भर्खरै :

नार्कमा कृषि मन्त्रीको मनपरी !

नार्कमा कृषि मन्त्रीको मनपरी !

काठमाडौँ, २१ साउन । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुषालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कामु कार्यकारी निर्देशक नियुक्ति गरेकोमा विरोध भइरहेको छ । उनले ४३ औँ वरियताका कनिष्ठ व्यक्ति डा. धु्रवराज भट्टराईलाई कामु कार्यकारी निर्देशक नियुक्ति गरेका थिए । मन्त्री भुषालले यो निर्णय मन्त्रालयका दुई जना सचिवलाई समेत थाहा नदिई नियुक्ति गरेका थिए ।
नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ को दफा १३ (३) मा परिषद्अन्तर्गत कार्यरत सक्षम र वरिष्ठ वैज्ञानिकहरूमध्येबाट तीन जनालाई नियुक्तिका लागि सिफारिस गर्ने उल्लेख छ । नार्कमा वैज्ञानिकहरूको एस १ देखि ८ तहसम्म रहेको छ । भट्टराई एस ४ का हुन् । उनी एस ४ मा पनि ४० औँ वरियतामा छन् । एस ६ मा ३ जना वरिष्ठ वैज्ञानिक छन् ।
कृषि वैज्ञानिकहरूको छाता संस्था सोसाइटी अफ एग्रिकल्चर साइन्टिस्ट नेपालले पनि कामु कार्यकारी निर्देशक नियुक्तिको विरोध गरेको छ । गैरकानुनी नियुक्ति खारेज गराउन प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिमा निवेदन परेको छ । मुख्य वैज्ञानिक डा. श्रीमत श्रेष्ठसमेत ४ जनाको हस्ताक्षर भएको सो निवेदनको बोधार्थ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ ओटै राजनीतिक दललाई पठाइएको छ ।
नियुक्तिमा मनपरी गरेका नेकपा (एस) का मन्त्री भुषालविरूद्ध संसद् र संसदीय समितिले आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनु जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *