भर्खरै :

आर्थिक कारोबारमा पारदर्शिता र आर्थिक अनुशासन महत्वपूर्ण

आर्थिक कारोबारमा पारदर्शिता र आर्थिक अनुशासन महत्वपूर्ण

भक्तपुर, २२ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आयोजनामा सञ्चालित दुईदिने सहकारी वित्तीय व्यवस्थापन तालिमको शुक्रबार एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले आर्थिक कारोबारमा पारदर्शिता र आर्थिक अनुशासन महत्वपूर्ण विषय भएको बताउँदै आर्थिक कारोबार गर्दा कसैको दबाब र प्रभावमा काम गर्न नहुने बताउनुभयो ।
उहाँले कानुनअनुसार आफ्नो काम गर्ने र असल नियतले जनतालाई हित हुने काम गर्न प्रेरित गर्दै भक्तपुर नपाले भक्तपुरमा बहुउद्देश्ययी सहकारी संस्थाहरू सञ्चालन स्वीकृतिमा रोक लगाउँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यले शिक्षालाई प्राथमिकतामा राखी हालसम्म ८ वटा कलेजहरू सञ्चालनमा रहेको र यहाँ अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति र शैक्षिक ऋणको व्यवस्था गरी उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आएको बताउनुभयो ।
भक्तपुरका सहकारी संस्थाहरू सुरक्षित छन् भन्ने सन्देश दिने हिसाबले यहाँका सहकारी संस्थाहरू सञ्चालन हुनु जरुरी रहेको बताउँदै भक्तपुरका सहकारीहरूलाई देशकै नमुना सहकारीको रूपमा सञ्चालन गर्न सहकारीकर्मीहरूको ध्यानाकर्षण गराउनुभयो ।
भक्तपुर अहिले देश विदेशका पर्यटकहरूको लागि आकर्षक गन्तव्यस्थलको रूपमा विकसित हुँदै आएको बताउँदै उहाँले विभिन्न स्थानीय तहबिच शिक्षा, सम्पदा पुनःनिर्माण, स्वास्थ्य, सरसफाइलगायतका क्षेत्रमा भएको गतिविधिबारे अनुभव आदानप्रदानको क्रम चालु रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका सदस्य हरिप्रसाद बासुकलाले सहकारी संस्थाहरूमा वित्तीय व्यवस्थापनको कमीले गर्दा समस्या आइरहेको बताउँदै सोको व्यवस्थापनको लागि भक्तपुर नपाले यहाँका सहकारीकर्मीहरूको लागि तालिम सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा तालिम सहजकर्ता कृष्णकुमार श्रेष्ठले भक्तपुर नगरपालिका अहिले सबैको लागि सिकाइको केन्द्रको रूपमा विकास हुँदै आएको बताउँदै भक्तपुरका सहकारीहरू सुरक्षित छन् भन्ने सन्देश दिन यहाँका सहकारीहरू व्यवस्थित र सहकारी सिद्धान्त र मूल्यमान्यताअनुसार चलाउन यी र यस्ता तालिमहरू आवश्यक भएको बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा सहकारी समितिका सदस्य नारांप्रसाद त्वानाबासुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *