भर्खरै :

सहकारी समस्याका दीर्घकालीन समाधान सदस्य सबलीकरण

  • बैशाख १६, २०८०
  • बालकृष्ण धोजु
  • विचार
सहकारी समस्याका दीर्घकालीन समाधान सदस्य सबलीकरण

सहकारी एक प्रकारको मानव बैङ्किङ प्रणाली हो । सहकारीका सदस्यहरू मिलेर नै सहकारीको स्थापना हुन्छ । सहकारी ऐन, २०७४ अनुसार ३० जना भिन्न परिवारको व्यक्तिहरू मिलेर सहकारी खोल्न सक्ने व्यवस्था छ । समुदायका व्यक्तिहरू मिलेर आ–आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक लक्ष्य प्राप्तिको लागि स्वइच्छाले एकताबद्ध भई स्वतन्त्रतापूर्वक सञ्चालित स्वायत्त संस्था नै सहकारी हो । संस्थाका सदस्यहरूको स्वनियम, स्वशासन र स्वउत्तरदायी भएर संस्था सञ्चालनको मूल मागर्दशन हो । तसर्थ, सहकारीमा सदस्य नै मालिक हो । सदस्य नै उत्पादक र उपभोक्ता दुबै हो ।
सहकारीमा सदस्य बन्न सहकारीको कार्यक्षेत्रभित्र बसोबास गरेको कानुनी आधारमा मात्र सदस्य बन्न पाउँछ । नागरिकता, विवाह दर्ता, बसाइँसराइ, मतदाता परिचय पत्र आदि यसका आधार हुन् । सदस्य बन्न विनियममा तोकेको न्यूनतम शेयर खरिद गर्नुपर्दछ । मासिकरूपमा संस्थामा गई नियमित बचत गर्नुपर्दछ । सहकारीको साधारणसभामा सहभागिता जनाउने र आफ्नो विचार राख्नुपर्दछ । साधारणसभामा सहभागी भई सञ्चालक समिति र लेखा समितिको चयनमा आफ्नो मत जाहेर गर्नुपर्दछ । अनि मात्र सहकारीको सदस्य बन्नुको न्यूनतम कर्तव्य पूरा हुन्छ ।
सहकारीमा सदस्यले नै बचत गर्दछ । सदस्यले सो बचत ऋणको रूपमा आवश्यक पर्ने सदस्यले ऋण लिन्छ । सदस्यको पैसा सदस्यलाई ऋण स्वरूप परिचालन भएको हुन्छ । सहकारीमा बचत तथा ऋण व्यवस्थापनका लागि बचत तथा ऋण कार्यविधिसमेत सदस्यले साधारण सभाबाट अनुमोदन भई लागू हुन्छ । सदस्यले बचत गरेको बचतमा ब्याज सदस्यले नै तिरेको ऋणको ब्याजबाट दिने हो । सदस्यले बचतमा पाएको ब्याज र ऋणमा तिरेको ब्याजको आधारमा संरक्षित पुँजी फिर्ता पाउँछ । संस्था सञ्चालनको क्रममा भएको नाफा शेयर लाभांश कोषबाट शेयरमा लाभांश पनि पाइन्छ । सहकारीमा राम्रो कारोबार गर्ने सदस्यले सम्मान पनि पाउँछ । सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको लागि निरन्तर शिक्षा, तालिम र सूचनाहरू पनि दिइरहेको हुन्छ । सहकारीका सदस्य भोलिको सञ्चालक हो । तसर्थ, सहकारीमा हरेक चार वर्षमा नेतृत्व चयन गर्नुपर्दछ । सदस्यकै हितको लागि सदस्यले नै चयन गरेका सञ्चालकबाट सहकारीको दैनिक काम कारबाहीहरू सञ्चालन हुन्छ । ती काम कारबाहीहरू सदस्य केन्द्रित छ छैन भनी अनुगमन तथा निरीक्षण सदस्यबाटै चुनेका लेखा सुपरिवेक्षण समितिबाट हुन्छ । सञ्चालकका गतिविधि सही छ छैन लेखा सुपरिवेक्षण समितिबाट नियमित अनुगमन तथा निरीक्षणको प्रतिवेदन सदस्यमाझ साधारणमा प्रस्तुत गर्नुपर्दछ ।
सदस्यहरूबाट सदस्यको लागि नै सञ्चालित हुने सहकारीमा पक्कै समस्या आउँदैन । समस्या आएमा सदस्यहरूको आपसी छलफलबाट नै तुरुन्त समाधान हुन्छ । तर, हाल सहकारीमा संस्थाले सदस्यको बचत फिर्ता दिन सकेन । सञ्चालक फरार भयो । सहकारीबाट बचतकर्ताहरू ठगिए । सहकारीका बचतकर्ताहरू जोखिममा लगायतका समाचारहरू सम्प्रेषण भइरहेको छ । यसले फेरि सहकारीका विकृतिहरूलाई सतहमा ल्याएको छ । सहकारीका विकृतिहरूको दीर्घकालीन समाधानविना यस्ता घटना दोहोरिरहने देखिन्छ । देशको आर्थिक मन्दिले सहकारीमा समस्या देखियो । सहकारी समस्याप्रति सरकार गम्भीर भएन । सहकारी अभियान बलियो भएन भनेर आवाजहरू गुञ्जनु भनेको समस्या पर्दा अरूको भरपर्नु हो । यो आफ्नो गल्तीलाई छोप्ने प्रयास हो । सहकारीले आत्मनिर्भर हुन सिकाउँछ । परनिर्भर हुन होइन । तसर्थ, सहकारीमा किन समस्या देखियो भन्ने कारण थाहा भएर पनि त्यो कारण छोप्नका लागि समस्याका कारण अरूलाई देखाइरहेको छ† बाहाना बनाइरहेको छ ।
तरलता सङ्कटमा बचतकर्ताहरूको बचत फिर्ताको चापले सहकारीमा समस्या देखिएको भन्दै सञ्चालकहरू आन्दोलित छन् । यदि ती सञ्चालकहरूले सदस्य बनाएर मात्र बचत सङ्कलन गरेका भए† ती सङ्कलित रकम सदस्यहरूलाई मात्र ऋणको परिचालन गरेका भए सहकारीमा बचतकर्ताहरू हुने थिएनन् मात्र सदस्य हुन्थ्यो । सदस्य भएपछि सहकारीको समस्या सदस्यको हो । सदस्यहरूबिच नै समस्याको समाधान निस्किन्छ ।
विश्वमा आर्थिक मन्दी छ । नेपालमा पनि मन्दीको प्रभाव परेको छ । तरलताको सकस छ । यस अवस्थामा ऋणको साँवा ब्याज असुलीमा समस्या छ । यसले सदस्यको बचत सङ्कलन र बचत फिर्तामा सन्तुलन कायम गर्न चुनौती थपेको छ । यस्ता चुनौतीहरूबाट बच्न सहकारी संस्था सदैव वित्तीय अनुशासनमा बस्नु पर्दछ । समुदायमुखी सहकारी संस्था जहाँ वित्तीय अनुशासन पालना भएका छन् त्यस्ता सहकारीमा बचत फिर्ताको समस्या देखिएको छैन । अहिले पनि सामान्य अवस्थामा झँै सदस्यलाई ऋण लगानी गरिरहेको छ । तर, ऋणको साँवा ब्याज असुलीमा भन्ने सकस देखिएको छ । यसलाई सहज गर्न ऋणी सदस्यमाझ नै अन्तरक्रिया कार्यक्रमसहित सदस्य हेरचाहलाई अगाडि बढाइरहेको छ ।
सहकारीमा सदस्यलाई सहकारी शिक्षामार्फत सशक्तीकरण गर्न सकियो भन्ने सहकारीका समस्या सामाधान भई दिगो सहकारी विकासमा टेवा पुग्छ । तसर्थ, धेरै सदस्त्न्दा व्यवस्थापन गर्न सकिने सक्रिय र सहकारी बुझ्ने सदस्य वृद्धिमा जोड दिनुपर्दछ । सदस्यको व्यक्तिगत स्वार्थभन्दा सामूहिक समस्यालाई प्राथमिकता दिनुपर्दछ । सहकारीमा समस्या देखिए सदस्यमाझ गई समस्याको समाधान खोज्नुपर्दछ । सदस्यलाई वास्तविक कुरा बताउन सक्नुपर्दछ । सदस्यको बचत सङ्कलन रकमको सदस्यलाई नै सुरक्षित लगानीको प्रत्याभूति दिन सक्नुपर्दछ । सहकारीमा सदस्यबाहेक अरूले सहयोग गर्ला भन्ने परनिर्भर मानसिकता त्याग्नुपर्दछ । समस्या समाधानको उपाय सहकारीको सदस्यबाटै खोजिनुपर्दछ । सहकारीको दीर्घकालीन समस्या समाधानका उपाय सदस्य सबलीकरण हो । सदस्य जागरण र सबलीकरण नै सहकारीको विकृतिलाई चिर्ने उत्तम उपाय हो ।
(लेखक भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का व्यवस्थापक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *