नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
भक्तपुर, २४ फागुन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र ख्वप बहुप्राविधिक अध्ययन संस्थानको संयुक्त आयोजनामा आज ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरलाई टेष्ट ट्युबको रूपमा विकास गर्दै लानुपर्ने बताउँदै भ्रमको खेती गर्ने र आलोचना गर्नेहरूलाई जवाफ दिनुभन्दा पनि शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षणलगायतका क्षेत्रमा राम्रोसँग काम गर्दै गएमा यहाँको प्रगति हेर्न आफै अवलोकन भ्रमणमा आउने बताउनुभयो ।
महिलालाई बौद्धिक र व्यावहारिकरूपले सक्षम बनाएमा जहाँ गएपनि पछाडि पर्दैन भन्दै उहाँले पुँजीवादीहरूले महिलालाई नेतृत्वमा ल्याएन भनी प्रचार गर्ने गरेको बताउनुभयो । महिला समानताको नाममा पुँजीपति वर्गकै महिलाको वर्चस्व रहने भएको हुँदा जबसम्म ८० प्रतिशत कामदार वर्गका जनता सचेत हुँदैन, तबसम्म समानता हुँदैन भन्नुभयो । आ–आफ्नो क्षमता अनुसार शिक्षा, व्यापक साक्षरता आन्दोलन तथा शिक्षा निःशुल्क भएपछि बिस्तारै समानता प्राप्त हुने उहाँले बताउनुभयो । यान्त्रिकीकरणको विकासले घरायसी काममा महिलालाई सजिलो भएसँगै शिशुशाला, बालउद्यानको व्यवस्था तथा महिला आदर निकेतनको व्यवस्थाले जन्मदेखि मृत्युसम्म सहज हुने उहाँले औँल्याउनुभयो ।
अर्को एक प्रसङ्गमा छिमेकी देश भारत तथा नेपालका तराईका जिल्लाहरूमा हुने दहेज प्रथाले महिलालाई धेरै दुःख भएको, गरिब जनता आत्महत्या गर्न बाध्य भएको हुँदा दहेज प्रथालाई अवैध घोषणा गर्नुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महिला हक अधिकार तथा समानताको कुरा संविधान र कानूनमा भएपनि व्यवहारमा समानता नभएको चर्चा गर्दै महिलालाई बेचविखन गर्ने, विज्ञापनको रूपमा प्रयोग गर्ने साधनको रूपमा लिनु गलत भएको बताउनुभयो ।
धनी वर्गका महिलाले सुविधा र सुख पाउने तर स्वदेश तथा रोजगारको लागि विदेश जाने अधिकांश गरिव महिलाले दुःख पाएको चर्चा गर्नुभयो । महिला मुक्ति र समानता भनेको जातीय नभई वर्गीय मुद्दा भएको चर्चा र देशमा हरेक दिन औसत ७ जनाको बलात्कार भएको तथ्याङ्क प्रस्तुत गर्दै भारतमा बलात्कारीलाई मृत्युदण्डको सजाय, नेपालमा पनि सर्वस्वसहित जन्मकैदको व्यवस्था भएपनि बलात्कारको घटनामा वृद्धि भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । त्यसैले महिला समानताको भन्दा पनि वर्गीय मुक्तिकै निम्ति लड्नुपर्ने बताउनुभयो । देशको संविधान र कानुनले बाध्यात्मक व्यवस्था गरी महिला सहभागी गराएपनि वास्तविक कामदार महिला पदमा पुग्न नसकेको बताउनुभयो । महिलालाई आरक्षणले प्रतिस्पर्धामा कमी ल्याउने भएको हुँदा शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने र रोजगारी सृजना गर्नुपर्ने बताउनुभयो ।
अर्को प्रसङ्गमा प्रमुख प्रजापतिले कामदार वर्ग अगाडि बढेको हेर्न नचाहेका पूँजीवादी शासकहरूले भक्तपुरको बारेमा धेरै भ्रम फैलाइरहेको चर्चा गर्दै भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन प्रयासरत रहेको बताउनभयो ।
कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य सृजना सैंजूले मार्च ८ को दिनलाई वर्ग सङ्घर्षको महत्वपूर्ण सिलसिलाको रूपमा स्मरण गर्दै संसारभरको महत्वपूर्ण आन्दोलनहरूमा महिला सहभागिता उल्लेख्य रहेको चर्चा गर्नुभयो । कामदार वर्गका महिलाहरूको आन्दोलनलाई कमजोर बनाउन सन् १९४९ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय महिला दिवस बनाउने ध्रुत्र्याई गरेको चर्चा गर्दै क्ष्ल्न्इर ल्न्इ को पैसाले महिला दिवस मनाई श्रमिक महिला आन्दोलन ओझेलमा पार्न खोजिरहेको उहाँले बताउनुभयो । रुसी क्रान्ति, क्युवाली क्रान्तिलगायतका क्रान्तिमा महिला सहभागिताबारे चर्चा गर्दै विश्वव्यापी रूपमा २३.८ प्रतिशत, एसियामा १९.८ प्रतिशत र नेपालमा ३३ प्रतिशत महिला नीति निर्माण गर्ने तहमा भएपनि ती ठाउँहरूमा धनी वर्गबाट आएका महिलाहरू पुगेको हुँदा व्यक्तिगत लाभको मात्र माग गर्ने गरेको र श्रमिक महिलाको हक अधिकारबारे मौन रहेको उहाँले बताउनुभयो ।
कामदार महिलाहरू व्यवस्थाको शोषण र समाजको बेथितिको शोषण गरी दोहोरो शोषणमा परेको चर्चा गर्दै ४ दशक अगाडिदेखि नेपाल मजदुर किसान पार्टीले रात्रीकालीन प्रौढ कक्षाहरूमार्फत कामदार महिलालाई सचेत र सङ्गठित पार्दै आएको हुँदा संसारभरका युद्धहरूमा जसरी महिलाहरूले महत्वपूर्ण भूमिका खेले त्यसरी नै २०४५ सालको भक्तपुर काण्डमा पनि महिलाहरू अग्र मोर्चामा उभिएर सङ्घर्ष गरेको बताउनुभयो । महिलामाथिको दोहोरो शोषणको अन्त्यको लागि पुँजीवादविरुद्ध लड्नु नै कामदार महिलाको कर्तव्य भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माकले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वको चर्चा गर्दै कलेजमा अध्ययनरत विद्यार्थीहरूमा महिला विद्यार्थीको सङ्ख्या बढी भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ. सुनिल दुवालले महिला मुक्ति तथा समानतालाई अनिवार्य समाजवादी व्यवस्था स्थापनाको लागि सचेतना अभियानको रूपमा लानुपर्ने बताउँदै संसारभर मनाइने श्रमिक महिला दिवसको चर्चा गर्दै होटल, रिसोर्टमा सभा सम्मेलन र सेमिनार गर्दैमा महिला मुक्ति नहुने, देशको उच्चपदस्थ पदहरूमा महिलाको सहभागिताले मात्रै गरिव तथा कामदार महिलाको मुक्ति सम्भव नभएको चर्चा गर्नुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले जनताको सेवाको निम्ति भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा ३६५ दिननै ओपीडीइएम् सेवा सञ्चालन भइरहेको चर्चा गर्दै मानिसमा हुने विभिन्न खालका सर्ने र नसर्ने रोगहरूको सम्बन्धमा चर्चा भयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य इ. रत्नशोभा प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपप्राचार्य प्रजापतिले अन्तराष्ट्रिय श्रमिक महिला आन्दोलनका अग्रज क्लारा जेट्किनको जीवनीबारे र ख्वप बहुप्राविधिकका शिक्षक रविना सुवालले पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) बारेमा प्रस्तुति दिनुभएको उक्त कार्यक्रममा इ. सुनिता खर्बुजाले पनि आफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply