भर्खरै :

गोर्खा भर्तीदेखि अग्निपथसम्म–१

गोर्खा भर्तीदेखि अग्निपथसम्म–१

(नेपाल एक स्वतन्त्र र स्वाधीनराष्ट्र हो । तर, गोर्खा भर्तीको कारण नेपालको छवी विश्वमा भाडाका सैनिक उपलब्ध गराउने दरिन्द्र देशको रूपमा चिनिँदै पनि आएको छ । त्यसैले नेपाल मजदुर किसान पार्टीले आफ्नो स्थापनाकालदेखि गोर्खा भर्तीलाई बन्द गर्नुपर्ने माग गर्दै आएकोछ । मजदुरका पाठकलाई गोर्खा भर्तीबारे केही जानकारी पस्कने उद्देश्यले यस आलेख प्रकाशित गरिएको छ । दुई भागको यस आलेखको दोस्रो भाग भोलिको मजदुरमा प्रकाशित हुनेछ । – सम्पादक)

नसुल्झिको मुद्दा
नेपालको राजनीतिक वृत्तमा हामीले सुन्दै आएको सन् १९५० को नेपाल भारतबिचको असमान, शान्ति र मैत्री सन्धि, नेपाल भारतबिचको खुला सीमा, नागरिकता, भुटानी शरणार्थी, सीमा अतिक्रमण तथा गोर्खा भर्ती नसुल्झिएका धेरै मुद्दाहरूमध्येमा केही प्रमुख हुन् । नेपाल र भारतबिचको सम्बन्धलाई विशेष, ऐतिहासिक, धार्मिक, रोटीबेटीजस्ता विशेषणहरूले जति सिँगारे पनि समस्या जहाँको तहीं नै छ । साच्चिकै सूलबनी बेला–कुबेला नेपाली मनमा घोच्ने गोर्खा भर्तीको मुद्दा पनि हो । गोर्खा भर्तीसँगसँगै नेपालमा सैनिक सङ्गठनको संरचना तथा कुन कुन जात र जनजातिलाई के नीति र सिद्धान्तको आधारमा यसमा समावेश र नियुक्ति गरिन्छ भन्नेबारेमा छिमेकी भारतका नेता, राजदूत र कर्मचारीहरूले अनधिकृत हस्तक्षेप गरेको महसुस हुने गरी यदाकदा अशोभनीय अभिव्यक्तिहरू दिइरहेका छन् ।
सन् २०१४ मा नेपालको संसद्लाई सम्बोधन गर्ने क्रममा भारतीय प्रम मोदीले ‘पहाडमे पानी और जवानी नहि ठहरर्ती’ भन्दै नेपाली युवाहरू कामदारको रूपमा वा सैनिकको रूपमा भारतमा कार्यरत हुन्छन् भनी इङ्गित गर्न खोजे । यस्तै सन् १९९२ ताका भारतका तात्कालीन प्रम भीपी सिंले नेपालका प्रम कृष्णप्रसाद भट्टराईको भारत भम्रणको बेला भट्टराईलाई नेपाल सरकारले तराईका मूल मधेसी नेपालीलाई किन नेपाली सैनिकमा भर्ती गराउदैन भन्ने प्रश्न तेस्र्याउनु भयो । गम्भीर कुरालाई पनि अक्सर हल्का तरिकाले लिने नेता भट्टराईको जवाफले भारतीय समकक्षी नेतालाई नाजवाफ पारिदिएका थिए । आफ्नो समकक्षी भारतीय प्रमलाई भट्टराईको प्रतिप्रश्न थियो, ‘हाम्रा नेपाली गोर्खा सैनिकहरूमध्ये किन पहाडका राई, लिम्बु, गुरुङ, मगरलाई मात्र भारतीय सेनामा भर्ती गर्छौ त ?’ भारतका पूर्वराजदूत रंजित रेको जिकिर थियो – भारतले गोर्खा भर्तीमार्फत नेपाललाई बर्सेनि रु.४० अरबको आम्दानी गराउँछ तर नेपालले भारतकै विरोध गरिरहेको हुन्छ । यसरी नै गोर्खा भर्तीको मुद्दा नेपाल–भारतबिचको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक तहसम्म जोडिएको देखिन्छ ।
तर, गोर्खा भर्तीका तीता यथार्थहरू अझै धेरै उजागर हुन बाँकी छ । यसप्रति विभिन्न कालखण्डका नेपाली शासकहरू चाहे त्यो शाह राजाहरू होऊन्, बेलायतको तावेदारी गर्ने राणाहरू होऊन्, पञ्चायतका शासकहरू नै होऊन् वा आजका लोकतन्त्रवादी वा गणतन्त्रवादी शासकहरू नै किन नहोऊन् कसैले पनि गोर्खा भर्ती र यसले नेपालको अन्तर्राष्ट्रिय छविलाई कहाँ र कसरी असर गरेको छ भन्नेबारे अलिकति पनि हेक्का राखेको देखिँदैन । गोर्खा भर्तीको मुद्दा र समस्या बुझ्न त्यस परम्पराको थालनी कसरी र कुन राष्ट्रिय वा अन्तर्राष्ट्रिय पृष्ठभूमिमा भयो बुझ्न आवश्यक हुन्छ ।

गोर्खा राज्यको विस्तार र गोर्खा सैनिकको गठन
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुपूर्व नेपाल धेरै स–साना राज्यहरूमा विभाजित थिए । सुदूरपश्चिमा बाइसे राज्य र पश्चिमका चौविसे राज्य, काठमाडौँ उपत्यकाका तीन राज्य, दक्षिणको मकवानपुर, पूर्व विजयपुर र चौदण्डी राज्यहरू थिए । ती राज्यहरू विभिन्न राजा रजौताहरूद्वारा शासित थिए । पश्चिमका चौविसे राज्यमध्येका एक गोर्खा राज्यको स्थापना गरी शाहवंशलाई स्थापना गर्ने पहिलो राजा द्रव्य शाह थिए । तर, गोर्खा राज्यको बलियो जग राख्ने श्रेय भन्ने राम शाहलाई दिइन्छ । राम शाहका आठौँ पुस्ताका पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार अभियानलाई सशक्तरूपमा अगाडि बढाए । पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय हासिल गरिसकेपछिको ३१ वर्षसम्म त्यो अभियानलाई निरन्तरता दिए । काठमाडौँ उपत्यकामाथि विजय पाउन उनलाई २५ वर्ष लाग्यो । यही गोर्खा राज्यको विस्तार पूर्व टिस्टा पुग्न ९ वर्ष लाग्यो र पश्चिम महाकाली पुग्न २० वर्ष लाग्यो । त्यस्तै उत्तर दिशामा (सन् १७८८–८९) मा भोटमा हमला गरी सिगासे हँुदै टाशीलुङ्पोसम्म पुगे । तर, भोटलाई सहयोग गर्दै चिनियाँ सैनिक किरोभको बाटो हुँदै नुवाकोटसम्म पुगी नेपाललाई सन्धि गर्न बाध्य गरायो । भोटसँगको हारपश्चात् पनि गोर्खा सैनिक निष्क्रिय रहेनन् बरु पश्चिम दिशामा आफ्नो विस्तार अभियानलाई जारिराखे । सन् १७९० मा महाकाली तरेर कुमाउँ कब्जा गरे र सन् १८१५ फ्रेबुअरीसम्ममा गोर्खाली राज्य पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म करिब १५०० किमिसम्म नेपालको आकार लम्बियो ।
यसरी गोर्खा फौजले नुवाकोटको विजय (सन् १७४४) र नेपाल अङ्ग्रेज युद्धसम्मको (सन् १८१६) समयावधिलाई मध्यनजर गर्दा त्यो सत्तरी वर्षको लामो अवधि देखिन आउँछ । यी ७० वर्ष लामो अवधिमा गोर्खा फौजले पहाडी रणकौशल, खुकुरी, तरबार, भाला तथा बन्दुकजस्ता हतियारको सञ्चालनमा कुशलता पाएको अनुमान लगाउन गाह्रो छैन । यसबाहेक पहाडको उकालीओराली र मजबुद शारीरिक बनोट तथा आफ्नो भूमिको रक्षार्थ बलिदानीको भावनाले उनीहरू धेरै दृढ र प्रतिबद्ध सैनिकको रूपमा विकास भएको हुनुपर्छ । यही सेना नै पछि गएर गोर्खा सैनिकको नामले विश्वमा चिनिन थाल्यो । पृथ्वीनारायण शाहको पालासम्म स्थानीय क्षेत्री र बाहुनहरूको बाहुल्य भएको गोर्खा सैनिकमा सन् १८१४ को अङ्ग्रेजसँगको युद्धसम्ममा मगर, खस र गुरुङ जातका नेपालीहरूको सहभागिता भइसकेको थियो । तात्कालीन हिन्दुस्तानमा आफ्नो साम्राज्य फैलाउँदै अङ्ग्रेज इस्ट इन्डिया कम्पनीका सैनिक उत्तरतिर बढ्दै थियो र नेपालका पृथ्वीनारायण शाह र उनी पछिका उनका कान्छा छोरा बहादुर शाहले गोर्खा राज्य विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै गर्दा दुई साम्राज्यवादी शक्तिको जम्काभेटको परिणाम नेपाल–अङ्ग्रेज युद्ध (सन् १८१४–१८१६) हुन गएको थियो ।
नेपाली गोर्खा सैनिकले केही मोर्चाहरूमा अङ्ग्रेज फौजलाई हराएको भए पनि आधुनिक तोप गोला र अन्य हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई पराजित गर्न असफल भयो । तर, नेपाली गोर्खा सैनिकहरूको रणकौशल र बहादुरीबाट अङ्ग्रेज सेनाहरू आजित भएका थिए ।

अङ्ग्रेज सेनामा गोर्खा भर्ती
गोर्खा सैनिकका बहादुरीका कथाहरू अङ्ग्रेज सेनाका उच्च तहसम्म पुगेर चर्चाको विषय भइसकेको थियो । गोर्खा सैनिकलाई आफ्नो सेनामा समावेश गर्ने योजना त्यतिबेला नै अङ्ग्रेजहरूले गरिसकेका थिए भन्ने इतिहासका विभिन्न तथ्यले बताउँछ । एकातिर शितोष्ण (चिसो) हावापानी भएको बेलायतबाट उष्ण (गर्मी) हावापानी भएको हिन्दुस्तानमा लडाइँ गर्नुपर्दा औलदेखि अन्य गर्मी हावापानीमा लाग्ने विभिन्न घाटक रोगहरूका कारण अङ्ग्रेज सेनाहरूको सामान्य आयु नै घटेर ३० वर्षमा झरिसकेको थियो । यसको कारण स्थानीयहरूलाई सेनामा भर्ती गर्न उनीहरू बाध्य भइसकेका थिए ।
हुन त गोर्खा सैनिकलाई आधिकारिकरूपमा अङ्ग्रेज सेनामा भर्ती गरेर एकीकृत गरेको सन् १८८५ लाई मानिन्छ । तर, नेपाल अङ्ग्रेज युद्ध समाप्त नहँुदै पश्चिमी मोहदामा लड्ने कुमाउनी, गढवाली र गोर्खाली तीन बटालियनहरूलाई गोप्यरूपमै सन् १८१५ मै एक सम्झौतापश्चात् इस्ट इन्डियाको सेनामा समावेश गरिसकेको पनि मानिन्छ । यसको लागि भूमिका खेल्ने अङ्ग्रेज सेनाका लेफ्टिनेन्ट फेडरिक योङ मानिन्छ । फेडरिक योङ गोर्खा सैनिकले बन्दी बनाएका अङ्ग्रेज सेना थियो । ऊ गोर्खा सैनिकको बहादुरीबाट प्रभावित भएको थियो । पछि अङ्ग्रेज सेनाको घेराबन्दीमा परेका ३,००० गोर्खा सैनिकहरूलाई अङ्ग्रेज सेनामा सम्मिलन गराउने जिम्मा उसैले पाएको थियो । यही क्रममा पछि नेपाली सेनाका पश्चिम कमान्डर भक्ति थापा तथा अङ्ग्रेज सेना जनरल अक्टरलोनीबिच सम्झौताको लागि यसले बाटो खोलेको बताइन्छ ।
नेपालको हारपछि सुगौली सन्धिमा हस्ताक्षर गर्न नेपाललाई बाध्य बनाइयोे । यस सन्धिपछि अङ्ग्रेज र नेपालबिचको सम्बन्ध चिसियो र एक खालको संवाद पनि रोकियो । तर, सन् १८५० मा जङ्गबहादुरको बेलायत यात्रापश्चात् उनी बेलायतको आधुनिक विकासबाट निकै प्रभावित भए । त्यसपश्चात् जङ्गबहादुरको सरकार अङ्ग्रेजलाई सहयोग गर्न तम्तयार देखियो । परिणामस्वरूप सन् १८५७ को अङ्ग्रेज सरकारविरुद्ध भएको पहिलो भारतीय सैनिक विद्रोहलाई दबाउन १२ हजार नेपाली फौजको नेतृत्व जङ्गबहादुर स्वयंले गरी अङ्ग्रेज फौजलाई सघाएका थिए ।
भारतीय सैनिक विद्रोहको आधा शताब्दीसम्म अङ्गे्रजले सिमानामा आफ्नो साम्राज्य विस्तारको क्रमलाई जारी नै राख्यो । त्यसको लागि उसलाई ताजा र युवा सैनिकहरूको भर्ती अति आवश्यक थियो । यसैले सन् १८८५ पछि अङ्ग्रेज सेनामा गोर्खा सैनिकको भर्ती बढ्दै गयो । नेपालका तात्कालीन प्रम वीरशमशेरले अङ्ग्रेजलाई गोर्खा सैनिक भर्तीमा भरमगदुरले सघायो । त्यतिबेला भर्तीकेन्द्र हाल पाकिस्तानको लाहुरमा स्थापना गरिएको थियो । यही सहरको नामबाटै गोर्खा भर्तीमा जाने सैनिक जवानलाई नेपालमा लाहुरे भन्ने गरिएको हो । सन् १९४७ मा भारत स्वतन्त्र भइसकेपछि मात्र गोर्खा भर्तीको लागि पूर्वमा नेपालको धरान र पश्चिममा पक्लीहवा केन्द्र स्थापना गरिएको थियो ।
पहिलो विश्वयुद्ध (सन् १९१४–१९१८) को सङ्घार र त्यसपछि गोर्खा सैनिकको भर्ती पनि ह्वात्तै बढ्यो । सन् १८८६ देखि १९०४ सम्म २७,४२८ पुगेको गोर्खा सेनाको सङ्ख्या १९३५ सम्ममा १,२८,७७० पुग्यो । दोस्रो विश्वयुद्धको समाप्ति र सन् १९४७ मा भारत अङ्ग्रेज उपनिवेशबाट मुक्त भई स्वतन्त्र देश भइसकेपछि गोर्खा राइफलले चिनिने गोर्खा सैनिकको पनि बेलायत र भारतबिच बाँडफाँड भयो । जम्मा गोर्खा सैनिकको ६० प्रतिशत भारतअन्तर्गत र ४० प्रतिशत अङ्ग्रेजअन्तर्गत रहन गयो । यसरी एक स्वतन्त्र देशका सैनिक दुई देशको अग्रमोर्चामा लड्ने सैनिकमा परिणत हुन गयो । जुन आज पर्यन्त यथावत रहिआएको छ ।

बेलायती र भारतीय मोहडामा गोर्खाली सेना
सुरुदेखि नै गोर्खाली सैनिकलाई अङ्ग्रेज सेनाले सामान्य सैनिकको रूपमा भन्दा विशेष गुण, बहादुरी र अति बफादार सैनिकको रूपमा मानी अग्रमोर्चामै परिचालन गरेको थियो । अङ्ग्रेज सरकारले आफ्नो साम्राज्य विस्तार गरेका हरेकजस्तो अग्रमोर्चामा गोर्खा सैनिकलाई नै परिचालन ग¥यो । सन् १८५७ को पहिलो भारतीय सैनिक विद्रोहलाई दबाउन जङ्गबहादुर स्वयंले १२००० गोर्खा सैनिकको नेतृत्व गरी आजमगढ, जौनपुर, गोरखपुर र लखनउमा जीत हासिल गरे । यसपछि सन् १९०४ सम्ममा गोर्खाली सेनाहरूलाई अम्बेला, भुटान, अफगानिस्तान, मणिपुर, वाना र कारीगुरम र तिराहसम्मको अग्रमोर्चामा बसी युद्धमा सामेल भए । पहिलो विश्वयुद्धमा गोर्खा सैनिक अङ्ग्रेजको पक्षमा मध्यपूर्वका विभिन्न देशहरू प्यालेस्टाइनदेखि मेसोपोटामियासम्म र युरोपको फ्रान्ससम्म अग्रमोर्चामा लडे ।
दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकको सङ्ख्या अझ बढ्यो र उनीहरू पश्चिममा मध्यपूर्व र ग्रीस हुँदै युरोपको इटाली, साइप्रस र उत्तरी अफ्रिकाको ट्युनिसियासम्म र पूर्वमा बर्मा हुँदै मलाया (मलेशिया) र इन्डोनेशियासम्मको मोर्चामा लडे । भारत स्वतन्त्र भइसकेपश्चात् भारतकै तेलंगनाको कम्युनिस्ट आन्दोलन दबाउन, भारत चीनको सन् १९६२ को लडाइँ, सन् १९६५ को भारत पाकिस्तानको युद्ध, कार्गिलको लडाइँ (सन् १९९९) सन् १९७२ को पाकिस्तान र बङ्गगलादेश विभाजनको लडाइँदेखि सन् १९८२ को फकल्यान्ड लडाइँसम्ममा गोर्खा सैनिकलाई अङ्ग्रेज सरकारले अग्रमोर्चामा परिचालन ग¥यो ।
भनिन्छ, यो पृथ्वीमा गोर्खा सैनिकका पाइलाले नटेकेको माटो छैन र उनीहरू आफ्ना मालिकका लागि प्राण आहुति नगरेको देश छैन । गोर्खा सैनिकको समाधि अहिले पनि इटालीको ग्यालिपो र कासिनोमा भेटिन्छन्, मध्यपूर्वको सेनाई र जेरुसेलममा भेटिन्छन्, इजरायल र प्यालिस्टाइनको जेरिचोमा, फ्रान्समा, इराकको डारडेनाल्स, मिश्र, मलाया, हङकङ, बर्मा, इन्डोनेसिया जहातहीँ भेटिन्छन् । दोस्रो विश्वयुद्धमा करिब ३५०० गोर्खा सैनिकलाई जापानले बन्दी बनाएर क्याम्पमा राख्यो । उनीहरूमध्ये धेरैको अवस्था अहिलेसम्म रहस्यको कालो बादलभित्रै रुमलिरहेको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *