भर्खरै :

सुर्खेतमा नेक्राकिसङ्घको सम्मेलन सम्पन्न

सुर्खेतमा नेक्राकिसङ्घको सम्मेलन सम्पन्न

सुर्खेत, २२ वैशाख । नेपाल क्रान्तिकारी किसान सङ्घको प्रथम खुला सम्मेलन शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भयो ।
शुक्रबार सम्पन्न उद्घाटन समारोहमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपाली काङ्ग्रेस, एमाले, माओवादीलगायतका शासक पार्टीहरूको बेवास्ताको कारण देशको कृषि अर्थतन्त्र कमजोर भएको भनाइ राख्नुभयो ।
क्रान्तिकारी भूमिसुधार गरेर जमिन जोत्नेलाई वितरण नगरेसम्म देशको भूमि समस्या समाधान नहुने भन्दै शासक पार्टीहरूले वैज्ञानिक भूमिसुधारको नाममा किसानलाई झुक्याउन खोजको तर्क गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले शासक पार्टीहरूले कृषिसँग जोडिएका उद्योगधन्दा सबै निजीकरण गरेर भारतीय एकाधिकार पुँजीको सेवा गरेको भन्दै तिनकै बेइमानीको कारण आजको आर्थिक सङ्कट निम्तिएको भनाइ राख्नुभयो ।
कर्णाली प्रदेशको बेरूजु १ अर्ब ६८ करोड रूपियाँ भएबाट भ्रष्टाचार कुन हदमा पुगेको भन्ने प्रस्ट भएको उल्लेख गर्दै उहाँले शासक पार्टीको संरक्षण प्राप्त ठेकेदारहरूले कर्णालीका सडकहरू अलपत्र छाडिएको विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरूङले माक्र्सवाद बुझेर व्यवहारमा लागु गर्नुपर्ने भन्दै परिवर्तनको निम्ति सदा क्रियाशील हुनुपर्ने तर्क गर्नुभयो ।
उहाँले समाजको आमूल परिवर्तनको निम्ति महिला आन्दोलन अपरिहार्य भएको भन्दै प्रत्येक व्यक्तिको स–सानो योगदानबाट ठुल्ठुला परिवर्तन हुन्छ भन्नुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य उदयजङ्ग शाहीले शोषणमा आधारित पुँजीवादी व्यवस्थाको अन्त्य अवश्यम्भावी छ भन्नुभयो ।
नेमकिपा, सुर्खेत जिल्ला समितिका अध्यक्ष हरिबहादुर बोहराले किसान आन्दोलन नगरेर अब परिवर्तन सम्भव छैन भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले माक्र्सवाद आज पनि सान्दर्भिक भएको प्रस्ट पार्नुभयो ।
नेमकिपा, दैलेखका उपाध्यक्ष लक्ष्मीकुमार विकले देशको आमूल परिवर्तनको निम्ति किसान आन्दोलन चाहिन्छ भन्नुभयो ।
नेक्रायुसङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापाले उद्योगधन्दाको विकास नभएकोले युवा बेरोजगारी बढेको भनाइ राख्नुभयो ।
आयोजक समितिका संयोजक लोकबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही, नेक्राकिसङ्घ बाँकेका जिल्ला सदस्य अन्जिरबहादुर शाही, आयोजक समितिका देवीराम सिजापतिले पनि बोल्नुभएको थियो । शुक्रबार सम्पन्न बन्दसत्रले पुष्प रानामगरको अध्यक्षतामा ९ सदस्यीय नेक्राकिसङ्घ, सुर्खेत जिल्ला समिति गठन गरेको छ ।
बन्दसत्रले किसानलाई समयमै गुणस्तरीय बीउ र रासायनिक मलको व्यवस्था गर्न, स्वदेशमै रासायनिक मल कारखाना खोल्न माग गरेको छ । त्यस्तै कृषि उत्पादन बढाउनको निम्ति सिंचाइको उचित बन्दोबस्त गर्न, नक्कली किसानलाई अनुदान बन्द गर्न नेक्राकिसङ्घ, सुर्खेतले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *