भर्खरै :

सिद्धान्तहीनता कि सिद्धान्तनिष्ठता ?

सिद्धान्तहीनता कि सिद्धान्तनिष्ठता ?

शनिबार साँझ सामाजिक सञ्जालमा राजधानीको रत्नराज्य (आरआर) क्याम्पसको एउटा श्रव्यदृश्य व्यापक प्रसारित भयो । चैत ५ गते त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको लागि शनिबार उम्मेदवारी दिने कार्यतालिका थियो । श्रव्यदृश्य त्यही शिलशिलामा आरआर क्याम्पसमा भएको घटनाको हो । श्रव्यदृश्यमा एक जना युवक हातमा नाङ्गो खुकुरी लिएर क्याम्पसको बरन्डामा देखिन्छन् । अन्य केही ‘विद्यार्थी’ उनीसँग खुकुरी खोस्न खोजिरहेका छन् । कसैले खुकुरीबाहकलाई हान्न खोजिरहेजस्तो पनि देखिन्छ । केही बेरमा आएका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन्छन् ।
शनिबार सोही घटनालाई लिएर एकीकृत समाजवादी पार्टीसम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले प्रहरीले नियन्त्रणमा लिएको खुकुरीधारी युवक मनोज चन्द आफ्नो सङ्गठनको सदस्य भएको स्वीकारे । रोचक कुरा त उनले चन्दले बोकेको खुकुरीलाई ‘रिबन काट्ने कैची’ भन्दै हतियारधारीको बचाउ गरे । आगामी साता देशभरिका क्याम्पसमा यस्ता उपद्रवका अरू पनि समाचार आए आश्चर्य मान्नुपर्ने छैन । बौद्धिक अभ्यास गर्ने क्याम्पसमा नाङ्गो खुकुरीको नाचले विद्यार्थी राजनीतिको नाममा नेपालका शासक दलसम्बद्ध सङ्गठनहरूले फैलाइरहेको अराजकताको दृश्य सपाट देखाएको छ ।
नेपालीमा एउटा उखान छ–तेल के हेर्नु तेलको धारा हेर्नु । यसको मूल आशयलाई आजका विद्यार्थी सङ्गठनका सापेक्षमा विचार्दा ‘विद्यार्थी सङ्गठन के हेर्नु, तिनका माउ पार्टी हेर्नु’ भन्दा उचित हुन्छ । जस्ता राजनीतिक दल, उस्तै तिनका युवा र विद्यार्थी सङ्गठन । जसरी शासक दलहरू चुनाव जित्न साम–दाम–दण्ड–भेद लगाउँछन् र आफ्नो राजनीतिक दर्शन र विचारधारालाई फोहोरदानीमा मिल्काउन पछि परेका छैनन्, उसरी नै तिनका विद्यार्थी सङ्गठन पनि स्ववियु चुनाव जित्न जस्तै नीचता प्रदर्शन गर्न लाज मान्दैनन् । चुनाव जित्नको निम्ति उनीहरूले आफ्नो मर्यादा मिच्दै जाँदा अहिले खासमा विद्यार्थी सङ्गठनको परिधि के हो भन्ने अन्तर्वस्तु नै ओझेलमा परिसकेको छ । चुनावी प्रतिस्पर्धाको मूल वैचारिकीलाई लत्याएर ऐनकेनप्रकारेण चुनाव जित्नुपर्ने उद्देश्यको कारण विद्यार्थी सङ्गठन किन बनाइन्छ भन्ने प्रमुख विषय नै छायामा परेको छ । मूल बाटो नै भुलेका विद्यार्थी सङ्गठन आज जस्तोसुकै अराजकता र सिद्धान्तहीनताको बाटो हिँडिरहेका छन् ।
राष्ट्रिय राजनीतिमा राजनीतिक दलहरूले जसरी सत्ता स्वार्थको लागि आफ्नो राजनीतिक विचारधारालाई लत्याएका छन्, उसरी नै विद्यार्थी सङ्गठनहरूले स्ववियु चुनाव जित्न आफ्नो विचारधारा लत्याएका छन् । माउ पार्टीको सिद्धान्तहीनताको रोग अहिले विद्यार्थी सङ्गठनमा पनि सरेको छ । त्यसकारण, राजनीतिक सिद्धान्त र आफ्ना एजेन्डाको न्यूनतम ख्याल पनि नगरी विद्यार्थी सङ्गठनहरू सिद्धान्तहीन तालमेल गरेर चुनावमा होमिएका छन् ।
माउ पार्टीका सिद्धान्तहीन राजनीतिले विद्यार्थी सङ्गठनहरूलाई पनि सिद्धान्तहीन बन्न सजिलो बनाएको छ । शासक दलले आफ्नो न्यूनतम राजनीतिक धर्म र नैतिकताको ख्याल गरेका भए तिनका विद्यार्थी सङ्गठनलाई पनि सिद्धान्तको परिधि नाघेर निर्लज्ज हुन धक लाग्थ्यो । तर, विद्यार्थी नेताहरूलाई निर्देशन दिने नेतृत्वले नै प्रधानमन्त्री र मन्त्री बन्न राजनीतिक विचारधाराप्रति बेवास्ता गरेपछि विद्यार्थी नेतृत्वलाई सिद्धान्त र राजनीतिक विचारधाराको हिसाबकिताब गरिरहन परेन ।
तत्कालिक स्वार्थ र चुनावी जितको निम्ति राजनीतिक नेतृत्वले गर्ने यस्ता गलत निर्णयले समयान्तरमा शासक दल स्वयम् र समग्रमा देशले भोग्नुपर्ने हानिबारे आज कुनै हेक्का राखिएको छैन । चुनावी प्रतिस्पर्धा लोकतान्त्रिक आदर्शभित्र गरिने विशिष्ट राजनीतिक अभ्यास हो भन्ने बुझाइबाट नयाँ पुस्ता ‘चुनाव जित्न जस्तै नीचता प्रदर्शन गर्न पनि तयार हुनुपर्ने’ तहमा गिर्दा के भोलि राजनीतिक नेतृत्व आफै सुरक्षित होलान् ? चुनाव जित्न गुण्डागर्दी, कालोबजारी र सामाजिक अपराधमा लागेका मानिसलाई पनि पार्टीभित्र हुल्दा शासक दलले भोगेको क्षति राजनीतिक नेतृत्वले मनन गर्ने कि नगर्ने ? सिस्नु रोपेर तुल्सी नउम्रने सत्यलाई देशलाई सुन्दर भविष्य दिने सङ्कल्प भएका राजनीतिक नेताहरूले विचार गर्ने वा नगर्ने ? भोलिको पुस्ता सिद्धान्तहीन र अनुशासनहीन हुँदा आफूले जीवन दिएको राजनीतिक दलको भविष्य के हुने हो ?
शनिबार भक्तपुर बहुमुखी क्याम्पसमा नेपाली काङ्ग्रेससम्बद्ध नेविसङ्घ, नेकपा एमालेसम्बद्ध अनेरास्ववियु र माओवादीसम्बद्ध अखिल क्रान्तिकारीले एकै प्यानलमा उम्मेदवारी दिए । नेपालका शासक दलको खास चरित्रलाई बुझ्ने यो एउटा नमुना अभ्यास हो । उनीहरूले ‘सानो’ भन्दै आएको नेमकिपासम्बद्ध नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घसँग चुनावमा प्रतिस्पर्धा गर्न यो देशमा कम्तीमा आधा शताब्दीदेखि शासन गर्दै आएका राजनीतिक दल एकै ठाउँमा उभिनुपरेको छ । तीन वटा दलसम्बद्ध त्यो प्यानलको सैद्धान्तिक जग के ? कस्तो राजनीतिक विचारधारा र चिन्तनले उनीहरूलाई एकै ठाउँमा उभ्यायो ? राष्ट्रिय राजनीतिबारे विचार गर्दा मात्र पनि अहिले एमाले प्रतिपक्षमा छ । एउटा क्याम्पसको केही पदको निम्ति आफ्नो राजनीतिक दायित्व भुल्ने राजनीतिक दलले सिंहदरबारमा फलेका लाभका फल त्याग्ने अपेक्षा गर्न सकिन्छ ? के चुनावमा जित्न राजनीतिमा अग्राह्य चिजबिज पनि मुखमा हाल्ने छुट राजनीतिक सङ्गठनलाई हुन्छ ? उनीहरूलाई चुनावी जित नै सर्वप्रिय चिज भए किन अलगअलग पार्टीको पसल खोलेर बस्ने ? जनताबिच अलगअलग सिद्धान्तको झूट किन फलाक्दै हिँड्ने ? बरु एउटै राजनीतिक दल बनाएर खान मिल्ने नमिल्ने सबै सिध्याए कम्तीमा जनतामा भ्रम हुने थिएन । उनीहरू पाएजति खान नै खुलेका हुन् भन्ने कुरामा जनता स्पष्ट हुनेछन् ।
तर, यहाँ राजनीतिक दल र विद्यार्थी सङ्गठनमात्र दोषी छैनन् । शासक दलबिच भागबन्डाले फोहोर नभएको कुनै ठाउँ बाँकी छैन । त्रिवि दलीय भागबन्डाले सबभन्दा फोहोर भएको थलो हो । त्रिविमा पस्न, टिक्न, फस्टाउन, मौलाउन दलीय भागबन्डाको विकृत पोखरीमा हामफाल्नुपर्ने अवस्था छ । त्यसैको लाभ उठाइरहेका छन्, शासक दलका प्राध्यापक र कर्मचारी सङ्गठनमा आबद्ध प्राध्यापक र कर्मचारीहरूले । स्ववियु निर्वाचनको हकमा शासक दलसम्बद्ध विद्यार्थी सङ्गठनलाई सिद्धान्तहीन गठजोडमा जोडिन ती प्राध्यापक र कर्मचारीहरूको भूमिकालाई पनि नकार्न सकिन्न । अझ विद्यार्थी सङ्गठनको काँधमा बन्दुक राखेर आ–आफ्ना स्वार्थको शिकार गर्ने उनीहरूको प्रवृत्तिले पनि विद्यार्थी सङ्गठनहरू बदनाम छन् । क्याम्पसका आर्थिक कारोबार, कमिसनको खेल, कर्मचारी भर्तीमा आफ्नो अनुकूल स्ववियु निर्वाचित गराउने खेलमा विद्यार्थी सङ्गठनलाई राजनीतिक सिद्धान्त मिल्काउन उक्साउने काम त्रिविभित्र बसेर दलीय राजनीति गरिरहेका प्राध्यापक र कर्मचारीहरूले गरिरहेका छन् ।
भक्तपुर बहुमुखी क्याम्पसको हकमा स्ववियुमा नेक्राविसङ्घको नेतृत्व त्यसरी आर्थिक गतिविधिमा मनलागी गर्न चाहेका प्राध्यापक र कर्मचारीलाई घाटीमा अड्केको तातो आलु भइरहेको थियो । सामान खरिद, निर्माण कार्य, कर्मचारी भर्तीमा मनलागी गर्न नदिन नेक्राविसङ्घले खेलिरहेको भूमिका उनीहरूका लागि शूल बनेको थियो । आफ्नै दलसम्बद्ध विद्यार्थी सङ्गठन हुँदो जसोतसो मिलाउन सकिने तर नेक्राविसङ्घलाई आर्थिक लेनदेनमा पनि सामेल गर्न नसकिने परिस्थितिको कारण पनि कतिलाई पिरोलिरहेको थियो । चैत ५ को स्ववियु चुनावको मौका आफू सुहाउँदो स्ववियु बनाउने उनीहरूको दाउ हो । त्यसैको परिणाम हो सिद्धान्तहीन प्यानल । भक्तपुर बहुमुखी क्याम्पस यस्तो प्रवृत्तिको एउटा उदाहरण मात्र हो । देशभर त्रिविका क्याम्पसलाई भित्र नियाल्दा यस्तै र योभन्दा विकृत चित्र देख्न सकिन्छ ।
विकृत राजनीतिको किटाणुले विषाक्त देशमा योभन्दा प्राध्यापक र कर्मचारीबाट धेरै अपेक्षा गर्नु पनि गल्ती हो । क्याम्पसलाई उदाहरणीय प्राज्ञिक गन्तव्य बनाउन नसक्दा एक जना प्राध्यापक र कर्मचारीले गर्ने भनेको यस्तै न्यून कोटीका काममा आफ्नो बौद्धिकताको अपव्यय गर्ने हो । त्रिविको तलबले दिनचर्या चलाएर निजी क्याम्पसमा नाफाको बोट हुर्काउने स्वार्थी जमातले त्रिविका क्याम्पसमा विकृतिलाई मलजल नगरेर के गर्ने हो ? ‘सबैले यस्तै गरिरहेका छन्, मैले पनि गर्ने यही हो ।’ नेपालका ‘सुकरात’हरू यस्तो सोच्छन् ।
तर, प्रधान प्रश्न के देशको बौद्धिकता निर्माणको जग हाल्ने व्यक्तिहरूले गर्ने यही हो ? पुस्तकका ठेली पढेका र ठेली लेखेका विद्वान्हरूले गर्ने काम सिद्धान्तहीन राजनीतिको मलजल हो ? यस्तो जगमा उभिएको बौद्धिकताले देशलाई पु¥याउला कहाँ ? चियापसलमा देश बिग्रेकोमा खेद व्यक्त गर्ने अनि मौका आए आर्थिक हिनामिनाको लागि कोण मिलेको चुनाव नतिजा निकाल्न फोहोर चलाउने काम गर्नु बौद्धिक समुदायको कर्तव्य हो ? राजनीतिक नेतृत्वको सिद्धान्तहीनतामाथि प्रश्न उठाउनुपर्ने प्राध्यापकहरूले नेताहरूका स्वार्थका खेललाई साक्षी राखेर आफूले उस्तै विकृत विषवृक्ष रोप्ने ?
निर्वाचनमा जब वैचारिक मुद्दा ओझेल पर्छ र जसरी पनि चुनाव जित्नु प्रधान बन्छ, तब चुनाव वैचारिक मन्थन र अन्तरक्रियाको मैदान नभई नाङ्गो खुकुरो खेलाउने कुरु क्षेत्र बन्छ । स्ववियु निर्वाचनको मिति साता दिनमात्र पर हुँदा पनि आजसम्म आफूलाई ठूला र धेरै क्याम्पसमा चुनाव जित्ने दाबी गरेका शासक दलसम्बद्ध विद्यार्थी सङ्गठनहरूले आफ्नो चुनावी घोषणापत्र समेत सार्वजनिक गरेका छैनन् । उनीहरू कुन वैचारिक मुद्दाको लागि चुनावमा प्रतिस्पर्धा गर्न लागेको हो भन्ने विषयमा अस्पष्ट छ । चुनावअघि घोषणापत्र सार्वजनिक गर्नुपर्ने राजनीतिक जिम्मेवारीको पालना उनीहरूलाई अपरिहार्य लाग्दैन । उनीहरूका सल्लाहकार प्राध्यापकहरूले पनि यस्तो विषयमा उनीहरूलाई सल्लाह दिन आवश्यक लाग्दैन । देश, विश्वविद्यालय शिक्षा, अन्तर्राष्ट्रिय मुद्दा, जनजीविकाका प्रश्नमा विद्यार्थी सङ्गठनले बोल्नुपर्ने कुनै खाँचो छैन । किनभने उनीहरूको ध्येय नै चुनाव जित्ने हो । चुनाव जित्न कागजको घोषणापत्रभन्दा नोटको काम लाग्ने उनीहरूको बुझाइ छ ।
स्ववियु निर्वाचनमा शासक दलसम्बद्ध विद्यार्थी सङ्गठनहरूले आफ्नो माउ पार्टीले चुनावमा गर्ने खर्चको नक्कल गर्दै पचासौँ लाख खर्च गरिरहेका छन् । वैचारिक बहस र बौद्धिक अन्तरक्रियामा भन्दा खानपिन, होटल बुकिङ, जाँडरक्सी आदिमा खर्च गरिरहेका छन् । देशका कर्णाधारहरूबिच हुने चुनावको यस्तो विद्रुप तस्बिरले भोलि देशको तस्बिर कस्तो हुने हो, अनुमान गर्न असजिलो छ ।
तर, सिद्धान्तहीनताको यो रोगलाई सजाय गर्ने जिम्मेवारी भने सचेत वर्गले पूरा गर्न आवश्यक छ । सबैले भन्दैमा सबै कुरा सत्य हुने होइन । केही समयको लागि सत्य ओझेल पर्न सक्छ । तर निभेर जाँदैन । नाश भएर जाने होइन । नेपालका सचेत विद्यार्थीले आज सिद्धान्तनिष्ठताको पक्षमा उभिने वा सिद्धान्तहीनतालाई मलजल गर्ने हो, निधो गर्न सक्नुपर्छ । हल्लाको पछि लागेर गलत संस्कारलाई प्रश्रय दिने अथवा आलोचनात्मक चिन्तनसहित सही र गलतको निक्र्योल गर्ने ?
स्ववियुलाई विकृतिको दलदलमा फसाउने ठूला भनिएका विद्यार्थी सङ्गठनलाई अझ विकृति फैलाउन आशीर्वाद दिने अथवा विद्यार्थी राजनीतिलाई अनुशासित र सिद्धान्तनिष्ठ बनाउन लडिरहेको सङ्गठनलाई साथ दिने, निर्णयको तराजु सचेत विद्यार्थीको हातमा ।

One response to “सिद्धान्तहीनता कि सिद्धान्तनिष्ठता ?”

  1. राम विन्दु श्रेष्ठ says:

    Few key analysis of present Nepal’s mini parliament by Er. Niraj Lawaju:
    निर्वाचनमा जब वैचारिक मुद्दा ओझेल पर्छ र जसरी पनि चुनाव जित्नु प्रधान बन्छ………..
    …शासक दलसम्बद्ध विद्यार्थी सङ्गठनहरूले आफ्नो माउ पार्टीले चुनावमा गर्ने खर्चको नक्कल गर्दै पचासौँ लाख खर्च गरिरहेका छन् ।……
    ……नेपालका सचेत विद्यार्थीले आज सिद्धान्तनिष्ठताको पक्षमा उभिने वा सिद्धान्तहीनतालाई मलजल गर्ने हो, निधो गर्न सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *