अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
दैलेखी चेली कल्पना थापा कलिलै उमेरमा जनताको मन जितेर एक सफल एवम् जुझारु विद्यार्थी कार्यकर्ता भएकी रहिछन् भन्ने कुरा मेरो ८ वर्ष लामो दैलेख बसाइँको क्रममा प्रत्यक्ष अनुभव गर्न पाएको थिएँ । पूर्वी दैलेखको मनघरजस्तो विकट स्थानमा पुख्र्यौली घर भएका जनस्वास्थ्यकर्मी प्र्रेमबहादुर थापाकी जेठी छोरी कल्पना विद्यार्थी जागरण अभियानका अलावा कला, साहित्यका साथै खेलकुदमा समेत सक्रिय भएबाट पनि उनी प्रतिभाशाली युवा हुन् भन्ने कुरा प्रस्ट हुन्छ ।
म आफै पनि कला र साहित्यमा रुचि राख्ने व्यक्ति भएकाले पनि मेरो आठ वर्ष लामो दैलेख बसाइँको सिलसिलामा कल्पना थापालाई नजिकबाट चिन्ने र बुझ्ने मौका पाएको थिएँ । डेउडा संस्कृतिको प्रभाव रहेको दैलेख जिल्लाका विभिन्न समुदायहरूमा सञ्चालन भइरहने मेला, जात्रा तथा सभा समारोहमा कल्पना बहिनीको लगभग अनिवार्य उपस्थिति र संलग्नता रहने गरेको थियो र मैले उनका प्रस्तुतिहरूबाट दैलेखी भूमिको कला र साहित्यका बारेमा बुझ्ने मौका पनि पाएको थिएँ ।

उनका प्रस्तुति हेरेपछि कल्पना थापालगायत दैलेखमा रहेका कला र साहित्यसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरूसँग सहकार्यका लागि मैले पहल गर्न थालेँ र त्यसैक्रममा दैलेखका कला र साहित्य क्षेत्रका स्थापित व्यक्तित्वहरू सुरेन्द्र अधिकारी, दीपक शाही, मोहन थापा, दिवङ्गत पत्रकार डेकेन्द्र थापा, कमल खड्कालगायतका अगुवाहरूसँग समन्वय गरी दैलेखका विभिन्न क्षेत्रमा नाटक तथा साङ्गीतिक प्रस्तुतिहरू गर्न थाल्यौँ । यसैक्रममा कल्पना थापाको जोडदार, जीवन्त तथा खारिएको अभिनयबाट हामी अत्यन्त प्रभावित भयौँ र उनीसँग सहकार्य गरी एउटा नाटक मञ्चन गर्ने सोच्यौँ । ठीक त्यसै बेला सांस्कृतिक संस्थान काठमाडाँैले सुर्खेतमा मध्य तथा सुदूरपश्चिमस्तरीय नाटक प्रतियोगिताका लागि नाटकको स्क्रिप्ट आह्वान ग¥यो ।

नाटक प्रस्तुतिका लागि कल्पना थापा, दीपक, शाही, मोहन थापा जस्ता दैलेखी कलाकारहरूसँग सरसल्लाह गरेँ र मैले ‘अस्तित्व’ नामक नाटक लेखेँ र छनोटका लागि सांस्कृतिक संस्थान काठमाडाँैमा पठाइयो । त्यतिखेर नेपालमा देखिएको माओवादी द्वन्द्वका घटनाक्रमसँग मेल खाने उक्त नाटक थप सम्पादन र सेन्सरबाट प्रतियोगिताका लागि छनोट भयो र हामीले नाटक मञ्चनका लागि कलाकार थापालगायत कलाकार तथा फिल्मनिर्माता दीपक शाही, मोहन थापा, दिवङ्गत रमेश सिजापति, सुजाता थापा र भीम खड्कालाई छनोट गरी म आफैले नाटकको निर्देशन गरेँ । खारिएका कलाकारहरूको क्षमताका कारण नाटक करिब १५ दिनमै तयार भयो र हामी एभरेष्ट क्लव दैलेखको तर्फबाट २०५४ साल फागुनमा नाटक प्रतियोगिताका लागि वीरेन्द्रनगर सुर्खेत झ¥यौँ ।
नेपालका वरिष्ठ नाट्यकर्मीहरू हरिहर शर्मा, मदनदास श्रेष्ठ, प्रभाकर शर्मा, वीरेन्द्र हमालजस्ता निर्णायकहरूको अगाडि धेरै नाटक समूहद्वारा प्रस्तुत गरिएका नाटकहरूमा अन्तत हाम्रो नाटक सर्वोत्कृष्ट भयो ।
नेपालमा वर्षौँदेखि जरो गाडेको सामन्तवादको दलदल र समाज तथा परिवारभित्र देखिने चरम अत्याचार र त्यसको भण्डाफोर गर्न नयाँ पिँढीको सशक्त विद्रोहको बारेमा लेखिएको करिब एक घण्टा लामो नाटकमा कल्पना थापाले जमिनदारकी श्रीमती बासुकलाको भूमिकामा आफ्नो सर्वाेत्कृष्ट क्षमता उपयोग गरेर अभिनय गरिन् । जमिनदारी प्रथा र त्यसको अभ्यास एउटा परिवारभित्रै रहेको र त्यसमा जमिनदार तथा प्रोफेसर सुभाषमानले सामन्ती संस्कारलाई निरन्तरता दिँदै आएको र त्यसको असर आफ्नै परिवारका सदस्यहरूमा समेत पर्दै गएको दृश्य देखाइएको सो नाटकमा छोरा समर्थ र छोरी इराले घरभित्रैबाट अन्याय र सामन्तवादको विद्रोह सुरु गरेका र बासुकला (कल्पना थापा) ले नाटकीय ढङ्गले परिवारभित्रै समन्वय गरी सामन्तवादलाई तह लगाउन खेलेको भूमिका देखाइएको थियो ।
देशमा प्रजातन्त्र आए पनि वास्तविक निमुखा वर्गहरूका लागि कुनै सकारात्मक प्रभाव पार्न नसकेको र त्यसका लागि देशमा थप आन्दोलन तथा सङ्घर्षको आवश्यकता रहेको भन्ने भाव बोकेको सो नाटकसँग कल्पना बहिनीको अन्याय सहन नसक्ने विद्रोही स्वभाव उनको अभिनय ठ्याक्कै मेल खाएको थियो । नाटकका सबै कलाकारहरूको जीवन्त अभिनयकै कारण नाटक हेर्न आएका अधिकांश दर्शकहरू रोएका थिए ।
अन्ततः सानैदेखि जनवादी विचार र अद्भूत कला क्षमता भएकी कल्पना र अन्य कलाकारहरूको प्रभावशाली प्रस्तुतिका कारण सो प्रतियोगितामा कल्पना बहिनीले सर्वोत्कृष्ट चरित्र अभिनेतृ र मैले सर्वोत्कृष्ट नाटक लेखक तथा निर्देशककोे पुरस्कार पाएका थियौँ ।
नाटकले सोचेभन्दा बढी चर्चा बटुलेसँगै हाम्रो नाटक अस्तित्वलाई राष्ट्रिय नाटक महोत्सवमा प्रस्तुतिका लागि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान काठमाडौँले आह्वान ग¥यो र सो नाटक राष्ट्रिय नाटक महोत्सवमा समेत प्रस्तुत गरियो । त्यस नाटकले त्यतिखेर पनि रामै्र प्रतिक्रिया बटुलेको कुरा नाटकका दर्शकहरूले ‘नाटक पूर्णरूपमा प्रगतिशील तथा समाज परिवर्तनका लागि उत्कृष्ट रहेको’ भनी महत्वपूर्ण टिप्पणी गर्दै बधाई पनि दिएका थिए ।

मलाई खुसी लाग्दछ, कल्पना बहिनीले आस्था सांस्कृतिक परिवार भक्तपुरले प्रदर्शन गरेका विभिन्न नाटकहरूको निर्देशन गरेको सुन्न पाएँ । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको केन्द्रीय समितिमा रहेर पनि उनले कला क्षेत्रमा सेवा पु¥याएकी थिइन् ।
नाटकको प्रस्तुतिसँगै कल्पना बहिनी विद्यार्थी राजनीतिमा मात्र सीमित नभई सबैतिर चर्चा बटुल्न थालिन् र पछि गएर उनी एक सफल स्वास्थ्यकर्मीसमेत बनेर भक्तपुरका जनतालाई निरन्तर स्तरीय सेवा दिन थालिन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित च्याम्हासिंगमा रहेको जनस्वास्थ्य केन्द्रमा लामो समयसम्म जनताको स्वास्थ्य सेवामा लागेकी उनले आफूलाई सफल राजनीतिकर्मी, कलाकार, सात्यिकारका साथै एक सफल स्वास्थ्यकर्मीको रूपमा समेत आफूलाई स्थापित गराइन् ।
मिलनसार, सरल तथा सहयोगी कल्पना बहिनीसँगको सहकार्यले मलाई पनि कला क्षेत्रमा लागिरहन हौस्याएको थियो । उनीबाट देश र जनताले थुप्रै सृजनाहरूको अपेक्षा गर्दागर्दै पनि विडम्बना भन्नुपर्छ २०७२ सालको वैशाख १२ गतेको महाभूकम्पले हामीबाट सधैँका लागि उनलाई चुँडेर लग्यो । जनताको मन जितिरहने एक होनहार प्रतिभाको यात्रामा पूर्णविराम लाग्यो, तर पनि उनले देश र जनताको लागि दिएको योगदान सधैँसधँै हाम्रो मनमस्तिष्कमा कालजयी बनेर रहिरहनेछ । आजको यो घडीमा उनलाई जन्म दिने उनका मातापिता, भाइ पत्रकारद्वय भरतबन्धु थापा, सुशीलबन्धु थापा, उनकी छोरी समिना र छोरा सौरभलगायत उनको राजनैतिक उचाइ तथा कला क्षेत्रको यात्रालाई परिष्कृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनका पति सरोजराज गोसाईप्रति हाम्रो उच्च सहानुभूति र सम्मान छ । देशले अझै धेरै जनताका कलाकार कल्पना थापाहरू जन्माइरहोस् !
हार्दिक श्रद्धासुमन कल्पना बहिनी !
११ वैशाख २०८०

(लेखक आँखा अस्पताल, त्रिपुरेश्वरमा कार्यरत हुनुहुन्छ –सम्पादक)
Leave a Reply