भर्खरै :

मणिपुर दङ्गाबाट हामीले के सिक्ने ?

मणिपुर दङ्गाबाट हामीले के सिक्ने ?

हरेक नीतिको राजा ‘राजनीति’ भन्ने मान्यतालाई नेताहरूको निकृष्ट व्यवहार देखेर उत्तेजित भइ ‘राजनीति फोहर खेल हो’ भन्ने भनाइलाई मलजल गर्ने काम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले गरिरहेका छन् । सन्दर्भ हो, भारतको मणिपुर राज्यमा भइरहेको जातीय दङ्गा । ३ महिनादेखि भइरहेको उक्त दङ्गामा अहिलेसम्म झन्डै १७५ व्यक्तिको मृत्यु भइसकेको छ । मोदीजस्ता नेताहरू दङ्गामा धर्म खोज्न थालेका छन् । वाक्पटुता भएको भनेर कहलिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरू बेला बकबक गरे पनि चाहिने ठाउँमा बोल्नबाट बच्न खोज्दा रहेछन् भनेर भारतीयहरूबाटै चर्को आलोचना खेप्नुपरेको छ । मणिपुरमा साम्प्रदायिक द्वन्द्व भइरहँदा दुई महिनासम्म एक शब्द बोल्न आवश्यक नठानी उनले अमेरिका र फ्रान्सलगायत अरू मुलुकको भ्रमण गरेर समय बिताए ।
मणिपुर हिंसामा प्रधानमन्त्री मोदीको मौनता पछाडि जातीय द्वन्द्व र धार्मिक द्वन्द्व शान्त भएपछि आफ्नो राजनीतिक स्वार्थ पूरा नहोला भन्ने डर हो । मोदीको विचारधारा र उनको पार्टीको नीतिले गर्दा मणिपुरका समुदायहरूबिच विभाजन र असन्तुष्टि सिर्जना गरेर हिंसामा योगदान पु¥याएको छ । हिंसाको विरुद्धमा बोल्दा उसलाई आफ्नो मुख्य मतदाताहरू बिचको लोकप्रियता वा समर्थन गुम्ने डर पनि रहेछ । त्यसैगरी, आफ्नो आन्तरिक एजेन्डा र आगामी चुनावजस्ता मुद्दालाई मोदीले प्राथमिकता दिएका छन् । मणिपुर हिंसामा प्रधानमन्त्रीजस्तो व्यक्तिको मौनता निराशाजनक मात्र होइन, राज्य र देशको शान्ति र स्थिरताका लागि पनि खतरनाक छ ।
‘अरूलाई अर्कै चिन्ता घर ज्वाइँलाई खानकै चिन्ता’ भनेजस्तै सर्वसाधारणलाई ज्यान जोगाउनु चिन्ता छ भने भाजपाका नेतालाई आउँदै गरेको चुनाव जित्ने चिन्ता छ । चुनाव जित्नैकै लागि अहिलेको जातीय द्वन्द्वलाई धार्मिक रङ्गमा रङ्ग्याउने काम मोदी आबद्ध राष्ट्रिय स्वयम्सेवक सङ्घ (आरएसएस) को रणनीति हो जसअनुसार मैतेईहरूलाई हिन्दू जनजाति भनेर प्रचार गरिएको छ । यो धार्मिक अतिवादीहरूको जानीबुझी गरिएको षड्यन्त्र हो । आन्दोलनको कारण जमिन हो तर जबरजस्ती धार्मिक द्वन्द्वमा परिवर्तन गर्न खोजिँदै छ । एक पक्षलाई काखा र अर्को पक्षलाई पाखा लगाउँदा गैर हिन्दूमा देखिएको आक्रोश अनि वितृष्णाको परिणाम हो, यो द्वन्द्व ।


मणिपुरको वास्तविकता
मणिपुरमा मुख्यतया तीन जातिको बसोबास छ । अधिकांश मैतेई हिन्दू धर्मावलम्बी छन् भने नागा र कुकी कृश्चियन रहेका छन् । जनसङ्ख्याको दृष्टिले मैतेई सबभन्दा धेरै ५५ प्रतिशत छन् । २०११ को पछिल्लो जनगणनाअनुसार मैतेई जातिले मणिपुरको कुल जमिनमध्ये १० प्रतिशतमात्र ओगटेको छ । अर्कोतर्फ त्यहाँ नागा र कुकी भनेर चिनिने आदिवासीहरू छन् जसले जनसङ्ख्याको लगभग ४० प्रतिशत ओगटेका छन् । तर, मणिपुरको ९० प्रतिशत भूमिमा बसोबास गर्छन् । यहाँ स्मरणीय कुरा मणिपुरको सबैभन्दा पुरानो जनजाति नागा हो तर अहिले यिनीहरू अल्पमतमा परिसकेका छन् । मैतेईले आफूलाई उपत्यकाको मूल बासिन्दा ठान्छन् भने कुकीले आफूलाई पहाडी क्षेत्रका आदिवासी भएको दाबी गर्छन् । मैतेई र कुकी समुदायका विभिन्न संस्कृति, भाषा र धर्म छन् । तिनीहरूसँग मणिपुरको भूमि र स्रोतहरूमा फरक ऐतिहासिक दाबीहरू छन् ।
भारतको प्रारम्भिक बासिन्दाको रूपमा आदिवासी वा जनजाति समुदायलाई ‘अनुसूचित जनजाति’ मानिन्छ । तिनीहरूको छुट्टै संस्कृति, भाषा र जीवनशैली छ । तिनीहरू प्रायः दुर्गम वा वन क्षेत्रहरूमा बस्छन् । मणिपुर विभिन्न आदिवासी जनजाति समुदायहरूको घर हो । मणिपुरका केही प्रमुख अनुसूचित जनजाति समुदायहरूमा नागा र कुकी, मैतेई र अन्य साना जनजाति समूहहरू समावेश छन् । कानुनअनुसार ‘अनुसूचित जनजाति’ अर्थात् कुकी र नागाले मात्र जमिन किनबेच गर्न पाउँछन् । मैतेई सूचित त्यो जातिमा पर्दैन । मैतेई समुदाय धनी छ तर जमिन किन्न पाउँदैनथे । आफ्नो जाति पनि आदिवासी भएकोले सूचित जातिमा राखिनुको साथै जमिन किन्न पाउने अधिकार पाउनुपर्छ भनेर उनीहरू अदालत गए । अदालतले मैतेई जातिको पक्षमा फैसला सुनाएपछि पहिले नै जनजातिको हैसियत पाएका कुकी समुदायले यस मागको स्रोत र अधिकारमा आफ्नो हिस्सा घट्ने डरले विरोध गरेपछि मे २०२३ मा हिंसा भड्कियो । झडपले आगजनी, लुटपाट, हत्या र दुबै समुदायका हजारौँ मानिसहरूको विस्थापन भएको छ । त्यहाँ अन्य राज्यहरूबाट बसाइँ सरेर गएकाहरूले बस्न पाउँछन्, व्यापार गर्न पाउँछन्, सरकारी नोकरी गर्न पाउँछन् तर जमिन खरिद गर्न पाउँदैनन् ।
बहुमत मैतेई हिन्दू भएको हुनाले सरकार मैतेईतिर ढल्केको छ । त्यसैले पीडित पक्ष राज्यको उपेक्षामा परेको र नरसंहारको सिकार बनेको अवस्था हो । आमा र छोरीलाई नाङ्गै जुलुसमा घुमाइएका र सामूहिक बलात्कारजस्ता जघन्य अपराधसमेत भएको छ । ‘सबैको साथ सबैको विश्वास’ भन्ने नारा मोदीले लगाए पनि मोदीले हिन्दूवादीलाई मात्र प्रोत्साहित गर्छन् । मोदीको देखाउने दाँत र खाने दाँत फरक रहेको वास्तविकताबाट मोदी फासीवादी हुन् भन्ने ऐनाजस्तै प्रस्ट छ । हिन्दूबाहेक अन्य सम्प्रदायलाई दोस्रो दर्जाको मान्छन् । यसको मूल जरो नै धार्मिक हिन्दू कट्टरपन्थी हो । यसैको प्रतिक्रियास्वरूप मिजोरमबाट क्रिस्चियनहरूले हिन्दूहरूलाई भगाउने प्रक्रिया सुरु गरेका छन् । त्यसमा सायद नेपालीहरू पनि पिल्सिने सम्भावना छ । चुनावको मुखमा विभिन्न धार्मिक समुदायबिच दङ्गा भड्काएर हिंसाको आगोमा आफ्नो राजनीतिक अभिष्टको रोटी पोलेर चुनाव जित्ने मोदीको रणनीतिले पुनः एकपटक राजनीतिलाई ‘फोहरी खेल’ बनाएको छ । सत्ता प्राप्तिको लागि जुनसुकै हदसम्म गिर्न तयार रहने यस्ता नेताहरूले गर्दा ‘गाँसेगुसे सबै एकैनासे’ भनेझैँ मानिसहरू राजनीतिलाई फोहर खेल भन्दा रहेछन् ।
स्थानीय जनता अल्पमतमा परिसकेको अवस्थामा नेपालमा पनि कला र संस्कृति संरक्षण गर्ने मनसायले केही निश्चित ठाउँहरूमा बाहिरबाट आउनेलाई जमिन किन्न प्रतिबन्ध लगाउनुपर्ने स्थानीय जनताबाट माग भइरहेको छ । त्यस्तो अवस्थामा यी नियमहरूले केही हदसम्म माथि उल्लेखित उद्देश्य हासिल गर्न सकिन्छ । तर, मणिपुरमा जस्तै यस्तै कारणले भएको दङ्गा हामीतिर पनि नहोस् भन्ने ख्याल गर्नुपर्छ । नेपालमा राजनीतिदेखि हरेक कुरा भारतबाट आयात हुँदै गरेको अवस्थामा धर्मको नाममा राजनीति गर्नेहरूको जमात पनि बढ्दै छ । नेपालको सडकमा राजनीतिक जुलुसभन्दा धार्मिक जुलुस बढ्दै गएको छ । यहाँ वर्गीत्न्दा पनि जातीय र धार्मिक आन्दोलन बढ्दै गएको छ । यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने नेपालमा पनि मणिपुरको जस्तो दङ्गा हुन बेर लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *