भर्खरै :

८ मार्च समाजवादी आन्दोलनकै सिलसिला

  • फाल्गुन २२, २०७९
  • अन्तरा, काठमाडौँ
  • विचार
८ मार्च समाजवादी आन्दोलनकै सिलसिला

यस वर्ष पनि फागुन २४ गते अर्थात् मार्च ८ नेपाल सरकार र कतिपय राजनीतिक दल, सङ्घ–संस्थाले नारी दिवस वा महिला दिवसको रूपमा मनाउँदै छन् । तर, मार्च ८ नारी वा महिला दिवस मात्र होइन । यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो । आर्थिक, सामाजिक र राजनीतिकरूपमा श्रमिक महिलाहरूको अधिकारको लडाईँको रूपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै आइएको छ ।
८ मार्चका धेरै ऐतिहासिक महत्वहरू छन् र ८ मार्च मजदुर किसान तथा शारीरिक श्रम गर्ने र बौद्धिक काम गर्ने सर्वहाराको लागि सम्झनयोग्य दिन पनि हो । १९१७ को फेब्रुअरी क्रान्ति मार्च ८ को दिन रूसको पिटर्सवर्गका श्रमिक महिलाहरूको अगुवाइबाट सुरु भएको थियो र जारशाहीको विरोधमा श्रमिक महिलाहरू लामबद्ध भएर उठेका थिए ।
सन् १९०९ फेब्रुअरी २८ मा अमेरिकी समाजवादी अमिक महिलाहरूले राजनीतिक अधिकारको लागि विशाल प्रदर्शन र सभा गरेका थिए जसमा मुख्यतयाः मतदानको अधिकार महिलाले पाउनुपर्ने माग थियो । सन् १९१० मा कोपनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनमा क्लारा जेट्किन (जर्मन कम्युनिस्ट नेतृ) ले अमेरिकी श्रमिक महिलाहरूको सङ्घर्षलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुपर्ने प्रस्ताव राख्नुभयो । यसबाट पनि कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् भन्ने प्रमाणित हुन्छ । त्यही सम्मेलनले नै सबै मुलुकमा हरेक वर्ष एकैदिन श्रमिक महिला दिवस मनाउने निर्णयकासाथ नारा पनि तय गरेको थियो महिलाहरूलाई मतदानको अधिकारले समाजवादी सङ्घर्ष थप बलियो हुनेछ ।
पहिलो विश्वयुद्ध अधि धेरै पुँजीवादी देशहरूमा महिलाहरूलाई मतदानको अधिकार थिएन । त्यस समय संसद्लाई प्रजातान्त्रिकीकरण गर्ने सवाल महिलालाई मतदानको मुद्दासँग जोडिएको थियो । महिलाहरूलाई उद्योगधन्दा र कलकारखानामा, ज्यासलमा श्रमिक वा नोकरको रूपमा मात्र राखिन्थ्यो र देशको अर्थतन्त्र धान्न प्रयोग गरिन्थ्यो । तर, मतदानको अधिकार थिएन । युद्धसँगै आएको भोकमरी र महँगीले सारा श्रमिक महिला र गृहिणीहरूलाई राजनीतिक अधिकारको निम्ति र पुँजीवादी अर्थतन्त्रको विरोधमा तयार गन्यो । यो अवस्था विशेषतः अष्ट्रिया, इङ्गल्याण्ड, फ्रान्स, जर्मनीमा देखियो । जुलुस र प्रदर्शनले मात्र राजनीतिक परिवर्तन नहुने वा महँगी कम नहुने देखिएपछि राजनीतिक अधिकार प्राप्त गर्न मताधिकार चाहिने र श्रमिक महिलालाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमार्फत् समाजवादको झण्डामुनि एकताबद्ध गर्ने बाटो अगाडि बढाइयो । फलस्वरूप पहिलो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सन् १९११ मार्च १९ को बैठकले मनाउने निर्णय ग¥यो ।
त्यो दिन जर्मनीको इतिहासमा सन् १८४८ को क्रान्तिमा पर्सियाका राजाले जनताको सशस्त्र विद्रोह अगाडि महिलालाई मतदानको अधिकार स्वीकार गरेको थियो । तर, पछि त्यो दिइएको थिएन । सन् १९१३ देखि मार्च ८ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो । यसरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालेदेखि समाजवादी आन्दोलन थप गतिशील भयो ।
साथै बुर्जुवा वर्ग समाजवादी आन्दोलनभन्दा श्रमिक महिला आन्दोलनका कारण थप अप्ठेरोमा पर्दै गएको पाइन्छ । श्रमिक महिला दिवसले धेरै गृहस्थ र अशिक्षित महिलाहरूलाई पनि राजनीतिक रूपमा सचेत गयो र समाजवादी आन्दोलन अघि बढ्यो । त्यतिबेलाका अगुवा महिलाहरूले सङ्घर्षको निमित्त पत्रपत्रिकाको प्रकाशन र प्रचारप्रसारलाई जोड दिएका थिए ।
समाजवादी आन्दोलनमा योगदान पुयाउने महिला नेतृहरू क्लारा, रोजा, जेनी, क्रुप्सकाया, च्याङचिङलगायतको नेतृत्वदायी भूमिकाले श्रमिक महिला आन्दोलनको इतिहास बोकेको पाइन्छ । साथै रसियाली नेतृ अलेक्जेन्द्रा कोलोन्ताइले नेतृत्वदायी भूमिका खेल्नुभयो । पहिलो विश्वयुद्धले ल्याएको भोकमरी, अनिकाल, चिसोले धेरै सताएपछि पेट्रोग्राडमा रूसी श्रमिक महिलाहरू बहादुरीपूर्वक जारशाहीको विरोधमा सङ्घर्षमा उत्रे । श्रमिक महिलाहरू, सैनिकका श्रीमतीहरूले आफ्ना बच्चाहरूको लागि रोटी र आफ्ना सैनिक श्रीमान्हरू युद्ध भूमिबाट फिर्ता गर्न माग राखी सङ्घर्ष थालेका थिए । (जारशाहीविरूद्ध महिलाहरूको सङ्घर्षले आन्दोलनमा ऊर्जा प्रदान ग¥यो । अलेक्जान्द्राको नेतृत्वमा रसियाली श्रमिक महिलाहरूले सर्वहारा क्रान्तिको विगुल फुक्ने काम गरे ।
महिलाको पनि समान अधिकारको निम्ति श्रमिक वर्गको राज्यसत्ता एकमात्र उपाय रहेको प्रमाणको रूपमा विश्वका सम्पूर्ण श्रमिक महिलाहरूले सन् १९१७ को सोभियत सङ्घको अक्टोबर क्रान्तिलाई लिए । अन्तर्राष्ट्रवादी कम्युनिस्ट नेतृ क्लाराले भन्नुभएको छ श्रमिक महिलाहरूको राजनीतिक सहभागिताविना कहिल्यै श्रमिक वर्गको जीत हुँदैन । जबसम्म सामाजिक संरचनामा परिवर्तन हुन्न, तबसम्म महिलाहरूको अवस्थामा सुधार आउँदैन । समाजवादको उदयविना कामदार वर्गका महिलाको मुक्ति सम्भव छैन ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अन्तर्राष्ट्रिय श्रमिक महिलाहरूको सङ्घर्षको प्रतिफल हो । त्यसैले यो सम्पूर्ण श्रमिक वर्गको दिवस हो । हामीले यही इतिहासको स्मरण गर्दै श्रमजीवी जनतालाई हक अधिकार दिलाउन समाजवादको रातो झण्डामुनि गोलबद्ध हुन आह्वान गर्दै मनाउन आवश्यक छ किनभने मार्च ८ समाजवादी आन्दोलनको एक हिस्सा हो । सर्वहारा वर्गका महान नेता लेनिनले भन्नुभएको छ– ‘श्रमिक महिलाहरू राजनीतिक रूपले सचेत नभइकन समाजवादी आन्दोलन कहिल्यै पूरा हुन्न ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *