भर्खरै :

देशमा बेथिति यथावत छ

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारको समय तीन महिना बित्यो । तर, जनतालाई राहत हुने, बहुमत जनताको हित हुने कुनै काम थालनी भएको छैन । प्रम दाहालले तीन महिनामा बेथितिको अन्त्य भएको, राहदानी र लाइसेन्सलगायतका काममा विगतको झन्झट हट्यो भनी थिति बसालेको बताए । अब सरकारले गति लिन्छ भन्ने उनको दाबी हो । चैत १८ गतेको गोरखापत्रले छाप्यो, “मन्त्रिपरिषद् विस्तार, अनुभवीको बाहुल्य ।’ विदेशी मुद्रा सञ्चिति बढ्यो रे ¤ राजस्व सङ्कलनमा सुधार भयो रे । यो सरकारले त बेथिति बसाल्नेहरूको मान गर्दै छ । ठेकेदारहरूले देशको विकासको योजना थन्काएर, विकासको रकमको ब्याज खाएर विकासको रकम दुरूपयोग गरिरहेका छन् । मन्त्रीहरू कमिसनखोरहरूको वरिपरि घुमिरहेका छन् । काममा ढिलासुस्ती हटेको छैन, भ्रष्टाचार भइरहेको छ, घुस र कमिसनको खेल बढिरहेको छ । पदको दुरूपयोग गरी मन्त्री र सांसदहरूले अकुत सम्पत्ति कमाइरहेका छन् । अनि कसरी बेथिति अन्त्य हुन्छ ?
मन्त्रिपरिषद् विस्तारमा अनुभवीको बाहुल्य रहेको भनी सरकारले गर्व गरेको छ । लामो समयदेखि राजनीति गर्नु एउटा पाटो हो । त्यो लामो समयको राजनीति कुन वर्गका जनताको सेवामा खर्चियो ? अनुभवी मन्त्रीहरूले श्रमजीवी वर्गको के सेवा गरे ? एकचोटि मन्त्री बन्नुपर्छ भनेर मन्त्री बनेर उनीहरूले देशको राजस्वमा दाइँ पो गरे । भण्डारी पटकपटक मन्त्री भए रे ¤ पटकपटक मन्त्री भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हालेका शरतसिंह भण्डारीले पहिले तराई टुक्रा पार्ने चेतावनी दिएका थिए । आफ्नो दलको माग पूरा भएन भनी तराई टुक्रा पार्न धम्की दिने मन्त्रीको अनुभव यही हो ? यो मन्त्रिमण्डलमा एक प्रदेश एक मधेस नभए देशै नरहने भनी धम्काउने दलका प्रतिनिधि पनि छन् । एक मधेस एक प्रदेश भएन भने देशै नरहने धम्की दिने मन्त्रीले कसरी देशको विकासमा साथ देलान् ?
दाहाल नेतृत्वको मन्त्रिपरिषद् सातौँ पटक पुनर्गठन भयो । मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । यसैबिच जनमत पार्टीबाट खानेपानी मन्त्री भएका अब्दुल खानले शुक्रबार नै राजीनामा दिए । मन्त्रीको नाम चयन गर्ने विषयमा नेकाभित्रको किचलो यथावत छ । नेकाभित्रको किचलोकै कारण नेकाले आफूलाई प्राप्त भएको मन्त्रालयमा मन्त्री राख्न सकेको छैन । नेकाको संस्थापन इतर पक्षले मन्त्री भाग नपाएको कारण मन्त्री राख्न नसकेको हो । मन्त्री बन्ने लालसाले यो समस्या देखिएको हो । जनताको मुख्य सवाल कुन प्रधानमन्त्री, मन्त्री धेरै पटक भए भन्ने होइन, धेरै पटक मन्त्री र प्रधानमन्त्री भएर देश र जनताको निम्ति के गरे भन्ने हो ।
देश घाटामा चलिरहेको छ । देशको व्यापारघाटा २० खर्बको छ । सार्वजनिक ऋण २१ अर्ब छ । बेरूजु ६–७ अर्ब छ । देश विदेशी ऋणमा टिकेको छ । भारतीय तरकारी विषाक्त छ । विषाक्त तरकारी परीक्षणविनै देशमा भित्रिरहेको छ । परीक्षणपछि तरकारी र फलफुल भित्याउन माग गर्दा सरकार परीक्षण गर्नुपर्दैन भन्छ । मिटरब्याजी पीडितहरूको माग पूरा भएको छैन । महिला बेचबिखन रोकिएको छैन । सम्पत्ति शुद्धीकरणको नाउँमा कर तिरेपछि अवैध सम्पत्ति वैध बनाउने विधेयक सरकार ल्याउँछ । दाइजोको नाउँमा मारपिट हुन्छ । मान्छेको शरीर जलाइन्छ । बालबालिकाहरू बेपत्ता पारिन्छन् । तर, सरकार देशमा बेथिति अन्त्य भएको ध्वाङ फुक्छ । सरकारले अब गति लिन्छ भनी खोक्छ । नकच्चरोलाई जाल हुँदैन भनेको यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *