नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
भारतीय स्वतन्त्रता आन्दोलनमा भगतसिंह र उनका साथीहरूले बेलायती उपनिवेशवादको विरोध र समाजवादको पक्षमा हिंसात्मक सङ्घर्षको काम थाल्दै थिए । रेलमा बम हान्ने र बेलायती उपनिवेशवाद समर्थकहरूलाई गोली हानेर मार्नेजस्ता आतङ्कवादी गतिविधि पनि ती विद्रोहीहरू गर्थे । त्यस गतिविधिको उद्देश्यमा तिनीहरूको कुनै व्यक्तिगत लाभको उद्देश्य नभई भारतलाई बेलायतको उपनिवेशबाट मुक्त गर्नु र भारतमा समाजवादको स्थापना गर्नु थियो ।
त्यस सङ्गठनमा पनि बेलायती उपनिवेशवादी प्रशासनका गुप्तचरहरू घुसाइएको हुन्थ्यो । त्यस्ता गुप्तचरहरूले भगतसिंह समूहका कार्यकर्ता र नेताहरू पुलिसलाई खबर गरेर पक्राउने र पोल्ने व्यक्तिहरूलाई त्यसबेला एक फारसी शब्द ‘मुखविर’ शब्द प्रयोग भएको पाइन्छ । क्रान्तिकारी र देशभक्तहरूको विरोधमा विदेशी शत्रुको सेवा गर्नेहरू देशद्रोही थिए ।
यसकारण, ‘मुखविर’ शब्दले क्रान्तिकारी र देशभक्तहरूलाई ज्यान सजाय दिलाई हत्या गराउने र दमन गराउने जासुस भनी जनताले तिनीहरूलाई घृणा गर्थे । भगतसिंह समूहका धेरै क्रान्तिकारीहरू त्यसरी सहिद भएका थिए ।
२
राजनैतिक डबुलीमा ‘एजेन्ट प्रभोकेटर’ भन्ने शब्द पनि धेरै प्रचलित छ । संरा अमेरिकाबाट सुरु भएको मई दिवसमा पनि मजदुरहरूको ज्याला बढाउने र दिनको ८ घण्टाको कामको माग लिएर भएको जुलुस प्रदर्शनमा मजदुरहरूकै बिचबाट एजेन्ट प्रभोकेटरहरूले प्रहरीमाथि ढुङ्गा हानेर उत्तेजित पारेपछि प्रहरीले गोली हान्दा केही प्रदर्शनकारी मजदुरहरू सहिद भए र कैयौँ घाइते भएका थिए ।
‘उत्तेजना फैलाउने’ त्यस्ता व्यक्तिहरूलाई अङ्ग्रेजीमा प्रतिक्रियावादी सरकारका प्रहरीका मानिस वा ‘एजेन्ट प्रभोकेटर’ भन्थे । तिनीहरूलाई जनताका शत्रुहरूको रूपमा लिइन्थे ।
आजको खुला नेपाली समाज र परिवर्तन चाहने राजनैतिक दलहरूमा अनेक प्रकारका ‘एजेन्ट प्रभोकेटर’ हरू हुनु स्वाभाविक हो । यसकारण, राजनैतिक पार्टीका नेता र कार्यकर्ताहरू सचेत हुनु आवश्यक छ ।
अहिले त्यस्ता विदेशी एजेन्ट (दलाल वा जासुस) हरूले नेता र कार्यकर्ताहरूलाई अनेक आर्थिक अपचलन (घूस लिने र दलाली भाग लिने) जस्ता अपचलन गराई लोभी र अपराधी बनाइरहेका छन् । अलिअलि गर्दै त्यस्ता नेता र कार्यकर्ताहरू जानेर वा नजानेर दलभित्र र सरकारमा गएर भ्रष्टाचारी हुँदै छन् र विदेशी पुँजी (ठेकेदारी, व्यापार र अनेक योजना) को दलाली गर्दै छन् । यसले देशका जिम्मेवार व्यक्तिहरूलाई नैतिकरूपले तल झार्ने र देशलाई बरबाद पार्ने काममा विदेशीलाई पु¥याउने परिणामले बताउनेछ ।
३
त्यस्तै खाद्य सामग्री र औषधिमा पनि कम्पनी र व्यापारीहरूले खानेकुरा वा औषधिमा अखाद्य वा कमसल सामान मिसाएर व्यापक जनताको स्वास्थ्यलाई खराब पार्नेहरू ‘अडल्टेरर’ मिसावट गर्नेहरू हुन् । रक्सीमा अखाद्य वस्तुहरू मिसाई बरोबर धेरै मानिस मरेको देश र विदेशका अनेक समाचारहरू बरोबर निस्केको नेपालीहरूलाई थाहा भएकै विषय हो ।
त्यस्तै जिरामरिच, अदुवा–खुर्सानी, बेसार–नुन आदिमा समेत अन्य सामान मिसाउने र तरकारीमा विषालु औषधि छर्केर जनताको स्वास्थ्यमा हानि पु¥याउने सबै मिसावट गर्ने अपराधी छन् । भारतीय सीमाबाट नेपालमा अनेक तरकारी र मिसावट भएका खाद्यान्नलाई नेपालगञ्ज र नेपालका सीमा चौकी र जिल्ला प्रमुख अधिकारीले रोक्दा भारतीय दूतावासले ती खाद्यान्न नियन्त्रण नगर्न अनेक दबाब दिएको खबर बाहिरिएको थियो । यस्तो दबाब दिन दिनको घटना भइरहेको छ ।
त्यस्तै भारतबाट आउने धेरै औषधिहरूबारे पनि चिकित्सक र रोगीहरूको गुनासो छ । यसबारे नेपाल सरकार, स्वास्थ्यमन्त्री र सम्बन्धित निकायको खोजबिन र नियन्त्रणमा खोट छ । यस्ता सरकारी अङ्गका प्रमाणित व्यक्ति, व्यापारी र कम्पनीहरू सर्वसाधारण जनताको ज्यान जोखिममा पार्ने हुनाले अपराधी हुन् र तिनीहरूलाई सजाय गराउनु आवश्यक छ ।
४
निर्माण कार्यमा अपचलन
राजनैतिक क्षेत्र, खाद्यान्न, औषधिमा समेत देखिएका खोटहरूबाट देश र जनता आक्रान्त भइरहेको बेला निर्माण कार्यमा पनि निर्माण कम्पनीहरूबारे जनताको गुनासो भइरहँदा उपभोक्ता समितिहरूले गरेका कामहरूमा देखिएका खोटहरूबारे पनि जनतामा चर्चा छ ।
केही दिनअगाडि मात्रै टर्कीमा गएको भूकम्पले नयाँ भवनहरूसमेत भत्कँदा निर्माण कम्पनीका मालिकहरूलाई पक्राउ गरिएको छ । ती कम्पनीहरूले घर निर्माणमा प्रयोग गरेका सामान प्रविधिमा खोट भएको कारण आवासीय भवनहरू भत्केर झन्डै ५० हजार जनता मरे तथा अरू हजारौँ मानिस घाइते भए । धनको क्षतिको त अहिले हिसाबै छैन । यसकारण, नेपालमा निर्माण कम्पनीहरूले देश र जनताको हितमा प्राथमिकता नदिएको हुनाले देशले समस्या भोग्दै छ । निर्माण कम्पनीहरूको एकतर्फी हितलाई ध्यानमा राखेर ऐन बनाउनु नै सबभन्दा ठूलो दोष भएको विज्ञ जनताले औँल्याएका छन् । विदेशी कम्पनीहरूले पनि नेपालको निर्माण कार्यमा ठेक्का लिएका छन् । पुँजीवादी देशका कम्पनीहरूले नेपाली प्राविधिक र कम्पनीहरूलाई समेत प्रभावमा पार्नु पनि गम्भीर विषय हो ।
५
नेपालको सम्पदा मर्मत, निर्माण, पुनः निर्माणबारे पनि छलफल आवश्यक छ । प्राचीन सम्पदा सुन्दर मात्रै होइन त्यसमा प्रयोग भएका सामग्रीहरूसमेत ध्यान दिनुपर्ने विषय हो । काम थाल्नुभन्दा पहिले नै प्रयोग हुने माटो, काठ र इँटाको बारे पनि परीक्षण आवश्यक छ । ती वस्तुको गुण र दोषको बारेमा पनि यस पुस्ताले अध्ययन र अन्वेषण (अनुसन्धान) गर्नु लाभदायी हुन्छ । इन्जिनियरिङ कलेजका हाम्रा प्राविधिकहरू पश्चिमी देशको ज्ञानबाट शिक्षित र दीक्षित हुनुहुन्छ । तर, हाम्रा प्राचीन स्मारक र विश्व सम्पदाहरूमा प्रयोग भएका माटो, काठ र जोडाइ (माटोका प्रकार, मिश्रण र अन्य सामान) बारे अध्ययन महत्वपूर्ण छ । काठका प्रकार, माटाका प्रकार, इँटा, ढुङ्गा र अन्य प्रयोग भएका वस्तुहरूको बारे वैज्ञानिक अनुसन्धानले हाम्रो प्राचीन निर्माण प्रविधिबारे पुनर्ताजगीको सम्भावना यथेस्ट छ ।
यस्तो गहन विषयमा हाम्रा उपभोक्ता समितिहरूले पनि विश्व सम्पदाहरूको महत्व र त्यसलाई जोगाउनुको अर्थ, त्यसलाई मर्मत सम्हारमा अपनाइने विधि र कार्यशैलीबारे पनि जानकारी राख्नु जरूरी छ । व्यक्तिको सामान्य घर निर्माण र मर्मतसँग सांस्कृतिक धरोहर र विश्व सम्पदालाई एउटै आँखाले हेर्नु उचित हुन्न । नत्र, हाम्रो पुस्ताले पनि भोलि इतिहासले ‘निर्माण कार्यमा मिसावट गरेको’ आरोप र खोट लगाउने निश्चित छ । त्यसको अर्थ यो पुस्ताले नेपाली सभ्यता र संस्कृतिमाथि ठूलो अपराध गरेको साबित हुनेछ ।
Leave a Reply