सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
भक्तपुर, ८ फागुन । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा २०४६ साल फागुन ८ गतेको ऐतिहासिक जनआन्दोलनमा सहादत प्राप्त अमर सहिद तथा घाइते योद्धाहरूको सम्मानमा ३४ औँ सहिद दिवस सोमबार मनाइयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले शिक्षा र स्वास्थ्य निःशुल्क, स्वदेशमा रोजगारी र देशको सीमा सुरक्षा एवम् देशको सार्वभौमिकता रक्षाको लागि सहिदहरूको रगत बगेको हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “आजसम्मका जनआन्दोलनका सहिद र घाइतेहरूको सपना देश र जनताको हित गर्नु नै हो । सहिदको बलिदान प्रजातन्त्रको लागि हो । घाइते योद्धाहरूको त्याग र तपस्या प्रजातन्त्रको लागि हो । आर्थिक समानता, सामाजिक न्याय र व्यक्तित्व विकासमा समान अवसरको लागि प्रजातन्त्र हो ।”
पुँजीवादी प्रजातन्त्रमा केही व्यक्तिको मात्र हित हुने धारणा राख्दै उहाँले भन्नुभयो, “२०४६ सालपछिका सरकारहरूले सार्वजनिक सम्पत्ति केही व्यक्तिको हितमा उपभोग गर्न दिए । मित्र देश चीनले सहयोग गरेको बाँसबारी छाला जुत्ता कारखानाको मेसिन सस्तोमा बेचिएको र हाल भारतमा सञ्चालित रहेको समाचार छ । देशघाती सरकारहरूबाट जनताको हित हुनेछैन ।”
सचिव सुवालले भन्नुभयो, “बैङ्कहरूबाट प्रवाह भएको कूल ४८ खर्ब रुपैयाँ ऋणमध्ये ३० खर्ब रुपैयाँभन्दा बढी एकसय परिवारको कब्जामा रहेको खबर छ । स्रोत नहुँदा ८६ जलविद्युत् योजना अलपत्र अवस्थामा छ । निजी बैङ्क राष्ट्रियकरण गरी जलविद्युत् योजनामा देशकै लगानी गर्नु जरुरी छ । नेपाललाई अहिले २५ हजार मेगावाट जलविद्युत् आवश्यक छ । तर, उत्पादन १२–१५ सय मेगावाटमात्र छ । यसकारण कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण, पश्चिम सेतीलगायत भारतलाई दिइएको जलविद्युत् योजना फिर्ता लिएर नेपालीको लगानीमा विद्युत् उत्पादन गर्नु जरुरी छ । पर्याप्त बिजुली उत्पादन भए खाना पकाउने ग्यास भारतबाट महँगोमा आयात गर्नुपर्ने छैन ।”
“अर्थमन्त्रीले माघ २९ गते प्रतिनिधिसभाको बैठकमा रासायनिक मल खरिद गर्न बजेट अभाव नहुने बताउनुभएको थियो । फागुन २ गतेको पत्रपत्रिकामा साल्ट टे«डिङ कम्पनीका अधिकारीहरूले रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट बजेट प्राप्त नहुँदा आउने वर्षे बाली (रोपाइँसमेत) को लागि मल अभाव हुने बताए । के अर्थमन्त्रीलाई कमिसन नपुगेर मल खरिदको लागि पर्याप्त बजेट निकासा नगरेको हो ?”, सांसद सुवालले प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, “कृषिप्रधान देश नेपालमा दाल, चामल, तरकारी भारतबाट आयात गरेर देशको अर्थतन्त्र बलियो हुँदैन । सबैको हितको निम्ति समाजवादी व्यवस्था आवश्यक छ । जनआन्दोलनका सहिद र घाइते योद्धाहरूको सपना यही हो ।”
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशमा भएका हरेक जनआन्दोलनमा पार्टीले जनतालाई राजनीतिकरूपमा सचेत पार्ने काम गर्दै आएको बताउनुभयो ।
भक्तपुर आजको अवस्थामा आउनुमा पार्टीका अग्रजहरूको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दैै उहाँले भनपाका जनप्रतिनिधिहरूले नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार इमानदारीपूर्वक सेवा गरिरहेका छन् भन्नुभयो ।
भनपाले शिक्षा–स्वास्थ्य, सम्पदा संरक्षणको क्षेत्रमा विशेष जोड दिँदै कार्य गरिरहेको छ । भनपाद्वारा सञ्चालित कलेजहरूले देशकै सेवा गरिरहेको छ, उहाँले भन्नुभयो ।
शासक पार्टीहरूको पक्षपातपूर्ण व्यवहारको कारण ख्वप विश्वविद्यालय स्वीकृत हुन नसकेको स्पष्ट पार्दै नगर प्रमुख प्रजापतिले भनपाद्वारा सञ्चालन हुने ख्वप विश्वविद्यालयले कम शुल्कमा चिकित्सा शिक्षा दिनेछ भन्नुभयो ।
बाग्मती प्रदेशसभाका सदस्य सृजना सैंजूले पञ्चायती व्यवस्थाको विरुद्ध सङ्घर्ष गर्दा भक्तपुरमा ४ जना सपुतहरूले बलिदानी दिएको उल्लेख गर्दै २०४६ साल फागुन ८ गतेको भक्तपुरको आन्दोलनको लहर देशैभर फैलिएको बताउनुभयो ।
प्रजातान्त्रिक आन्दोलनमा सहयात्री दलका नेताहरू नै शासन व्यवस्थामा रहँदा देश झन्झन् परनिर्भर हुँदै जानु सहिदहरूप्रतिको अपमान हो, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा भनसका नारायणबहादुर दुवाल, नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवाल, सहिद पुष्परत्न शाक्यका छोरा पुजनरत्न शाक्य, जनआन्दोलनका घाइते योद्धा राजेन्द्र दुमरु, आयोजक समितिका सदस्यद्वय कमला गिरी र सूर्यबहादुर फोजूलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।
Leave a Reply