नेपाल–तिब्बत बाढी : के भयो, किन भयो र को हराइरहेका छन् ?
- भाद्र १३, २०८३
सन्दर्भ : नक्कली भुटानी शरणार्थी प्रकरण
नेपाली नागरिकलाई कुनै लोभ, प्रभाव र दबाबमा विदेशी नागरिक बनाउने, नक्कली भुटानी शरणार्थी बनाई बेच्ने जो कोही राज्यविरुद्धको कसुर गर्ने देशद्रोही हुन् । यस्ता जघन्य अपराध गर्ने, राज्यविरुद्धको कसुर गरी देशद्रोही गर्ने जो कोहीलाई मृत्युदण्ड वा आजीवन जेल सजायको दण्ड दिनु आवश्यक छ । ठूलठूला भ्रष्टाचार गर्नेको हकमा पनि यस्तै दण्ड दिनु आवश्यक छ । यस्तो अपराध गर्ने, गराउने, गर्न उक्साउने, अपराधीलाई उन्मुक्ति दिन प्रभाव र दबाबमा पार्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याएर कारबाही गर्नु जरुरी छ । यसले यस्ता अपराधहरू नियन्त्रण गर्न राज्यलाई ठूलो मद्दत गर्ने जनविश्वास छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पठाएको आरोप लागेका ३२ जना अभियुक्तहरूमध्ये पक्राउमा परेका १६ जना अभियुक्तहरूको जिल्ला अदालत काठमाडौँमा थुनछेकको बहस पैरवी भइरहेको छ । उनीहरूमाथि अमेरिका पठाएका सबैसँग १० देखि ५० लाखसम्म पैसा लिएर नक्कली भुटानी शरणार्थी नागरिक बनाएर बेचेको आरोप छ । यही आरोपमा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमालेका सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, गृहमन्त्रालयका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललगायत सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, रजुक गुरुङ, रामशरण केसी, गोविन्द चौधरी गरी १६ जना अभियुक्तहरू पक्राउमा परी थुनामा छन् ।
यो प्रकरणमा दलका प्रभावशाली केन्द्रीय नेताहरू नै मुछिएको हुँदा यसको पछाडि दलका अरू उच्चपदस्थ, ठूला नेताहरू पनि संलग्न हुनसक्ने देखिएको हुँदा कसैको प्रभाव र दबाबमा नपरी उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु आवश्यक छ । आजसम्मको ठूलो अपराधको कारबाहीमा आयोग बनाए पनि उच्च व्यक्तिहरू, अपराधीहरू कुनै कारबाहीमा परेर मृत्युदण्ड दिएको या जेलमा आजीवन सजाय दिएको इतिहास देखिँदैन । सबै क्षेत्रका अपराधमा च्यानल मिलाएर ‘काले काले मिलेर खाआँै भाले’ भन्ने जस्तै प्रमाण नभएको, प्रभाव नपुग, प्रमाणको आधार नभएको भन्दै अपराधीहरूलाई उन्मुक्ति दिएर ३ करोड नेपाली जनताको आँखामा छारो हाल्ने काम भएको जनताले देखिरहेका छन्, सुनिरहेका छन् । छिमेकी देशलगायत विश्वका अन्य देशमा यस्तो देशविरुद्ध अपराध गर्ने देशद्रोही, भ्रष्टाचारी, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षाकर्मी, न्यायाधीशहरू, पत्रकार, कूटनीतिज्ञ आदिलाई मृत्युदण्ड, आजीवन जेल सजाय दिएको समाचारहरू नआएका होइनन् । आफूहरू त्यसको कारबाहीको भागिदार हुने भएको हुँदा उनीहरूले नेपालको संविधान, कानुनबाट यस्ता कडा सजायका प्रावधानहरू हटाएका छन् ।
उनीहरू नेपाली नागरिकलाई विदेशी नागरिक या नक्कली भुटानी शरणार्थी बनाएर पचासौँ लाख पैसा लिएर बेच्ने देशद्रोहीहरू हुन् । उनीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न देशभरबाट आवाज उठिरहेको छ । उनीहरूले मित्र देशहरूले बनाइदिएका कलकारखाना, उद्योगहरू बेचे, नदी नालाहरू बेचे । आज आएर उनीहरूले पैसाको लागि आफ्नै नेपाली नागरिक दाजुभाइ तथा दिदीबहिनीहरूलाई समेत अनागरिक बनाएर बेच्न बाँकी राखेनन् । त्यसैले, त्यस्ता अपराधीहरूलाई आफ्नो अपराधका प्रमाणहरू नष्ट गर्ने, लुकाउने, अनुसन्धानमा संलग्न व्यक्ति, संस्थालाई प्रभाव र दबाबमा पार्न सक्ने हुँदा उनीहरूलाई कुनै पनि बहानामा उन्मुक्ति दिने, धरौटीमा छोड्ने, तारिखमा छोड्ने नगरी पुर्पक्षमा थुनामा राखी कारबाही गर्नुपर्ने जनताको माग छ ।
यो प्रकरणमा निष्पक्ष छानबिन र अनुसन्धानलाई प्रभावकारी बनाउन, वास्तविक दोषी, अपराधीलाई कानुनको कठघरामा उभ्याउन, दण्ड दिन यसमा अपराधीहरूलाई उन्मुक्ति दिन प्रभाव र दबाबमा पार्न कुन कुन स्वदेशी, विदेशी व्यक्ति, सङ्घसंस्थाको फोन आएको हो, रेकर्ड हेरी त्यो अभिलेख, विवरण, सञ्चारमाध्यममा प्रकाशित गर्नु आवश्यक छ । उनीहरूलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनु जरुरी छ । यसले तीन करोड नेपाली जनताले नेपालमा कस्ता कस्ता अपराध र अपराधीहरू हुँदारहेछन् भन्ने कुरा थाहा पाउनेछन् । यसले देशमा अपराध नियन्त्रण गर्न ठूलो मद्दत पुग्ने जनताको विश्वास छ ।
केही वर्षअगाडि नै भारतले नेपालमाथि थोपरेको भुटानी शरणार्थी समस्या समाधान गरी संयुक्त राष्ट्र सङ्घका काठमाडौँस्थित शरणार्थी उच्च नियोगको कार्यालय बन्द गरी फिर्ता भइसकेको समाचार सञ्चारमाध्यममा आएको थियो । तर, अमेरिकाले जानी जानीकन नक्कली भुटानी शरणार्थीको नाममा नेपाली नागरिकलाई अमेरिका लाने वा अमेरिका बस्ने स्वीकृति दियो । यसमा उसको भू–राजनीतिक स्वार्थ भएको जानकारहरू बताउँछन् । उसलाई यहाँ नेपालमा एमसीसी कार्यान्वयन गर्नु छ । त्यसको लागि यहाँको सरकार, शासक दल र नेताहरूलाई आफ्नो मुट्ठीमा पार्नु छ । विशेषगरी उसको रणनीति भनेको विश्वमा उदाउँदो चीनलाई घेर्नु, पछार्नु हो जसरी हिजो सोभियत सङ्घ रुसलाई पछारेको थियो । संसारमा एकछत्र आफ्नो हैकम चलाउन उसको लागि चीन बाधक छ । तर, अमेरिकाले चीन, एसिया र विश्वलाई हिजोको आँखाले हेरेर गल्ती गर्दै छ । उसलाई एसिया, अरब, अफ्रिका, ल्याटिन अमेरिका, युरोपबाट लखेटिँदै आएको संसारका स्वतन्त्रता चाहने जनता र देशले हेरिरहेका छन् । विश्वबाट साम्राज्यवाद अन्त्य नभएसम्म संसारका जनताले शान्ति पाउने छैनन् ।
अमेरिकाको भू–राजनीति स्वार्थमा नेपालका लोभीपापी, आफ्नो दलको सिद्धान्त र विचारलाई डलरसँग साट्ने नेताहरू फसेको समयले देखाउनेछ । पैसाको लोभमा, विदेश मोहमा अमेरिका गएका लोभीपापी नेपाली नागरिकहरूलाई अनागरिक बनाएर ज्यावल बनाउने वा भोलि तिब्बती शरणार्थीजस्तो, खम्पाविरोधीजस्तो तालिम दिएर नेपाल पठाउने हुन्, त्यो भने हेर्न बाँकी छ । यी लोभमा डुबेका, फसेका, फसाइएका शासक दलका नेता, कार्यकर्ता, अन्य अभियुक्त, देशद्रोहीहरूलाई प्रभाव र दबाबमा पारेर, उसका दलालहरूलाई प्रयोग गरी भोलि एमसीसीका नाममा यहाँ अड्डा जमाएर एसियामा उपद्रो मच्चाउने सम्भावनालाई नकार्न सकिँदैन । त्यो पछि परिणामले देखाउने नै छ । यसमा नेपाली जनता सचेत हुन आवश्यक छ ।
नेपाली नागरिकलाई विदेशी अनागरिक बनाउने देशद्रोहीहरूलाई नेकाका अध्यक्ष एवम् पूर्व प्रम शेरबहादुर देउवाले “धैर्य गर्नुस्, छिट्टै हुन्छ” भन्ने आश्वासन दिएको समाचार पनि सञ्चारमाध्यममा सुन्नमा आएका छन् । एमसीसी पास गर्दा उनीहरूले नेपाली जनताको आँखामा छारो हालेका थिए । त्यसरी नै उनीहरूले यो नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि नाटक मञ्चन गरे । यी अभियुक्तहरू शासक दलका लागि देशभक्त, असल, त्यागी, निर्दाेष नेता हुनेछन् । यस्ता घटनाहरूमा यी शासक दलका वरिपरिका नेता, कार्यकर्ताहरू नै संलग्न हुने निश्चित छ । यो सबै दलको विचार र सिद्धान्तलाई पद, सुविधा, डलरसँग साट्दा, राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरण गर्दाको परिणाम हो ।
यसरी देशघाती, देशद्रोही, अपराधको काममा संलग्न पर्दा भित्र र बाहिरका सबै अपराधीहरूलाई बिनासङ्कोच, बिना कसैको प्रभाव र दबाबमा नपरी अनुसन्धान गरी कानुनको दायरामा ल्याएर मृत्युदण्ड वा आजीवन कारावासको सजाय दिनु नेपाल र नेपाली जनताको हितमा हुनेछ ।
Leave a Reply