भर्खरै :

खाना नै औषधि हो, नयाँ कुरा त केही छैन

खाना नै औषधि हो, नयाँ कुरा त केही छैन

हाल नेपालमा ४० वर्षभन्दा माथिकाले क्याल्सियम, भिटामिन डिको चक्की र रगत बढाउन केही औषधी खानैपर्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ । तर, स्वस्थकर खाना खाइयो भने त्यसले नै शरीरको सबै आवश्यकता पूर्ति गर्छ भन्ने अर्काे एक विचार पनि चिकित्सा जगतमा स्थापित छ ।
म दोस्रो विचारको पक्षपाती हुँ र त्यसैअनुरूप जीवन चलाउन कोसिस गरिरहेकी हुँ । ‘स्वस्थकर भोजन गरियो भने औषधिको खास आवश्यकता पर्र्दैन, भोजन स्वस्थकर छैन भने जति औषधि गरे पनि केही फाइदा हुँदैन’ भन्ने मैले सिकेको ज्ञान हो ।
तर, अहिले औषधि कम्पनीहरूको यति ठूलो बजार छ कि उनीहरूले जीवनका साधारण कुरालाई पनि रोग हो र ‘औषधि खानुपर्छ’ भन्ने मान्यतालाई बढावा दिइरहेका छन् । प्रायः हामी त्यसको सिकार हुन्छौँ। उदाहरणको लागि गर्भवती हुँदा महिलाको शरीरमा रगतको कमी हुन सक्छ र यसले भ्रुणलाई पनि प्रभावित पार्छ । यो सत्य हो । तर, गर्भावस्थामा महिलाले प्रोटिनयुक्त खानेकुरा, जस्तो– चना, भटमास, कोदो, फापर, मकै, विभिन्न हरियो तरकारी कर्कलो वा कर्कलोले बनेको मस्यौरा, आलु करिपत्ता, निगुरो अनेक प्रकारका साग, दूध, मोही आदि खाए भने शरीरमा प्रोटिन र विभिन्न प्रकारका भिटामिनको कमी हुन पाउँदैन ।
म गर्भवती हुँदा क्याल्सियम आदि खाने जरूरत भएन । अनेक प्रकारका चिसो पेय पदार्थ र पत्रु खाना त म त्यो बेलामा पनि खान्नथेँ। बजारमा पाइने मिठाइप्रति अलिकता लोभचाहिँ लाग्थ्यो । जेरी, स्वारी खाजा खान पाउँदा खुसी नै हुन्थेँ। यसरी जेरी स्वारी पकाइने तेल बारम्बार तताउँदा त्यसले विषालु तत्व पैदा गर्छ र मुटुमा नराम्रो प्रभाव पर्छ भन्ने जानेपछि मैले यसरी बजारका खाना ठ्याम्मै छोडिदिएँ । घरमा पकाएको सेल, पुरी, अचार, मालपुवा मीठो मानेर कहिलेकाहीँ खान्छु नै ।
‘यसरी बजारको खानेकुरा नखाएर बस्न सम्भव हुँदैन । खाजा खाँदा चाउचाउ, जेरी, स्वारीबाहेक अरू केही हुँदैन’ कति परिचित भन्छन् ।
त्यसमध्ये त कतिजना पत्रकार पनि छन् । ‘तपाईंले लेखेको पढेर पनि के गर्नु, पत्रु खाना खान करै लाग्छ । घरबाट बनाउन भ्याइँदैन’, उनीहरूको भनाइ हुन्छ । उनीहरूलाई म भन्ने गर्छु, ‘पत्रु खाना नखाएर पनि स्वस्थकर खाजा खान सकिन्छ । चना, चिउरा, उसिनेको आलु त प्रायः सबै खाजा घरमा भइहाल्छ । यस्तो खाजा छाडेर पत्रु खाना खाएपछि त पछि तपाईँको स्वास्थ्य बिस्तारै कमजोर हुन्छ । दौडधुप गर्न नसकेपछि तपाईंको काममा नै प्रभाव पर्दैन र ? त्यो बेलामा बिरामी भएर बस्न तपाईंसँग फुर्सद हुन्छ ?”
मैले यसरी कडा शब्दमा भनेपछि कति महिला पत्रकारले पत्रु खाना खाने आफ्नो बानी छाडेको छु भनेर जानकारी पनि दिएका छन् । कतिले घरमा नै खाना खाएर जाने र केही खाजा पनि बोकेर काममा जाने गरेको भनेका छन् । उनीहरू चना उसिनेर भुटेर चिउरासँग खान्छन्, पेट टम्म भरिँदो रहेछ’ भन्ने भनाइ सुनेपछि मलाई के खुसी लाग्छ भने मैले लेखेर बोलेपछि केही व्यक्तिको जीवनमा त सुधार भयो ।
समय समयमा कार्यशाला र गोष्ठीहरूमा भारत, अमेरिका आदि देशमा भाग लिएपछि (पोषण र स्वास्थ्यसम्बन्धी) मैले के अनुभव गरेकी छु भने पुर्खाहरूको कतिपय ज्ञानलाई आधुनिक विज्ञानको कसौटीमा राखेर हेर्दा साँच्ची नै तिनले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने देखिन्छ । कतिजनाले मैले भोजन र पोषणबारे बोलेको र लेखेको सुनेर ‘तपाईं पोषणविद् हो ?’ भन्छन् । कहिलेकाहीँ त ‘पोषणविद्’ को पगरी नै लगाइदिन्छन् । मैले स्पष्ट शब्दमा भन्ने गरेकी छु, ‘म त्यति नै पोषणविद् हो, जति मेरी निरक्षर हजुरआमा । मैले पोषणको बारेमा साना साना तालिम मात्र लिएकी छु । तर पोषणविद् भन्ने उपाधि दिने ठूलो तालिम लिएकी छैन । फेरि म यस्तो ठूलो वैज्ञानिक कुरा कहाँ गर्छु र ? घरको दाल, भात, रोटी, चना, दूध, दही, मोही, मह, कागतीजस्ता स्वस्थकर स्थानीय खानेकुराको प्रयोग गर्नुपर्छ । हाम्रो भोजन नै हाम्रो औषधि हो भन्ने सामान्य र सबैले जानेको कुरा मात्र म भन्छु । नयाँ कुरा त मैले केही भनेकी छैन ।
– डा. अरुणा उप्रेतिको फेसबुक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *