भर्खरै :

पुस्ता हस्तान्तरण नहुँदा मौलिक संस्कृति संरक्षणमा चुनौती

  • भाद्र ४, २०८०
  • डम्मर बुढा मगर
  • विचार
पुस्ता हस्तान्तरण नहुँदा मौलिक संस्कृति संरक्षणमा चुनौती

ढोरपाटन (बागलुङ), ३ भदौ । आजभोलि बागलुङ बजारमा दिनदिनै एउटा अचम्मको नाच देखिन्छ । बजारको चोक–चोक र गल्लीगल्लीमा केही मान्छे बाजा बजाउँछन्, केही झ्याली पिट्छन् त केही मुखुण्डोसँगै रङ्गीविरङ्गी कपडा लगाएर नाच्छन् । नाच्ने मान्छेको अनुहार मुखुण्डोले छोपिएको हुँदा चिन्न सकिँदैन ।
यस्तो नाच हेर्नेको बजारमा भीड देखिन्छ । साउने चर्तुदर्शीदेखि सुरू भएको उक्त नाच तीजको दिनसम्म नाचिन्छ । यसलाई नेवार समुदायले ‘लाखे नाच’ भन्छन् । हरेक वर्ष यसै समयमा नाचिने लाखे नाच खासमा आकर्षक र अनौठा दृश्य देख्न पाइन्छ ।
“पहिले–पहिले लाखे नाच्ने र बाजा बनाउनेको सङ्ख्या पनि ठूलो हुन्थ्यो । पछिल्लो समय निकै कम भएको छ”, स्थानीय ७३ वर्षीय मुकुण्ड शाक्यले भन्नुभयो, “खासगरी नेवार समुदायले नाच्ने यस नाच कहिलेबाट सुरू भएको भन्ने यकिन छैन ।” करिब तीन सय वर्ष अगाडि काठमाडौँ, भक्तपुर, पाटनलगायतका स्थानबाट नेवार समुदाय बागलुङमा आउँदा उतैबाट यसको प्रचलन ल्याएका भन्ने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बागलुङमा नेवारबाहेक अन्य समुदायले लाखे नाच्ने गरेको पाइँदैन ।
नेवार समुदायसँग सम्बन्धित उक्त नाचलाई बागलुङ शाक्य समाजले संरक्षण गर्दै आएको शाक्यले जानकारी दिनुभयो । नाच्ने तथा बजाउने कलाकार बजारमा टिकाउन नसक्दा लाखे नाच संरक्षणमा निकै चुनौती देखिएको उहाँको भनाइ थियो । “केही समय अगाडिसम्म चतुर्दशीदेखि तीजसम्म दिनदिनै बजारमा नाच देखिने गरे पनि अहिले त्यत्ति देखिदैन”, उहाँले भन्नुभयो, “यसअवधि बाहेक विभिन्न मेला महोत्सवमा पनि नेवार समुदायले लाखे नाच प्रदर्शन गर्ने गर्छन् ।”
पछिल्लो समय युवा पुस्ताले यस नाचप्रति चासो नदिँदा संरक्षण गर्न समस्या भइरहेको मुकुण्द शाक्यले बताउनुभयो । उहाँले आफ्ना पाका पूर्खाले जोगाउँदै आएको संस्कृतिलाई यहाँसम्म ल्याइपु¥याउँदा निकै चुनौती भएको बताउँदै आफ्ना पालामा नाच्ने, बजाउने कलामा धेरै युवामा पुस्ता हुने गरेकामा अहिले नयाँ पुस्ताको सहभागिता हराउँदै गएको बताउनुभयो । पुराना कला भएका व्यक्तिबाट नयाँ पुस्तालाई सिक्नको लागि शाक्य समाजले पहल गरेको भन्दै नाच संरक्षणको लागि बागलुङ नगरपालिकालाई आग्रह गरे पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको शाक्यले गुनासो गर्नुभयो । पुस्ता हस्तान्तरण भए लाखे नाच अझै दशकौँसम्म रहिरहने उहाँको भनाइ छ ।
“अहिलेसम्म शाक्य समाजले संरक्षण गर्दै आएको छ । खर्चिलो भएर होला निकै समस्या भइरहेको छ । अहिले एक/दुईजना युवा छन्, ती कतै गए भने नाच रोकिन्छ, मान्छे टिकाउन गा¥हो भयो, नगरपालिकासँग सहयोग माग्यौँ तर भएन,” शाक्यले भन्नुभयो, “लाखे नाचको चार ताल हुन्छ, एउटा ताल लोप भइसक्यो, अहिले तीन तालमा मात्रै नाचिन्छ । अब क्रमैसँग ताल लोपहुँदै जान थालेका छन्, अन्य ठाउँको भन्दै बागलुङको नाच निकै उत्कृष्ट छ । यहाँको जस्तो मुकुण्डो कतै पनि लगाइदैँन । अबको मुख्य समस्या भनेको बजाउने र नाच्ने मान्छेकै अभाव हो ।”
स्थानीय लालचन्द्र राजभण्डारीले नयाँ पुस्ताले चासो नदिँदा लाखे नाच लोपोन्मुख अवस्थामा पुगेको गुनासो गर्नुभयो । तीन/चार सय वर्ष भन्दा अगाडिदेखि नाच्दै आएको अनुमान गरिए पनि यसको सुरू कहिले भएको भन्ने यकिन नभएको उहाँको भनाइ थियो । नेवार समुदायमध्ये पनि शाक्यहरूले लाखे नाच बढी नाच्ने प्रचलन रहेको राजभण्डारीले बताउनुभयो । अहिले बजारमा नाचिने लाखे पहिलेको तुलनामा निकै कमजोर भएको उहाँको ठम्याइ थियो ।
“पहिलेका कलाकार निकै राम्रो नाच्थे, बाजाको ताल उस्तै राम्रो हुन्थ्यो, अहिले त नाच्ने, बजाउने नयाँ सिकारू युवा भएर होला पहिलाको जस्तो रमाइलो छैन”, राजभण्डारीले भन्नुभयो, “बुढापाकाले जस्तो नाच्न र बजाउन जान्दैनन्, केही युवाले संस्कृति जगेर्णा गर्न खोजेका छन् । एक्लैको प्रयासले हुँदैन, स्थानीय सरकारले पनि कला, संस्कृति र पूरा सम्पदा संरक्षणमा ध्यान दिनुपर्छ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *