भर्खरै :

सांस्कृतिक गतिविधि समाज परिवर्तन हुने खालको होस्

  • फाल्गुन २०, २०७९
  • दानबहादुर कपाली
  • विचार
सांस्कृतिक गतिविधि समाज परिवर्तन हुने खालको होस्

अन्धविश्वास, कुरीति, कुसंस्कार, विकृति, विसङ्गति हटाएर आदर्शोन्मुख समाज स्थापना गर्नू आजको आवश्यकता हो । आदर्शोन्मुख समाज स्थापना गर्न समाजमा मार्गनिर्देश गर्ने, परिवर्तन चाहने समाजसेवी, बुद्धिजीवी तथा असल कार्यकर्ताहरूको जरुरी हुन्छ । समाज परिवर्तन आफैँ हुँदैन । समाज परिवर्तन गर्न समाजमा परिवर्तन चाहने व्यक्तिहरू हुनुपर्छ, उनीहरू समाज परिवर्तनमा लागिरहनुपर्छ । जीवित सङ्ग्रहालयको रूपमा परिचित भक्तपुर सहरको मुहार फेर्न यहाँ त्यस्तै बरोबर गतिविधिहरू भइरहनुपर्छ । भक्तपुर सहरलाई जहिल्यै सक्रिय र जीवन्त बनाउने विभिन्न शैक्षिक, खेलकुद, सांस्कृतिक, साहित्यिक, नाचगान, वाद्यवादनलगायत रचनात्मक गतिविधिहरू गरिरहनुपर्छ । यस्तै गतिविधिलाई निरन्तरता दिने क्रममा अहिले भक्तपुर नगरपालिका प्रगतिशील भजन प्रतियोगिता गर्न गृहकार्यमा जुटेको छ । हरेक समुदायलाई सक्रिय र सुसूचित बनाउन, नागरिक भावना जगाउन, सांस्कृतिक स्तर उठाउन प्रगतिशील गीतमार्फत परिवर्तनको सन्देश फैलाउने ध्येयले सो प्रतियोगिता गर्न लागेको हो ।
समाज परिवर्तनमा टेवा पु¥याउन जनताको कथा, व्यथा उजागर गरेर मुक्तिको बाटो पहिल्याउन जनतामाझ बेलाबखत रचनात्मक गतिविधि गरेर सक्रिय पारिरहनु मानवीय जीवनको लागि पनि आवश्यक छ । कति भजनमा ईश्वर र राजा, महाराजा, सामन्तहरूको गुणगान गरिएको हुन्छ । कति भजनको गीतमा जनताका दुःख र पीडाको अभिव्यक्ति पाइन्छ । प्राकृतिक प्रकोप, रोगको प्रकोप, आर्थिक सङ्कट र जनताकै जनजीवन झल्किने गीत भजनमा पाइन्छ । अहिले हुने भनिएको भजन प्रतियोगितामा पनि जनताको व्यथा पीडामात्र होइन देशको स्वाधीनता र सार्वभौमसत्ता रक्षा गर्ने कुरा आउनु आवश्यक छ । देशको सार्वभौमिकतामा आँच पुग्ने खालका सन्धि सम्झौता, मानव बेचबिखन, भ्रष्टाचार, अनियमितता देशको जल्दोबल्दो समस्या हो । नागरिकता विधेयक, एमसीसी सम्झौता अर्को देशको समस्या हो । अहिले पनिसत्तामुखी राजनीति र भागबन्डाको निम्ति तँछाडमछाड छ । रासायनिक मल र खानेपानीको अभाव छ । सहिदहरूका परिवारको जीवन अहिले पनि कष्टकर छ । हुन लागेको भजन प्रतियोगिताले जनसमुदायमाझ यस्तै यस्ता सन्देश पठाउन टोल टोलका भजन टोली, संस्कृतिकर्मी, लेखक, साहित्यकार, कलाकार, वाद्यवादनका गुरुहरू सक्रियतापूर्वक लाग्ने विश्वास गर्न सकिन्छ । भजन प्रतियोगिता समाज परिवर्तनको निम्ति एउटा गतिलो पाइला होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *