भर्खरै :

माक्र्सको उथलपुथलपूर्ण जीवन – २

माक्र्सको उथलपुथलपूर्ण जीवन – २

सन्दर्भ २०५ औँ कार्ल माक्र्स जन्म दिवस

डब्ल्यु पियपर माक्र्सका सचिव थिए । पछि त्यो जिम्मेवारी मैले बहन गरेँ । माक्र्सको सानो अध्ययन कक्षमा उनका बुझिन गा¥हो नराम्रो अक्षरमा लेखिएका लेखहरू साफी गर्दै बिताएका दिन मेरो जीवनका सबभन्दा खुसी दिनमध्ये थिए ।
सन् १८५१ को अन्त्यमा लुइस नेपोलियनले सत्ता कब्जा गरे । अर्को वर्ष कार्लले लेखेको पुस्तक ‘आठौँ बु्रमाएर’ न्यु योर्कमा प्रकाशित भयो । डिन सडकको साँघुरो कोठामा केटाकेटीका होहल्ला र घरायसी कामबिच उनले त्यो पुस्तक लेखेका थिए । मार्च महिनासम्ममा मैले त्यसको साफी गरिसिध्याएँ । अनि छाप्न पठाइयो । तर, पुस्तक तत्कालै प्रकाशित भएन । निकै ढिला मात्र पुस्तक छापियो । त्यसले तत्कालै केही हात लागेन ।
सन् १८५२ को इस्टरमा हाम्री सानी फ्रान्जिस्कालाई ब्रोन्काइटिसले च्याप्यो । तीन दिनसम्म त उसको मर्ने बाँच्ने ठेगान थिएन । उसलाई निकै कष्ट भयो । उसले प्राण त्यागेपछि हामीले उनको निर्जीव मसिनो शरीरलाई पछाडिको कोठामा राखेर हामी अगाडि पट्टिको कोठामा भुइँमै ओछ्यान लगायौँ । हाम्रा तीन जना छोराछोरी हामीसँगै ओछ्यानमा पल्टेका थिए । अर्को कोठामा चिसो निर्जीव पल्टिरहेको हाम्री सानी परीको विछोडमा हामी सबै रोयौँ । असाध्यै अभावको समयमा हाम्री प्यारी बच्चा हामीलाई छोडेर गएकी थिइन् । त्यत्तिबेला हाम्रा जर्मन साथीहरू पनि हामीलाई कुनै मद्दत गर्ने अवस्थामा थिएनन् । त्यत्तिबेला लामो समयसम्म हामीलाई आर्थिक मद्दत गरेका र हामीकहाँ बारम्बार आइरहने साथी अर्नेस्ट जोन्सले हामीलाई मद्दत गर्ने वाचा गरेका थिए । तर, अर्नेस्टले पनि केही गर्न सकेनन् । … मनभरि पीडा बोकेर म हाम्रो कोठाबाट नजिक बस्ने र हामीलाई भेट्न आइरहने एक जना फ्रान्सेली आप्रवासीसमक्ष गुहार माग्न गएँ । हामीलाई निकै आपत् परेको दुःख पोख्दै सहायताको निम्ति मैले उनीसमक्ष हात फैलाएँ । उनले तत्कालै मैत्रीपूर्ण सद्भावका साथ मेरो हातमा दुई पाउन्ड राखिदिए । त्यही पैसाले मेरो बच्चालाई शान्तिका साथ बिदा गर्न कफिन (लास राख्ने कोठे बाकस) किनियो । मेरो बच्चा यो संसारमा आउँदा हामीसँग कोक्रो थिएन । उनको अन्तिम बिदाइको लागि समेत हामीले तत्काल केही गर्न सकेनौँ । उसलाई चिहानतिर लगेको हामीले कुन मन लिएर हेर्दै बस्यौँ होला ।
सन् १८५२ मा समयान्तरमा कम्युनिस्टहरूविरुद्धको मुद्दा भनी चर्चित काण्डको कानुनी प्रक्रिया सकियो । कार्लले पर्सियाली सरकारको कुकृत्य उदाङ्ग्याउँदै पुस्तिका लेखे । स्चाबेलिट्जले स्वीट्जरल्यान्डबाट त्यो पुस्तिका छापे । तर, सीमामा तैनाथ पर्सियाली प्रहरीले बरामद गरेर सबै पुस्तिका नष्ट गरियो । अमेरिकामा क्लसले त्यो पुस्तिका छापे र नयाँ संस्करणका धेरै प्रति युरोप र अमेरिकाका विभिन्न ठाउँमा पु¥याइयो ।
सन् १८५३ मा कार्लले ‘द न्यु योर्क डेली त्रिब्युन’ नामको पत्रिकाको लागि नियमितरूपमा दुई वटा लेख लेख्थे । अमेरिकामा धेरैलाई ती लेखले प्रभावित बनायो । पत्रिकाबाट आउने त्यही पैसाले हामीलाई केही समय हाम्रा पुराना ऋण तिर्न मद्दत ग¥यो र जीवन थोरै सहज बनायो । केटाकेटी राम्ररी हुर्के र शारीरिक एवम् मानसिक दुवै हिसाबले उनीहरूको विकास भयो । यद्यपि, हामी डिन सडकको त्यो साँघुरा कोठामा नै कोचिएर बसेका थियौँ ।
त्यो वर्षको क्रिसमसमा हामीले पहिलो पटक लण्डनमा भोज खाएका थियौँ । ‘द न्यु योर्क ट्रिब्युन’ सँग कार्लको सम्बन्धले दैनन्दिनका घरायसी समस्याबाट हामीलाई केही राहत पु¥याएको थियो । गर्मीयाममा केटाकेटी पार्कहरूको खुला हावामा खेल्थे र रमाउँथे । त्यो वर्ष त हाम्रो भान्छामा चेरी, स्ट्रबेरी र अङ्गुर पनि पसेका थिए । क्रिसमसको समयमा हाम्रा साथीहरूले हाम्रा तीन जना केटाकेटीलाई सबै खालका उपहार ल्याएका थिए । उपहारमा गुडिया, बन्दुक, खाना पकाउन भान्छाका सरसामान, ड्रम र झाम्टा आदि थिए । अर्नेस्ट ड्रोन्क (१८२२–१८९१, जर्मनका सञ्चारकर्मी नयाँ राइनिङ जाइटुङ पत्रिका प्रकाशन गर्दा सम्पादकहरूमध्ये एक जना थिए । सन् १८४८–४९ को क्रान्ति पछि उनले राजनीति नै त्यागे ।) साँझपख क्रिसमसको रुख सजाउन आइपुगे । त्यो साँझ निकै रमाइलो भएको थियो ।
एक सातापछि हाम्रो सानो एड्गरसँग निको नहुने रोगका सङ्केत देखिन थाल्यो । त्यसको एक वर्षपछि हामीले उसलाई पनि गुमायौँ । हामी हाम्रो साँघुरो अस्वस्थ कोठा छोडेर समुद्र छेउछाउ बसाइँ सर्न पाएको भए उसको ज्यान जोगाउन सक्थ्यौँ । तर, जे भयो भयो । मरेको बच्चा फर्किन सक्दैनथ्यो । …
सन् १८५५ को सेप्टेम्बर महिनामा हामी डिन सडकस्थित हाम्रो पुरानै मुख्यालयमा स¥यौँ । अङ्ग्रेज डेरा साहुलाई तिर्नुपर्ने कोठा भाडा र रोटी, मासु, दूध, खाद्यान्न र तरकारी ल्याउने सबै ‘आक्रमणकारी शक्ति’ लाई तिर्नुपर्ने पैसा तिरेलगत्तै हामीले त्यो कोठा छोड्ने सङ्कल्प ग¥यौँ । सन् १८५६ को वसन्तयामको अन्त्यतिर हाम्रो हातमा थोरै पैसा प¥यो । त्यही पैसाले हामीलाई ऋणमुक्त बनायो । हामीले हाम्रा सबै बचेखुचेका ऋण ति¥यौँ । बधन्कीमा राखेका हाम्रो सबै चाँदी, पर्दा र कपडा साहुसँग निखन्यौँ । अनि म नयाँ लुगा लगाएर मेरा बच्चाहरूसँगै अन्तिम पटकको लागि मेरो प्यारो माइती गएँ । …
त्यो सालको जाडोयाम हामीले आरामसँग बितायौँ । हाम्रा सबैजसो साथीहरू लण्डनबाट फर्किसकेका थिए । बाँकी केही साथीहरू पनि हामी बसेको ठाउँभन्दा निकै टाढा बसेका थिए । हामी पहिला बसेका ठाउँको तुलनामा हाम्रो नयाँ घर हाम्रो लागि त दरबार नै थियो । तर, त्यो हाम्रो चित्कार्षक घर पुग्न भने त्यत्ति सजिलो थिएन । त्यहाँ पुग्ने बाटो खराब थियो । जताततै घर र भवन बनाइँदै थियो । हाम्रो घर पुग्न फोहोरका डङ्गुर नाघ्दै जानुपथ्र्यो । पानी परेको बेला बाटोको रातो माटो बटुवाको जुत्तामा टाँसिएर हिँड्न पनि मुस्किल हुन्थ्यो । उचाल्न पनि गाह«ो खुट्टाले हिँड्दै पाहुना हाम्रो दैलोमा आइपुग्थे । त्यो बिरानो ठाउँमा राति अन्धकार हुन्थ्यो । अन्धकार, फोहोर, माटो र ढुङ्गाको रास छिचोल्दै घर पुग्नुभन्दा न्यानो आगो ताप्दै कतै साँझ बिताउन नै मानिस मनपराउँथे ।
त्यो जाडोयाम मलाई सञ्चो भएन । म जहिल्यै वरपर औषधिका भाँडोले घेरिएर बस्थेँ । मलाई पूर्णतः एक्लै समय बिताउन आफूलाई तयार गर्न निकै समय लाग्यो । बिरामी पर्नुअघि म पश्चिम कुना सडकको भिडभाडमा हिँड्न मन पराउँथेँ । बैठक, भेला र हामीलाई मनपर्ने सार्वजनिक कक्षमा पनि म हिँडेर पुगिरहेकी हुन्थेँ । त्यहाँ हुने घरायसी कुराकानीले मलाई उतिबेलाका जीवनका बहहरू पनि चटक्क भुल्न मद्दत पुग्थ्यो । धन्न मसँगै अझै हप्ताको दुई पटक ‘द ट्रिव्युन’ को लागि लेख साफी गर्ने काम थियो । ती लेख साफी गर्दा म विश्वका घटनाबारे जानकार हुन्थेँ ।
सन् १८५७ को मध्यमा अमेरिकी मजदुरहरूले ठुलो व्यापार सङ्कट सामना गर्नुप¥यो । ‘द ट्रिव्युन’ पत्रिकाको कारोबार पनि ओरालो लाग्यो । हप्ताको दुई वटा लेखको भुक्तानी दिन पनि उनीहरूलाई धौ धौ भयो । परिणामतः हाम्रो बजेटमा अर्को ठुलो खड्गो प¥यो । सौभाग्यवश त्यत्तिबेला दाना विश्वकोश प्रकाशनको तयारीमा थिए । उनले कार्ललाई सैनिक र आर्थिक विषयमा लेख लेख्न आग्रह गरेका थिए । तर, यदाकदा मात्र लेख लेख्ने काम पाउने र हुर्केका बालबच्चा र घरका बढ्दो खर्चको अवस्थामा त्यो समय हाम्रो लागि पक्कै सुखद थिएन । हाम्रो लागि सबै समय नै प्रतिकूल थियो । हामीलाई स–साना समस्या र हिसाबकिताबले पनि अत्याउने गर्छ । हामीले हाम्रो खर्चमा जतिसुकै कटौती गरे पनि हाम्रा सबै आवश्यकता पूरा हुँदैनथ्यो । हरेक दिन र हरेक वर्ष हाम्रो ऋण चुलिरहन्थ्यो ।
जुलाई ६ मा हाम्रो सातौँ सन्तान जन्मियो । तर, उसले धेरै समय श्वास फेर्न पाएन । ऊ पनि आफ्ना दाजु र दिदीकै बाटो पछ्यायो ।
सन् १८६० को वसन्तमा एङ्गेल्सका बुबाको निधन भयो । त्यसपछि उनी अलि सजिलो गरी हिँड्न सक्ने भएँ । यद्यपि, सन् १८६४ सम्मको लागि इर्मेनसँग भएको एउटा अनुचित करारमा उनी बाँधिएका थिए । सन् १८६४ सम्मको लागि एउटा कम्पनीको व्यवस्थापनको एङ्गेल्स इर्मेनका साझेदार थिए ।
सन् १८६० को अगस्टमा मैले केटाकेटीसँगै ह्यास्टिङ्समा दुई साता बिताएँ । फर्केर मैले कार्लले भोग्ट र उनका साझेदारहरूविरुद्ध लेखेको पुस्तक साफी गरेँ । त्यो पुस्तक लण्डनमा छाप्न पठाइयो । धेरै झेल्टानपछि पनि सन् १८६० को डिसेम्बर महिनाको अन्त्यसम्म पनि त्यो किताब छापिएको थिएन । त्यत्तिबेला म पिलोको कारण थला परेको थिएँ । कार्लको ‘हेर भोग्ट’ नामको पुस्तक साफी गर्न म बल्लबल्ल एउटा खतरनाक रोगबाट तङ्ग्रिएको थिएँ । त्यो पुस्तक साफी गर्दा मेरो आँखा निकै कमजोर भइसकेको थियो । त्यो समय निकै निराशाजनक समय थियो । मेरा तीन जना केटाकेटीलाई हेर्ने, स्याहार गर्ने जिम्मेवारी लिब्नेख्तको काँधमा थियो ।
त्यही बेला अर्को वसन्तयाममा चर्किने अमेरिकी गृहयुद्धको पहिलो विस्फोटन देखाप¥यो । सङ्कीर्ण, पुरानो शैलीको झिनामसिना सङ्घर्ष हुने गरेको युरोपले अमेरिकाको आकर्षित गर्न छोडेको थियो । ‘द ट्रिब्युन’ ले कार्ललाई आर्थिक कारणले सबै संवाददातालाई कामबाट बिदा गर्न बाध्य भएको र उनीसँग पनि सहकार्य तत्कालको लागि आवश्यक नभएको सूचित ग¥यो । त्यो सूचनाको प्रभाव भने हामीमाथि चट्याङ खसेसरह भयो किनभने अब हामीसँग भएका सबै आर्थिक स्रोत बन्द भयो । अर्को कुनै पनि विकल्पको भरपर्ने हाम्रा सबै प्रयत्न निरर्थक भइसकेको थियो । सबभन्दा गा¥हो कुरा त हाम्री जेठी छोरीहरू युवतीवयको सुनौलो उमेरमा प्रवेश गर्दै गर्दा हामी पूर्णतः निस्सहाय भएका थियौँ । त्यसकारण, हामीले फेरि पनि उही दुःखका दिन सामना गर्नुप¥यो । पुरानै समस्या र अभावका दिन फेरि हामीलाई झम्टन आए । फरक के थियो भने बच्चाहरू चार–पाँच वर्षको हुँदा उनीहरूलाई यस्ता दुःख र अभावको अनुभव हुन्थेन । दस वर्षसम्म उनीहरूलाई यस्ता कुराको बोध हुन्थेन । तर, अब उनीहरू पन्ध्र–सो¥ह वर्षका भइसकेका थिए । एउटा जर्मन उखान छ– साना बच्चा साना समस्या, ठुला बच्चा ठुला समस्या । हाम्रो सन्दर्भमा यो उखान ठ्याक्कै मिल्यो ।
सन् १८६० को गर्मीयाममा दुई महिनाको लागि जोन इकारस (कम्युनिस्ट लिगका सदस्य) हामीसँग बसे । उनी पनि ज्यादै गएगुज्रेको अवस्थामा थिए । सन् १८६१ मा कार्ल जर्मनी गए किनभने हामीलाई ठुलो आर्थिक खाँचो परेको थियो । ‘सौहार्द’ भनिने पर्सियाका राजा क्रिसमसमा मरे । त्यसपछि ‘खाइलाग्दो’ विल्हेम सत्तारुढ भए । (सन् १८६१ मा फ्रेडरिक विलिय चौथो पर्सियाको निधन भयो र उनको ठाउँ विलियम प्रथमले लिए ।) सरकारले आममाफीको घोषणा ग¥यो । कार्ल जर्मनीको नयाँ परिस्थिति बुझ्न र हेर्न त्यहाँको यात्रामा निस्के । बर्लिनमा उनी लासालको घरमा बसे । त्यहाँ उनले धेरै सङ्ख्यामा लासालका समर्थकहरूसँग भेटे । त्यहाँबाट उनी आफ्ना काका लिओन फिलिपलाई भेट्न होल्यान्ड गए । कार्ललाई उनले निव्र्याजी केही रकम दिएर सदाशयता देखाए । जेनीचेनको सातौँ जन्म दिन मनाउन कार्ल ज्याक फिलिप बोमेलसँगै घर आइपुगे । ऋणपातले हाम्रो अर्थतन्त्रलाई केही सहज बनायो । बाटोभरि अझै पनि चट्टान र बालुवाका ढिस्का भए पनि हामीले केही राहतको समय बितायौँ । चक्रव्युहहरू छल्दै छल्दै हामी अघि बढिरह्यौँ ।
मेरा ठुला छोरीहरूले सन् १८६० को गर्मीयाममा विद्यालय छोडे । अनि भर्ना नभई पनि कलेजमा केही पाठ मात्र पढाउने ठाउँमा सामेल भए । उनीहरूले एम. डे कोम र सिग्नर मागोइनीसँग फ्रान्सेली र इटालियाली भाषा सिके । सन् १८६२ सम्म जेनीले शिक्षक ओल्डफिल्डले कला सिकेकी थिइन् । ग्रीष्ममा छोरीहरूले हेनरी व्यानरसँग गायन सिके ।…
सन् १८६३ को वसन्तयामभरि जेनीको स्वास्थ्य ज्यादै खराब भयो । उनी लगातार चिकित्सकको निगरानीमा बसिन् । कार्ल पनि निकै बिरामी थिए । एङ्गेल्सलाई भेटेर फर्किँदा नै उनलाई सञ्चो थिएन । सन् १८५० देखि नै कार्ल एङ्गेल्सलाई भेट्न हरेक वर्ष जाने गर्थे । हामीले अर्को तीन साता ह्यास्टिङ्सको समुद्री किनारामा बितायौँ । एच. ब्यानर हामीसँग बाह« दिन बसेका थिए । कार्ल हामीलाई खोज्दै त्यहाँ पुगे । तर, उनको अवस्था निकै अस्वस्थ देखिन्थ्यो । त्यो वर्षको नोभेम्बरसम्म नै उनी लगातार बिरामी परे । अन्ततः उनको त्यो रोग छालासम्बन्धी कार्बुकल रोग भएको पहिचान भयो । नोभेम्बर १० मा त्यो हेर्दै डरलाग्दो पिलोको शल्यक्रिया गरियो । त्यसपछि पनि उनी लामो समय खतरामुक्त भएनन् । चार हप्ता उनलाई त्यसले बसिखान दिएन । निकै गाह«ो शारीरिक कष्ट झेले कार्लले । शारीरिकसँग उनीमाथि गहु«ँगो मानसिक कष्ट त छँदै थियो । … चिकित्सकले हावापानी फरक भए कार्ललाई सजिलो हुने सल्लाह दिए । चिकित्सकको सल्लाहमा जाडोयामको मध्यमा जर्मनी जान हिँडे । उनी राम्ररी तङ्ग्रिसकेका थिएनन् । उनी त्रिभसमा आफ्नी आमाको विरासत हेर्ने हाम्रो गहिरो चाहना पनि त्यो भ्रमणसँग जोडिएको थियो । त्यहाँ उनी ज्वाइँ कोनराडी र बहिनी इमिलीसँग केही समय बसे । अनि त्यहाँबाट आफ्नी फुपूलाई भेट्न उनी फ्रान्कफोर्ट गए । अनि बोमेलमा गएर काकालाई भेटे । उनलाई काका र नेटचेनले हार्दिकपूर्वक हेरविचार गरे । त्यहाँ कार्लको पुरानो रोग फेरि बल्झियो । उनलाई चिकित्सकीय उपचार र स्याहारको खाँचो परेको थियो । उनको पुरानो रोग निको भइसकेको थिएन । बोमेन पुग्ने बित्तिकै त्यसले उनलाई दुःख दियो । त्यसकारण, उनी क्रिसमसदेखि फेब्रुअरी १९ सम्म होल्यान्डमै बस्न बाध्य भए ।
एक्लो र विरहले भरिएको जाडोयाम ज्यादै टीठलाग्दो हुन्छ । कार्लले आफ्नो भागको पुख्र्यौली सम्पत्ति बेचेर जम्मा गरी ल्याएको पैसाले हामीले तिर्नुपर्ने ऋण ति¥यौँ । हामीले सौभाग्यवश स्वास्थ्यलाभको लागि उपयुक्त निकै आरामदायी र तुलनात्मकरूपमा सहज निकै आकर्षक डेरा भेटायौँ । सन् १८६४ को इस्टरमा ठुलठुला हावा चल्ने कोठा भएको सुन्दर घमाइलो डेरामा स¥यौँ ।
सन् १८६४ को मे २ का दिन हामीले एङ्गेल्सको पत्र पायौँ । त्यसमा हाम्रा पुराना मित्र लुपुस निकै बिरामी भएको खबर लेखिएको थियो । कार्ल लुपुसलाई भेट्न जान हतारिए । लुपुसले आफ्ना अनन्य मित्रलाई चिनिहाले । मे ९ का दिन लुपुसले प्राण त्यागे । लुपुसले आफ्नो शेष पछि कार्ल, मलाई र हाम्रा सन्तानको नाममा आफ्नो सम्पत्तिको हकदारको बकस पत्र छोडेका थिए । कडा मिहिनेत र प्रयासले सरल जीवन बाँच्ने साधारण लुपुसले एक हजार पाउन्ड जम्मा पारेका रहेछन् । उनी आफ्नो जीवनको फल भोग्न पनि नपाई बिते । उनको सहायताले हामीलाई ठुलो राहत मिल्यो र एक वर्ष हामी चिन्तामुक्त भयौँ । कार्लको स्वास्थ्यलाई ध्यानमा राखी हामी समुद्र किनारामा बस्न थाल्यौँ । कार्लको स्वास्थ्यको अझै कुनै ठेगान थिएन । जेनी, लौरा र टुसीसँगै हामी राम्सगेट डेरा स¥यौँ ।
त्यो वर्ष कार्लले अर्थशास्त्रसम्बन्धी आफ्नो पुस्तक ‘पुँजी’ प्रकाशन गर्न एक जना प्रकाशक भेटाए । ह्यामवर्गका मेस्नरले उचित ढङ्गमा प्रकाशित गर्ने सहमति जनाए । कार्ल हिजोआज त्यही पुस्तक लेखनमा दिनरात लागिपरेका छन् ।
‘माक्र्स एन्ड एङ्गेल्स थ्रु द आइज अफ दियर कन्टेम्पोरारिज’ बाट अनुदित

नेपाली अनुवादः नीरज

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *