नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
मंसिर ४ मा भएको आम निर्वाचनपछि देशमा नयाँ राष्ट्रपति र उपराष्ट्रपतिका लागि निर्वाचन हुन लागेको छ । फागुन २५ गते हुन गइरहेको देशको नयाँ राष्ट्रपतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसदका सदस्य र प्रदेशसभा सदस्यहरू मतदाता रहेको निर्वाचक मण्डलबाट संवैधानिक र कानुनी व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपति पदमा राष्ट्रिय सहमति निर्माण गर्ने निहुँमा दुई महिनाअगाडि मात्र बनाइएको सत्ता गठबन्धन तोडिएको छ र नयाँ गठबन्धन बनाइएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिसमेत योग्यताको आधारमा भागबन्डाको हिसाबले निर्वाचित गरिँदै छ । यसरी भागबन्डा गर्दा राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष नै हुने देखिएको छ । तर, संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिङ्ग वा समुदायको हुने बन्दोबस्त छ । गठबन्धनका दलहरू व्यक्तिगत महत्वाकाङ्क्षा र दलीय भागबन्डाको निम्ति यस संवैधानिक व्यवस्थालाई तोड्न लागेका छन् । फरक–फरक समुदायलाई आधार मानेर दलहरूले उपराष्ट्रपतिमा पनि पुरुषलाई नै उम्मेदवार बनाउने तयारी गरेका हुन् ।
निर्वाचन आयोगले भने राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गको हुनेगरी मात्र निर्वाचन गराउने भनेको छ तर, दलहरूले फरक समुदायको भएमा पुरुष हुन पाउने भनिरहेका छन् ।
राष्ट्रपतिमा काङ्ग्रेसबाट रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ चुनावी प्रतिस्पर्धामा छन् । २५ फागुनमा पौडेल र नेम्वाङमध्ये एक राष्ट्रपतिमा निर्वाचित हुनेछन् । यसपटक राष्ट्रपति पुरुष हुने निश्चित छ । तर, ३ चैतमा हुने उपराष्ट्रपतिमा पनि पुरुष नै आउने सम्भावना देखिन्छ । आठदलीय गठबन्धनबाट जनता समाजवादी (जसपा) ले उपराष्ट्रपति पाउने सहमति भएको बताइएको छ । जसपाका नेताहरू उपराष्ट्रपति आफ्नो पार्टीले पाउने सहमति भएको बताइरहेका छन् । जसपाले उपराष्ट्रपतिमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ । रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउनुमा जसपा अध्यक्ष उपेन्द्र यादवको आफ्नै स्वार्थ या महत्वाकाङ्क्षा छ । सांसद यादव उपराष्ट्रपति बनेर खालि हुने सीटमा उपनिर्वाचनमा आफू उम्मेदवार बनी प्रतिनिधिसभामा पुग्ने । गत ४ मङ्सिरमा भएको चुनावमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । तर, जनमत पार्टीका अध्यक्ष सीके राउतसँग यादव पराजित भएका थिए । संविधान र ऐनको परिपालना जो कसैले पनि गर्नुपर्छ । कसैको व्यक्तिगत महत्वाकाङ्क्षाका लागि संविधान र ऐनको उल्लङ्घन हुनुहुँदैन ।
Leave a Reply