भर्खरै :

ख्वप कलेज वातावरण विज्ञानका विद्यार्थी के भन्छन् ?

ख्वप कलेज वातावरण विज्ञानका विद्यार्थी के भन्छन् ?

सन्दर्भ : विश्व वातावरण दिवस

जलवायु परिवर्तन न्यूनीकरण – नवीकरणीय ऊर्जाको प्रयोग
– रचना बस्नेत

जलवायु परिवर्तन भनेको लामो अवधिसम्म पृथ्वीको मौसम तथा तापक्रमको ढाँचामा परिवर्तन आउनु हो । जलवायु परिवर्तन आजको विश्वको मुख्य समस्यामा पर्छ । यसले पृथ्वीका बोटबिरुवा, मानव मात्र नभएर वायुमण्डलाई समेत असर पु¥याएको छ । जलवायु परिवर्तन वातावरण विनासको एक मुख्य कारण भएको छ । वातावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक तथा जैविकलगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभाव पारेको छ । हरितगृह ग्यासको अत्यधिक वृद्धिले पृथ्वीको सरदर तापक्रम वृद्धि भएको छ । हिमशृङ्खलाहरूको हिउँ पग्लिरहेको छ । बाढी तथा पहिरोको समस्या बढेको छ ।
नेपाल जलवायु परिवर्तनको जोखिमको चौथो श्रेणीमा पर्छ, जसका असरहरू प्रत्यक्ष वा अप्रत्यक्षरूपमा देखा परिरहेका छन् । अनियमित वर्षा, बढ्दो तापक्रम, पहाडी क्षेत्रमा पनि लामखुट्टे, हिमशृङ्खला पग्लँदै जानु, उच्च तापमान सहन नसक्ने जनावर तथा बेटबिरुवाको लोप हुनु, ताल तथा सिमसार क्षेत्रमा पानीको मात्रा घट्दै जानुजस्ता दूष्प्रभाव जलवायु परिवर्तनकै परिणाम हुन् । वनजङ्गल फँडानी, अव्यवस्थित विकास निर्माण, उद्योग कलकारखानाको प्रदूषण, मिथेन ग्यास, जैविक इन्धनबाट उत्पादन हुने कार्बन मोनोअक्साइड, जङ्गल आगलागीजस्ता क्रियाकलापबाट जलवायु परिवर्तन भइरहेको छ ।


विकासका कार्य अघि बढाउँदा वातावरणलाई प्राथमिकता दिएर, वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र विकासको काम अघि बढाउनु पर्छ । विकासका कार्य गर्दा वातावरण संरक्षणको पक्षमा नीतिनियमको बन्दोबस्त गर्दै कार्यान्वयन गर्नु जरुरी छ । सर्वसाधारण जनतालाई जलवायु परिवर्तनको पक्षमा सुसूचित गर्ने तथा क्षमता अभिवृद्धिका लागि जनचेतनामूलक तालिम तथा सशक्तीकरण कार्यमा स्थानीय सरकार, केन्द्रीय सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरू सक्रिय हुनु आवश्यक छ । जलवायु परिवर्तन रोक्ने उपयुक्त प्रविधिको विकासमा ध्यानाकर्षणको साथै जलवायु मैत्री प्रविधिको विकासमा ध्यान दिनुपर्छ । नवीकरणीय ऊर्जा स्रोतको प्रयोगमा विश्वको ध्यानाकर्षण हुन जरुरी छ । सवारी साधनमा प्रयोग हुने जैविक इन्धनबाट प्रशस्त कार्बन ऊत्सर्जन हुने भएकोले, वैकल्पिक ऊर्जा स्रोतजस्तो विद्युतीय सवारी साधन प्रयोगमा जोड दिनु आवश्यक छ । जलवायु परिवर्तनको प्रभावबाट हुने जोखिमको नियमित अनुगमन गर्दै प्राप्त नतिजालाई नीति, रणनीति तथा कार्यक्रममार्फत सम्बोधन गर्नु आवश्यक छ । मानवका आधारभूत आवश्यकताहरू (गाँस, बास, कपास, स्वच्छ पानी र हावा) लाई नै तहसनहस पारेर गरिएको विकासको कुनै औचित्य हुँदैन ।

पानी पुनःभरणको उपाय गरौँ
– श्रेया मानन्धर

काठमाडौँ उपत्यकामा भूमिगत पानी (Ground Water) एउटा अमूल्य जलस्रोतको रूपमा लिन सकिन्छ । आधुनिकीकरण र सहरीकरणका कारणले सहरी क्षेत्र खास गरेर काठमाडौँ उपत्यकाको भूमिगत पानीको सतह घट्दो छ र यसको दुष्प्रभाव देखिन थालको छ ।
काठमाडौँमा प्रतिदिन २८ करोड लिटर पानीको माग रहेको छ जसमा केवल ८ करोड लिटर पानीको माग पूर्ति हुन्छ । भूमिगत पानी एक अमूल्य वैकल्पिक स्रोतको रूपमा लिन सकिन्छ । विकाससँगै विनास भनेझैँ पिच सडक निर्माण र कङ्क्रिट सहरको निर्माणका कारण भूमिगत पानी पुनःभरण हुनसक्दैन । जसले जमिनलाई सुख्खा बनाउँछ ।


भूमिगत पानी पुनःभरण एउटा महत्वपूर्ण विषय हो । काठमाडौँ उपत्यकाका पुराना बस्तीमा इँटा छापिएका बाटा पाइन्थे, सिमेन्टको प्रयोग कम हुन्थ्यो । वर्षाको पानी जमिनमुनि छिर्न सक्थ्यो । आजको सहरी क्षेत्रको सिमेन्ट वा पिच गरिएका सडक विस्तारको कारण पानी जमिनभित्र छिर्ने सम्भावना कम भएको छ । यसले गर्दा भूमिगत पानी पुनःभरण (ग्राउन्ड वाटर रिस्टोरेसन) को प्रकृया अवरुद्ध भएको छ । वर्षा यामको पानी जमिनमा अवशोषित हुन नपाउँदा भूमिगत पानीको सतह घट्न गएको हो । परिणामस्वरूप बाढीको जोखिम बढेको छ । सहरी क्षेत्रमा डुबानको समस्या बढेको पाइन्छ ।
यस समस्याको न्यूनीकरणको लागि पानी सोस्ने (पोरस) सडक बनाउनु जरुरी छ । पानी पुनः भरणको निम्ति ठुलाठुला पोखरीहरूको निर्माण हुनु पर्दछ । अनि यन्त्रित सहरीकरणको विस्तारलाई रोक्नु पर्दछ । सडक किनारमा वनस्पति रोप्न सकिन्छ । सहरी क्षेत्रमा पनि ठाउँठाउँमा हरियो पार्कको निर्माण गर्नु जरुरी छ । ‘जे लिएको हो त्यो फिर्ता गर्नू’ भनेझैँ प्रकृतिको दोहनमात्र नगरी प्रकृतिको संरक्षण गर्नु पर्दछ ।

प्लास्टिक प्रदूषण रोक्ने उपाय
– श्रेना श्रेष्ठ

संयुक्त राष्ट्र सङ्घीय वातावरणीय कार्यक्रमको आह्वानमा हरेक वर्ष जून ५ मा विश्वभरि विश्व वातावरण दिवस मनाइन्छ । स्टकहोम सम्मेलनको पहिलो दिन मानवीय वातावरणमा भएको अन्तरक्रिया तथा बहसबमोजिम सन् १९७२ मा स्थापित संयुक्त राष्ट्र सङ्घीय साधारणसभामा विश्व वातावरण दिवस मनाउने निर्णय भएको थियो ।
यो वर्षको वातावरण दिवसको मूल नारा ‘प्लास्टिक प्रदूषण घटाउनु’ हो । बेलायती नागरिक अलेक्जेन्डर पार्कसले प्लास्टिकको आविष्कार गरेका हुन् । आज भने प्लास्टिकबिनाको मानव जीवन अधुरो हुन्छ । किनकि, बच्चा जन्मिदादेखि जीवन पर्यन्त प्लास्टिकबाट बनेका वस्तुको प्रयोग हुन्छ । हामीले दिनहुँ प्रयोग गर्ने सामान पनि धेरैजसो प्लास्टिकले नै बनेका हुन्छन् । यसकारण, प्लास्टिक पूरै प्रतिबन्धित गर्दैमा यसबाट हुने प्रदूषणको हल हुँदैन ।


एक पटकमात्र प्रयोग हुने प्लास्टिक (Single Used Plastic) को प्रयोगमा प्रतिबन्ध लगाउनु आवश्यक छ । साथसाथै, प्रयोग गरिएको प्लास्टिकको रिसाइकल गरेर पुनः प्रयोग गरेमा प्लस्टिकको प्रदूषणमा नियन्त्रण हुनेछ । दक्षिण कोरिया र जर्मनी विश्वमा सबैभन्दा बढी प्लास्टिक रिसाइक्लिङ गरिने देश हुन् । सन् २०१८ मा दक्षिण कोरियाले त्यहाँ उत्पादन हुने प्लास्टिक फोहोरको ८० प्रतिशतभन्दा बढी पुनः प्रयोग ग¥यो । इसिमोड (ICIMOD) को २०१८ को एक अध्ययनअनुसार नेपालमा कुल उत्पादनमा हुने प्लास्टिक फोहोरको एकतिहाइ मात्रै रिसाइक्लिङको लागि उपयुक्त हुन्छ । तर, रिसाइक्लिङको काम अत्यन्त न्यूनमात्रामा मात्र हुन्छ । प्लास्टिक प्रदूषण हटाउन प्रयोगमा न्यूनीकरण नै सबभन्दा राम्रो उपाय हो । त्यसको निम्ति सबै नागरिक उत्तिकै जिम्मेवार हुनुपर्छ । प्लास्टिकको प्रदूषणबारे जनचेतना अभिवृद्धि हुनुपर्दछ । यसको निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *