भर्खरै :

पद र पैसाको निम्ति सिद्धान्त छाड्ने कम्युनिस्ट नहुने

पद र पैसाको निम्ति सिद्धान्त छाड्ने कम्युनिस्ट नहुने

काठमाडौँ, ३१ भदौ । नेपाल मजदुर किसान पार्टी पुँजीवादी विचार र व्यवस्थाको विरोधमा कामदारवर्गको शासन व्यवस्था स्थापनार्थ सङ्घर्षरत माक्र्सवादी–लेनिनवादी विचार बोकेको राजनीतिक दल हो । यो पार्टी समाजमा आमूल परिवर्तन गर्ने उद्देश्यले स्थापना गरिएको हो । आफ्नो लक्ष्यबारे व्यापक जनतालाई शिक्षित र सङ्गठित नगरी चुनावमा विजयी भएको पार्टी र सरकारले मात्र समाजको आमूल परिवर्तन गर्न सक्दैन । कामदार जनतालाई वर्गीय, राजनीतिक र क्रान्तिकारी समाजबारे सुसूचित पार्न लामो समय लाग्छ । पद र पैसामा बिक्ने, पद र पैसाको निम्ति सिद्धान्त, विचार र पार्टी छाड्ने दल कम्युनिस्ट हुँदैन । पुँजीवादी दलहरू चाहे आफूले कम्युनिस्टको खोल ओढेको किन नहोओस् पद र पैसाको लोभ देखाउँछन् । उनीहरू ठेकेदार, तस्कर घर–जग्गाका दलाल, कालाबजारिया, शोषक, गुण्डा र कर चोरहरूको समर्थन र सहयोगमा चुनाव जित्छन्, पार्टी चलाउँछन् या कार्यकर्ता परिचालन गर्छन् । यस्तो काम पुँजीवादी देशमा हुन्छ । भारतमा पनि यस्तै भइरहेको छ । यसैले भारतको संसद् र स्थानीय तहमा विभिन्न अपराधमा मुद्दा खेपिरहेका या अपराधमा संलग्न व्यक्तिहरू निर्वाचित भएका हुन्छन् । यसकारण, नेमकिपाले पुँजीवादी व्यवस्था अन्त्य गर्न समाजमा आमूल परिवर्तनको निम्ति गाउँ–ठाउँ र बस्ती बस्तीमा कामदार जनतालाई क्रान्ति र समाजवादका सैद्धान्तिक ज्ञान र विभिन्न देशका समाजवादी क्रान्तिबारे कक्षा सञ्चालन गरी शिक्षित पार्ने काम गरिरहेको छ ।
राजनीतिक दर्शनमा आधारित आदर्श समाज स्थापना गर्न एक दीर्घकालीन सोच आवश्यक हुन्छ । त्यस सोचका आधारमा नेता तथा कार्यकर्ताहरू काम गर्छन् । तर, पुँजीवादी नेताहरू अल्पमतवर्गको सेवामा जुट्छन्, कामदारवर्गका जनतामाथि रजाइँ गर्छन् । पुँजीवादी राजनीतिक पार्टीले देशको शासन सत्ता, संसद् र देशलाई शोषक, सामन्त, पुँजीपति, जालिफटाहाको हितको निम्ति काम गर्छ । उनीहरू जनतामाथि शोषण कायम गरिराख्न साधारण जनता र कामदारवर्गलाई सानातिना लोभलालच देखाउँछन् र जनताको मन जित्ने काम गर्छन् । नेमकिपाले किसान, मजदुर, युवा, विद्यार्थी, बुद्धिजीवी र व्यापक जनताबाट प्राप्त चन्दाबाट या सहयोगबाट पुँजीवादी व्यवस्थाको विरोध गर्न, पुँजीवादी व्यवस्थाको कमी कमजोरी औँल्याउन र जनतामाझ उदाङ्ग्याउन समाजवादको पक्षमा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय ग्रन्थ प्रकाशन गर्छन् र पत्रपत्रिका प्रकाशन गर्छन्; जनताको बस्ती बस्तीमा पु¥याउँछन् । विभिन्न समाजवादी देश या कम्युनिस्ट सरकारको विधान छापेर त्यहाँको व्यवस्थाबारे जनतालाई सुसूचित पार्ने काम गरिरहेको हुन्छ ।
नेमकिपाले चीन, सोभियत सङ्घ, क्युवा, प्रजग कोरिया आदि देशको संविधान प्रकाशन गरेर नेता तथा कार्यकर्तामाझ पु¥याएको छ । यस्तो काम सच्चा कम्युनिस्ट पार्टीले मात्र गर्छ । आफूलाई कम्युनिस्ट भनिने शासक दलहरूले कम्युनिस्टको सिद्धान्त र विचार, देश विदेशका कम्युनिस्टहरूको जीवन प्रकाशन, शोषित–पीडित जनताको पक्षमा आन्दोलन गरिरहेको हुन्छ । पार्टीले अन्तरक्रिया, प्रशिक्षणात्मक भेलाको आयोजना गरेर नयाँ र पुराना कार्यकर्ता, समर्थकहरूलाई राजनीतिकरूपले शिक्षित पारेको छ । नेमकिपाका कार्यकर्ताहरूले आ–आफ्नो जिल्ला, गाउँ, नगर र वडाका नयाँ समर्थकको लागि देश विदेशका देशभक्त र क्रान्तिकारीको जीवनी बताएर प्रेरित गर्ने काम गरिरहेको छ । नेमकिपाका यी सबै राजनीतिक गतिविधि जनतालाई सुसूचित पार्न हो, समाज परिवर्तनको निम्ति हो । यस्तो काम देशका सबै कम्युनिस्ट पार्टीहरूले गर्नुपर्छ । अनिमात्रै परिवर्तको निम्ति पूर्वाधार तयार हुन्छ र आफ्नो आजु पूरा गर्न सहयोग पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *