ने क्षेत्रहरू निर्धारण गरियो । किसान सङ्घका कार्यकर्ताहरूलाई कामको जिम्मा तोकियो । किसानहरूको समस्या समाधान गर्न उक्त साँढे धपाउ आन्दोलन सफल पार्नु थियो । गोल्मढीस्थित पाटीमा उक्त दिन किसान सङ्घले बैठक बोलाएको थियो । बैठकमा त्यतिबेला जननिर्वाचित सदस्य नारायणमान बिजुक्छेँ (रोहित) ले साँढे धपाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । ब्यासी आसपासका क्षेत्रबाट १०–१५ वटा साँढेहरू बटुलिए । हनुमानचा, पाँचाखेलबाट २० वटा, जगाती र अन्य क्षेत्रबाट पनि साँढेहरू जम्मा पार्न थालियो । ६०–७० वटा साँढेहरू फाँटैफाँट लखेट्दै मूलढोकाबाट खरिपाटी हुँदै नगरकोटतिर लगियो । बूढा मान्छे र सानाहरू अहिले बनेको ब्यारेक क्षेत्रबाटै घर फर्के । भक्तपुरका टोल–टोलबाट २–४ जना गर्दै उक्त साँढे धपाउने कामका लागि जम्मा भए । योजनाअनुसार सयौँ किसानहरू ओइरिए । नगरकोट जानेहरूको लागि सहयोग स्वरूप सङ्कलन गरेको खाजा (हरियो लसुन, चिउरा, मकै, भटमास) बेलुकाको लागि लालटिन आदिको व्यवस्था गरिएको थियो । भक्तपुर नगर पञ्चायतले दिएको खाजा खर्च र किसानहरूले उठाइदिएको उक्त खाजा खर्चमा उतिबेलै मङ्गले चगुठीले हिसाब पारदर्शी नगरेको दोष खेप्नुपरेको थियो । खाजाको हिसाब उसले देखाउन सकेन ।
युवा किसान कार्यकर्ताहरूले साँढे धपाउँदै ल्याएका थिए । किसानहरूले कम्मरमा पटुकी कसेर कछाड लगाएका थिए । खरिपाटीसम्म पुग्दा अँध्यारो भइसकेको थियो । तेलकोटमा खाजा खाइयो । कोही त त्यहीँबाट साँखुको बाटो हुँदै घर फर्केका थिए । अन्यले झुन्डझुन्ड मिलेर साँढेहरूलाई नगरकोटको डाँडापारि फटकशिलासम्म पु¥याए । कुनै साँढे अनियन्त्रित भई बिचैबाट भागे । १–२ वटा भिरबाट खसेका थिए । गडगडे खोला पुगिसकेपछि त्यहाँ खाजा खाए । खोलापारि पुग्ने गरी साँढे धपाइसकेपछि रात बिताउन किसानहरू नजिकैको दनुवार गाउँमा पसे । राति खोला तर्न नमानेका केही साँढेहरूले त्यहाँको गहुँ बाली बिगारिदिएका थिए । त्यसकारण, रिसले गाउँलेहरू उठेर आए । विवाद मिलाउन त्यहाँको गाउँ पञ्चायतमा पुगे । यता भक्तपुर नगर पञ्चायतबाट लेखेको पत्र देखाएपछि उक्त गाउँ पञ्चायतका जनप्रतिनिधिले पनि भक्तपुरबाट आएका किसानहरूलाई सघाउनु भनी सम्झाइबुझाइ गरे । राति माझीहरूको डुङ्गामा बसेर साँढे धपाउन थालियो । बिहानीपख स्थानीयहरूले साँढे लैजान अनुमति माग्न आए । कसैले गोरु जोत्नका लागि लगे भने कसैले खानका लागि र कसैले गोबरका लागि पनि काम लाग्छ भनी साँढेहरू लिएर गए ।
सोही दिन मध्यपुर ठिमीमा साँढे धपाउने काम भएको थियो । कटुञ्जेमा गाई पालकहरूले छोडेका गाई गोरुले बाली सत्यानास पारी किसानहरूलाई दुःख दिएकाले २०–३० वटा गाईलाई धपाउँदै ठिमी लाय्कूमा थुनेका थिए । पछि गाई पाल्नेहरू आफ्नो गाई खोज्दै त्यहाँ आइपुगे । क्षतिपूर्तिस्वरूप रु. २० को दरले पछि छाडा नछोड्ने सर्तमा फिर्ता गरी पठाएको थियो ।
यता किसानहरू सङ्गठित भएर तत्काल देखिएको समस्या समाधान गर्न गरिएको साँढे धपाउने काम किसानविरोधी सामन्तहरूलाई पचिरहेको थिएन । किसान पक्ष र साहुमहाजन–सामन्त पक्षबिचको सङ्घर्षले वर्गसङ्घर्षकै रूप लिएको थियो । त्यही ऐतिहासिक घटनालाई ‘साँढे धपाउने आन्दोलन’ भनिएको हो ।
समग्रमा जग्गावाल र धनी साहुमहाजनहरू, धर्मको नाउँमा शोषण गर्नेहरू किसानविरोधी चरित्रका थिए । तिनीहरूले साँढे धपाउने अभियानको विरोधमात्रै गरेनन्, धपाउन हिँडेकालाई पुलिस र गुन्डाहरू लगाएर रगताम्य हुने गरी कुटपिटसमेत गरेका थिए । साँढेलाई पुनः फर्काउन धम्की पनि दिए । ‘महादेवको वाहन साँढेलाई धपाउने ज्यापूहरू’ भन्दै नगरकोटबाट फर्केका किसानहरूलाई खरिपाटीको ट्याङ्कीनेर, बाँसबारीमा अहिले ब्यारेक राखिएको मूलढोका र यातुमहादेवस्थानमा गाडीबाट पुगेका गुन्डाहरूले भेटे जतिलाई लखेटी–लखेटी पिटेका थिए । कसैको टाउको फुटे त कसैको हातै भाँचेको थियो । गहुँबारीमै लखेटालखेट भयो । भागाभाग भएका किसानहरूलाई भेटाइ लामो लट्ठीले पिटे । गुहार–गुहारको चिच्याहटको कर्कश आवाज सुनिएको थियो । त्यो त्राहीमामको वातावरणमा घर फर्कन डर मान्नेहरू गहुँबारीमै रातभरि लुकेको पनि सुनियो । कोही गुन्डाहरूबाट जोगिन छल्दै फर्किरहेका थिए ।
किसानलाई हेलाहोचो गर्नेहरू भित्रभित्रै मुर्मुरिरहेका थिए । सुकुलढोका पुग्दा दिउँसै किसानहरूले पिटाइ खाएका थिए । स्थानीय किसानविरोधीहरू र सुकुलढोकाका महसुर गुन्डाहरू एक ढिक्का भएर ‘शिवजीको वाहन साँढेलाई फाल्न लैजाने (वाय् यंकिपुँ) ज्यापुहरू’ भन्दै किसानहरूलाई पिटे । एकजना किसानलाई त त्यहाँको एउटा लट्ठामा उसैको पटुकाले बाँधेर पिटिरहँदा कसैले रोक्न सकेको थिएन । बाँधेको पटुका फुकाउन आउनेहरूलाई धपाएर पठाउँथे । जनप्रतिनिधि नारायणमान बिजुक्छेँ नै अघि सरेर उक्त किसानलाई छुटाउनुभएको थियो ।
किसानहरूमा एकताको भावना थियो । नगरकोटबाट फर्केका किसानहरूलाई पिटेको खबर पुग्ने बित्तिकै ब्यासी र आसपासका किसानहरू जम्मा भए । किसानविरोधी सामन्त र गुन्डाहरूको चकचकीको प्रतिकार गर्न आवाज उठेको थियो । रातारात टोल–टोलमा किसान सङ्घमार्फत बैठकहरू राखिए । ती प्रतिक्रियावादी सामन्त र गुन्डाहरूप्रति आक्रोशका अभिव्यक्तिहरू छचल्किन थाल्यो । त्यतिबेला मेजिस्ट्रेटको क्वार्टर (निवास) भक्तपुर दरबार स्क्वायरमा अवस्थित पुरानो नगर पञ्चायतको भवनमा थियो । घाइते किसानहरूसहित किसान सङ्घका कार्यकर्ताहरू उक्त मेजिस्ट्रेटको निवासको परिसरमा जम्मा भए । किसानहरूलाई पिटेका सबै गुन्डाहरूलाई कारबाही गरी जेल हाल्न माग गरिएको थियो । घाइतेहरू लुगा फुकाल्दै नाङ्गो शरीरमा लट्ठीको पिटाइले बसेको रातो–निलो टाटाहरू मेजिस्ट्रेटलाई देखाउन लाइन कसे । त्यतिबेला नै त्यहाँ सुकुलढोकाबाट आएका किसानविरोधीहरू र गुन्डाहरूको जत्था पनि आइपुग्यो । उनीहरूले त्यहाँ जम्मा भएका किसानहरूलाई जथाभावी गालीगलौज गर्न थाले । आफ्नो घरको साँढे पनि किसानहरूले लगेको आरोप लगाए । तर, त्यसरी आरोप लगाउनेहरूको साँढे पाल्ने हैसियत भन्ने थिएन । दुवै पक्षबिच झडप हुने स्थिति देखाप¥यो । गुन्डाहरूलाई कारबाही हुनैपर्छ भनी किसानहरूले रिस पोखेका थिए । मेजिस्ट्रेटले स्थिति साम्य पार्न किसानहरूलाई पिट्ने र गुन्डागर्दी गर्ने काममा संलग्न भएकाहरूलाई कारबाही हुने वचन दिए । स्थिति नियन्त्रणमा ल्याउन त्यही दिन राति कफ्र्यु लगायो । आफ्नो परिश्रमले उब्जाएको बाली जोगाउन गरिएको उक्त साँढे धपाउ अभियानलाई सङ्घर्षशील किसान जनताले कहिल्यै बिर्सने छैनन् ।
साँढे धपाउने उक्त आन्दोलन वर्गसङ्घर्षकै एक चरण भएको मान्नुपर्दछ । त्यस आन्दोलनको तयारी र त्यो बेलाको परिस्थितिले किसानहरू किसान सङ्गठनप्रति आकर्षित हुन थाले । करिब ६ दशकअगाडि भक्तपुरमा किसानहरूले देखाएको सङ्गठित अभिव्यक्तिको परिणामले किसान एकताको क्रमिक बीजारोपण सम्भव भयो । उक्त घटनाले भक्तपुरमा उठेका विभिन्न किसान आन्दोलनहरूलाई उत्प्रेरित गरिरह्यो । ‘साँढे धपाउ आन्दोलन’ ले एकातिर किसानको बाली संरक्षण हुन गयो भने अर्काेतिर किसानहरूले सङ्गठनको आवश्यकता र महत्व बुझ्दै गए ।
‘साँढे धपाउ आन्दोलन’ पछि भक्तपुरमा विकास भएको भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, मोहियानी हक सुरक्षित गर्न चालिएको आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलनहरू किसानहरूको आर्थिक स्तरोन्नतिको निम्ति भएका आर्थिक आन्दोलनहरू थिए । माक्र्सवादी–लेनिनवादी नीतिअनुसार भक्तपुरमा भएका ती आर्थिक आन्दोलनहरूलाई तत्कालीन नेतृत्वले राजनैतिक आन्दोलनमा बदल्ने कार्यक्रमसँग जोड्ने काम ग¥यो । साँढेले बाली खाई सोतर पारिदिनु त्यसबेलाका परिश्रमी किसानहरूको लागि ठूलो दुःखको विषय थियो । सामन्तवादी व्यवस्थामा अन्य थुप्रै शोषण र उत्पीडनको मार तिनीहरूले खेप्दै थिए । समाज पुँजीवादी व्यवस्थामा रूपान्तरण हुँदै जाँदा पनि किसान, मजदुर र कामदार जनताको जीवनमा आमूल परिवर्तन भने आएन । सामन्तवादी व्यवस्था र पुँजीवादी व्यवस्थाका सरकारहरू किसान र मजदुर वर्गको हितमा रहने कुरै भएन । ती सरकारहरू सामन्त, जमिनदार र पुँजीपतिहरूकै सञ्चालक समितिको रूपमा रह्यो । निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य सेवा, जमिन जोत्नेको कानुन कहिल्यै बनेन । कृषिमा सुधार कहिल्यै आएन । व्यापक किसान मजदुर र श्रमजीवी जनता अनेक शोषण, अन्याय, अत्याचार र उत्पीडनमा पिल्सनुपर्ने बाध्यता रही नै रह्यो । मजदुर, किसान र देशभक्त जनताका सच्चा प्रतिनिधिहरू शासन सत्तामा पुगेर समाजवादी बन्दोबस्त कायम नगरुञ्जेल व्यापक जनताको हित नहुने कुरा किसानहरूले पनि बुझ्दै गए । देशका सामन्त र पुँजीपतिहरू विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाको इसारामा सरकार चलाउँदै गए । देशघाती र जनघाती सम्झौताहरू धेरै भए । त्यसकारण, ती विस्तारवादी र साम्राज्यवादीहरूको पनि विरोध गर्नु आवश्यक थियो र विरोध कार्यक्रमहरू भए ।
यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय किसान र मजदुर वर्गीय आन्दोलनबाट भक्तपुरका किसान जनतालाई प्रशिक्षित गर्दै विभिन्न विरोध कार्यक्रममा संलग्न गर्दै आएको भक्तपुरको इतिहास छ ।
नेपालको नवलपरासी जिल्लामा रहेको सुस्तामाथि भारतको अतिक्रमणको विरोध, सिक्किम भारतमा विलय गर्दा भएको विरोध, भियतनाममाथि अमेरिकी आक्रमणको विरोध जनाउन गरिएका आन्दोलनहरू भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादप्रति लक्षित थियो । भक्तपुरमा भएका ती आन्दोलनहरूमा थुप्रै किसान मजदुरहरूले लट्ठी–बुट खाएका थिए, जेलनेल भोगेका थिए । भक्तपुरको किसान आन्दोलनको पृष्ठभूमिबाट उठेको आजको राजनैतिक आन्दोलनलाई नेपाल मजदुर किसान पार्टीले मुलुकमा शोषणरहित समाजवादी व्यवस्था स्थापनाका लागि अगाडि डो¥याउँदै छ । सामन्तवाद र पुँजीवादको विरोधमा किसान जनतालाई सङ्घर्षमा उतार्दै छ । जनताको प्रजातन्त्र, समाजवादी गणतन्त्र हुँदै साम्यवादी समाजसम्मको अवधारणा मजदुर र किसानहरूबिच विकसित हुँदै गएको अवस्था छ । समाजवादी आन्दोलन देशैभरि फैलाउन भक्तपुरका किसानहरू अहिले अभिप्रेरित भएका छन् ।
नेमकिसङ्गठनमा आबद्ध भएर अग्रज किसान कार्यकर्ताहरूले गरेको योगदानबारे बोध गराउँदै देश र जनताको सेवामा समर्पित तुल्याउन नयाँ पुस्तालाई घच्घच्याउनुपर्ने आजको आवश्यकता हो ।

सन्दर्भ सामग्रीहरू :
 बखुन्छे, सुरेश (२०७२) : भक्तपुरको किसान आन्दोलनको अर्थ राजनीतिक विश्लेषण, भक्तपुर
 प्रजापति, विकल : साँढे धपाउने भक्तपुर किसान आन्दोलन, एक अध्ययन (Bagiswori Journal Vol. 2, No. 1, February, 2022)
 किसान सङ्घर्ष : वर्ष ४, अङ्क १, असोज २०७३, भक्तपुर
 नारायणमान बिजुक्छेँसँग २०७९/१०/२० मा गरिएको कुराकानीमा आधारित
 गोविन्द दुवालसँग २०७९/१०/०४ मा गरिएको कुराकानीमा आधारित
 मोहनवीर कुस्मासँग २०७९/१०/११ मा गरिएको कुराकानीमा आधारित
 तुल्सीभाइ त्वायनासँग २०७९/१०/०६ मा गरिएको कुराकानीमा आधारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *