नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
काठमाडौँ, १९ फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नगरकोट र दुवाकोट सडक कालोपत्र कार्यमा भइरहेको ढिलाइबारे पछिल्लो पटक फागुन १० गते प्रतिनिधिसभा बैठकमा उठाउनुभएको हो ।
माओवादीको तर्फबाट उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका नारायणकाजी श्रेष्ठ फागुन १८ गते भारतीय राजदूत नवीन श्रीवास्तवसहित नगरकोट सडक निर्माणको अनुगमनमा पुगे । तर, उपप्रधानमन्त्री श्रेष्ठले सम्बन्धित क्षेत्रका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूलाई आफ्नो अनुगमनबारे सुइँको समेत दिएनन् ।
उपप्रधानमन्त्री श्रेष्ठले भक्तपुर नगरकोट सडक विस्तारको कामप्रति आफू सन्तुष्ट नरहेको र अबको एक महिनाभित्र सो सडक गुणस्तरीय रूपमा निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे ठेक्का सम्झौता खारेज गरिने बताए तर कारबाही हुने–नहुने केही बोलेनन् ।
उपप्रधानमन्त्री श्रेष्ठका नेता एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालका घरभेटी शैलुङ कन्स्ट्रक्सनका धनी शारदाप्रसाद अधिकारी नगरकोट सडकको ठेकेदार हुन् । एमालेका केपी ओलीको सरकारका गृहमन्त्री रामबहादुर थापासँग सांसद प्रेम सुवालले २०७४ सालको संसद्मा नगरकोट सडकको कालोपत्र समयमा सम्पन्न नगरेका माओवादी नेता दाहालको घरभेटी अधिकारीलाई कारबाही नभएकोमा प्रश्न उठाउँदा गृहमन्त्री रामबहादुर थापाले कुनै नेताको घरभेटी भनेर नछाड्ने बताएका थिए तर कुनै कारबाही भएन । देउवा सरकारको पालाका भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएकी रेणु यादवले पनि २०७८ कार्तिक २९ गते नगरकोट सडक निर्माण कार्य ढिलाइ भएको बारे अनुगमन गरेकी थिइन् । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति भक्तपुरले नगरकोट सडक निर्माण कार्य ढिलाइ गरेका तत्कालीन एमाले र माओवादीको गठबन्धन सरकार र ठेकेदारको विरोधमा २०७६ साउन २५ गते तेलकोटदेखि खरिपाटीसम्म जुलुस प्रदर्शन र सभा गरेको थियो । यो बिचमा २०७६ मङ्सिर १४ गते सम्पन्न प्रदेशसभा सदस्यको उपचुनावमा जितेका नेकाका कृष्णलाल भडेल प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्री पनि भए तर नगरकोट सडक निर्माण कार्य अधुरै रह्यो ।
एक्जिम बैङ्क भारतको ऋण सहयोगमा २०७१ जेठ २२ मा शैलुङ कन्स्ट्रक्सनसँग नगरकोट सडक विस्तारको ठेक्का २०७३ कार्तिक ४ मा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । माओवादी नेता दाहालको घरभेटी ठेकेदार अधिकारीले आठ वर्षदेखि नगरकोट सडक विस्तार अलपत्र अवस्थामा राखे पनि ९० प्रतिशत काम सम्पन्न भएको ठेकेदारको प्रतिवेदनलाई भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजनाले स्वीकार ग¥यो । सुरुको सम्झौतामा भ्याटसहित ३१ करोड ५२ लाख ९२ हजार रूपैयाँमा काम सक्ने भनिए पनि हाल अनुमानित लागत बढाएर ३५ करोड ८७ लाख १८ हजार कायम गरियो ।
मन्त्रीसँग मिेलेमतोमा मात्र ठेक्का र वस्तु एवम् सेवा खरिदमा भ्रष्टाचार र ढिलाइ हुने जानकारहरूको मत छ ।
दुवाकोट सडकका ठेकेदार काभ्रे क्षेत्र नं २ बाट नेकाका सांसद कान्छाराम तामाङ हुन् । नेका, एमाले, माओवादीसमेतको संसद्मा १९ खराब ठेकेदार सांसद भएको र यसैकारण खर्बौँ रूपैयाँको ठेक्का अलपत्र अवस्थामा रहेकोमा जनताको आपत्ति हो । यसअघि जसपा र लोसपाका सांसदहरू हरिनारायण रजौरियालगायत ठेकेदारहरूले लिएको निर्माण कार्य पनि अलपत्र नै छ । यसकारण, उपप्रधानमन्त्री नारायणकाजीले नगरकोट सडक एक महिनाभित्र सम्पन्न गरी हस्तान्तरण नगरेमा ठेकेदारलाई कारबाही गर्ने भनाइ ‘हावामा महल’ हुने त होइन ? ।
Leave a Reply