भर्खरै :

भासिँदै छ समुद्र तटीय सहरहरू

भासिँदै छ समुद्र तटीय सहरहरू

अमेरिकाको आर्थिक राजधानी भनेर चिनिने न्युयोर्कमा ठडिएका गगनचुम्बी भवनहरूको वजनका कारण सहरमुनिको जमिन भासिन थालेको छ । तर, यस्तो समस्या भोगिरहेको तटीय सहर यो मात्रै होइन । कङ्क्रिटको जङ्गल भेट्न समुद्र सतहसमेत बढिरहेका बेला यस्ता सहरहरू बचाउन सकिन्छ ?
सन् १८८९ को सेप्टेम्बर २७ मा स्टिलको अस्थिपञ्जरबाट बनेको एक ११ तले भवनलाई कामदारहरूले अन्तिम रूप दिएका थिए । त्यही भवनलाई न्युयोर्कको पहिलो गगनचुम्बी भवन ठानिन्छ ।
लामो समयअघि नै त्यो भवन भत्काइसकिएको छ । ब्रोडवेमा रहेको त्यो भवन निर्माणसँगै न्युयोर्कमा अग्ला भवनहरूको निर्माण सुरु भयो र त्यो क्रम आजसम्म जारी छ ।
कुल ७७७ वर्ग किलोमिटर क्षेत्रमा उभिएको न्युयोर्क सहरमुनिको जमिन ७६ करोड टन कङ्क्रिट, सिसा र स्टिलले थिचिएको अमेरिकाको जीओलोजिकल सर्भे यूएसजीएसका अनुसन्धाताहरूको आकलन छ ।
यो अनुमानमा भवनभित्र रहेका सामानहरूको वजन समेटिएको छैन । यसमा सहरलाई जोडेको यातायात सञ्जालको वजन र त्यहाँ बस्ने ८५ लाख मानिसको तौल पनि समेटिएको छैन ।
सबै वजनको असाधारण प्रभाव यो सहर बनेको जमिनमा परिरहेको छ । यसै महिना प्रकाशित अध्ययनअनुसार यहाँको जमिन हरेक वर्ष १ देखि २ मिलिमिटर भासिइरहेको छ । भासिनुको आंशिक कारण सहरमा बनेका घरहरूको दबाब पनि हो ।

समस्या अन्यत्र पनि
यहाँको जमिन मात्रै भासिइरहेको छैन समुद्र सतह पनि बढिरहेको छ । तटीय सहरसँग जोडिएको समुद्रको सतह पनि प्रतिवर्ष ३ देखि ४ मिलिमिटर बढिरहेको छ ।
जमिन भासिने र समुद्र सतह बढ्ने दर भयानक नलागे पनि केही वर्षपछि यसले तटीय सहरमा उल्लेख्य समस्या थप्दै जान्छ ।
पछिल्लो हिम युगको अन्त्यसँगै हिउँले ढाकिएको ठाउँबाट सहरमा रूपान्तरित भएसँगै न्युयोर्क भासिँदै गइरहेको छ ।
यूएसजीएसका अनुसन्धाता टम पार्सन्सका अनुसार हिउँको पत्रको वजन हटेपछि न्युयोर्कका कतिपय क्षेत्रमा समुन्द्री तट फैलिए पनि यहाँ बनाइएका ठूलाठूला भवनहरूको तौलका कारण यहाँको जमिन भासिने क्रम खराब हुँदै गएको छ । यो न्युयोर्कको मात्रै नभएर विश्वव्यापी समस्या रहेको पार्सन्स बताउँछन् ।
उनी मानिसहरू बसाइँसराइ गरेर आउने क्रमका कारण बढ्दो जनसङ्ख्या भएका र त्यससँगै सम्बन्ध रहेको बढ्दो सहरीकरणसँगै बढ्दो समुद्र सतहको सामना गरिरहेका अमेरिका र अन्य सहरहरूमा पनि यस्तो समस्या रहेको बताउँछन् ।

तटीय सहरहरू भासिनुका कारण
तटीय सहरहरू भासिँदै जानुमा धेरै कारणहरू हुनसक्छन् । तर, मानव सिर्जित पूर्वाधारको वजनले यसमा सबैभन्दा ठूलो भूमिका खेलिरहेको छ । पूर्वाधारको मात्रा निकै ठूलो छ ।
सन् २०२० मा मानव निर्मित संरचनाहरूको वजनले जनावर, बोटबिरुवा र मानिसजस्ता प्राकृतिक वस्तुहरूको वजनलाई उछिनेको छ ।
करोडौँ मानिसहरू बसोबास गरिरहेका यी सहरहरूलाई समुद्रमा भासिनबाट रोक्न केही गर्न सकिएला त ? त्यसो त इन्डोनेशियाको राजधानी जाकार्ता विश्वका अन्य सहरहरूभन्दा छिटो भासिँदै गएको छ ।
“कतिपय सहरहरू हामीले एक वर्षमै केही सेन्टिमिटरसम्म भासिएको देखिरहेका छौँ,” रोड आइल्यान्ड विश्वविद्यालयस्थित समुद्र विज्ञानका प्राध्यापक स्टिभन डि’होन्ट भन्छन् । “यो सहर समुद्र सतह बढ्ने दरभन्दा पनि तीव्रगतिमा भासिँदै गएको छ ।”
न्युयोर्कसम्बन्धी अध्ययनका सहलेखक डोन्ट सन् २०२२ मा भू उपग्रह तस्बिरको माध्यमबाट विश्वका ९९ वटा तटीय सहरहरूको भासिने दर अध्ययनमा पनि सहभागी थिए ।
“भासिने क्रम यही दरमा जारी रहने हो भने यी सहरहरूमा आकलन गरिएभन्दा धेरै चाँडो ठूला बाढीका घटनाहरूले चुनौती दिनेछन्,” त्यही विश्वविद्यालयका अन्य दुई जना सहकर्मीसँग डि’होन्टले लेखेको विवरणमा उल्लेख छ ।

दक्षिण पूर्वी एसियामा सबैभन्दा तीव्र
सबैभन्दा तीव्र दरमा जमिन भासिने क्षेत्रमा दक्षिणपूर्वी एसिया उल्लेख गरिएको छ ।
जाकार्ताको केही क्षेत्र २ देखि ५ सेन्टिमिटर प्रतिवर्षका दरले भासिँदै गएको छ । इन्डोनेशियाले यो सहरबाट राजधानी हटाएर १२४० किलोमिटर टाढाको अर्को सहरलाई राजधानी बनाउन लागेको छ ।
फिलिपिन्सको मनिला, बङ्गलादेशको चिटागोङ, पाकिस्तानको कराँची र चीनको तियान्जिन पनि तीव्ररूपमा भासिँदै गरेका तटीय सहरहरू हुन् । यी सहरहरूमा पूर्वाधारहरूमा क्षति र बारम्बार बाढीजस्ता समस्या अहिले नै देखापरेका छन् । तर, तटीय क्षेत्रमा नरहेको मेक्सिको सहर पनि आश्चर्यजनक गतिमा वर्षको ५० सेन्टिमिटरसम्मका दरले भासिँदै गएको छ ।
स्पेनले आफ्नो उपनिवेश बनाएको समयमा यो सहरको गर्भमा रहेको पानीको तह नष्ट गर्ने प्रयास गरेका कारण यो सहर भासिँदै गएको ठानिन्छ ।
अनुसन्धानहरूले यो सहर भासिने क्रम रोकिन अर्को १५० वर्ष लाग्ने देखाएका छन् । त्यस बेलासम्म यो सहर थप ३० मिटरसम्म भासिनसक्ने आकलन भएका छन् ।
डि’होन्ट र उनका सहकर्मीहरूको समूहले गरेको अध्ययनको केन्द्रमा तटीय सहरहरू छन् ।
उदाहरणको लागि इन्डोनेशियाको सेमाराङको ठूलो क्षेत्र प्रतिवर्ष २ देखि ३ सेन्टिमिटरका दरले भासिँदै गएको छ । अमेरिकाको फ्लोरिडास्थित टाम्पा बे क्षेत्र प्रतिवर्ष ६ मिलिमिटरका दरले भासिँदै गएको छ ।
डि’होन्टका सहकर्मी म्याट वेइ कतिपय स्तरको भासिने क्रम प्राकृतिकरूपमा पनि हुने बताउँछन् । तर, जमिनमा दबाब पुग्ने गरी ठूला भवन बनाउने, जमिनमुनिको पानी दोहन गर्ने र तेल र ग्यासको उत्खनन गर्नेजस्ता मानिसका गतिविधिले यसलाई बढावा दिएको उनी बताउँछन् ।
उनका अनुसार यस्ता गतिविधिको योगदान स्थानअनुसार फरक फरक हुनसक्छ । तर, यो समस्याको समाधान खोजी गर्नु अपरिहार्य भएको उनको मत छ ।
बढ्दो समुद्र सतहको असर सतहमा पानी आउनुअघि नै सुरु हुने डि’होन्ट बताउँछन् ।
समुद्री आँधीले सहरहरूमा अझै बढी मात्रामा पानी ल्याएर चुनौती थप हुने उनको बुझाइ छ ।

भासिने समस्याको समाधान छ ?
डि’होन्टका अनुसार जमिन भासिनुको कारण अनुसार हरेक ठाउँका लागि समाधान फरक फरक हुनसक्छ । उनका अनुसार सबैभन्दा प्रस्ट समाधान भनेको निर्माण कार्य रोक्नु नै हो । पार्सन्सका अनुसार भवन निर्माणपछि त्यहाँमुनिको जमिन स्थिर हुनका लागि एक देखि दुई वर्षसम्म लाग्छ ।
न्युयोर्क सहरमुनिको अधिकांश भागमा चट्टानी सतह रहे पनि त्यसले निश्चित हदसम्म मात्रै लचकता देखाउन सक्छ । ती चट्टानहरूमा आएको दरार यो सहर भासिनुको कारण हुनसक्ने अनुसन्धाताहरूको ठम्याइ छ ।
तर, माटोले भरिएको जमिन र जमिनमा भरिएका कृत्रिम सामग्रीका कारण तल्लो म्यानहटन क्षेत्रमा सबैभन्दा धेरै भासिने समस्या आउन सक्ने पार्सन्स र उनका सहकर्मी बताउँछन् । उनका अनुसार अग्ला भवनहरू चट्टानी सतह भएका ठाउँमा निर्माण गर्दा पनि भासिने क्रम कम हुनसक्छ ।
अर्को समाधान भनेको कम्तीमा केही ठाउँहरूमा भूमिगत पानीको दोहन कम गर्ने हो र जमिनको गर्भमा रहेको चट्टानको उत्खनन कम गर्ने हो ।
पार्सन्स र उनका सहकर्मीहरू बढ्दो सहरीकरणले जमिनमुनिको पानीको दोहन बढ्ने र जनसङ्ख्याको चाप व्यवस्थापनका लागि निर्माणका गतिविधिहरू पनि बढ्ने बताउँछन् ।
सहरमा दिगो पानी व्यवस्थापनको उपाय खोजी गर्न उनीहरूको सुझाव छ ।
सबैभन्दा धेरै प्रयोग भएको उपाय भनेको बाढी प्रतिरक्षा संरचना र समुद्र किनारमा पर्खाल बनाउने हो । तर, यो काम अधुरो र भद्रगोल छ ।
टोक्यो सहरले जमिन भासिने समस्यासँग जुध्न दुईवटा तरिका अपनाएको छ ।
एउटा पानी छेक्नका लागि भौतिक संरचनाहरू बनाएको छ र पूर्वसूचना प्रणाली बलियो बनाउँदै मानिसहरूलाई उद्धारका पूर्वाभ्यासहरू पनि गरिरहन्छ ।
कतिपय स्थानमा मानिसहरू आफैँ सचेत भएर जोगिने उपाय अपनाएका छन् ।
घर बनाउँदा जमिनको भाग माथि उठाउने, घरमा भएका सामान सार्ने र घरहरूबिच पुल बनाउनेजस्ता पूर्व तयारीका काम मनिला, जाकार्ता र चि मिन सहरमा भएका छन् ।
अरू उपायहरूमा जमिनमुनि ठूला ट्याङ्की बनाउने पनि हो । यसले आँधीसँग आउने पानीलाई नियन्त्रित गर्न सहयोग गर्छ ।
समुद्रमा पानीको सतह बढ्दै जाँदा हामीले अझै रचनात्मक समाधानहरू देख्न सक्छौँ ।
संयुक्त राष्ट्रसङ्घले सन् २०१९ मा समुद्रमाथि तैरिरहेका सहरहरूबारे गोलमेच बैठक आयोजना गरेको थियो ।
हरितगृह ग्यास उत्सर्जन कम गरेर जलवायु परिवर्तनको असर रोक्ने पनि अर्को उपाय हो । जसले हिउँ पग्लिएर समुद्री सतह बढ्ने क्रम कम गर्न सहयोग पुग्छ ।
“मलाई लाग्छ कि सरकारहरूले यसबारे चासो दिनुपर्छ,” डि’होन्ट भन्छन् ।
यदि उनीहरू केही दशकमै पूर्वाधार र आर्थिक क्षमतामा ठूलो क्षति बेहोर्नबाट जोगिन चाहन्छन् भने उनीहरूले अहिल्यैबाट योजना बनाउन सुरु गर्नुपर्छ ।
– बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *