भर्खरै :

संसारका महाजनसाङ्ख्यिक देशहरू भारत र चीन

संसारका महाजनसाङ्ख्यिक देशहरू भारत र चीन

आजको विश्वमा चीन र भारतमात्र त्यस्ता दुई देश हुन् जहाँ एक–एक अर्बभन्दा बढी जनसङ्ख्या बस्छन् । अज्ञात समयदेखि नै चीन संसारको सबभन्दा धेरै जनसङ्ख्या भएको देश हो । हालै संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले विश्वको पछिल्लो जनसङ्ख्या प्रतिवेदन सन् २०२३ सार्वजनिक ग¥यो । त्यसमा सन् २०२३ को मध्यसम्ममा चीनलाई उछिनेर भारत संसारको सबभन्दा बढी जनसङ्ख्या भएको देश बन्ने उल्लेख छ ।
केही वर्षअघि मैले एउटा शब्दावली प्रयोगमा ल्याएको थिएँ – ‘महाजनसङ्ख्या’ (सुपर पपुलेसन) । एक अर्बभन्दा बढी जनसङ्ख्या भएका देशलाई जनाउन यो शब्दावली प्रयोग गरिएको थियो । चीन र भारतमात्र कम्तीमा देखिन सकिने भविष्यसम्म संसारका दुई महाजनसाङ्ख्यिक देश रहनेछन् ।
चीन संसारको सबभन्दा बढी जनसङ्ख्या भएको देशको परिचय त्याग्न चाहिरहेको थियो । सन् २०२२ मा अभिलिखित इतिहासकै पहिलो पटक चिनियाँ जनसङ्ख्या वृद्धि झिनो र उल्लेखनीयरूपमा ऋणात्मक भएको थियो । यस्तो अवस्थामा सामान्यतः आगामी वर्षहरूमा चिनियाँ जनसङ्ख्यामा निश्चित समयसम्म सुस्त र ऋणात्मक वृद्धि हुने विश्वास गरिन्छ । समयान्तरमा चीनको जनसङ्ख्या वृद्धि सकारात्मक हुन्छ वा हुँदैन भन्न सकिँदैन । सरकारले जन्म दर बढाउन चालेका सबै प्रयासले काम गर्छ वा गर्दैन ? अथवा आजसम्म लागु नभएको छिमेकी देशहरूबाट थप बसाइँसराइको लागि प्रोत्साहन गर्ने नीति ल्याउला ? भविष्यकै गर्भमा छ । चीनको जनसङ्ख्या आगामी वर्षमा सकारात्मक हुने नहुने कुरा यिनै कुरामा निर्भर रहनेछ ।
भविष्यप्रति चीनको आत्मविश्वास भने त्यहाँको ‘जनसाङ्ख्यिक लाभ’ ले बढाएको छ । चिनियाँ जनताको लामो समयावधिको शिक्षा र व्यवसायिक तालिम, फैलिँदो सम्पर्क र यान्त्रिक बौद्धिकता (एआई), यान्त्रिकीकरण, विद्युत्तीय अर्थतन्त्र र च्याटजीपीटीजस्ता अत्याधुनिक प्रविधिमा चीनले गरेको प्रगतिले उसको क्षमतामा ठुलो फड्को मारेको छ ।
उपभोगको कुरा गर्दा, चिनियाँ जनसङ्ख्याको निश्चित हिस्साले खर्च गर्ने कुल गार्हस्थ उत्पादनको भाग अन्तर्राष्ट्रिय मापदण्डले तोकेभन्दा न्यून छ । संसारको जनसङ्ख्यामा चीनको जनसङ्ख्याले १७.९ प्रतिशत ओगटेको छ । तर, त्यहाँको घरेलु उपभोगमा हुने खर्च भने १२.८ प्रतिशतमात्र छ । यदि संसारको उपभोग र जनसङ्ख्यामा चीनको हिस्सा न्यून भए चिनियाँ जनताको कुल उपभोग खर्च ३९.४ प्रतिशतले बढ्नेछ । यो भनेको जापान, जर्मनी, बेलायत र भारत सबैको उपभोग दर मिलाउँदा पनि बढी हुन्छ । यो चीनको बृहत् आकारको जनसाङ्ख्यिक प्रभाव हो ।
चीनको जनसङ्ख्या एकाध वर्षको ऋणात्मक वृद्धिबाहेक स्थिर हुने अपेक्षा गर्नु तर्कसङ्गत छ । आगामी वर्षमा चीनको जनसङ्ख्यामा कुनै नाटकीय वृद्धि वा कमी हुने देखिँदैन । चीनले शिक्षाको गुणस्तर र आफ्ना जनताको व्यवसायिक र पेशागत तालिममा जोड दिनेछ । जनताको औसत आयु वृद्धि, स्वास्थ्य तथा चिकित्सकीय सेवाको गुणस्तर र परिमाण उत्तम बनाउन पनि उसले भरपुर काम गर्नेछ ।
भारतको जनसङ्ख्या धेरै वर्षसम्म बढिरहने अपेक्षा गरिएको छ । यसले भारत र सिङ्गो मानव समाजसामु अभूतपूर्व अवसर र चुनौती थप्न सक्छ । जनसङ्ख्याको तेज वृद्धिले मानिसका जीवनका धेरै पक्ष जस्तै रोजगारी, स्वास्थ्य, शिक्षा र दिगो आर्थिक विकासलाई प्रभावित बनाउनेछ । भारतमा जनसङ्ख्याको भविष्यको कुनै टुङ्गो छैन । भारत सरकारले जनसङ्ख्या वृद्धिको प्रभावलाई सम्हाल्न विभिन्न उपायको खोजी गर्नुपर्छ र आफ्ना नागरिकको भलाई सुनिश्चित गर्नुपर्छ ।
एउटा कुरा भने पक्का छ, देख्न सकिने भविष्यसम्म चीन र भारत नै संसारका दुई मात्र महाजनसङ्ख्या भएका देश हुनेछन् । यो ती देशका जनता, उनीहरू एकअर्काको लागि र संसारकै लागि पनि मौलिक र विशेष अवसर, चुनौती र जिम्मेवारी हुन् ।
दुवै ठुला देश भएकाले संसारको बाटो तय गर्न र प्रगतिको दिशा तर्जुमा गर्न उनीहरूले ठुलो शक्ति प्रयोग गर्नसक्छन् । तर, उनीहरूको बृहत् आकारसँगै चुनौती पनि निहीत छन् । जनसङ्ख्याको व्यवस्थापन, दिगो आर्थिक वृद्धि र सामाजिक कल्याणको प्रवद्र्धन उनीहरूले सामना गर्ने प्रमुख चुनौती हुन् । संसारकै महाजनसाङ्ख्यिक देश चीन र भारतसामुका चुनौती र अवसरले भविष्य अन्योल बनाएको छ । उनीहरूले अगाडिको यात्रा कसरी हिँड्छन् भन्ने कुराले धेरै हदसम्म संसारको भविष्य पनि निर्भर हुनेछ ।
(लेखक सुचाओ विश्वविद्यालयको प्राध्यापक तथा चीन र भूमण्डलीकरण केन्द्रका उपसभापति हुन् ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *