भर्खरै :

नेपालको राष्ट्रपति निर्वाचनमा भारतले हस्तक्षेप गरिरहेको छ : अध्यक्ष रोहित

नेपालको राष्ट्रपति निर्वाचनमा भारतले हस्तक्षेप गरिरहेको छ : अध्यक्ष रोहित

भक्तपुर, १२ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा शुक्रबार महिला कार्यकर्ता भेला भयो ।
भेलामा अध्यक्ष बिजुक्छेँले देशको समसामयिक राजनीतिबारे चर्चा गर्दै नेपालमा राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा भारतीय शासक वर्गले आफ्ना गुप्तचर र प्राध्यापकहरूमार्फत व्यक्ति तोकेर ‘फलाना फलानालाई राष्ट्रपति बनाउनू’ भनी आदेश दिएर हस्तक्षेप गरिरहेको बताउनुभयो ।
उहाँले विदेशी दूतावास धाउने, विदेशी शक्तिको पूजा गर्ने र विदेशीको हितमा लाग्ने तथा सही गर्नेहरूलाई देशको राष्ट्रपति बनाउन नहुनेमा जोड दिनुभयो ।
हिन्दुस्तानले तोकेको व्यक्ति राष्ट्रपति हुन नहुने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “कुनै पनि देश र शत्रुको अगाडि नझुक्ने, देश र जनताको हितमा निःस्वार्थपूर्वक काम गर्ने, निष्पक्ष रहने र निश्चित वर्गको पक्ष नलिने व्यक्तिलाई देशको राष्ट्रपति बनाउन आवश्यक छ ।”
विदेशी दबाब र शत्रुसामु नझुकी देश र जनताको हितमा काम गरेका कङ्गोका राष्ट्रपति पेट्रिस लुमुम्बा र गिनीका राष्ट्रपति सेकुटु«ुरेको देशभक्तिपूर्ण भावनाको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले नयाँ पुस्तालाई सानै उमेरदेखि देशभक्त नेता र राष्ट्रपतिहरूको विषयमा तस्बिरसहित पढाउनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले अहिलेको संसद्मा सम्पन्न र धनीवर्गका महिलाहरूको बहुमत भएकोले उनीहरूले कामदार वर्गका महिलाको पक्षमा आवाज नउठाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “संसद्मा वर्गअनुसारको माग आउँछ, धनीवर्गका महिलाहरू सम्पत्ति र जग्गाको माग गर्छन्, हामी शिक्षा र जोत्नेलाई जमिनको माग गर्छौँ ।”
अध्यक्ष बिजुक्छेँले महिलालाई श्रमशक्तिको रूपमा विकास गर्न रोजगारी र तालिमको व्यवस्था गर्न नेमकिपाले आवाज उठाइरहेको चर्चा गर्दै भन्नुभयो, “अहिले प्रत्येक वडामा शिशुशाला र बालउद्यान मात्र सञ्चालन गर्ने हो भने पनि एकैपटक ३ लाख महिलाले रोजगारी प्राप्त गर्छन्, लाखौँ बालबालिकाको शारीरिक र मानसिक विकासमा उघाउ पुग्छ ।”
वर्गीयरूपले सचेत र सङ्गठित नभएसम्म जीवनको हरेक मोडमा गा¥हो हुने भएकोले अध्ययनका साथसाथै राजनीतिक गतिविधिमा पनि सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेमकिपा कामदार वर्गका जनताको निम्ति एउटा स्कूल, कलेज र विश्वविद्यालयकै भूमिकामा रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा राजनीतिक कक्षा सञ्चालन, अध्ययन गोष्ठी र अन्तरक्रियाले साँवा अक्षर मात्र जानेकालाई पनि बीए सरहको शिक्षा प्राप्त भइरहेको छ ।”
नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले तत्कालीन पञ्चायती सरकारले भक्तपुर काण्ड रच्दा महिलाहरूले नै सङ्घर्षको मोर्चा सम्हालेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयका साथै नयाँ नयाँ कुराको जानकारी लिइराख्नुपर्नेमा जोड दिनुभयो ।
क्रान्तिको निमित्त समय लाग्ने स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले महिला कार्यकर्तालाई अध्ययनमा जोड दिन र सङ्गठनमा निरन्तर लागिरहन मार्गनिर्देश प्रदान गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले कामदार वर्गका महिलाहरू राज्यसत्ता र समाजको दोहोरो शोषणमा परेको चर्चा गर्दै संसद्मा शोषकवर्गका महिलाहरूले हालीमुहाली चलाइरहेको बताउनुभयो ।
उहाँले विभिन्न देशको क्रान्तिको इतिहास अध्ययन गर्दा युद्धको समयमा महिलाहरूले नै देश सम्हालेको चर्चा गर्दै अहिले नेपाल पनि युद्धकै स्थितिमा रहेको बताउनुभयो । उहाँले नेक्रामसङ्घले नै कामदार वर्गका महिलालाई क्रान्तिको निम्ति उठाउन सक्ने धारणा राख्नुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले तराईका किसानहरूलाई राज्यले चरम शोषणमा पारेको चर्चा गर्दै किसान महिलालाई राजनीतिकरूपले सचेत र शिक्षित गर्न नेक्रामसङ्घ लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्रामसङ्घका पूर्व केन्द्रीय अध्यक्ष अम्बिका न्याइच्याईले नेक्रामसङ्घले स्थापनाकालदेखि नै महिलाको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर गतिविधि गर्दै आइरहेको बताउनुभयो ।
उहाँले नेक्रामसङ्घको आयोजनामा भएका स्वास्थ्य शिविरहरूले धेरै महिलालाई क्यान्सर रोग लाग्नबाट बचाएको चर्चा गर्नुभयो । उहाँले महिलाहरूले भाषामा दख्खल राख्नुपर्ने आवश्यकता औँल्याउँदै समाजवादी देश र पुँजीवादी देशका महिलाको अवस्थाबारे जानकारी राख्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष अनुराधा थापामगरको सभापतित्वमा भएको कार्यक्रममा सचिव प्रतिभा श्रेष्ठले पनि बोल्नुभएको थियो ।
भेलाले आगामी चैत २४ र २५ गते सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन चितवनमा गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *