नेपाल–तिब्बत बाढी : के भयो, किन भयो र को हराइरहेका छन् ?
- भाद्र १३, २०८३
भक्तपुर । त्रिविका क्याम्पसहरूमा नियुक्ति विवादका घटनाहरू नयाँ होइनन्, तर भक्तपुर क्याम्पसमा नयाँ क्याम्पस प्रमुख नियुक्ति विवाद भने जेलिँदै गएको छ ।
भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेलले गत चैत ३० गते अनिवार्य अवकाश पाएका थिए । तत्कालीन क्याम्पस प्रमुखको अनिवार्य अवकाशपश्चात् त्रिविले तत्काल नयाँ क्याम्पस प्रमुख नियुक्त गर्न सकेन । त्यसपछि त्रिविले वरिष्ठताको आधारमा भन्दै सहायक क्याम्पस प्रमुख सुदर्शना शाक्यलाई निमित्त क्याम्पस प्रमुखमा वैशाख ३ गते नियुक्त गरेको थियो ।
त्रिवि कार्यकारी परिषद्ले सहप्राध्यापक शाक्यलाई निमित्त क्याम्पस प्रमुखको हैसियतमा जिम्मेवारी दिएको करिब डेढ महिनामा जेठ १६ गते अर्की सहप्राध्यापक कविता लुइँटेल भट्टराईलाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गर्यो । सोहीअनुसार गत आइतबार उनी नियुक्ति पत्र लिएर क्याम्पस पुगिन् ।
उनी अकस्मात् प्रमुख बनेर आइपुगेको सुइँको समेत पाइनन् निमित्त क्याम्पस प्रमुख सुदर्शना शाक्यले । उनलाई त्यस बेलासम्म न त्रिवि कार्यकारी परिषद्ले जानकारी दियो, न त क्याम्पस प्रशासनले नै । निमित्त क्याम्पस प्रमुख शाक्य काम गरिरहेकै बेला नवनियुक्त क्याम्पस प्रमुख सह–प्राध्यापक कविता लुइँटेल भट्टराई ठूलो समूहमा क्याम्पस पुगेकी थिइन् ।
निमित्त क्याम्पस प्रमुख शाक्य भन्छिन्, “उहाँहरू ठूलो समूहमा आउनुभयो, त्यसपछि क्याम्पस प्रमुखको नियुक्ति पत्र टेबलमा राखेर खाडामाला, अबिर लगाउने काम हुँदै थियो । मैले बुझिहालेँ, केही नभनी मेरो आफ्ना सामानहरू समेटेँ, क्याम्पसका कागजातहरू प्रशासन प्रमुखलाई बुझाएर निस्केँ ।”
शाक्यको गुनासो छ– नयाँ क्याम्पस चिफ लुइँटेलले आफू नियुक्त भएको सूचनासम्म आफूलाई दिइनन् । कविता लुइँटेलको गुनासो छ– शाक्यले क्याम्पसका प्रशासनिक कागजातहरू आफूलाई हस्तान्तरण गर्नुको साटो प्रशासनलाई बुझाइन् । हेर्दाखेरि दुई प्राध्यापकहरूको टकरावजस्तो देखिए पनि यसको पृष्ठभूमिमा दलीय भागबन्डा कारक छ । त्रिविले नयाँ क्याम्पस प्रमुख नियुक्त गरेको लुइँटेल एमाले निकट मानिन्छिन्, निमित्त क्याम्पस प्रमुखको रूपमा कार्यभार सम्हाल्दै आएकी शाक्य काङ्ग्रेस निकट ।
ठीक यही पृष्ठभूमिमा सक्रिय भयो नेविसङ्घ । नेविसङ्घका कार्यकर्ताहरूले जेठ २२ मा नवनियुक्त क्याम्पस प्रमुख लुइँटेलको कुर्सी, नेमप्लेट लगेर नजिकैको रुखमा झुन्ड्याइदिए । वक्तव्य पनि टाँसिदिए रुखमै ।
उनीहरूले क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन र लेखाशाखामा ताला लगाएका छन् । प्राध्यापकहरूले हाजिर गर्ने दुई वटा ‘थम्प एटेन्डेन्स’ उनीहरूले गायब बनाएका छन् । नयाँ चिफ ल्याउने क्रममा निमित्त क्याम्पस प्रमुख शाक्यमाथि गरिएको व्यवहार ‘दुव्र्यवहार’ भएको उनीहरूले दाबी गरेका छन् ।
यस्तो क्रियाकलापबारे माफी माग्नुपर्ने भन्दै नेविसङ्घ एकाइले वक्तव्य निकालेको छ । वक्तव्यमा भनिएको छ, “क्याम्पसमा सिनियर प्राध्यापकहरू हुँदाहुँदै जुनियर व्यक्तिलाई क्याम्पस प्रमुख नियुक्त गरिएको छ । प्रक्रिया खारेज नगरेसम्म अनिश्चितकालसम्मको लागि नेविसङ्घले क्याम्पस प्रमुखको कक्ष र प्रशासनमा तालाबन्दी रहने जानकारी गराउँदछौँ । उक्त कार्यको विरोधमा हुने सम्पूर्ण क्षतिको जिम्मेवार स्वयं क्याम्पस प्रशासन हुनेछ ।”
क्याम्पसमा को पदाधिकारी आउँछ जान्छ भन्ने कुरा त्रिवि कार्यकारीसँग सम्बन्धित कुरा हो, विद्यार्थी सङ्गठनसँग होइन । उसो भए किन नेविसङ्घले क्याम्पस प्रमुखको कुर्सी र नेमप्लेट नै लगेर रुखमा झुन्ड्याउन पुगेको होला ? नेविसङ्घले यसबारे प्रस्ट जवाफ दिएन ।
एक प्राध्यापकका अनुसार निवर्तमान क्याम्पस प्रमुखमाथि गरेको व्यवहार आफैँमा सही नभए पनि अहिले विद्यार्थी सङ्गठनको नाममा भएका क्रियाकलाप झनै खेदपूर्ण छ । “निमित्त चिफलाई ससम्मान बिदाइ गर्न क्याम्पस चुकेको देखियो, तर यसको मतलब नयाँ प्रमुखलाई झन् अपमान गर्नुपर्छ भन्ने होइन,” ती प्राध्यापक भन्छन् ।
क्याम्पसका प्रशासन प्रमुख श्याम सुवेदी निमित्त क्याम्पस प्रमुख नियुक्त गरेको छोटो समयमा नै नयाँ क्याम्पस प्रमुख नियुक्त गरेर पठाउँदा समस्या उत्पन्न भएको बताउँछन् । उनी भन्छन्, “त्रिविले एक महिना २२ दिनमै क्याम्पस प्रमुख पठाउनु थियो भने किन निमित्त नियुक्त गर्नुपरेको ? यसमा त्रिवि चुकेको देखिन्छ ।”
कार्यकारी परिषद्को बैठकले नियुक्ति गरिएको भन्ने पत्र पाएपछि क्याम्पस प्रशासनले त्रिविको निर्णय कार्यान्वयन गरेको उनले बताए ।
सहायक क्याम्पस प्रमुख लक्ष्मीसुन्दर लवजु त्रिविले निमित्त प्रमुखमाथि गरेको व्यवहार गलत भएको बताउँछन् । उनी भन्छन्, “१६ गतेको कार्यकारी बैठकले निर्णय गर्ने तर २१ गतेसम्म पनि निमित्तलाई जानकारी नदिनु भनेको निमित्तमाथि भएको अन्याय नै हो ।”
हेर्दाखेरि प्रक्रियागत त्रुटिजस्तो मात्रै लागे पनि यी सबै गतिविधि दलगत खिचातानीकै निरन्तरताको रूपमा प्रकट भएको देखिन्छ । तत्कालीन क्याम्पस प्रमुख अनिवार्य अवकाश भएपछि त्रिविले काङ्ग्रेस निकटलाई वरिष्ठताको आधारमा निमित्त क्याम्पस प्रमुख नियुक्त ग¥यो ।
एमाले निकट प्रगतिशील प्राध्यापक तथा स्वयं एमाले नेतृत्वको दबाब थेग्न नसकेपछि करिब डेढ महिनामा कार्यकारी परिषद्ले सह–प्राध्यापक कविता लुइँटेल भट्टराईलाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको देखिन्छ । एक कर्मचारी भन्छन्, “अन्ततः अरू जे जे भए पनि घुमाइफिराइ त राजनीति नै हो । तर, जे भए पनि त्रिविले अथवा क्याम्पस प्रशासनले निमित्तलाई गरेको व्यवहार सह्य होइन । कम्तीमा उहाँलाई त्रिविले यस्तो निर्णय गरेको छ भनेर जानकारी गराउनुपर्ने थियो ।’
नवनियुक्त क्याम्पस प्रमुख सहप्राध्यापक कविता लुइँटेल भट्टराई अध्ययन बिदामा रहेकै बेला बोलाएर नियुक्त गरिएको भन्दै प्रगतिशीलकै एउटा खेमा पनि असन्तुष्ट रहेको एक प्राध्यापक बताउँछन् । भट्टराई पाँचवर्षे अध्ययन बिदा नसकिँदै एक महिनाअघि बोलाएर क्याम्पस प्रमुख बनाइएको उनको भनाइ छ । भन्छिन्, “उहाँ अध्ययन बिदामा हुनुहुन्थ्यो । बिदा नसकिँदै बोलाएर प्रमुख बनाएको भन्दै एउटा खेमा असन्तुष्ट छ ।”
२१ गते नियुक्ति पत्र लिएर एमाले निकट प्राध्यापकहरूसँग तामझामसहित पुगेको ती प्राध्यापक बताउँछन् । उनी भन्छन्, “नयाँ क्याम्पस प्रमुख आउने भन्ने कुरा क्याम्पसमा खासखुससमेत थिएन तर २१ गते एक्कासि नवनियुक्त क्याम्पस प्रमुखको पदबहालीमा प्रगतिशील धारका एउटा खेमाका बिदामा बसेका प्राध्यापकहरूसमेत देखिए ।”
त्रिविका उपकुलपति र रजिष्ट्रारले शाक्यलाई नै क्याम्पस प्रमुख बनाउने आश्वासन दिएका कारण अर्को क्याम्पस प्रमुख भएर आउँदा झन् धेरै पीडित महसुस गरिरहेको बताउँछन् । उनी भन्छन्, “केही समयअघि नै अर्को क्याम्पस प्रमुख नियुक्त हुने गाइँगुईँ सुनेपछि मैले मेमलाई भनेको हुँ तर उहाँले होइन भीसी सर, रजिष्ट्रार सरले तपाईँ नै हुनुहुन्छ भन्नुभएको छ भन्दै ढुक्क हुनुहुन्थ्यो ।”
क्याम्पसका एक प्राध्यापक निमित्त क्याम्पस प्रमुख भएकाले पूर्णकालीन क्याम्पस प्रमुख नियुक्त गर्ने त्रिविको निर्णय गलत नभएको बताउँछन् । नेविसङ्घ आफैँले नभएर प्रजातान्त्रिक प्राध्यापकहरूको इसाराको भरमा विरोध गरिरहेको उनको बुझाइ छ । भन्छन्, “यो सबै राजनीतिक हर्कत हो । नेविसङ्घ आफैँ स्वतस्फूर्त नभएर प्रजातान्त्रिक प्राध्यापकहरूको इसारामा चलेको हो । अहिलेको क्याम्पस प्रमुख योग्य हुनुहुन्छ । विरोध गरिराख्नुपर्ने जरुरी देख्दिनँ ।”
क्याम्पसमा भइरहेको यो घटनाको विषयमा स्ववियु पनि विभाजित देखिएको छ । स्ववियुले अराजक शैलीमा क्याम्पस प्रमुख नियुक्त भएको, क्याम्पस प्रशासन तथा स्ववियुलाई विना जानकारी क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै विज्ञप्ति जारी गरेको छ । तर, यो विषयमा अबको भूमिका कस्तो हुने भन्ने विषयमा बैठक बस्न सकेको छैन ।
बुधबार अनेरास्ववियु र अखिल क्रान्तिकारीले भक्तपुर बहुमुखी क्याम्पसमा भएको तालाबन्दी र क्याम्पस प्रमुखले पद बहाली गर्ने क्रममा भएका घटनाको छानबिन गर्न माग गर्दै विज्ञप्ति जारी गरेका छन् ।
अनेरास्ववियु भक्तपुर बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष यादव दुलाल (स्ववियु सचिव) ले विज्ञप्ति जारी गर्दै त्रिविले क्याम्पस प्रमुख नियुक्त गरेको कविता लुइँटेललाई कुनै कारणविना अभद्र व्यवहार गरिएको र क्याम्पसको भौतिक सम्पत्तिमाथि क्षति पुग्ने खालको गतिविधिको विरोध भएको जनाएको छ । स्ववियु सभापतिले कुनै एक विद्यार्थी सङ्गठनको विरोधको समर्थनमा निकालिएको विज्ञप्तिप्रति अनेरास्ववियुले विरोध जनाउँदै सच्याउन माग गरेको छ । स्ववियु सभापति पुकार पराजुली नेविसङ्घबाट चुनिएका हुन् ।
सुदर्शना शाक्यको प्रश्न : किन अपमान गरियो ?
मलाई योजनाबद्धरूपमा अपमान गरियो । त्रिवि आफैँले निमित्त बनाएर अध्ययन बिदामा रहेको व्यक्तिलाई बोलाएर क्याम्पस प्रमुख बनाइयो । म पदमा बहाल रहेर काम गरिरहेको व्यक्तिमाथि सामान्य मानवीय व्यवहारसमेत देखाइएन । मलाई किन यो हदको अपमान गरियो ? मैले मलाई निमित्त बनाउनुपर्छ भनेर मागेकी पनि थिइनँ ।
वरिष्ठताको आधारमा जिम्मेवारी दिइयो, त्यही निभाउने क्रममा थिएँ । म भिसी सर तथा रजिष्टार सरलाई प्रश्न गर्न चाहन्छु मैले २० वर्षदेखि क्याम्पसको लागि गरेको योगदान सामान्य मानवीय व्यवहार नगरेर यो हदसम्म अपमान गर्न लायक थियो ? कम्तीमा मलाई जानकारी दिनुभएको भए म त्यसरी लज्जित अथवा अपमानित हुनुपर्ने वातावरण बन्ने थिएन ।
कविता लुइँटेल भन्छिन् : ममाथिको आरोप नै अनौठो
म क्याम्पस चिफ नियुक्त हुँदा प्रकृयागत ढङ्गले नै आएकी हुँ । यसबारे निर्णय त्रिवि कार्यकारी परिषद्ले गरेको हो । त्यसैले मेरो नियुक्तिबारे क्याम्पसमा औपचारिक जानकारी त्रिविले अथवा प्रशासनले गराउनुपर्ने हो ।
त्रिविले विभिन्न क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गर्दा म भक्तपुर बहुमुखी क्याम्पसमा परेँ । त्रिविले जसरी नियुक्त गर्दै आएको छ त्यसैगरी भएको हुँ । यसमा कसरी कोमाथि अभद्र व्यवहार हुन पुग्यो ? यो आरोप नै अनौठो छ ।
म स्वयंले पनि निमित्त क्याम्पस प्रमुखलाई जानकारी गराउनुपथ्र्यो भन्ने कुरा उठेको छ । मैले प्रशासनमा नियुक्ति पत्र दर्ता गर्नै लाग्दा उहाँले भएभरका फाइल प्रशासन प्रमुखलाई दिनुभयो ।
फाइल बुझाएको भए त उहाँले पनि मलाई हस्तान्तरण गरिनुपथ्र्यो होला नि त । प्रक्रिया त त्यो होला नि । त्यसपछि उहाँले फर्केर बधाई दिएर निस्किनुभयो । घरै जानुभएको भन्ने कुरै थाहा पाइन ।
विद्यार्थी सङ्गठनले पनि बुझ्नुपर्छ– म नियुक्त भएर आउनु अभद्र हो कि चिफको कुर्सी नेम प्लेट लगेर रुखमा झुन्ड्याउनु, हाम्रो हाजिरी गर्ने थम्ब मेसिन गायब गर्नु अभद्र हो ?
Leave a Reply