नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
कञ्चनपुर, १९ फागुन । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) को अवसर पारेर सुदूरपश्चिमको कञ्चनपुरमा बिहीबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टी कञ्चनपुर जिल्ला समितिको आयोजनामा कञ्चनपुरको स्याउले बजारमा सम्पन्न उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पुँजीवादी व्यवस्थाले समाजमा धनी र गरीबबिचको खाडल झनै बढाउने चर्चा गर्दै नेमकिपा पुँजीवादी व्यवस्थाविरुद्ध कामदार वर्गका जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित बनाउने अभियानमा लागिरहेको बताउनुभयो ।
सबैको हित गर्ने समाजवादी व्यवस्थाले मात्र शोषणबाट मुक्त गराउने स्पष्ट पार्दै उहाँले शोषक राजनीतिक पार्टीहरूले आफ्नो स्वार्थपूर्तिको लागि सोझासिधा जनतालाई झुक्याएर मत लिई सरकारमा गएर विदेशीको सेवा गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो राम्रो भविष्य र सुखको निम्ति हामीलाई दुःख र धोका दिने को हुन् भनेर चिन्न आवश्यक छ, उनीहरूलाई सजाय दिन जरुरी छ ।”
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले सङ्गठनको आवश्यकता र महत्वबारे चर्चा गर्दै कामदार वर्गका महिलाको हकहितको निम्ति कामदारवर्गका महिलाहरूले नै राजनीति गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र महिला आन्दोलनबारे प्रकाश पार्दै शोषक वर्गका महिलाहरूले कामदारवर्गका महिलाहरूलाई कहिल्यै माथि उठ्न नदिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “चुनावमा जनताबिच अनेक झूटा आश्वासन दिएर भोट माग्ने र सरकारमा गएर जनतालाई नै चुस्ने पुँजीवादी पार्टीका महिला जनप्रतिनिधिहरू पनि कामदारवर्गका शत्रु हुन्, देश बिगार्ने तत्व हुन् ।”
कार्यक्रममा नेक्रामसङ्घका केन्द्रीय सदस्य रोशनमैँया सुवालले विश्वका क्रान्तिकारी महिलाहरूको जीवनीबारे चर्चा गर्दै देशको व्यवस्था र गरीब जनताको अवस्था परिवर्तन गर्न चुलोचौकामा सीमित महिलाहरू पनि राजनीतिकरूपले अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालमा महिला राष्ट्रपति, सभामुख, न्यायाधीश हुँदा पनि महिला हक अधिकार सुनिश्चित नभएको चर्चा गर्नुभयो ।
कार्यक्रममा कर्मचारी समाजका राजन कोजू, स्थानीय बुद्धिजीवी बलदेव पनेरु, मिनु गिरीले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका सभापति एवम् नेमकिपा कञ्चनपुरका अध्यक्ष दलबहादुर बोहराले सही राजनीतिले मान्छेलाई सही र गलत छुट्याउने विवेक प्रदान गर्ने बताउनुभयो ।
नेमकिपा कैलालीका जिल्ला अध्यक्ष रमेशकुमार रावलले नेमकिपाले कसैलाई पनि जबरजस्ती पार्टी प्रवेश नगराउने, पार्टी सिद्धान्त र विचार बुझाएर मात्र पार्टीको सदस्यता प्रदान गर्ने बताउनुभयो । देशलाई सही मार्गमा डो¥याउने र जनताको निःस्वार्थ सेवा गर्ने एकमात्र पार्टी नेमकिपा भएको उहाँले प्रस्ट पार्नुभयो ।
कार्यक्रमपश्चात् सम्पन्न महिला भेलाले आशा बुढाको अध्यक्षतामा ९ सदस्यीय नेपाल क्रान्तिकारी महिला सङ्घ दोधारा चाँदनी नपा वडा नं १ एकाइ समिति गठन गरेको छ ।
यसैगरी कञ्चनपुरको वडा नं ८ बाँसघारीमा श्रमिक महिला दिवसको अवसर पारेर महिला भेला सम्पन्न भयो । भेलामा नेक्रामसङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले नेक्रामसङ्घको इतिहास र गतिविधिबारे जानकारी दिँदै कामदार वर्गका महिलाहरूलाई शासकवर्गको रूपमा उभ्याउन नेक्रामसङ्घ सङ्घर्षरत रहेको बताउनुभयो ।
नेक्रामसङ्घका केन्द्रीय सदस्य रोशनमैँया सुवालले पटकपटक सरकारमा जाने पार्टी र नेताहरूका कारण जनताले दुःख पाइरहेको चर्चा गर्नुभयो ।
भेलाले निर्मला खड्काको अध्यक्षतामा सात सदस्यीय नेपाल क्रान्तिकारी महिला सङ्घ बाँसघारी एकाइ समिति गठन गरेको छ ।
Leave a Reply