भर्खरै :

“जनतालाई सहज उपचारको बन्दोबस्त नगर्ने सरकारहरू जनताका होइनन्”

“जनतालाई सहज उपचारको बन्दोबस्त नगर्ने सरकारहरू जनताका होइनन्”

भक्तपुर, २७ फागुन । नेपाल स्वयम्सेवी रक्तदाता समाज भक्तपुर जिल्लाको तेस्रो अधिवेशन शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले मानव सेवाको एउटा उत्कृष्ट उदाहरण रक्तदान पनि हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “स्वस्थ रहन मानिसलाई आहार, आराम र व्यायाम जरूरी छ । व्यायामशाला र खेलमैदान पर्याप्त भए अस्पताल थोरै भए पुग्नेछ । नेपाल मजदुर किसान पार्टीले संविधान निर्माणकै बेला खेलकुदलाई मौलिक हकमा राख्नुपर्ने र १८ वर्ष नाघेका युवालाई सैनिक तालिम दिने प्रस्ताव राखेको हो । तर शासक दलहरू मानेनन् । नेपालीको रोग प्रतिरोध क्षमता बलियो भए धेरैलाई कोरोना लाग्ने थिएन ।”
दुर्घटना, वंशानुगत, कुपोषण र अरूको रोग सरेर मानिस बिरामी हुने उल्लेख गर्दै उहाँले सरकारी अस्पतालमा शøया अभाव र उपकरण बिग्रिएको कारण देखाई बिरामीलाई निजी अस्पतालमा पठाइन्छ, निजी अस्पतालमा बिरामीको परिवारलाई घरखेत बेचाएर दिनको लाखौँ रुपैयाँ तिराएको पीडा भोगेकाहरू पनि छन्, बिरामी पनि मृत्यु हुने र परिवारको घरखेत पनि सकिने अवस्था खडा गर्ने सरकारहरू जनताका होइनन् भन्नुभयो ।
“वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता, अमेरिकी सेनाले नेपाली सेनाको व्यारेक कब्जा गर्ने एसपीपी साझेदारी, जन्मको आधारमा सरजमिन गराएर नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने नागरिकता विधेयक खारेज गर्नु जरूरी छ”, उहाँले भन्नुभयो ।
तत्कालीन प्रम देउवाले एमसीसी सम्झौताको रकम सित्तैमा आउने बताएको चर्चा गर्दै सांसद सुवालले हामीले प्रम देउवालाई एमसीसी सम्झौता विष हो, सित्तैमा दिइएको विष खान नहुनेबारे सचेत गरायौँ तर मानेनन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “लुम्बिनीमा ध्यान गर्न बोलाइएका भारतीय प्रम मोदीलाई नेकाका प्रम देउवाले अरूण चौँथो जलविद्युत् प्रसाद दिएर पठाएको देशघात नै हो । नदी नै प्रसाद पाउने भए मोदी दिनदिनै नेपालमा ध्यान गर्न आउनेछन् । यस्तो देशघाती काम शासक दलहरू गर्दै छन् । कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरूण तेस्रो, पश्चिम सेतीलगायत नेपालको हितविपरीतका सन्धिहरू खारेज गरी नेपालीको लगानीमा जलविद्युत् उत्पादन गर्नु जरूरी छ । देश र विदेशका समसामयिक विषयबारे सबै क्षेत्रका नेपालीहरू सचेत हुनु जरूरी छ ।
कार्यक्रममा प्रेमसागर कर्माचार्यले जनतालाई रगतको अभाव भएपछि गठन भएको रक्तदाता समाज ३८ जिल्लामा विस्तार भएको बताउनुभयो ।
आयोजक समितिका संयोजक मुक्तिसुन्दर जधारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रहरी उपरिक्षक प्रजित केसी, भक्तपुर ब्लड बैङ्कका प्रमुख श्रीकृष्ण प्रजापति, नेस्वरस ललितपुरका अध्यक्ष नवीन महर्जन, शिव बाला र सद्दाम बालाले पनि बोल्नुभएको थियो ।
अधिवेशनले सद्दाम बालाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । कार्यक्रममा सहभागी १९ जनाले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *