अमेरिकी आक्रमणको जवाफमा इरानद्वारा जोर्डनस्थित सैन्य अखडा लक्षित प्रहार
- भाद्र १५, २०८३
५ मई १८१८ मा जर्मनीको राइनप्रान्तमा कार्ल माक्र्सको जन्म एक सभ्य यहुदी वकिलको परिवारमा भएको थियो ।
स्कूलको पढाइ समाप्त गरेपछि माक्र्सले बोन र बर्लिन विश्वविद्यालयमा कानुन विषयमा अध्ययन गर्नुभयो । उहाँ कानुनको छात्र भए पनि दर्शनशास्त्र तथा इतिहासमा गहिरो चाख राख्नुहुन्थ्यो । आफ्नो परिश्रम एवं तीखो बुद्धिले गर्दा उहाँले विद्यार्थी जीवनमै राम्रो ज्ञान प्राप्त गरिसक्नु भएको थियो ।
सन् १८४१ मा उहाँले विश्वविद्यालयबाट डाक्टरेट डिग्री प्राप्त गर्नुभयो । उहाँ प्रोफेसर ( (प्राध्यापक) भएर जनताको सेवा गर्ने ठूलो इच्छा राख्नुहुन्थ्यो । सरकारको प्रतिक्रियावादी नीतिले स्वतन्त्र तथा प्रगतिशील विचार भएको व्यक्तिलाई स्थान दिँदैनथ्यो, त्यसैले उहाँको इच्छा सफल भएन । तैपनि, आफ्नो इच्छाको विपरीत काम गर्नु पर्दा उहाँ निराश हुनुभएन । उहाँमा दृढता थियो । उहाँ धैर्यपूर्वक अघि बढ्नुभयो ।
माक्र्स गरिब जनतालाई असाध्यै माया गर्नुहुन्थ्यो र जनताको मुक्तिको निम्ति नयाँ नयाँ विचार खेलाइरहनुहुन्थ्यो । त्यसबेला हरेक देशमा पँुजीवादको विकास भइरहेको थियो । त्यसताका शासन जमिनदार र सामन्तवर्गको हातमा थियो । यसले गर्दा पँुजीपतिवर्ग धेरै चिढेको थियो र सामन्तवर्गसँग सङ्घर्ष गरिरहन्थ्यो । किसानहरू कमाराजस्तै थिए, तिनीहरू भूदासत्वबाट मुक्त हुन सकेका थिएनन् । गरिब जनताको यस्तो अवस्था देखेर उहाँ धेरै दुःखी हुनुहुन्थ्यो । त्यसैले उहाँले गरिब जनतालाई सहयोग गर्ने इच्छा गर्नुभयो ।
सन् १८४२ मा माक्र्सले जनताको पक्षमा कोलोन भन्ने ठाउँबाट ‘राइनिशे जाइटुङ’ (राइन समाचार पत्र) नामक पत्रिका निकाल्नुभयो । यसमा उहाँका धेरैजसो लेखहरूले जनतामाथिको अत्याचारको विरोधमा छापेर गरिब जनतालाई धेरै चेतना दिने गर्दथे । सन् १८४३ मा प्रतिक्रियावादी सरकारले यो पत्रिका बन्द गरिदियो ।
सन् १८४३ मा माक्र्सले (२५ वर्षको उमेरमा) जेनी भोन वेस्टफेलेनसित विवाह गर्नुभयो । जेनी एक धनी र सामन्तको घरमा जन्मनु भएको थियो । त्यसबेलादेखि नै उहाँ जनताको हितचिन्तक र सरकारको विरोधी भइसक्नुभएको थियो । यो कुरा थाहा पाएर उहाँलाई ५ वर्षको देश निकालाको सजाय दिइयो ।
सन् १८४३ मा माक्र्स पेरिस जानुभयो । पेरिसमा उहाँले राजनीतिशास्त्रको अध्ययन गरेर राजनैतिक चेतना अझ धारिलो पार्नुभयो । सन् १८४४ मा पेरिसमा फ्रेडरिक एङ्गेल्ससित माक्र्सको पहिलोपल्ट भेट भयो । त्यसैबेलादेखि दुई प्रगतिशील लेखकहरूको गहिरो मित्रता सुरु भयो । प्रसिया सरकारको षड्यन्त्रले माक्र्सलाई पेरिसबाट निकाला गरिनुभयो । त्यहाँबाट १८४६ मा उहाँ बेल्जियमको राजधानी ब्रुसेल्स जानुभयो । त्यहाँ उहाँले अर्थशास्त्रको गहन अध्ययन गर्नुभयो र १८४६ मा समाजवादीहरूसित सम्बन्ध राख्न ‘कम्युनिस्ट पत्र व्यवहार समिति’ खोल्नुभयो । सन् १८४७ मा सबै समाजवादीहरूको राय स्वीकार गरेर माक्र्स र एङ्गेल्स ‘न्याय समिति’ (लीग अफ दी जस्ट) मा सामेल हुनुभयो । त्यसपछि उहाँले त्यसको नाम ‘कम्युनिस्ट लीग’ कम्युनिस्ट दल) राख्नुभयो ।
‘कम्युनिस्ट लीग’ को दोस्रो सम्मेलन लण्डनमा नोभेम्बर १८४७ मा भयो । त्यसमा माक्र्स र एङ्गेल्सले पनि भाग लिनुभयो । सम्मेलनमा उपस्थित सबैको अनुरोधमा उहाँहरूले ‘कम्युनिस्ट घोषणापत्र’ लेख्नुभयो र यो १८४८ मा प्रकाशित भयो । ‘कम्युनिस्ट घोषणापत्र’ माक्र्स र एङ्गेल्सको तीखो बुद्धिको निचोड थियो । यसको सुरुआत यसरी गरिएको छ– “अहिलेसम्मको समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।” ‘घोषणापत्र’ को अन्तमा लेखिएको छ, “मजदुरहरूसँग हार्नको निम्ति आफूलाई बाँधेको सिक्रीबाहेक अरू केही पनि छैन । जित्नको लागि उसको अगाडि सारा संसार छ ।”
यसले सामन्त र पुँजीपतिवर्गको बिचको वर्गसङ्घर्षलाई चिनाएर, संसारका शोषित पीडित जनतालाई बाँधी राखेको बन्धनलाई चुँडाल्न शिक्षा दियो । संसारका सर्वहारावर्गमा एकता ल्याउन ‘घोषणापत्र’ को अन्तमा लेखिएको छ, “संसारका मजदुर एक होऔँ ¤”
कम्युनिस्ट घोषणापत्र प्रकाशित भएको सालमै फ्रान्समा दोस्रो राज्य क्रान्ति सुरु भयो । त्यस क्रान्तिको प्रमुख माक्र्सलाई नै ठानेर बेल्जियमबाट पनि उहाँलाई निकाला ग¥यो । उहाँ पेरिस फर्कनुभयो । पेरिसमा धेरै अप्ठ्याराहरूसँग सामना गर्दै ५ वर्षको निष्कासनकाल समाप्त गरेर १८४८ मा आफ्नो देश जर्मनी फर्किनुभयो । स्वदेश फर्केर उहाँ चुप लागेर बस्नुभएन । १ जून १८४८ देखि उहाँंले कोलोनका मजदुरहरूको पक्षमा ‘न्यु राइनिश जाइतुङ’ (नयाँ राइन समाचारपत्र) नामक पत्रिका निकाल्नुभयो । त्यसमा उहाँले फ्रान्सेली जनताको क्रान्तिकारी कदमको प्रशंसा गर्नुभयो । फ्रान्स र जर्मनीका पँुजीपतिवर्गले जनतालाई धोका दियो र शासन सत्ता आफ्नो हातमा पा¥यो । यसले गर्दा १९ मई १८४९ मा सो पत्रिकालाई सरकारने बन्द गरिदियो । ‘न्यु राइन समाचार’ को अन्तिम प्रकाशनमा कोलोनका मजदुरहरूसित बिदा माग्दै उहाँले भन्नुभयो, “सबै ठाउँ र सधैँ आफ्नो अन्तिम साससम्म मजदुरवर्गको मुक्तिको लागि आफ्नो सङ्घर्ष चलाउँदै जानेछौँ ।”
३१ वर्षको उमेरमा सन् १८४९ मा माक्र्सलाई जर्मनी सरकारले देश निकाला ग¥यो । त्यसपछि उहाँ पेरिस जानुभयो । पेरिसमा पनि उहाँलाई बस्न दिइएन, उहाँ लण्डन जानुभयो । प्रवासमा रहँदा सबैको जीवन निश्चय नै कष्टपूर्ण हुन्छ । उहाँले आफ्नो जीवन निर्वाहको लागि ‘न्युयोर्क ट्रिब्युन’ नामक पत्रिकामा लेख लेख्नुहुन्थ्यो । तर, घरको खर्च तार्न उहाँलाई धौ धौ पथ्र्याे । गरिबीको कारणले गर्दा पाँच केटाकेटीमध्ये तीन जना मृत्युको शिकार भइसकेको थियो । सन् १८५२ मा उहाँको पाँचाँै छोरी मर्दा मुर्दा उठाउन कात्रो किन्न पैसा पनि थिएन । यस सङ्कटमा एक छिमेकी प्रवासीले जेनीलाई कात्रो किन्न दुई पौण्ड मद्दत गरे । त्यस दुई पौण्डले जेनीले आफ्नो मरेकी छोरीको निम्ति कात्रो किनिन् ।
यस्तो गरिबीको अवस्थामा पनि माक्र्स कहिल्यै विचलित हुनुभएन र धैर्यपूर्वक काम गर्दै आफ्नो सिद्धान्तलाई अघि बढाउनुभयो । सन् १८५७ मा आर्थिक सङ्कट सुरु भयो । त्यसैबेला उहाँले आर्थिक क्षेत्रमा ठूलो अनुभव प्राप्त गरेर पुँजीको प्रथम खण्ड लेख्न सुरु गर्नुभयो । फेरि उहाँले यसलाई एङ्गेल्सको विचारअनुसार हेरफेर गरेर सन् १८६७ मा प्रथम खण्ड पूर्णरूपले समाप्त गर्नुभयो । त्यस किताबमा उहाँले पँुजीवादको उत्थान, विकास र पतन कसरी हुन्छ भन्ने स्पष्टरूपमा व्याख्या गर्नुभएको छ । माक्र्स केवल लेखक बनिरहन चाहनुहुन्नथ्यो । २८ सेप्टेम्बर १८६४ मा उहाँले ‘अन्तर्राष्ट्रिय मजदुर सङ्घ’ को स्थापना गर्नुभयो । त्यसमा उहाँले मिहिनेत साथ काम गर्नुभयो । त्यसैबेला उहाँले पँुजीको दोस्रो खण्ड पनि तयार पार्न सुरु गर्नुभयो । यसले गर्दा उहाँको शरीर दिनदिनै कमजोर हुँदै गयो । तर, उहाँको शिक्षाले मजदुरहरूको चेतना महासागरको छालजस्तै पँुजीवादको जरा उखेल्न अगाडि बढिरहेको थियो । उहाँको व्यावहारिक ज्ञानअनुसार पँुजीपतिवर्गले अब सामन्तवादको विरोधमा पँुजीवादी क्रान्ति पूरा गर्न सक्दैन र सर्वहारावर्गले मात्रै क्रान्तिलाई पूरा गर्न सक्छ भन्ने टुङ्गोमा उहाँ पुग्नुभयो । उहाँले सर्वहारा वर्गको अधिनायकत्व खडा गर्ने भविष्यवाणी गर्नुभयो । उहाँका लेखहरूले पँुजीवादी समाजमा डढेलो लगाउन सक्थे ।
सन् १८७१ मा पेरिसमा मजदुरहरूले सत्ता कब्जा गरी पेरिस कम्युन स्थापना गरेर सर्वहारा अधिनायकत्व कायम गर्न सङ्घर्ष गरे । पँुजीपतिवर्गले सत्ता पेरिस कम्युनको हातमा लिएर संसारमा पहिलोपल्ट सर्वहारावर्गको रातो झण्डा पेरिसमा फहराएर माक्र्सको सिद्धान्तलाई साकार रूप दियो । सत्ता हातमा लिएपछि पेरिस कम्युनले धेरै सुधारहरू गरी जनताको जीवन सुरक्षाको गहन जिम्मेवारी आफ्नो हातमा लिएर कामको निश्चित अवधि (आठ घण्टा) र निश्चित मजदुर तोकिदियो । यसरी ‘पेरिस कम्युन’ ले जनतालाई साँचो अर्थमा रोजीरोटीको स्वतन्त्रता प्रदान ग¥यो ।
एकदम नौलो र भिन्न उद्देश्य लिएर बनेका पेरिस कम्युनको शिक्षा लिएर संसारका सबै मजदुरवर्ग अगाडि बढ्लान् भनी डराएका संसारका समस्त शासकवर्गको षड्यन्त्रसित सचेत भई पेरिस कम्युनलाई बचाउन माक्र्स स्वयम् अन्तर्राष्ट्रिय सङ्घर्षमा उत्रनुभयो । सर्वहारावर्गले सम्पूर्ण ताकत लगाएर अन्तिम बन्दुक भएसम्म पेरिस कम्युनको रातो झण्डा ढल्न दिएन । यद्यपि, ७२ दिनपछि अत्याचारी पँुजीपतिवर्गले निर्ममतापूर्वक कम्युनिस्टलाई दमन ग¥यो । सर्वहारावर्गका महान् शिक्षक माक्र्सलाई चारैतिरबाट प्रहार सुरु भए पनि उहाँ दृढतापूर्वक भन्नुहुन्थ्यो, “‘पेरिस कम्युन’ आफ्नो गौरवपूर्ण अगुवाको रूपमा सधैँ नै याद गरिनेछ ।”
पेरिस कम्युनको हारले माक्र्सलाई ठूलो चोट प¥यो र उहाँको शरीर दुर्वल हुँदै गयो । सन् १८८१ तिर उहाँकी श्रीमती जेनी माक्र्स र जेठी छोरी ‘जेनी लाँगे’ को मृत्युले गर्दा उहाँको हृदयलाई धुजाधुजा पारिदियो । चारैतिरको शोक र चिन्ताले गर्दा उहाँको शारीरिक दुर्वलताले सीमा नाघ्यो । तैपनि, आफ्नो आदर्शप्रति उहाँ दृढ विश्वास राख्दै जानुभयो । १४ मार्च सन् १८८३ मा उहाँ सदाको निम्ति यस धरतीबाट अस्ताउनुभयो ।
उहाँ संसारका सर्वहारावर्गका नेता हुनुहुन्छ । उहाँले एक नौलो युगको जग बसाल्नुभयो । उहाँको मृत शरीर १७ मार्च सन् १८८३ मा आफ्नी पत्नीसँगै लण्डनको ‘हाइगेट’ नामक समाधिमा गाडियो । माक्र्सका घनिष्ट मित्र एङ्गेल्सले उहाँको समाधिको छेउमा उभिएर भाषण दिनुभयो । उहाँले भविष्यवाणी गर्दै भाषणको अन्त गर्नुभयो । उहाँको नाम युगौँयुगसम्म अमर रहनेछ । यसप्रकार उहाँको कीर्ति पनि अमर रहनेछ ।
साभार : जनताको साहित्यबाट
Leave a Reply