भर्खरै :

पहाड खन्दा निस्किएका मुसाहरू !

  • फाल्गुन २९, २०७९
  • अनिमेष पाठक
  • विचार
पहाड खन्दा निस्किएका मुसाहरू !

हिन्दू धर्मशास्त्रअनुसार विष्णु भगवान्का दस अवतार छन् । त्यसमध्ये पहिलो अवतार ‘मत्स्य अवतार’ हो । यस अवतारअनुसार पृथ्वी डुब्न लागेको बेलामा विष्णु भगवान्ले माछाको अवतार लिएर थेगेका थिए रे ! अझै कोहीँकोहीँ मानिसमा के विश्वास छ भने, ‘पृथ्वीलाई माछाले बोकेको हुन्छ र त्यसले गलेर काँध फेर्दा भुइँचालो जान्छ ।’ मत्स्य अवतारको काल्पनिक लीला रुचाउनेहरूले नै होला यसप्रकारको कपोलकल्पित विश्वास पनि जोडजाड गरेको ।
कोही अबोध बालकले आफ्ना हजुरबा हजुरआमाबाट यस्तै कथा ध्यान दिएर सुनेको भए ऊ सोच्दो हो, “बिचरा ! त्यो माछालाई कति दुःख रहेछ ! यत्रो ठूलो पृथ्वी कसरी थेगेको होला ! आफैँ किचियो भने ! बेलाबेलामा काँध फेरे पनि फेरोस् ! उसले पनि त बाँच्न पाउनुप¥यो नि ! बरु हामी भुइँचालो सहौँला ।”
हिन्दीमा एउटा कहावत् छ, “खोदा पहाड, निकला चुहा !” केके न होला भनेर धेरै श्रम र लगानीका साथ काम गरे पनि उपलब्धि अत्यन्त न्यून ! हाम्रो देशको सन्दर्भमा यो कहावत् अलि फरक तरिकाले मिल्न आउँछ । अर्थात्, राजतन्त्रको पहाड भत्काएपछि गणतन्त्र र सङ्घीयताको प्वालमार्फत धेरै मुसाहरू निस्किए । अनि ती मुसाहरूले देशका आधारभूत पहाड–खम्बाहरूलाई भित्रभित्रै खनेर झाँझर बनाए ।
मत्स्य अवतारको लीला र माछाको काँधफेराइ सुन्दा बालकमात्र आश्चर्य चकित हुन्थ्यो । यद्यपि, ऊ विश्वस्त हुन्थ्यो । तर, नेपालको शासकीय स्वरूपलाई लिएर यहाँका बौद्धिक प्रौढहरूलाई समेत के भ्रम पारिँदै छ भने, “यो देशलाई पनि माछाले पृथ्वीलाई थेगेजस्तै गरी थेग्नुपर्छ । यसका लागि देशैभरिका र धेरै थरीका बलिया बलिया धेरै मानिस चाहिन्छ । ती मानिस भएनन् भने त यो देश झ्वाम्मै रसातलमा डुब्छ ।”
असत्य कुरा नै भए पनि धेरैले धेरैतिर भन्ने/बोल्ने गरेपछि त्यसैलाई सत्य मान्नुपर्ने अवस्था हुँदोरहेछ ! अझ देशको संविधानमै त्यस्तो त्यो कुरो लेखेर कार्यान्वयन गरेपछि त त्यसविरुद्ध बोल्ने कसको हिम्मत ! त्यसैले हामी पनि यस्तैमा अभ्यस्त भइआएका छौँ । “त्यसले जित्यो, राम्रो भयो … त्यसले हा¥यो, ठिक्क प¥यो … त्यसलाई त कुनै पनि हालतमा दिइनु हुँदैन … समावेशीको नाममा फलानाले पाउनुपर्छ …महिलाको सङ्ख्या ज्यादै कम भयो ….दलित/मधेसीहरू देखिएनन् … ….।” हामी यसरी कुरा गरिरहँदा यो देशमा स्थापित शासकीय प्रणाली र राजनीतिक प्रवृत्तिअनुसार, छानिइने सबै जनप्रतिनिधिहरू अपवादबाहेक, देश र जनताका लागि होइन, आफू र आफ्नाका लागि आउने हुन् भन्ने कुरा हामीले बुझिसकेका छौँ ।
‘राजनीति भनेको, नीतिहरूमध्येको राजा हो’, ‘यो कसैगरी राज्यसञ्चालन गर्ने नीति होइन सुसञ्चालन गर्ने नीति हो भने यसबाट भित्रिने जनप्रतिनिधिहरूको सङ्ख्यामा होइन, गुणमा विश्वास गरिनुपर्छ भन्ने कुरा अब जनताले त राम्ररी बुझिसके । नेतागणलाई बुझाउन कहिले र कसरी सकिएला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *