नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
देशमा विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाको चलखेल एकपछि अर्को बढ्दै गएको छ । शिक्षा र विकासको नाउँमा मुलुकलाई विदेशीको खेल मैदान बनाउने काम ती देशहरूबाट भइरहेको छ । भारतबाट विषादीयुक्त तरकारी परीक्षण नगरी नेपालीहरूको स्वास्थ्यमाथि खेलबाड गरिरहेको समाचार सेलाउन नपाउँदै भारत पछिल्लो चरणमा मुस्ताङमा बौद्ध कलेज खोल्न लागिपरेको छ । समाचारस्रोतअनुसार उक्त क्षेत्रमा बौद्ध कलेज खोल्न सरकारले भारतको प्रस्ताव स्वीकार गरिसकेको छ । मान्छेको बस्ती नै नभएको त्यो हिमाली भेगमा बौद्ध कलेज खोल्ने प्रस्ताव भारतले किन ल्यायो ? शङ्का गर्ने ठाउँ छ । नेपाल–चीन सीमामा भारतले स्थानीय र वरपरका जिल्लाका भिक्षुहरूलाई पढाउने नाममा खोल्न लागेको त्यो कलेज राजनीतिक हिसाबले खोलेकोमा कुनै शङ्का छैन ।
राजधानी काठमाडौँलगायत विभिन्न गाउँ–ठाउँ र सहरहरूमा प्रशिक्षणको नाउँमा खोलेका बौद्ध शिविरहरूमा स्थानीय भिक्षुहरूमात्र होइन तिब्बती शरणार्थीहरू पनि रहेको यथार्थ हो । तिब्बती शरणार्थीहरू नभएका भए त्यस्तो बौद्ध शिविरमा अमेरिकी मन्त्री किन जानुप¥यो ? सरकारको अनुमति र जानकारीबिना शरणार्थी शिविरमा गएर देशको मर्यादा किन उल्लङ्घन भयो ? यसमा सरकार किन मौन ? कतै यो विश्वविद्यालय या कलेज तिब्बती शरणार्थीहरूको भेटघाट गर्ने केन्द्र बनाउन त लागेको होइन ? चीनको गतिविधिको सुराकी गर्न, खम्पा विद्रोहीहरूलाई उचाल्न या भारतीय गुप्तचरहरू खेलाएर देशमा अशान्ति मच्चाउने ध्येयले सो कलेज खोल्न लागेको त होइन ?
कलेज स्थापनाको उद्देश्य या प्रस्तावमा तिब्बती शरणार्थी लक्षित पढाइ हुने कुरा उल्लेख हुँदैन जसरी एमसीसी सम्झौतामा अमेरिकी सेना ल्याउने कुरा उल्लेख छैन । तर, विकासको नाउँमा अमेरिकी सेनामात्र होइन अमेरिकी गुप्तचरहरूको नेपाल खेल्ने मैदान बन्नेमा शङ्का छैन । मुक्तिक्षेत्रमा खम्पा विद्रोहको कुनै असर पर्दैन भन्नु आफ्नो गल्ती छोप्ने कुत्सित प्रयास हो । अतः उक्त बौद्ध कलेज स्थापना गर्न राखेको भारतको प्रस्ताव नेपाल सरकारले अस्वीकार गर्नुपर्छ । यसभन्दा १० वर्षअघि नै भनपाले राखेको ख्वप विश्वविद्यालयको सरकारले स्वीकृति दिएको छैन । पूर्वाधार तयार भइसकेको ख्वप विश्वविद्यालय खोल्न स्वीकृति नदिने सरकारले बस्ती नै नभएको ठाउँमा बौद्ध कलेज खोल्ने भारतको प्रस्तावलाई यति चाँडै किन स्वीकृति दियो ? कतै यो भारतलाई खुसी पार्ने चाल त होइन ? नेपाल सरकार किन भारतको दबाबमा बस्छ ? भारतले भनेपछि नेपाल सरकार आँखा चिम्लेर किन सहमति गर्छ ?
मुस्ताङका प्रदेशसभा सदस्य विकल शेरचनले उक्त कलेज खोल्न लागेको स्थानमा खम्पा विद्रोहको कुनै असर थिएन भन्नु र प्रस्तावित कलेजमा तिब्बती शरणार्थीहरू लक्षित पढाइ हुँदैन भन्नु गलत हो । नेपाल–चीनको सीमा नजिक भारतले बौद्ध कलेज खोल्ने चाहनाभित्र सफा नियत देखिँदैन ।
Leave a Reply