भर्खरै :

“स्वास्थ्यकर्मीहरूले सेवाको भावनाले काम गर्नुपर्छ”

“स्वास्थ्यकर्मीहरूले सेवाको भावनाले काम गर्नुपर्छ”

भक्तपुर, २७ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा सोमबार ख्वप इन्जिनियरिङ कलेजको सभाहलमा बिस्काः जात्रा तथा नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान सम्पन्न भयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले अहिले देशको अर्थतन्त्र तहसनहस हुनुमा कर्मचारीहरू इमानदार र लगनशील भई काम नगर्दाको परिणाम हो भन्दै ख्वप अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरू आफ्नो पेशाप्रति इमानदारीपूर्वक देश र जनताको सेवामा समर्पित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले सरकारले सरकारी अस्पतालमा राम्रो बन्दोबस्त गर्न नसक्दा जनताले अकालमा मृत्युवरण गर्नु परिरहेको बताउँदै देशको सन्तुलित विकासको निम्ति हरेक प्रदेश र जिल्ला सदरमुकामहरूमा वीर अस्पतालजस्तो सुविधा सम्पन्न अस्पतालहरूको बन्दोबस्त गर्नुपर्छ भन्नुभयो । उहाँले सरकारी अस्पतालले राम्रो सेवा प्रदान गरेको भए कोही पनि महँगो निजी अस्पतालमा जाने थिएन भन्नुभयो ।
अतिथि बिजुक्छेँले स्वास्थ्यकर्मीहरूले सेवाग्राहीसँग नम्र व्यवहार गर्नुपर्ने तथा आफ्नो क्षेत्रमा सफलता पाउन अथक प्रयास गर्नुपर्ने बताउँदै विदेशी भाषाहरूको ज्ञान अभिवृद्धि गर्न सके आफ्नो पेशाका साथसाथै उच्च शिक्षा प्राप्त गर्न सहयोग हुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भौतिक परिवर्तनभन्दा सांस्कृतिक परिवर्तन महत्वपूर्ण कुरा हो ।”
कार्यक्रमका सभापति एवं भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले नगरवासीहरूको लागि ख्वप अस्पतालमा सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा, अस्पतालमा अन्तरङ्ग सेवालगायत ८० रूपैँयामा विशेषज्ञसहितको १० घण्टा ओपीडी सेवा, निःशुल्क अक्सिजन, नियमित भिडियो एक्सरेलगायत सेवा प्रदान गर्दै आएको र निकट भविष्यमा प्रसूति सेवा सुरु गर्ने लक्ष्यका साथ तयारी गरिरहेको जानकारी दिनुभयो ।
ख्वप अस्पतालले सुरुवातदेखि नै सङ्घ र प्रदेश सरकारसमक्ष सिटी स्क्यान र एमआरआई मेसिनजस्ता स्वास्थ्य उपकरणहरूको माग गर्दै आए पनि हालसम्म प्राप्त नभएको बताउँदै उहाँले नपा स्वयम्ले आवश्यक उपकरणहरू थप गर्दै अगाडि बढ्ने जानकारी दिनुभयो ।
हरेक वर्ष शिक्षाको लागि खर्बौँ रूपैँया बाहिर गइरहेको बताउँदै उहाँले देशकै स्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नु आजको आवश्यकता हो भन्नुभयो । उहाँले दैनिक ७–८ सयको दरले यस आ.व.को ८ महिनाको अवधिमा ख्वप अस्पतालले देशभरिका १ लाख ४२ हजारभन्दा बढी जनतालाई सुलभ स्वास्थ्य सेवा प्रदान गरिसकेको जानकारी दिँदै आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसक्ने बिरामीहरूको लागि लक्षित गरी छुट्टै कोषको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले नेपाल मजदुर किसान पार्टीको घोषणापत्रलाई आत्मसात गर्दै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, संस्कृति जगेर्ना र सम्पदा संरक्षणलगायत सरसफाइमा गरिरहेको कार्यको चर्चा गर्दै बिस्का जात्रालाई विशिष्टिकृत जात्राको रूपमा सभ्य र सुसंस्कृत तरिकाले मनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालले प्रदान गर्दै आएको सेवाबारे सङ्क्षेपमा जानकारी दिनुभएको उक्त कार्यक्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवा, डा. अमर प्रजापति, स्टाफ नर्स रविना कवांले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *