नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
वैशाख १० गते चितवन क्षेत्र नं. २ मा पनि उपनिर्वाचन हुँदै छ । पुँजीवादी शासक दल र नेताहरूको अराजनीतिक व्यवहारहरूबाट वाक्कदिक्क बनेका जनताले रास्वपाका रवि लामिछानेको मीठो बोलीमा लठिएर सर्वाधिक मत दिएर यस क्षेत्रबाट निर्वाचित गराएर पठाएको थियो । गृहमन्त्री तथा उपप्रधानमन्त्रीसम्म बनेका रविको सांसद पद तीन महिना पुग्दा नपुग्दै नागरिकता प्रकरणले खारेज भएपछि पुनः उपनिर्वाचन हुन लागेको हो ।
मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं. २ मा काङ्ग्रेस, एमाले, माओवादी र राप्रपालगायतका समर्थक कार्यकर्तासम्मले रविलाई मत दिएका थिए । रास्वपा र तिनका सांसदहरू पनि सरकारमा जानको निम्ति मरिहत्ते भएको, निर्वाचन अघि बोलेका ठूल्ठूला मीठा कुराहरू सत्ता र पदकै निम्ति मात्र रहेछ भन्ने कुराहरू यस क्षेत्रका जनताबाट गुनासो आउन थालेका छन् । रविले जितेपछि उथलपुथल हुने आशा राखेका जनताको मन छिनभरमै निराशामा बदलिन पुगेको छ । भ्रष्टाचार र बेथितिलाई मात्र मुख्य मुद्दा बनाएर निर्वाचनमा होमिएका रास्वपाको कुनै राजनैतिक दृष्टिकोण र विचार नभएको कुरा बुद्धिजिविहरूमाझ भने बहस नचलेको होइन । नैरास्यता र वितृष्णाको मत पाएका रास्वपाले निर्वाचनअघिका जोसिला भाषण सत्ता र पदकै निम्ति भएको कुरा चितवनवासी जनतामा परेको छ ।
निर्वाचन प्रचारप्रसारको क्रममा साथमा युटुव पत्रकारहरूसँगै लिएर हिँड्ने, स–साना कुराहरूलाई बढी प्रचारबाजी गर्नेलगायत स्वादिला गफमा रविले सोझा जनतालाई आकर्षित गराएका थिए । आफ्नो कमीकमजोरीलाई लुकाएर वा कानुनलाई ढाँट छल गरेर, उम्मेदवार बनेर, निर्वाचित हुँदै राज्यको महत्वपूर्ण पदसम्म पुगेका रास्वपाका सभापति रविको खोट र कमजोरीहरू आजभोलि जनताले औँल्याउन थालेका छन् । रविलाई पनि ठूला शासक दलहरूभन्दा भिन्न नरहेको कुरा जनताले बुझ्न थालेका छन् । चौथो दल बनेका रास्वपा निर्वाचनताका राखेका जनताका मुद्दाभन्दा पनि सत्ता भागबन्डाको निम्ति बार्गेनिङमा उत्रिरहेको छ । मन्त्री पद पाउनको निम्ति भ्रष्टाचारका नाइके ठूला दलहरूलाई दिल खोलेर समर्थन गरेका छन् । संसद्मा देशघाती एमसीसी सम्झौता, नागरिकता विधेयकलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वपूर्ण विषयहरूमा रास्वपाको कुनै दृष्टिकोण आउन नसक्दा जनता अचम्ममा परेका छन् । किसानले समयमै रासायनिक कृषि मल पाउन सकिरहेको छैन् । कृषि मलको मूल्य बढाएकोमा जनता आक्रोशित छन । चुनावअघिका ठूला स्वरहरू कहाँ हराए जनता अचम्मित छन् । प्रमुख प्रतिपक्ष रहनु प्रजातन्त्रको सौन्दर्यता भएको कुरा रास्वपा अनिभिज्ञ बनेका छन् ।
नयाँ शक्तिको रूपमा उदाएका रास्वपा जनताबाट भने मूल्याङ्कन हुँदै जानेछ । पँुजीवादी पार्टीभित्र भागबन्डा, खान ठाउँ नपाएकाहरूबाट बनेको राजनैतिक विचारहीन, उद्देश्यहीन अराजक हुलहरूको भिड रास्वपा भएको कुरा राजनैतिक छलफलमा आउन थालेका छन् । यसर्थ रास्वपाबाट पनि राजनैतिक निकास नआउनेमा जनता सचेत हुन ढिलाइ गर्नु हुँदैन । निराश हुनुपर्ने कारण पनि केही छैन । समाज परिवर्तनको यथार्थ कुरा के रहेछ भनी बुझ्न भने ढिला गर्नु हुँदैन ।
Leave a Reply