नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
नेपाली भाषाका नियात्रा विधालाई प्रकाशन गर्ने क्रममा जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा जनमत : नियात्रा सङ्ग्रह प्रकाशित भयो । यस सङ्ग्रहमा जनमतका देशभरका सहयोगीहरूमध्येबाट ११ जना साहित्यकारहरूलाई ससम्मान सम्पादक मण्डलमा चयन गरिएको छ । पुस्तकमा प्रा. डा. कपिल लामिछानेले नियात्राको विवेचनासहित इतिहास–क्रम समेटिएर समीक्षात्मक टिप्पणी गर्नुभएको छ । विषय प्रवेश गर्दै उहाँ ‘यात्रा’ विषयक निजात्मक निबन्ध नै नियात्रा हो भन्नुहुन्छ । जब यात्रासम्बन्धी विवरण, विषय, विचार र निजी अनुभूतिलाई निबन्धको आयाम, स्वरूप र संरचनामा ढालिन्छ त्यो नियात्रा हुन पुग्दछ । यो निबन्धको नवीनतम प्रभेद हो । नयाँ भए पनि यता आएर यसले लोकप्रियता हासिल गर्दै आएको प्रा. डा. लामिछानेले पुस्तकमा उल्लेख गर्नुभएको छ ।
प्रज्ञा नेपाली बृहत् शब्दकोशका अनुसार यात्रा निबन्धको औपन्यासिक वा उपाख्यानात्मक रूप, यात्रा वर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध भनेर नियात्राको शब्दार्थ दिएको छ ।
‘नियात्रा’ लाई अङ्ग्रेजीमा ‘ट्रावलग’ (Travelogue) भनिन्छ । ग्रिक भाषाको यात्रा अर्थ दिने ‘ट्रावल’ (Travel) शब्दमा अभिव्यक्ति दिने ‘लग’ (Logue) शब्द जोडिएर बनेको ‘ट्रावलग’ (Travelogue) शब्दको अर्थ यात्रा अनुभव, स्थान अनुभव वा यात्रा वर्णन आदि हुने गर्दछ भन्नुहुन्छ डा. देवी नेपाल ।
नियात्रालाई साहित्य मात्र भनिँदैन, यो ज्यूँदो इतिहास पनि हो भन्नुहुन्छ साहित्यकार जय छान्छा ।
जनमत : नियात्रा सङ्ग्रहका लागि कुनै सीमा र मापदण्ड नराखी सुरुमा २०७७ मङ्सिरसम्म भनिए तापनि पछि २०७७ माघसम्म इच्छुक लेखकबाट खुला नियात्रा आह्वान गरिएको थियो । यस सङ्ग्रहमा ३६ लेखकका यात्रा विषयक रचना समेटिएको छ ।
अमरकुमार प्रधानको ‘१००० खुड्किलाको चढाइ’ आत्मसंस्मरणात्मक यात्रालाई विषय वस्तुको रूपमा वर्णन गरिएको छ । शोकको बेला चाडपर्व नमनाउने निधो गरेर धुलिखेल यात्रा गर्दाको विवरण यसमा समावेश गरिएको छ ।
इन्द्रकुमार विकल्पको ‘ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको कन्फरेन्समा’ ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको भ्रमणमा जाँदाको घटनाक्रम र उक्त विश्वविद्यालयको सुन्दर सूक्ष्म मिहीन व्यवस्थापन, राजयोग प्रशिक्षण, सुविधा सम्पन्न आधुनिक भवनहरू, खानाको समुचित प्रबन्ध, तपस्या भवन, प्रदर्शनी कक्षहरू, प्रकाशन गृह, बिक्री कक्ष, सफा सडक, पेटी, खेल मैदान प्रतीक्षालयहरू, आवश्यक ठाउँमा खानेपानी आदि अध्यात्म र विज्ञान प्रविधिको सुन्दर संयोजन रहेको वर्णन समावेश छ ।
इन्द्र रेग्मीको ‘कलकत्तादेखि कन्याकुमारीसम्म’ मा शैक्षिक भ्रमणको रूपमा भारतका ठूला सहरहरू मद्रास, बैङ्गलोर–कोचिन, त्रिवेन्द्रम, मैसुरलगायत कन्याकुमारी घुम्दाको अनुभव वर्णन गरिएको छ ।
उद्योगबहादुर श्रेष्ठको ‘प्रगतिनगरदेखि नैनितालसम्म जे देखियो’ मा टनकपुर बाँध अवलोकन गर्दाको अनुभूति व्यक्त गरिएको छ । टनकपुर बाँधबाट नेपालको भूभाग अतिक्रमित भयो, नेपाल लाभान्वित हुन सकेन । त्यसबेलाका शासकले त्यसको अध्ययन नै नगरी बाँध निर्माण गर्ने अनुमति दिए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । भारतमा गएर त्यसको सम्झौता गरिएको थियो । सदनमा मात्र होइन पार्टीभित्र पनि त्यसको छलफल नभएको दुखेसो पोख्नुभएको छ ।
प्रा.डा. कर्णबहादुर बानियाँको ‘चन्द्रागिरीदेखि सिन्धुलीगढीसम्म : पछ्याउँदै पूर्वजहरूको पद्चाप’ मा उहाँमा भएको इतिहासको भण्डारलाई प्रत्यक्ष अवलोकन गर्ने अवसर यात्राले जुराएको र कतिपय ठाउँ अवलोकन गर्ने योजना अधुरै रहेको रहेछ । उहाँ यात्रालाई ऐतिहासिक पृष्ठभूमिसँग जोड्दै प्रस्तुत गर्न सिपालु देखिनु हुन्छ ।
प्रा. कपिल अज्ञातको ‘पुस्तक प्रेम र स्मृतिको मीठो सौगात’ मा यात्रामा निस्कँदा उहाँलाई खैरो बिरालाले बाटो काट्दा लोकप्रचलनअनुसार अपशकुन मानिने भएको शुभबेला हेरेर निस्केको स्थितिमा बाटो बदलेर हिँड्नुपरेको र कहीँ केही अनिष्ट हुने हुन्छ कि भन्ने आशङ्का उब्जेको भन्ने एउटा भिन्दै खालको यात्रा अनुभूति पढ्न पाइन्छ ।
प्रा. डा. कपिल लामिछानेको ‘मुस्ताङ यात्रा’ मा मुक्तिनाथ जाने उहाँको पुरानो रहर भएको बताउनुभएको छ । उहाँ पनि साइत हेरेर यात्रा गर्नु हुँदोरहेछ । उहाँ प्रायः ब्रह्ममुहूर्तमा प्रस्थान गर्न रूचाउनु हुन्छ । यात्राको क्रममा उहाँले हाइकु लेख्न भ्याउनुभएछ । मुस्ताङप्रतिको मोहले उहाँ लेख्नुहुन्छ, “फेरि आउँला है, मुस्ताङ ।”
काजी रोशनको ‘दोलखा यात्रा’ मा धवलागिरि साहित्य प्रतिष्ठान बागलुङबाट २०५२ सालदेखि कवि, लेखकहरूको निवास निवासमा सञ्चालन गर्दै आएको ‘यात्रा आफ्नै परिवेश’ कार्यक्रमलाई यात्राको क्रममा दोलखामा पनि साहित्यकारहरूको खोजी गर्दै साहित्यकार जीत कार्कीलाई ‘यात्रा आफ्नै परिवेश’ को ३४ औँ प्रतिभा रहेको जानकारी गराउने अवसर प्राप्त भएको उल्लेख गर्नुभएको छ ।
केदारनाथ खनालको ‘साउदर्न सीको अविस्मृत यात्रा’ मा उहाँको पहिलेदेखि युरोप घुम्ने इच्छा हुनुका धेरै कारणहरूमध्ये प्रवल जङ्गबहादुरको बेलायत यात्राले उब्जाएको जिज्ञासा इङ्गित गर्नुभएको छ ।
कृष्ण बानियाँको ‘बत्तीमुनिको अँध्यारो’ मा पश्चिम पाल्पाको तुलनामा पूर्वी पाल्पा निकै पिछडिएको अनुभूति व्यक्त गर्नुभएको छ ।
खेमराज पोखरेलको ‘उठ्दैथ्यो जिरी कङ्क्रिट भएर’ मा एक जिरी तीन फोटोमा भिन्नभिन्न दृश्य २०७२ सालको भुइँचालो अघिको, भुइँचालोबाट बीभत्स भएको र निर्माणाधीन भइरहेको अवस्थाबारे उल्लेख गरिएको छ ।
गङ्गा कर्माचार्य पौडेलको ‘रमाइलो चरिकोट’ मा नेपाल बाल साहित्य समाजद्वारा चरिकोटमा आयोजना गरेको कार्यक्रममा सहभागी हुँदाका अनुभव रोचक ढङ्गले व्यक्त गर्नुभएको छ ।
घनश्याम राजकर्णिकारको ‘अमेरिकामा एक पटक फेरि’ मा उहाँले आफ्नो विगत स्मरण गर्दै पिता पुर्खाले साँचेको नाम र ख्यातिले परिपूर्ण पारिवारिक व्यवसाय कृष्ण पाउरोटीले उज्यालो प्रकाशभित्र धमिलो छायाँबाट कसरी बर्बादी हुनुबाट त्राण पाउन सके त्यो सम्झँदा अहिले पनि आफू कालो नीलो हुने गरेको व्यहोरा राख्नुभएको छ ।
छविरमण सिलवालको ‘स्लोभेनियामा दस दिन’ मा जनतालाई सरकार भएको अनुभूति हुने देश र जनताप्रति सरकारलाई पूर्ण विश्वास भएको देशको रूपमा स्लोभेनियालाई लिन सकिन्छ भन्ने बोध भएको उहाँले लेख्नुभएको छ ।
जय छान्छाको ‘ काठमाडौँबाट जन्मस्थान भोजपुरतिर’ मा मानिसको जीवन भनेकै यात्रा हो† यात्राविनाको जीवन सम्भव छैन† कतिपय निर्जीवहरूले पनि आफ्नो अस्तित्वका लागि निरन्तर यात्रा गरिरहेका हुन्छन् भने अधिकांश सजीवहरूले त यात्रा नगरी जीवनमा धरै छैन भनिएको छ ।
तेजप्रकाश श्रेष्ठको ‘बालसूर्यझैँ निश्छल आत्मीयता’ मा पोखरा यात्राको क्रममा पहिलो पटक सराङ्कोट पुगेको र सूर्योदयको अवलोकन गर्दाको रोमाञ्चतालाई साक्षी राखेर भावी संगोष्ठी सफलतापूर्वक सम्पन्न हुने विश्वासका साथ शुभकामना आदानप्रदान गर्दाको उल्लासमय वातावरण बालसूर्यझैँ निश्छल बनेको अनुभूति उहाँले व्यक्त गर्नुभएको छ ।
ध्रुवलाल शर्माको ‘साहित्यिक वनभोजमा बागलुङसम्म’ मा यात्रा ताङ्कामय भएको आभास हुन्छ । उहाँमा फुरेको केही ताङ्का –
माग्दा पाइने
मजासँग खाइने
कति मिठो छ
साहित्यिक खुराक
धौलागिरीको भोज ।
कति मिठो छ
गजलको तर्कारी
हाइकु चट्नी
कविताको पुलाउ
ताङ्का मुक्तक अचार ।
नर्मदेश्वरी सत्यालको ‘बेलायती ऐनामा मेरो अनुहार’ मा उहाँले पहिलोपटक बेलायती ऐनामा आफ्नो अनुहार नियालेको र बेलायती ऐना झन्डै पचास राष्ट्रको औपनिवेसिक सम्पत्तिको मिसावटबाट बनेको देखेको उल्लेख गर्नुभएको छ ।
नवराज रिजालको ‘आँप अपनी पहचान के साथ आइएगा’ मा उहाँ लेख्नुहुन्छ, “केही पुरस्कार र सम्मान नेपालमा पनि पाएको, अहँ कहिल्यै राष्ट्रिय पोशाकमा आउनुपर्छ भनिएन । तर, नारनौलले मेरो राष्ट्रिय पोशाकमा सम्मान गरेर पहिचानको आँखा खोलिदियो ।”
निशा जोशीको ‘मार्दीको माया’ मा यात्रा गर्दा बाटो बिराएर कति पर्यटकहरू हराउँछन् , त्यही भएर कतै घुम्न जाने बेला साथीभाइहरूसँग जाँदा वा बाटोको सही ध्यान र ज्ञान पुर्याएर जाँदा आफूलगायत आफ्नो परिवारलाई ढुक्क हुने सुझाव व्यक्त गर्नुभएको छ ।
पुण्य कार्कीको ‘गोवादेखि पुनासम्मको परिभ्रमण’ मा करिब १५ लाख जनसङ्ख्या भएको गोवामा वर्षको पचास साठी लाख विदेशी पर्यटकहरू यो थलोमा ओइरिँदा रहेछ । नेपालजस्तो मुलुकले अझै सालको बा¥ह पन्ध्र लाख पर्यटक देशमा उतार्न नसकेको दुखेसो पोख्नुभएको छ ।
पूर्णप्रसाद अधिकारीको ‘मुक्तिनाथ यात्राका तरङ्गहरू’ मा राज्यले कालीगण्डकी करिडोरलाई राष्ट्रिय महत्वको आयोजनामा राखेको छ, कागजमा राखेर मात्र यश करिडोरको विकास नहुने उल्लेख गर्नुभएको छ ।
मुकुन्द पोखरेलको ‘विश्वको मध्यबिन्दु ग्रीनविच’ मा ग्रीनविच मीन टाइम घडीको, टाकुराको टावरमाथि टाइम बल थियो, जुन पहिला जहाजहरूको समय सङ्केतीत भएको जानकारी दिइएको छ ।
युवराज नयाँघरेको ‘कोङ्दे छेउको तातोचिसो’ मा उहाँले लेख्नुभएको छ, “कोङ्देको रूपमा मोहित छ मन त । धेरै बेर पिकमा हराएँ । खुम्बिलामा हराएँ । कोङ्देमा हराएँ । चुपचाप, शान्त र एकान्त । हिमालका मौनतामा लीन हुँदा– सबथोक खुसी ।”
रह शर्माको ‘रौसिलो त्यो मेरो भ्रमण’ मा यात्राको क्रममा झेल्नुपरेको अवस्था केलाउँदै उहाँ लेख्नुहुन्छ, “रौसिँदै अर्काको देखेर त्यो अनावश्यक भ्रमण गरेको थिएँ, जसको कारण म अहिले जुन आर्थिक अवस्था हुनुपर्ने हो त्यस्तो हुन नसकेको आभाष भइरहन्छ ।”
रामप्रसाद पन्तको ‘गोकर्णेश्वर क्षेत्रको परिक्रमा गरेपछि’ मा उहाँ लेख्नुहुन्छ, “मलाई लाग्छ, अधिकांश मानिसलाई आफूले टेकेको स्वर्गीय आँगनको महत्व थाहा छैन । सृष्टिको स्वर्गीय उपहारसँग परिचित हुने समय छैन । तीर्थ खोज्दै र स्वर्ग पुग्ने आशा बोक्दै भड्किरहेका हामीहरूलाई आफ्नै करेसाबारीमा स्वर्ग छ भन्ने ज्ञान छैन ।”
रामहरि श्रेष्ठको ‘कर्मको शैली’ मा अस्ट्रेलियाका एकजना किसान एक सय एकड जमिनका मालिक आफैँ जोत्दछन् । नेपालमा भए कति कन्जुस मान्छे होला ? जति सम्पत्ति भए पनि लोभको भाँडो नभरिने भनेर कुरा काट्छन् । यतिका जमिन भएर पनि श्रमका पुजारी रहेछ भन्दैनन् भनेर तुलनात्मक अभिव्यक्ति व्यक्त गर्नुभएको छ ।
विजय खरेलको ‘कालीगण्डकीको तीरै तीर’ मा यात्राबाट सिर्जना गर्ने महापण्डितहरूमा महाकवि कालिदास र महापण्डित राहुल सांस्कृत्यायन मानिने र यात्राले सिर्जनालाई ठूलै मलजल गर्ने बताउनुभएको छ ।
विजयध्वज थापाको ‘सेररूफेरो अशोक वाटिकादेखि टेम्पल अफ तुथ’ मा अशोक वाटिका रावणको विशाल भव्य बगैँचा भएको र त्यहाँको रूटमा गौतम बुद्धको दाँत राखिएको स्टुपा (Tooth Realaic) जसलाई Temple या Tooth पनि भन्ने गरेको उल्लेख छ ।
विष्णुप्रसाद शर्मा पराजुलीको ‘मुगुकरु खस’ मा उहाँसँग भौगोलिक ज्ञानको फराकिलो अनुभव झल्किन्छ । माङ्ग्रीतिर क्षत्रीलाई खस भन्नै नपर्ने भएकोले खस नभनिने रहेछ । त्यो स्थलमा हिन्दु, बोन र बौद्ध धर्म, संस्कृति, परम्पराको मिश्रण भएको खस महाजातिभित्र विभिन्न जाति अटाएझैँ अटाएको खस जातिको आँगन थियो भनी उल्लेख गरिएको छ ।
श्रीओम श्रेष्ठ ‘रोदन’ को ‘कामाख्याको टिकट दर्शन’ मा भगवान् दर्शनका लागि पाँच सयको टिकट लिनुपर्ने, पैसा नलाग्ने लाइन लामो हुने र अर्को लाइन सेनाका परिवारहरूका लागि हुने उहाँले उल्लेख गर्नुभएको छ ।
श्रीराम श्रेष्ठको ‘पर्यटकीय नगरी पोखराको सम्झना’मा उहाँले प्रकृतिको बरदान अचम्मैको भएको, सौन्दर्यको बयान गरेर नसकिने उल्लेख गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, “मान्छेलाई जीवन जिउने कला सिकाउँछ प्रकृतिले । प्रकृति वरदान हो भने अभिशाप पनि हो । प्रकृतिसँग सजगताका साथ अगाडि बढ्न सक्नु नै बुद्धिमत्ता हुन जान्छ ।”
सदानन्द अभागीको ‘पर्वतको यात्रा एक विवेचना’ मा उहाँ पर्वतमै जन्मे हुर्केकोले पर्वत जानु आउनु नौलो नौलो नभए तापनि यसपटक धार्मिक कार्यले कोरोनाकालमा पर्वत यात्राको बेलीविस्तार गर्नुभएको छ ।
डा. सुमनराज ताम्राकारको ‘नालापानी किल्ला, शिमला अनि जगदीश शमशेर’ मा नालापानी खलंगा युद्ध स्मारक घुम्दा विजयी र पराजित सेना दुवैको स्मृतिमा बनाइएको पृथक खालको स्मारक देखेको वर्णन गर्नुभएको छ ।
हरिप्रसाद पाण्डेको ‘मानसरोवर यात्रा’ मा हावा, पानी, हिउँ, ढुङ्गा, वन जङ्गल, नदीनाला नदीकन किनाराहरूसँग वयली खेल्दै मानसरोवरमा स्नान गर्ने इच्छा अधुरो र अपुरो भएको यात्रा वर्णन गर्नुभएको छ ।
हरिप्रसाद भण्डारीको ‘बेलायतमा दसघण्टे बस यात्रा’ मा लामो दूरीको यात्रामा गाडी चालक पालो फेरिरहने, नेपालमा रात्रि बसमा एकै जना चालकले रातभर गाडी हाँक्ने तुलनात्मक व्यहोरा उल्लेख गर्नुभएको छ ।
जनमत : नियात्रासङ्ग्रहमा स्वदेश र विदेशको यात्रा संस्मरणमा लेखकहरूले फरक ठाउँको भूगोल, संस्कृति, प्रकृति आदि विषयमा पाठकहरूलनई फरकफरक स्वाद चखाउने काम गरेको छ । ३७४ पृष्ठको पुस्तकको मूल्य ७५१/– छ । जनमत वाङ्मय प्रतिष्ठान नेपाल, नियात्रा लेखक एवम् पुस्तक प्रकाशनमा सहयोगी सम्पूर्णमा साधुवाद !
Leave a Reply