भर्खरै :

सन्दर्भ : लु सुन जन्म दिवस (२५ सेप्टेम्बर)/के हो लु सुनबाट सिक्नुपर्ने ?

सन्दर्भ : लु सुन जन्म दिवस (२५ सेप्टेम्बर)/के हो लु सुनबाट सिक्नुपर्ने ?

“चीनको सांस्कृतिक क्रान्तिका मुख्य सेनापति, उहाँ क्रान्तिका विद्वानका साथै विचारक र क्रान्तिकारी हुनुहुन्थ्यो† लु सुन कहिल्यै नझुक्ने दृढ चरित्रवान् हुनुहुन्थ्यो । चाकडी, स्तुती तथा चाप्लुसीको भावनाबाट मुक्त हुनुहुन्थ्यो† यो गुण औपनिवेशिक र अर्ध– औपनिवेशिक राष्ट्रहरूका जनताको निम्ति अमूल्य छ । राष्ट्रको बहुसङ्ख्याकको प्रतिनिधित्व गरी लु सुनले शत्रुको दुर्ग तोडेर हमला गर्नुभयो† सांस्कृतिक मोर्चामा उहाँ सबभन्दा वीर र सबभन्दा सही, सबभन्दा दृढ, सबैभन्दा इमानदार र सबभन्दा उत्साही राष्ट्रिय वीर हुनुहुन्थ्यो जसको जोडा हाम्रो इतिहासमा अर्को पाइन्न, उहाँले लिनुभएको बाटो नै चीनको नयाँ राष्ट्रिय संस्कृतिको बाटो हो ।”
यी शब्दहरू लु सुनबारे अध्यक्ष माओ त्सेतुङका उद्गार हुन् । सत्तरी करोड चिनियाँ जनताका महान् नेता, जन गणतन्त्रका संस्थापक तथा विश्व मजदुर वर्गीय आन्दोलनका एक सर्वोच्च सेनापति माओ त्सेतुङले यस प्रकारले मूल्याङ्कन गर्नु निश्चय नै लु सुनले चीनको जनजीवन सांस्कृतिक पक्षमा र विश्वको प्रगतिशील सांस्कृतिक आन्दोलनमा दिएको ऐतिहासिक योगदानको नतिजा हो ।
लु सुनको मृत्यु भएको तीस वर्ष नाघिसकेपछि चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सूत्रपात हुँदा लु सुनलाई सांस्कृतिक क्रान्तिको मूल प्रेरकको रूपमा लिइएको थियो ।
‘स्वदेशी’ र ‘राष्ट्रवाद’ को नाममा आफ्नो सब चीज पुरानो थोत्रा कुरीतिलाई पनि बोकी हिँड्ने संस्कार हामीहरू धेरैमा अझै बाँकी छ । फेरि कोही त ‘राष्ट्रवाद’ को आकर्षक नारा प्रयोग गरी जानाजान पुराना थोत्रा कुरीति कायम राखी आफ्नो स्वार्थ सिद्ध गर्नेहरू पनि छन् । यस्तो पुरानो संस्कारको विरोध नगरी, त्यसको विरूद्ध विद्रोह नगरी, कुनै पनि राष्ट्रले प्रगति गर्न सक्दैन । विनास पहिले हुन्छ र यो नष्ट गर्ने क्रममा निर्माण हुन्छ । पुरानो थोत्रोलाई नास नगरेसम्म नयाँको निर्माण गर्न सकिँदैन । पुरानो संसारलाई परित्याग नगरी नयाँ संसारको निर्माण हुनसक्दैन । यहीँ पुरानो संस्कारको परित्याग गर्नकै निम्ति हामीले लु सुनबाट प्रेरणा लिनुपरेको छ । पुरानो संसारलाई परित्याग गर्ने कुरामा लु सुन पूरै निर्भय थियो । हामीले पनि यो पुरानो संसारलाई नष्ट पार्न अलिकति पनि माया नलिई अलिकति पनि नहिचकिच्याई यसमाथि प्रहार गर्नुपर्छ । कवि सिद्धिचरणले भन्नुभएझैँ–
“स्वदेशी भनी खालि नमारौँ त कीरालाई ?”
पहिलो आवश्यकता त पुरानो थोत्रा र खराब वस्तुको विरूद्ध सङ्घर्ष गर्नु हो । नयाँ सही बाटो त सङ्घर्षको क्रममा भेट्टिने कुरा हो । लु सुनलाई पनि नयाँ कस्तो हुन्छ भन्ने थाहा थिएन रे भनी उहाँले भन्नुभएको छ । पुरानो समाज र पुरानो संस्कृतिविरूद्ध र खास गरी ‘मानव प्रकृतिको सिद्धान्त’, ‘मानवतावाद’, ‘विकासवाद’ आदि प्रतिक्रियावादी पुँजीवादी विचारधाराहरूको विरूद्ध सङ्घर्ष गर्दै जाँदा उहाँले नयाँ सही बाटो पहिल्याउनुभयो । एक नयाँ सही क्रान्तिकारी विश्व दृष्टिकोणको हतियार प्रयोग गरी उहाँले आफ्नो समाजको अवलोकन गर्नुभयो, यही हतियारद्वारा दुष्मनमाथि प्रहार गर्नुभयो र आफ्नै विचारधारा र विश्व दृष्टिकोणलाई नयाँ साँचामा ढाल्न निरन्तर आत्म–विश्लेषण गरिरहनुभयो । एक क्रान्तिकारीले आफूमा पाइन् लगाइरहन तथा संशोधनवाद र सुधारवादमा आफूलाई गिर्न नदिन निरन्तर प्रयोग गर्नुपर्ने उपाय यही हो । यही सङ्घर्षको क्रमबाट लु सुन एक महान् क्रान्तिकारी योद्धामा परिणत हुनुभएको हो ।
लु सुनको क्रान्तिकारी भावनाबारे उल्लेख गरिँदा एक वाक्यांश ‘पानीमा डुबेको कुकुरलाई’ निकै उद्धत गरिन्छ । हो, लु सुनः ‘पानीमा डुबेको कुकुरलाई ठोक्ने’ पक्षमा हुनुहुन्थ्यो । डुबेको कुकुरलाई फेरि पिट्नु त अति भयो’, खराब वस्तुलाई घृणा गर्ने पनि एक हद हुनुपर्छ भन्ने सम्झौतावादी उदारवादको लु सुनले तीव्र निन्दा गर्नुभयो । उहाँले स्पष्ट व्याख्या गर्नुभएको छ कि कुकुरको प्रकृति बदलिँदैन र कुकुर पानीबाट किनारा लाग्न सक्यो र सास जोगाउन सक्यो भने एक दिन यसले फेरि धेरै क्रान्तिकारीहरूलाई टोकेर मार्न सक्दछ । लु सुनको यो पूरापूर क्रान्तिकारी भावनाबाट प्रत्येक क्रान्तिकारीले सिक्नुपर्छ र बहुसङ्ख्यक जनताका दुश्मन स्वदेशी शोषकहरू, राष्ट्रका दुश्मन विदेशी आक्रमणकारीहरू तथा जनतालाई ठग्न खोज्ने प्रतिक्रान्तिकारीलाई ‘माफी दिने’ कुरा कहिल्यै गर्नु हुँदैन ।
लु सुनको जन्म जयन्ती मनाउँदा लु सुनप्रति ‘श्रद्धा’ व्यक्त गरी केही प्रतिक्रियावादी र परम्परवादीहरूले लु सुनलाई ‘मानवतावादी’ र ‘भ्रातृत्व भावनाका प्रचारक’ भनी व्याख्या गरे, अनि साहित्य ‘शाश्वत मान्यता’ का बकवासहरू पनि बके । लु सुनबारे सबभन्दा मिथ्या प्रचार योभन्दा अरू छैन । जीवनभर गुण सम्झौतावादको विरोधमा रहनुभयो । बदलाको भावना होइन ‘क्षमा’ को भावना लिनुपर्छ, ‘आत्मा संयम’ हुनुपर्छ आदि नाराद्वारा सङ्घर्षलाई रोक्न खोज्ने दास मनोवृत्तिको जबरजस्त विरोध गरी लु सुनले स्पष्ट भन्नुभयो, “शोषितहरू शोषकका कि त दास बन्छन्, कि त शत्रु, उनीहरूका मित्र कहिल्यै बन्न सक्दैनन् ।
नयाँ समाजको निर्माण गर्ने लक्ष्य लिएका क्रान्तिकारीहरूले राजनीति, अर्थनीति, साहित्य सबै क्षेत्रमा लु सुनको यो जुझारू सङ्घर्षशीलता अपनाउनु पर्दछ ।
“डुब्न लागेको कुकुरलाई के पिटौँ, मर्न लागेको बाघलाई लात के मारौँ” भन्ने भावना शोषण व्यवस्थाको नैतिकताका संस्कार हुन् । यसबाट क्रान्तिकारीहरू मुक्त हुनुपर्दछ । जनद्रोही शोषकहरू यति निष्ठुर र धूर्त हुन्छन् कि उनीहरूमाथि ‘दया’ गर्ने प्रश्न नै उठ्दैन । लु सुनले चेतावनी दिँदै भन्नुभएको छ कि कोही कोही कुकुर त पानीमा डुबेका जस्ता देखिन्छन् मात्रै डुबेका होइनन् । लँगडो देखाएर जनताको ‘दया’ लिन खोज्नेहरू पनि छन् । जस्तै दयनीय देखिए पनि शत्रुप्रति दया देखाउन एकदम हुन्न । लु सुन भन्नुहुन्छ, “हैजाका किटाणुहरू छिटछिटो बढ्छन्, तर उनीहरू बडो सरल देखिन्छन् । तर, डाक्टरले ती किटाणुहरूलाई कहिल्यै बाँकी राख्दैनन् ।”
एक क्रान्तिकारीले लु सुनबाट सिक्नुपर्ने अर्को कुरा हो धैर्य र लगन । प्रतिक्रियावादीहरू इतिहासको कुनै चरणमा पनि आफैँ नै हटेर जाँदैनन् । यसका निम्ति त चाहिन्छ अटुट सङ्घर्ष एक मुक्काले थचक्क पार्ने, एकै बारमा खतम पार्ने’ नारा रोमान्टिक कल्पना मात्र हो, क्रान्तिकारी यथार्थता होइन । लु सुनले भन्नुभएको छ, “पुरानो समाज र पुराना शक्तिहरूविरुद्ध सङ्घर्ष गर्दा दृढ र लगनशील भई शक्तिमा ध्यान दिनुपर्दछ । अडिरहने शक्तिबिना सांस्कृतिक क्षेत्रमा जुनै उपलब्धि हुनसक्दैन ।” निश्चय नै क्रान्तिकारी सङ्घर्षमा उपलब्धि प्राप्त गर्न क्रमिकरूपले विजय प्राप्त गर्न, अनि प्राप्त विजयलाई सुदृढ पार्न र पुराना शक्तिहरूद्वारा हुने प्रत्येक प्रत्याक्रमणलाई चकनाचुर पार्दै जाने अथक र अडिग लगनशीलताको आवश्यकता पर्दछ ।
कुनै पनि समस्यालाई द्वन्द्वात्मक दृष्टिकोणले हेर्ने प्रेरणा पनि हामीले लु सुनबाट सिक्नु पर्दछ । लु सुनको द्वन्द्वात्मक दृष्टिकोणबारे माओ त्सेतुङले भन्नुभएको छ, “विश्लेषनात्मक तरीका नै द्वन्द्वात्मकता हो । विश्लेषणको अर्थ हो कुनै पनि वस्तुमा रहेका अन्तद्र्वन्द्वहरूको विश्लेषण । तसर्थ, जीवनको राम्रो ज्ञान नभइकन र निहित अन्तद्र्वन्द्वको यथार्थ जानकारी नभई सही विश्लेषण गर्न सकिन्न । लु सुनपछिका निबन्धहरू यति स्पष्ट र सक्षम छन् फेरि एक पक्षीयताबाट मुक्त छन् कारण ठीक यही हो कि त्यसबेलासम्ममा लु सुनले द्वन्द्ववाद राम्ररी ग्रहण गरिसक्नुभएको थियो ।”
आजको युगमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अन्तरविरोधहरूलाई राम्ररी अध्ययन गरी त्यस अन्तरविरोधलाई प्रयोग गर्न सक्नुपर्दछ । विश्वका दुई महान् प्रगतिशील आन्दोलनहरू परस्पर एकीकृत भइसकेका छन् । विश्वव्यापी शोषणविरोधी क्रान्तिकारी मजदुर वर्गीय आन्दोलन र औपनिवेशिक राष्ट्रहरूको राष्ट्रिय मुक्ति सङ्घ अर्थात् समाजवादी सङ्घर्ष र राष्ट्रिय मुक्ति आन्दोलन आज परस्पर सहायक बनेका छन्, दुवै सङ्घर्षको साझा तारो विश्व साम्राज्यवाद हो । आज विश्वमा साम्राज्यवाद, उपनिवेशवाद, जातिवाद र राष्ट्रिय अहङ्कारवाद आदि जनविरोधी प्रतिक्रियावाद सब परस्पर आश्रित छन् । एकातिर यी तत्वहरूको परस्पर साँठगाँठ छ भने यी प्रतिक्रियावादी शक्तिविरुद्ध सङ्घर्ष गरिरहेका प्रगतिशील जनता अर्को पक्षमा छन् । आजको विश्वको अन्तरविरोध यी दुई शक्तिको बीचको सङ्घर्ष हो । लु सुनको जीवन कालमा भन्दा आजको विश्वको अन्तरविरोध फरक छ । तर, लु सुनबाट सच्चा प्रेरणा लिने हो भने हामीले आजको विश्वव्यापी अन्तरविरोधलाई प्रयोग गर्न सिक्नु पर्दछ ।
देशभित्र हाम्रो जनताको शोषणविरोधी सङ्घर्ष, पुराना रूढी र दूषित रीति–रिवाजविरोधी सङ्घर्ष विभिन्न भाषाभाषी, धर्मावलम्बी तथा विभिन्न जातिका जनताको जातीय संस्कृतिको समान रक्षा, समान विकास गर्ने अधिकारको निम्तिको सङ्घर्ष तथा बाहिरतिर भियतनाम तथा हिन्द चीनका जनताको अमेरिकी साम्राज्यवादी आक्रमणको मुकाबिला गर्ने सङ्घर्ष, जायनवादी– सैन्यवादी आक्रमणविरुद्ध अरब राष्ट्रहरूको सार्वभौमिकता संरक्षण गर्ने सङ्घर्ष, प्यालेस्तिनी मुक्ति सङ्घर्ष, ताइवान मुक्तिको निम्ति चिनियाँ जनताको सङ्घर्ष, विदेशी फौजलाई धपाई आफ्नो मुलुक एकीकरण गर्न कोरियाली जनताको सङ्घर्ष र अफ्रिकी महाद्वीपमा पोर्तुगल साम्राज्यवादविरूद्ध अङ्गोला, मोजाम्बिक र गिनीका जनताको मुक्ति सङ्ग्राम, स्पेनको उपनिवेशबाट मुक्त हुन क्यातारीग द्वीप समूहका जनताको सङ्घर्ष, फ्रेञ्च औपनिवेशिक शासनबाट मुक्त हुन आजोर्स आदि– भूमिका जनताको मुक्ति सङ्घर्ष, जातिवादी अल्पसङ्ख्यक गोराहरूको दमनविरुद्ध आजानिया र जिम्बाब्वेका जनताको क्रान्तिकारी सङ्घर्ष, लाटिन अमेरिकी देशहरूका जनताद्वारा चलाइएका साम्राज्यवादी हस्तक्षेप तानाशाही सैनिक शासनहरूको दमनविरुद्ध सङ्घर्ष जस्ता सबै सङ्घर्षहरू विश्वव्यापी प्रगतिशील आन्दोलनको एक श्रृङ्खला हुन्, परस्पर आश्रित छन् । आजको युग ‘चार समुद्र उर्लिरहेको, बादल र समुद्र कुर्लिरहेको, पाँच महाद्वीप हल्लिरहेको, हुरी र मेघ गर्जिरहेको युग हो । हेर्दा जत्तिकै बलिया भए पनि विश्व साम्राज्यवाद पतनतिर लागिरहेछ, राष्ट्रिय मुक्ति सङ्घर्षको झन्झन् विजय हँुदै गइरहेछ । यस युगको अन्तर्विरोधलाई राम्ररी चिनेर सङ्कुचितता, एकपक्षीय भावनाबाट मुक्त भई व्यापकरूपले समस्यालाई बुझी प्रगति–पक्षमा लाग्न हामीले लु सुनको क्रान्तिकारी भावना अँगाल्नुपर्दछ ।”
लु सुनबाट सिक्न पर्ने सबभन्दा महत्वपूर्ण शिक्षा बहुसङ्ख्यक जनता, आम जनता, शोषित पीडित जनता, श्रमिक जनताको क्रान्तिकारी हेतुको पक्ष लिनु हो । शत्रुप्रति तीव्र घृणा र जनताप्रति असीम प्रेम लु सुनको अडिग भावना थियो । शत्रुले जतिकै नाकाबन्दी र दमन गरे पनि निडर र अडिग भई अन्तिम क्षणसम्म सङ्घर्ष गर्ने उहाँको भावना थियो । लु सुनका दुई पङ्क्तिहरू उद्धृत गरी त्यसलाई ‘हाम्रो निर्देशक सिद्धान्त’ बनाउनुपर्छ भनी माओ त्सेतुङले भन्नुभएको छ । अध्यक्ष माओ भन्नुहुन्छ, “लु सुनको कविताका यी दुई पङ्क्ति हाम्रो निर्देशक सिद्धान्त बन्नुपर्दछ; ठड्याइएका हजार औँलाहरूलाई किञ्चत नमानी रौद्र निधारले म सामना गर्दछु, बफादार बयलले झैँ शिर निहु¥याई म केटाकेटीको सेवा गर्दछु ।
ठड्याइएका हजार औँलाहरू हाम्रा शत्रु हुन् र उनीहरू जतिकै भयङ्कर भए पनि हामी उनीहरूसामु कहिल्यै झुक्दैनाँै । यहाँ ‘केटाकेटी’ प्रतीकको अर्थ हो सर्वहारावर्ग र आम जनता । सबै कम्युनिस्ट सबै क्रान्तिकारीले साहित्य र कला क्षेत्रका सबै कान्तिकारी कार्यकर्ताहरूले लु सुनको उदाहरणबाट सिक्नुपर्दछ र त्यस अभिभारा निम्ति अन्तिम दिनसम्म निहुरी काम गरी सर्वहारावर्ग तथा आम जनताको निम्ति काम गर्न ‘गोरू’ बन्नु पर्दछ ।”
साहित्य र कला क्षेत्रका कार्यकर्ताहरूले जनपक्षीय लेखक कलाकारहरू तथा राजनैतिक, सामाजिक, आर्थिक सबै सार्वजनिक क्षेत्रका कार्यकर्ताहरूले लु सुनबाट शत्रुको अगाडि कहिल्यै नबुझ्ने भावना लिनुपर्दछ ।
शत्रुको विरुद्ध अडिग सङ्घर्ष गरिरहने र अन्तमा उनीहरूलाई परास्त गर्ने नीति लिनुपर्दछ । लु सुन के हामीले तन मनले सर्वहारा वर्ग र आम जनताको सेवा गर्नुपर्दछ र जनताको सच्चा सेवक बन्नु पर्दछ । जनतासित समान स्तरमा बस्नुपर्दछ, जनतासित बसी–जनताको निम्ति काम गरी जनताको निम्ति सङ्घर्ष गर्नुपर्दछ । आफूलाई जनताभन्दा माथि सम्झने शोषकवर्गको मनोवृत्ति–व्यक्तिवादी र कर्मचारी तानाशाही भावना त्याग्नुपर्दछ । जनताको प्रतिनिधित्व गर्नुको अर्थ जनतालाई बाटो देखाउन पुग्ने गुरू बन्ने मात्र होइन जनताको भाषा बोल्ने मित्र, जनतालाई गुरु मानी आम जनताबाट सिकिलिने हो भनी बुझ्नुपर्दछ ।
घृणाको पात्र र प्रेमको पात्रलाई स्पष्ट छुट्याउने लु सुनको भावना हामीले लिन परेको छ । अडिग भई हामीले साम्राज्यवाद, उपनिवेशवाद, सामाजिक साम्राज्यवाद, विस्तारवाद र जातिवादको विरोध गर्नुपर्दछ, परम्परा र राष्ट्रवादको नाममा जनताको शोषण गर्न पल्केका अधिनायकवादीहरूको विरुद्ध तीव्र सङ्घर्ष गर्नुपर्दछ† प्रजातन्त्रको मकुन्डो लगाई प्रजातन्त्रको हत्या गर्ने सामन्तहरूको षड्यन्त्रलाई चकनाचुर पार्नुपर्दछ र जनतालाई ठग्ने नक्कली क्रान्तिकारीहरूलाई निर्मूल पार्नु पर्दछ र अनि आम जनताको हेतु र राष्ट्रिय मुक्ति सङ्घर्षमा लागेका विभिन्न देशका जनताको क्रान्तिकारी सङ्घर्षलाई प्रेम गर्नु पर्दछ ।
‘राष्ट्रिय संस्कृति’, ‘महान् सभ्यता’, ‘हाम्रो गौरवमय अतीत’ भन्ने भावनाका मदले मत्त भई भविष्यतिर हेर्न नसक्ने भावनाको भन्डाफोर गरी लु सुनले सन् १९२५ मा लेख्नुभएको थियो ।
“चीर–प्रशंसित हाम्रो चिनियाँ सभ्यता धनी र शक्तिशालीको निम्ति मान्छेको मासु राखी दिइने भोज मात्र हो र चीन त यी भोजहरू तयार गरिने भान्छा घरमात्र हो ।”
“आज पनि मान्छेको मासु खाने भोज चलिरहेछ र यसलाई कायम राख्न चाहने धेरै मानिसहरू छन् । यी नर–मांसा भक्षकहरूलाई निर्मूल पार्ने, यी भोजहरूलाई खतम पार्ने र यस्तो भान्छा घरलाई खतम गर्नु आज युवक युवतीहरूको अभिभारा हो !”
मानिसले मानिसको शोषण गर्ने धनीमानी मानिसहरू खर्चको परबाह नगरी मोजमज्जा गर्ने र भोका केटाकेटीहरू दुई चार पैसामा बेचिने समाजलाई लु सुनले मान्छेको मासु खुवाउने भोज भनी संज्ञा दिएको हो ।
राष्ट्रिय संस्कृति र परम्पराको रक्षाको नाममा पुरानो शोषण परम्परा कायम राख्न खोज्ने जनद्रोहीहरूको विरूद्ध सदा सजग रहन लु सुनबाट हामीले प्रेरणा लिनु पर्दछ ।
मृत्यु शøयामा लु सुनले दिनुभएको प्रसिद्ध इच्छापत्र पनि निकै विचारणीय छ ।
लु सुनले लेख्नुभएको थियो, “अर्कालाई हानि पु¥याई बदला लिने कुराको विरोध गर्ने र सहिष्णुताको प्रचार गर्ने मानिसहरूसित कहिल्यै सङ्गत नगर्नू ।”
उहाँले भन्नुभयो, “एकफेरा ज्वरो आउँदा मैले सम्झँे कि कुनै युरोपवासी मानिस मन लाग्दा एक किसिमको संस्कार गरी अरूसित माफी माग्ने र उनीहरूलाई माफी दिने गर्दछन् । मेरा धेरै शत्रु छन् र कोही आधुनिक मानिसहरूले मसँग यस विषयमा मेरो राय सोधे भने मैले के जवाफ दिने भनी मैले निर्णय गरेँ, उनीहरू मलाई घृणा गरिरहून्, म त एकजनालाई पनि माफी दिन्न ।”
शत्रु पक्षतिर लागी आफूमा ‘बुद्धिमानी’ छ भनी बहाना गर्ने गद्दारहरूको आलोचना लु सुनले गर्नुभएको हो । शत्रुप्रति सम्झौताहीन सङ्घर्ष गर्ने लु सुनको क्रान्तिकारी उत्साह अनुकरणीय छ ।
लु सुनले एकफेरा भन्नुभएको थियो, “हामीले नयाँ योद्धाहरूको एक ठूलो समूहलाई तालिम दिई तयार पार्नुपर्छ ।” लु सुनको जीवन कालमा यो कुरा सम्भव भएन, तर आज लु सुनको देश चीनमा करोडौँ आम जनता क्रान्तिका उत्तराधिकारीको रूपमा विकसित भई पुरानो समाजलाई भत्काई नयाँ समाज सिर्जना गर्ने काममा लागेका छन् । अनि विश्वभर पनि क्रान्तिको भयङ्कर राँको जलिरहेछ, शोषण र दमनको युगौँ लामो परम्परा जलाएर भष्म पार्ने उत्साह लिई कान्तिकारीहरू अगाडि बढ्दै छन् । लु सुनको सङ्घर्षशील जीवन र क्रान्तिकारी विचार विश्वभरका क्रान्तिकारीहरूको निम्ति असीम प्रेरणाको स्रोत बनिरहनेछ ।
साभार : दृष्टिकोण, सन् १९७२

माणिक लाल श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *