नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
भक्तपुर, २४ फागुन । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस र ख्वप कलेज अफ लको आयोजनामा बुधबार प्रवचन कार्यक्रम भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले भन्नुभयो, “कम्युनिस्टहरूले मात्र कामदार वर्गका महिलाको सम्मान गर्छन् । किनभने, कम्युनिस्टहरूको सांस्कृतिकस्तर उच्च हुन्छ । सांस्कृतिकस्तर माथि उठेकाहरूले गलत काम गर्दैनन् । महिलालाई शरीर बेच्न पाउने अनुमतिपत्र दिनुपर्ने दाबी गरेकाहरू नाममात्रका कम्युनिस्ट हुन् । सारमा तिनीहरू पुँजीवादी नै हुन् । उनीहरूले जनतालाई धोका दिँदै आएका छन् ।
“केही महिलाहरू अर्बपति र खर्बपति हुनु महिला अगाडि बढेको होइन । अनेक अपराध गरेर व्यक्तिगत सम्पत्ति कुम्ल्याउनेहरू साँगुरो घेराका हुन् । देश र जनताको सेवामा त्याग, तपस्या र बलिदान गरेका महिलाहरू यथार्थमा महिला नेतृत्व हुन् । केही महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश हुनु नै महिला अगाडि बढेको होइन । कामदार वर्गका महिलाहरू उठाउने काम पुँजीवादी हुनेछैन”, उहाँले स्पष्ट पार्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “प्रजग कोरियाका नेतृ किम यो जङ्गले अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गू दक्षिण कोरियालाई आणविक हतियारसहित कोरियाली प्रायःद्वीपमा युद्ध अभ्यास नगर्न चेतावनी दिनुभयो । अमेरिकी पत्रकार अन्ना लुइस स्ट्रङले तिब्बतको स्थलगत अध्ययन गरी ‘तिब्बतमा भूदास उठ्दा’ पुस्तकमा दलाई लामा अमेरिकी साम्राज्यवादको कठपुतली भएकोबारे चिनियाँ सरकारले तिब्बतका जनताको मुक्ति र विकासमा निर्वाह गरेकोबारे चर्चा गर्नुभयो ।”
“माओवादी केन्द्रका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले २०७६ माघ १ गते खुला मञ्चमा भएको एक कार्यक्रममा गृहयुद्धको बेला मरेकामध्ये ५ हजारको जिम्मा लिने बताएको हुँदा पीडित परिवारका केही व्यक्तिले फागुन २१ गते दाहाललाई पक्राउ गरी कानुनबमोजिम हदैसम्मको सजाय गर्न अन्तरिम आदेश माग गरेको निवेदन दर्ता भयो र सर्वोच्च अदालतले दाहाललाई फागुन २५ गते हाजिर हुने आदेश ग¥यो”, सांसद सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारलाई समर्थन गरेका नौ दलको बैठक फागुन २१ गते बसेर गृहयुद्धको विषय सत्य निरूपण तथा मेलमिलाप आयोगबाट टुङ्गो लगाइने वक्तव्य दियो । मानव अधिकारको गम्भीर उल्लङ्घनका घटनालाई मेलमिलापबाट टुङ्गो लगाउन नपाउने भए पनि नौ दलले जबरजस्ती मेलमिलाप गराउने विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको गलत हो ।”
पुरानो माओवादीबाट टुक्रिएका ६ दलका नेताहरूले एउटा कार्यक्रममा दाहालविरूद्ध सर्वोच्चमा निवेदन दर्ता गरिएकोलाई विरोध गर्दै इतिहास दोहोरिने चेनावनी दिएको सांसद सुवालले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “सम्पत्ति शुद्धिकरणको लागि स्रोत नखुेलको सम्पत्ति र निजी बैङ्क राष्ट्रियकरण गर्नु आवश्यक छ । नेपालीको सम्पत्तिको सीमाङ्कन र विदेशमा सम्पत्ति राख्न नपाउने कानुन जरुरी छ । प्रम, मन्त्री, सांसद र उच्च अधिकारीलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा मात्र घर–जग्गा खरिद गरेर बसोबास गर्न पाउने कानुन आवश्यक छ ।”
“प्रम दाहालले २००७ सालदेखि सहमति र सहकार्य हुँदै आएको भनाइ भारतीय एकाधिकार पुँजीसामु आत्मसमर्पण हो । भारतीय विदेश सचिवको नेपाल भ्रमणमा १४ जना शासक दलका नेताहरू लम्पसार परेर भेटघाटमा लागेका थिए”, सांसद सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ख्वप विश्वविद्यालयको विधेयक पारित नगरेका शासक दलहरू राणा शासकहरूजस्तै हुन् । विधेयकबारे बालुवाटारमा भएको बैठकमा ख्वप विश्वविद्यालयको विधेयक संसद्बाट पारित नगर्नेहरू विदेशी दलाल हुनेतर्फ सचेत गराएका थियौँ ।”
“सिहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरू देश र जनताको सेवक होइनन् । ४–५ पटक मन्त्री भएका एक पूर्वमन्त्रीले आफ्नो संस्मरण पुस्तकमा मन्त्री भ्रष्टाचारी भएको उल्लेख गरेका थिए । कुनै पनि नेपालीको मन्त्रीसँग भेट हुँदा भ्रष्टाचार नगर्न सचेत गराउनु आवश्यक छ, सांसद सुवालले भन्नुभयो ।
कार्यक्रमका सभापति, विद्यालय/कलेज सञ्चालक समितिका उपाध्यक्ष एवं भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सभ्य, सुसंस्कृत र सुरक्षित समाज निर्माणमा एक ऐतिहासिक युग लाग्न सक्ने भएकोले यसतर्फ नयाँ पुस्ता सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
महिला र पुरूषको सहअस्तित्वले समाज समाज अगाडि बढ्ने धारणा उहाँले समाजमा परिवर्तनको लागि पुरूषमात्र होइन महिलाहरूबिच सहअस्तित्व आवश्यक छ भन्नुभयो ।
उपप्रमुख जोशीले सचेतनाको कार्यक्रम निरन्तर अगाडि बढाउनु आवश्यक भएको चर्चा गर्दै सचेत र शिक्षित समुदायले मात्र समाज परिवर्तन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप मा.वि.का प्राचार्य प्रकाश कुमार श्रेष्ठ, शिक्षिकाहरू सुनिता गाइसी, प्रभा प्रजापति र मिना महतले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा शिक्षक/शिक्षिकाहरूबाट कविता वाचन गरिएको थियो भने प्लस टुमा अध्ययनरत विद्यार्थीहरूले हृदयचन्द्र सिंह प्रधानलिखित ‘उनी देवटा हुन्’ नाटक मञ्चन गरेका थिए ।
Leave a Reply