भर्खरै :

विदेशमोहको पराकाष्ठा र सन्तान बेचुवा सरकार

विदेशमोहको पराकाष्ठा र सन्तान बेचुवा सरकार

यस वर्षको साउनयता करिब ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा मन्त्रालयको वैदेशिक रोजगार शाखाबाट ९ महिनाको यो अवधिमा ७९ हजार ३०९ जनाले एनओसी लिएका छन् । प्रत्येक वर्ष १ लाख ५० हजारको हाराहारीमा नेपाली विद्यार्थीहरू अध्ययनका लागि विदेश जाने गरेका छन् । सरदरमा दैनिक ३०० जना अध्ययनका लागि विदेश जाने गरेको देखिन्छ । विदेसिने विद्यार्थीको सङ्ख्या प्रत्येक वर्ष बढ्दो क्रममा छ । यो एक प्रकारले नेपाली युवा विद्यार्थीमाझ विदेशमोहको पराकाष्ठा हो ।
केही प्रतिशत नेपाली विद्यार्थीहरूले विदेशमा गई विदेशी विश्वविद्यालयबाट नेपालमा व्यवस्था नभएका विषय अध्ययन गर्नु र स्वदेशमा फर्की विदेशमा हासिल गरेको ज्ञानको उपयोग गर्नु सकारात्मक नै मान्न सकिन्छ । तर, यति धेरै विद्यार्थी विदेश जानु र तिनीहरू लामो समयसम्म विदेशमा रहेर विदेशीकै सेवा गर्नु तथा नेपालको नागरिकता त्यागेर विदेशी नागरिकता लिनु भने राम्रो परिणतिको सङ्केत होइन ।
प्रतिभा र योग्यतासम्पन्न युवा जनशक्ति यो वा त्यो बहानामा विदेश पलायन हुनु देशको निम्ति र हाम्रो समाजको निम्ति ठूलो घाटा हो । यसले देशको विकास र समाजको उन्नति र प्रगतिमा नकारात्मक असर परिरहेको छ र त्यस्तो असर बढ्दै जानेमा कुनै शङ्का छैन । यति हुँदा पनि हाम्रो देशका सरकार र शासक दलहरूले थोरै पनि चिन्ता नलिनु भने उदेकलाग्दो छ । सरकारले त अझ त्यसमा बढावा दिइरहेको छ । यससम्बन्धी सरकारको नीति त द्रव्यका निम्ति आफ्नै सन्तान बेच्नेहरूको सोच र व्यवहारझैँ हो । नेपाल सरकारको यो आफ्नै सन्तान बेच्ने नीति रहेसम्म विदेशमा पुगेका नेपाली युवाले सुख पाउने छैन् र विदेशिने क्रम पनि रोकिने देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *